ग्लोबल


राजीनामा दिने तयारीमा अफगान राष्ट्रपति, काबुल नजिकै पुग्यो तालिबान

राजीनामा दिने तयारीमा अफगान राष्ट्रपति, काबुल नजिकै पुग्यो तालिबान

नेपालखबर
साउन ३०, २०७८ शनिबार १४:१३, काठमाडौँ

चरमपन्थी समूह तालिबानले दबाब बढाएपछि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले राजीनामा दिने तयारी गरेका छन्। काबुलबाट आइरहेका समाचार अनुसार अफगान सरकारले आज यसको घोषणा गर्न सक्नेछ।

हिजो रातिसम्म घानी अन्तिम समय राष्ट्रपति रहिरहने बताइएको थियो। तर तालिबानले लगातार आक्रमण बढाएपछि घानीले पद छाड्ने तयारी गरेका हुन्।

अहिले तालिबान र अफगान सुरक्षा बलबीच मैदान शहरस्थित गभर्नर कार्यालय क्षेत्रमा भीषण लडाइँ जारी छ। मैदान शहरलाई काबुलको प्रवेशद्वार पनि भनिन्छ।

शनिवार बिहान तालिबान समूहले पक्तिया प्रान्तको राजधानी राजधानी शरनालाई पनि कब्जामा लिएको  थियो। त्यसपछि तालिबान काबुलबाट केबल एक घण्टाको दूरीमा आइपुगेको छ।

कान्दाहरका गभर्नर रुहउल्लाह खानजादले तालिबानसामू आत्मसमर्पण गरेका छन्। तालिबानले कन्दाहारको रेडियो र सरकारी टिभीको नाम शरिया कायम गरेका छन्। सरकारी कार्यालयमा तालिबानको बोर्ड राखिएको छ।

१९ प्रान्त कब्जामा 

पक्तिया तालिबान कब्जामा जाने १९ औँ प्रान्त हो। पछिल्ला सात दिनमा तालिबानले १८ प्रान्तमा कब्जा गरिसकेको छ।

तालिबान प्रवक्ताका अनुसार पक्तियामा भीषण लडाइँपछि कब्जा गरिएको हो। यहाँबाट तालिबानले ठूलो मात्रामा हतियार कब्जा गरेको छ।

काबुल एयरपोर्टमा हमला शंका

तालिबान अब काबुल एयरपोर्टबाट एकदमै नजिक आएको छ। यस्तोमा तालिबानले यहाँ पनि हमला गर्न सक्ने शंका गरिएको छ।

दुई दिन अघिसम्म तालिबानलाई काबुल पुग्न ९० दिन लाग्ने बताइएको थियो। तर त्यसको भोलिपल्ट ३० दिनको हिसाब गरिएको थियो। तर आज तालिबानले केही दिनमै काबुल कब्जा गर्ने निष्कर्ष निकालिएको छ।

तालिबानको कब्जामा गएका प्रान्तका सैनिक काबुलतर्फ गइरहेका छन्। तालिबानले आफ्ना लडाकुलाई काबुलतर्फ गइरहेका सुरक्षाकर्मीसँगका दस्तावेज चेकजाँच गर्न भनेको छ।

तालिबानी लडाकुहरुले कयौँ स्थानमा काबुल गइरहेका सुरक्षाकर्मीमाथि हमला गरिरहेका छन्। 

अमेरिकी सैनिक पुग्यो

यसैबीच अमेरिकाको पहिलो सैन्य दल काबुल पुगेको छ। तालिबानसँग भिड्न अमेरिकी सैनिक पूरै असफल भइसकेको छ।

यता अफगानी सैनिकले पनि कयौँ प्रान्तमा युद्ध नलडी तालिबानलाई हतियार सुम्पिएका छन्। तालिबानको गति देखेर अमेरिकी सरकारले आफ्ना नागरिकलाई काबुलबाट निकाल्न सैन्य दल पठाएको हो। 

एक दिन पहिले मात्रै अमेरिका बाइडेन सरकारले तालिबानले अबको ३० दिनमा काबुलमाथि कब्जा जमाउने अनुमान गरेको थियो।

यससँगै अफगान सरकार ढल्ने अनुमान थियो। यस्तोमा अफगानिस्तानमा रहेका आफ्ना नागरिक निकाल्न आफ्ना ३ हजार सैनिक पठाउने तयारी अमेरिकाको थियो। अमेरिकाले यो अभियानलाई अस्थायी भनेको छ।

तालिबानले बल्ख प्रान्तको कोद-ए-बर्क इलाकामा भारतले दिएको हेलिकोप्टर खसालिदिएको दाबी गरेको छ। तर त्यसबारेको कुनै तस्बिर बाहिर आएको छैन। भिडन्तबीच अफगानिस्तानको एक उच्च प्रतिनिधिमण्डल पाकिस्तान जाँदैछ।

अर्कातिर हेरात प्रान्तको पूरै सरकारले तालिबानसामू आत्समर्पण गरिदिएको छ। अफगानिस्तानमा हेरात प्रान्तका गभर्नर, पुलिस प्रमुख, एनडीएस कार्यालय प्रमुखसहितलाई तालिबानले हिरासतमा लिएको छ।

तालिवानविरुद्ध युद्धका प्रतीक रहेका ७५ वर्षीय मोहम्मद इस्माइल खानलाई पनि तालिबानले समातेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .