राजनीति


यस्तो छ माओवादीको कार्ययोजना, राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म

यस्तो छ माओवादीको कार्ययोजना, राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म

नेपालखबर
साउन ३०, २०७८ शनिबार १३:४३, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पनि आफूलाई राष्ट्रिय सम्मेलनतर्फ केन्द्रित गर्ने भएको छ।

माओवादी केन्द्रको शनिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी पुसमा राष्ट्रिय सम्मेलन गर्ने गरी राजनीतिक तथा सांगठनिक कार्ययोजना पेश गरेका हुन्। 

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने गरी अध्यक्ष प्रचण्डले सांगठनिक कार्ययोजना पेश गरेका हुन्। 

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीति तथा सांगठनिक प्रस्तावबारेमा केन्द्रीय सदस्यहरूबीच आठ वटा समूह बनाएर छलफल थालिएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान मस्यौदा प्रस्तावमाथि विभिन्न आठ वटा समूहमा भोलि बिहानसम्म छलफल हुनेछ।

त्यसपछि भोलि बस्ने केन्द्रीय कमिटी बैठकमा ती समूहबाट सुझावसहितका कुरा राख्ने योजना माओवादीले बनाएको छ। 

अध्यक्ष प्रचण्डले पेश गरेको राजनीति तथा सांगठनिक प्रस्तावमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो । केन्द्रीय सदस्यहरुको समूह बनाएर अध्यक्ष प्रचण्डको दुवै प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।

प्रचण्डले पेश गरेको प्रतिवेदनमा राष्ट्रिय सम्मेलनतर्फ बहस केन्द्रित गर्ने तयारी छ। माओवादीले चार महिना लामो संगठन सुदृढीकरण अभियान पनि चलाउने भएको छ।

यस्तो छ अभियान 

माओवादीले आगामी भदौ मसान्तसम्ममा सदस्यता नवीकरण गरिसक्ने योजना बनाएको छ। 

त्यस्तै आगामी असोज १० गते गाउँ, टोलका भेला, सम्मेलन सक्ने योजना माओवादीले बनाएको छ। 

त्यस्तै असोज २० गते देशभरका ६ हजार ७ सय ४३ वडाको सम्मेलन एकै साथ गर्ने योजना प्रचण्डले पेश गरेको प्रतिवेदनमा राखिएको छ।

माओवादीले आगामी कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने योजना बनाएको छ। त्यसपछि मंसिर १५ गते प्रदेश सम्मेलन सक्ने कार्ययोजना प्रचण्डले बैठकमा पेश गरेका छन्। 

मंसिरमा प्रदेश सम्मेलन सकेपछि माओवादीले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने भएको छ। 

माओवादीले जनवर्गीय संगठनको पनि असोज मसान्तसम्ममा भेला, सम्मेलन सक्ने योजना बनाएको छ। त्यही समयमा जातीय क्षेत्रीय मोर्चाको पनि सम्मेलन हुने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .