राजनीति


ओली-नेपाल अब एक्लै-एक्लै, समानान्तर गतिविधि एमालेकै ब्रान्डमा

ओली-नेपाल अब एक्लै-एक्लै, समानान्तर गतिविधि एमालेकै ब्रान्डमा

सागर न्यौपाने
साउन २६, २०७८ मंगलबार २०:४७, काठमाडौँ

२४ गते बोलाएको केन्द्रीय कमिटी बैठक एक दिन पछि सर्दा पार्टी एकीकृत बनाउन दौडधूप गरिरहेको एमाले वृत्तमा चर्चा चल्यो- पार्टी फुट्न नदिन अध्यक्ष केपी शर्मा ओली एक कदम पछि सरे।

किनभने त्यसअघि बसेको वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा नेपालले पार्टी एकता जोगाउने हो भने बोलाइएको बैठक ओलीले स्थगित गर्नुपर्ने बताएका थिए।

तर, सोमबारको बैठकले पार्टी एकतामा जोड दिइरहेका समक्ष त्यति शुभ समाचार ल्याएन। ओली पक्षले एमालेको रथ लगभग एक्लै हाँक्न सक्ने निर्णय अनुमोदन गर्यो, पार्टीमा अध्यक्षलाई शक्तिशाली बनायो।

अध्यक्षमा शक्ति केन्द्रित गर्ने प्रस्ताव राखिएको सो विधान आगामी भदौ २६ र २७ गते बस्ने विधान महाधिवेशनबाट पारित हुँदैछ। नेपालप्रति आक्रोशित अध्यक्ष ओलीले संशोधन गराएको विधान एमाले विभाजनको दोस्रो प्रस्थानविन्दु भएको नेपालपक्षीय नेताहरु बताउँछन्।

अध्यक्षलाई अत्यधिक बल दिनेगरी केन्द्रीय कमिटीले विधान संशोधन प्रस्ताव पारित गर्नुपहिले ओलीले गरेको सम्बोधन पनि पार्टी नफुटोस् भनेर चाहना राख्ने ओली वृत्तकै नेताहरूका निमित्त समेत प्रिय थिएन।​​

सम्बोधनको सुरुमै वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति तीव्र असन्तुष्टि पोखेका उनले बारम्बार दुवै नेताको नाम पनि लिन मन नभएको दोहोर्याइरहे।

‘पार्टीभित्रको विवाद चर्काएर बाहिर लैजाने, मलाई सत्ताबाट निकाल्ने माधव नेपाल र प्रचण्डको के नाम पनि के लिनु र ? मुखै अपवित्र हुन्छ,’ अगाडि टेबलमा रहेको ‘न्यापकिन’ले मुख पुछ्दै ओलीले भने।

उनका त्यो हाउभाउले हल एकछिन शून्य भयो।

ओलीको गतिविधि नियालिरहेका एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग बताएअनुसार अध्यक्ष ओलीमा माधवकुमार नेपाल र प्रचण्डप्रति निकै आक्रोश देखिन्थ्यो।

आक्रोशभन्दा बेसी घृणा। त्यही घृणालाई उनले न्यापकिनले मुख पुछ्दै अभिव्यक्त गरे, हाउभाउसहित।

आफ्नै पुराना सहयात्रीप्रति ओलीको हद दर्जाको व्यवहार र ओली प्रवृत्तिलाई पटक्कै देख्न नरुचाउने नेता नेपालबीचको पुरानै मित्रता फेरि फर्कने सम्भावना क्षीण हुँदै गएको छ।

विपरीत धारमा नेतृत्व गरिरहेका यी दुई नेताको सम्बन्ध यस्तो हुँदा एमाले एक हुने सम्भावना झनै कम रहेको दुवै पक्षका नेताहरु बताउँछन्।

अध्यक्ष ओली र नेता नेपालले मंगलबार गरेका भाषणको अन्तर्यमा पनि एक अर्काप्रतिको तिक्तता ज्यादा छ। आफैँले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पहिलोपटक मंगलबार विशेष समय लिएर बोलेका अध्यक्ष ओलीले पार्टी फुटेको घाटा सहन तयार रहेको बताए।

‘सभामुखमार्फत प्रधानमन्त्रीज्यूलाई एउटा अनुरोध, मेरो दलका केही सांसदहरु मन्त्री नपाएर हिरिक्क–हिरिक्क भएका छन्, ती सांसदहरुलाई मन्त्री बनाउनुस्,’ ओलीले भने, ‘प्लिज प्रधानमन्त्रीज्यू, विचराहरु मन्त्री खान नपाएर छटपटिएका छन्। तिनीहरुलाई मन्त्री बनाइदिनुस् न। किन बिलम्ब गर्नुभएको, किन ढिला गर्नु भएको? विचराहरुलाई मन्त्री बनाइदिँदा मेरो पार्टीलाई घाटा हुने भए पनि सहुँला, बुझौँला तर उनीहरुलाई मन्त्री बनाइदिनुस्।’

ओलीले संसदमा त्यसो भन्दा माधव नेपाल भने संसदमा हाजिर मात्र गरेर आफ्ना नेतासँगको छलफलका लागि निस्किसकेका थिए। प्रतिनिधि सभा बैठकमा ओलीको भाषण सकिएलगत्तै नजिकैको अर्याल होटेलमा आफूनिकट अनेरास्ववियुको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओलीप्रति गरेको कटाक्ष पनि कम्तीको छैन।

'बिहेमा जाने हो भने मलामीका कुरा नगर्नू, मलामी जाने हो भने गीतसंगीतका कुरा नगर्नू,' नेता नेपालले भने, 'हामी कसैको टाङमुनि छिर्नेवाला छैनौँ', उनले एमाले एकताबारे संकेत गर्दै भने, 'अध्याँरो सुरुङमा जाने छैनौँ। दम्भी र अहंकारीलाई माथ दिएर अघि जाने छौँ।'

यसअघि २०७७ फागुन २३ गते सर्वाेच्च अदालतले नेकपा भंग गरेर एमालेलाई पूर्ववत् अवस्थामा फर्काएपछि फागुन २८ गते ओलीले आफूपक्षीय र माओवादी केन्द्र परित्याग गरेर आएका केही नेतालाई मात्र सहभागी गराई केन्द्रीय कमिटिको बैठक राखेका थिए।

नेपाल पक्षलाई थाहै नदिई एकलौटी रुपमा राखिएको सो बैठकले केही निर्णय पनि गरेको थियो। अदालतले पुरानै अवस्थामा फर्काएको एमालेमा केन्द्रीय र स्थायी कमिटीमा नेपाल पक्ष बलियो अवस्थामा थियो।

त्यही भएर ओलीले नेपाल पक्षका कसैलाई पनि बोलाएनन्। सोही घटनालाई नेपाल पक्षले पार्टी विभाजनको प्रस्थानविन्दु मानेको छ। पार्टीमा अध्यक्ष ओली र नेपाल पक्षको विवाद समाधान प्रयास भइरहेका बेला साउन २५ गतेको एकपक्षीय बैठकले विधान संशोधन गरी अध्यक्षमा शक्ति केन्द्रित गराइयो। यसले पहिले गरेको विभाजनलाई वैधानिकता दिएको नेपालपक्षीय नेता बेदुराम भुसालको भनाइ छ।

‘केपी ओलीले एमाले फुटाउने निर्णय फागुन २८ मै गर्नुभएको थियो,’ नेता भुसालले नेपालखबरसँग भने, ‘हिजोको बैठकले त्यही निर्णय अनुमोदन गरेको हो।’

अध्यक्ष ओलीले सोमबार राखेको राखेको बैठकले एकताको सम्भावना टुङ्गिएको नेपाल पक्षले निष्कर्ष निकालेको छ।

‘पार्टीलाई एकताबद्ध पारेर लैजाने प्रयास टुङ्गियो, अध्यक्ष ओलीले फेरि एकता गर्ने आधार बन्द गरिसक्नुभएको छ,’ भुसालले थपे, ‘एकता एकपक्षीय हुँदैन, एउटा पक्षले मात्र चाहेर एकता सम्भव छैन, सबैले चाहनुपर्यो। एकता चाहेको भए हिजोको जस्तो निर्णय हुने थिएन, केपी ओली लगायतको पक्षले पार्टीभित्र समाधान गर्न खोजेन भन्ने हाम्रो ठहर हो।’

नयाँ परिस्थितिमा नयाँ कार्यक्रम
विकसित राजनीतिक परिस्थितिअनुसार नेपाल पक्षले अब छिट्टै नयाँ कार्यक्रम तय गर्ने भएको छ। ७१ वटा जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको नेपाल पक्षले अब बाँकी जिल्लामा पनि समानान्तर कमिटी बनाउनेछ।

नेपाल पक्षले २०७७ चैत ४ र ५ गते ललितपुरको सानेपामा आफूपक्षीय कार्यकर्ता भेला राखेको थियो। नेपाल पक्षको सो भेलामा देशभरबाट चार हजार कार्यकर्ता उपस्थित भएका थिए। त्यसबाट हौसिएका नेता नेपालले पार्टीमा समानान्तर कमिटी बनाउँदै लगेका थिए।

ओलीले दोस्रो पटक जेठ ८ मा प्रतिनिधि सभा विघटन गर्नु अघिसम्म नेपाल पक्षको समानान्तर कमिटी बनेको थियो। भुसालका अनुसार केही दिनभित्र नयाँ कार्यक्रम सुरु हुनेछ।

‘हामीभित्र सामूहिक छलफल गरेर कसरी जाने बारेमा निर्णय लिन्छौँ, समानान्तर कमिटी निर्माण भइसकेका छन्,’ उनले भने, ‘बाँकीमा पनि बनाउँछौं, त्यसबाहेकका अन्य कार्यक्रम केही दिनभित्र सार्वजनिक गर्छौँ।’

नेपाल पक्षले फेरि राष्ट्रिय कार्यकर्ता भेला राख्ने तयारी गरेको छ।

‘हाम्रा कुरा तलैसम्म लैजानका लागि पनि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना हुन्छ, अब स्थायी कमिटी बैठक बसेर मिति टुंगो लगाउँछौं, सायद हप्ता दस दिनभित्रमा हुन्छ होला,’ एक नेताले भने।​

‘ओलीले पार्टी विभाजन गर्छन, हामी निर्माण गर्छौं’
ओलीले पार्टी विभाजन गरिसकेको र आफूले नयाँ रुपमा निमार्ण गर्ने नेता नेपालले बताएका छन्। आफूलाई भेट्न आएका नेताहरुसँग नेपालले विधि र पद्धतिमा चलेको कम्युनिस्ट पार्टी निर्माण गरिने बताउँदै आएका छन्।

‘तपाईंहरु प्रष्ट हुनुस् ओलीले पार्टी विभाजन गरिसकेका छन्,’ नेता नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘ओलीले विभाजन गरेको पार्टी हामी नयाँ रुपमा निर्माण गर्छाैँ।’

उनले एमाले विवाद समाधान भएर मिल्ने वातावरण सबै बिग्रिएको बिफ्रिङ पनि गरेका थिए। ओलीले गरेका सबै अवैधानिक निर्णयलाई स्वीकार गर्न सकिँदैन, अब जनताकोमा के एजेन्डा लिएर जाने? भोट माग्ने आधार खै? ओलीले बिगारिसके,’ नेपालको भनाइ थियो।

नेपाल पक्षले वडा तहसम्म कमिटी बनाइसकेको छ। पार्टी विभाजन भइहाले पनि त्यही कमिटीले काम गर्ने तयारी छ।

‘गाउँगाउँमा नयाँ कमिटी बनाउनै पर्दैन, हामीले तल्लो तहसम्मै एक लेभलको कमिटी बनाइसकेका छौं, विभाजन भइहालेमा त्यही कमिटी चलायमान हुन्छ,’ स्थायी कमिटी सदस्य भुसालले भने।

नेता नेपालले सकभर संसदीय दलमा पनि ४० प्रतिशत पु¥याउने कोसिस जारी राखेका छन्। राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या पु¥याउनुपर्ने हुन्छ।

अहिले नेता नेपालसँग दुवैतर्फ सो संख्या छैन। केन्द्रीय कमिटीमा उनको पक्षमा ४० प्रतिशत संख्या भएपनि सर्वाेच्च अदालतले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिएपछि नेपाल पक्षमा रहेको संख्या घटेको हो।

ओली र नेपाल पक्ष आआफ्ना दाउमा छन्। ओलीले कारबाही गरे नेपाल त्यसपछि मात्र एक्सनमा जान चाहन्छन्। ओली भने नेपाल पक्षले आफैँ पार्टी छोडेर गइदिए हुन्थ्यो भन्नेमा छन्।

नेता नेपाल भने सांसद पद समेत जोगाउने उपाय खोजिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad