म्यागेजिन


बल्ल शान्ताले आफ्नै कथा भन्न सुरु गरिन्

बल्ल शान्ताले आफ्नै कथा भन्न सुरु गरिन्

फिल्ममेकर शान्ता नेपाली

अहिले १९ वर्ष लागेकी मुना सानै उमेरमा ठमेलमा बेचिएकी हुन्।

बालखैमा छुट्टिएको दाइलाई खोज्न उनी ठमेल बाहिर निस्कन्छिन्। त्यसै बखत मुनाको बाहिरी यात्रा सुरु त हुन्छ तर निकै कष्टकर!

उनले थुप्रै अनुभवबाट महसुस गर्छिन् कि बाहिरी संसार त निकै भिन्न रहेछ!​ ​फिल्ममेकर शान्ता नेपालीको निर्माण हुँदै गरेको सर्ट फिल्मको पटकथा हो, यो।

एक महिनाअघि गोग्राह फिल्म कार्यशालाबाट शान्ताको ‘मुना’सहित ज्योत्सना सिंह ठकुरीको ‘एलेक्सिया’ र सुनिल गुरुङको ‘विण्ड हर्स’ले ५/५ लाखको पुरस्कार पाएका थिए। वर्षको अन्तिमसम्ममा उनीहरूले सर्ट फिल्म पनि बनाइसक्नेछन्। 

शान्ता यसैको तयारीमा छिन्, अहिले। उनले यो समाजमा ‘मुना’को कथा भन्नु छ। करिब एक वर्षको कार्यशालामा उनले सिकेकी थिइन्– आफ्नै कथा भन्न!

फिल्म निर्देशक दीपक रौनियार र आशा मगरातीको जोडी पनि त्यसैमा थियो। अनि शान्ताले आफ्नै कथा भन्न रोजेकी थिइन्– मुनाको कथा। 

‘अब मैले मेरो कथा भन्नु छ। मेरो समुदायको कथा भन्नु छ। त्यसैले मुनाको भोगाइको कनेक्सन मैले भोगेको विभेदसँग लगेर जोडेँ’, शान्ता सुनाउँछिन्। 

कथाकी मुना दलित हुन्छिन्। ती सानी केटीलाई आफ्नो थर थाहा छ, जात थाहा छैन। जातकै कारण उनले सहरमा काम पाउँदिनन्।

कथाको पृष्ठभूमि केलाउँदै गर्दा शान्ता सम्झिन्छिन्, आफूले विगतमा भोगेको विभेद र जातकै कारण व्यहोर्नुपरेको अपमान! गाउँमा टेलिभिजन हेर्न साथीहरू घरभित्र पस्दा आफूले ढोकाबाहिरबाटै चियाएर हेर्नुपरेको दृश्य।​मनभित्रकै मित्रको घरमा पस्न निषेध गरिएका नमीठा क्षण।

एसएलसी दिएपछि उनी धरानको बजारमा कम्प्युटर सिक्न जान्थिन्। एक दिन घरमाथिको चोकमा हिँड्दै गर्दा समूहमा बसेका ‘अल्लारे’ युवाहरूले जिस्क्याउन खोजे। 

सुनेको नसुनेझैँ गरी शान्ता आफ्नै धुनमा हिँड्दै थिइन्। अचानक उनको जात जोडेर उनीहरूले दुर्वाच्य बोले। त्यो घटनाले शान्ताको मन बेस्सरी कुँडियो। त्यही दिनदेखि मनमनै सोचिन्– म यो समाजसामु केही गरेर देखाउनेछु।

‘त्यसपछि मैले आफूलाई भिक्टिम महशुस हुन कहिल्यै दिइनँ। यस्ता कुरालाई इग्नोर गर्दै हिँडिरहेँ। आफूलाई किन दुःखी देखाउनु भनेर आफ्नो कथा भन्नबाट पन्छिरहेँ’, शान्ता सुनाउँछिन्। 

सम्भवत: यही कारण शान्ताले थुप्रै डकुमेन्ट्रीमा काम गरिन्। पटकथामा काम गर्दा पनि उनकै समुदायको कथा भन्नचाहिँ कहिल्यै जरुरी ठानिनन्।

तर कार्यशालाले उनको सोचाइमा आकाश–पातालकै परिवर्तन ल्याइदियो।

‘हामी कथा खोज्न टाढा जाँदा रहेछौँ। कथा त हाम्रै भोगाइमा हुँदो रहेछ। त्यसबेला मैले आफ्नो कथा किन भन्नुपर्छ भन्ने थाहा पाएँ’, उनी भन्छिन्। 

अब शान्तामा हिजो नभएका आत्मविश्वास थपिएका छन्। डकुमेन्ट्रीमै काम गरिरहँदा पनि लाग्थ्यो– सक्दिनँ फिक्सनमा काम गर्न। 

तर, रुचि यतिबेला थपिएको छ फिक्सनमा।

‘स्टोरी टेलिङ के हो? फिल्मलाई हेर्ने पर्फेक्सन के हो? यी धेरै कुराबारे वर्कसपले सिकाएको छ मलाई’, शान्ता भन्छिन्, ‘त्यसैले गर्न सक्छु भन्ने आत्मविश्वासको ग्राफ बढेको छ।’

शान्ता अहिले अर्को वृत्तचित्रमा पनि काम गरिरहेकी छन्। त्यो कथा काठमाडौंमा कोठा नपाउनेहरूबारे छ। शान्ताको समूहले ती पात्रको ‘जर्नी’लाई पछ्याएका छन्।

शान्ता यात्रा गर्न रुचाउँछिन्। अप्ठ्यारा यात्राहरूमा उनको दिलचस्पी छ।

‘आजदेखि हाम्रो यात्रा रहेको छ ताप्लेजुङ। यात्रा तय गर्नेछौँ २० दिनसम्म’, सन् २०१२ मा तराई टेलिभिजनबाट प्रसारण हुने डेस्टिनेसन नेपाल नामक वृत्तचित्रमा शान्ता यसरी सुनिन्थिन्।

उनको जोखिममय यात्राबारे टेलिभिजनमा हेर्न सकिन्थ्यो। ताप्लेजुङको यात्रामा २२ जनाको टिम थियो। त्यतिबेलाको यात्राबारे सम्झिँदा पनि आङ सिरिङ्ग हुन्छ, शान्ताको। 

‘ओलाङचुंगोला पास गर्ने बेलामा मौसम बिग्रेर, धेरै हिउँ परेर तीन दिनसम्म हामी हराएका थियौँ। खानेकुरा थिएन’, उनी सम्झिन्छिन्। 

हिमालको बीचमा हराउँदा कस्तो अनुभव होला? त्यो व्यहोरेकी छन् शान्ताले।

त्यतिबेला अब बाँचिन्न भन्ने लागेको थियो उनलाई।

‘जसोतसो पार गर्यौं, तर केही साथीको हात र खुट्टाको औँलासमेत काट्नु पर्यो पछि’, शान्ता सम्झिन्छिन्।

वृत्तचित्र निर्माणकै लागि पनि जोखिम यात्राहरूमा रमाएकी छन् शान्ता। कठिनतम यात्राहरूले नै जीवन बुझाएको छ उनलाई। चाहे त्यो सगरमाथाको ७ हजार उचाइसम्म पुग्दा होस् वा ६ हजार अग्ला हिमालहरू उक्लिँदा।

‘जब हिमाल चढिन्छ नि! त्यतिबेला कसरी अगाडिको पाइला सार्ने, कसरी श्वास फेर्ने भन्नेमात्र हुन्छ। हामी हाम्रा जीवनका सबै कुराबाट टाढा हुन्छौँ’, शान्ता भन्छिन्। 

उनलाई हिमालमा पुगेपछि आफ्नो उचाइबारे थाहा हुन्छ। जब हिमालभन्दा आफूलाई सबैभन्दा सानो पाउँछिन्। ठान्छिन्– म संसारको एउटा सानो अंश मात्र पाे रहेछु! 

हिमाल चढ्दै गर्दा कतिपटक ‘मृत्यु उनको सामुन्ने’बाट गयो। यिनै घटनाले शान्ताको जीवनलाई हेर्ने दृष्टिकोणमा बदलाव ल्याए। 

हिमाल र पहाडका यात्रा मात्र हैन, जीवनकै यात्रा पनि चुनौतीपूर्ण थिए शान्ताका।  

धरानदेखि काठमाडौं आएर संघर्ष गर्दाको क्षण साक्षी छन् उनीसँग। धरानमै छँदा केही वर्ष पत्रकारितामा उनको मन भुल्यो। सुरुमा लेखहरू लेख्थिन् स्थानीय पत्रिकामा।

‘मैले पढेँ, राम्रो लेख्दो रहेछौ’, धेरैले यसरी प्रोत्साहन दिएपछि फुरुङ्ग बनिन्। लेखनको हुटहुटीले अझै लेखायो, सिकायो उनलाई। 

एक दिन साथीसँग घुम्न काठमाडौं पुगिन्। त्यहीबेला उज्यालो नेटवर्कमा पत्रकार चाहिएको थियो। ‘अप्लाइ’ गरिन्। छनोट भइन्। ‘बस्छु’ भनेर काठमाडौं आएकी थिइनन्। कामै गर्न थालेपछि त कहाँ बस्ने? चिन्ता थियो। धन्न, गाउँकै दिदी कवि विमला तुम्खेवासँग भेट भयो उनको।

विमलाले उत्साह भरिदिइन्– मैसँग बस। चिन्ता नगर!

उनी विमलासँगै बस्न थालिन्। उज्यालोमा दुई वर्ष काम गरेपछि तराई टेलिभिजनमा एउटा ‘शो’ सुरु गरिन्।

सुरुमा आइडिया थिएन। तर आत्मविश्वास थियो। त्यही बेला हो, उनले डेस्टिनेसन नेपाल नामक ट्राभल शो टेलिभिजनमा ‘प्रोड्युस’ गरेको।

त्यहीँबाट उनले टेलिभिजनको ‘प्रोडक्सन’बारे सिकिन्। क्यामेरा चलाउन जानिन्। कथा भन्न सिकिन्। 

त्यसपछि शान्ता, शिव लामिछाने, प्रताप अधिकारीलगायतका संगीतप्रेमीहरूको पहलमा कृपा ‘अनप्लग्ड’ सुरु भयो। उनी यसैमा लागिन्।

यो प्लेटफर्मबाट नयाँ तथा पुराना दर्जनौँ कलाकारले प्रस्तुति दिए। यसले शान्तालाई धेरै सिकाइ भयो। 

त्यसपछि उनी हिमालयन टेलिभिजनबाट प्रसारित हुने रोडिजमा असिस्टेन्ट डाइरेक्टर भएर काम गर्न थालिन्। यही बीचमा म्युजिक भिडियो र विज्ञापनहरूमा पनि काम गरेकी थिइन् शान्ताले। 

यसरी गरिरहँदा एक दिन शान्ताले आफैँलाई प्रश्न गरिन्– कति गर्नु अरुको काम? प्रश्नका पछाडि धेरै कारण थिए। 

‘कति ठाउँमा मेरो कन्सेप्टलाई बेवास्ता गरियो। कति ठाउँमा विश्वास गरिएन। यसरी अरुको लागि काम गर्नुभन्दा आफ्नै लागि गरूँ भन्ने सोच आयो’, उनी सुनाउँछिन्। 

प्रश्नको जवाफमा उनले आफ्नै शान्ता नेपाली नामक प्रोडक्सन हाउस सुरु गरिन्।

आफ्नै सुरु गरेपछि शान्ताको व्यावसायिक सम्बन्ध बढ्दै गए। जसले गर्दा काम पाउन र जीवन निर्वाह गर्न मद्दत गर्यो उनलाई। आफ्नै प्रोडक्सन हाउस बनाएपछि आफूसँगै अरुलाई काम दिन समेत सक्षम भइन्। 

शान्ताले अघिल्लो वर्ष निर्देशन गरेको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ लोकप्रिय रह्यो। कान्तिपुर टेलिभिजनबाट सञ्चालित कार्यक्रमका प्रस्तोता थिए, अभिनेता राजेश हमाल।

अघिल्लो लकडाउनमा रुकुम हत्याकाण्ड भयो। यसले कथित माथिल्लो जातका भनिनेहरूले दलित समुदायमाथि गरिरहेको थिचोमिचोलाई सतहमा ल्याइदियो। विभेदको अनेक स्वरुप देखिरहँदा शान्ता खिन्न थिइन्।

त्यही क्रममा समता फाउण्डेसन विभेदसम्बन्धी केही कार्यक्रम गर्ने योजनामा रहेछ।

उनले प्रस्ताव गरिन्, ‘हामी यस्तो कार्यक्रम गरौँ। कम्तीमा जातको बारेमा मान्छेले घर–घरमा बहस गर्न थालून्।’

सुरुमा उनको कार्यक्रमको थिम स्टोरी टेलिङ र ट्राभलको थियो। तर लकडाउनले उनको योजनामा अंकुश लगाइरह्यो।

‘ट्राभल सम्भव थिएन। सोचेको फर्म्याट चेन्ज भएर रातारात परिवर्तन गर्नुपर्यो’, शान्ता सुनाउँछिन्। 

‘जातको प्रश्न’ले राम्रै प्रभाव पार्यो। सफल हुनुमा शान्ताको पनि अनुभूति जोडिएको थियो।

काठमाडौंमै साथी सर्कलमा वा यात्राका सिलसिलामा उनले विभेद महशुस गरेकी थिइन्। अहिले पनि त्यो खेपिरहेको भान हुन्छ, शान्तालाई।

जब उनी काठमाडौंमा फ्ल्याट खोज्दै हिँड्छिन्, त्यतिबेला सुरुमै सोधिदिने प्रश्न हुन्छ, ‘जात के हो?’ 

उनलाई लागिहाल्छ, ‘यो मान्छेले जात सोध्यो। अब कोठा दिँदैन।’

कति ठाउँमा विभिन्न बहानामा कोठा पाउनबाट वञ्चित भएकी छन् शान्ता। 

कुनै बेला त केही साथीहरूबाटै पनि विभेद महसुस गर्नुपरेको छ उनले। उनीहरूले प्रसंगवश जात सोध्छन्। जात बताएपछि उनीहरू भन्छन्– हो र! तर तिमी त दलितजस्तो देखिन्नौ नि!’

दलित हुन कस्तो हुनुपर्छ, उनी आफैँलाई सोध्छिन्।

एकपटक समूहमा छलफल चलिरहेको थियो। प्रसंगवश जातका कुरा निस्कियाे। त्यतिबेला मिडियाकै एकजना साथी बोलिहाले, ‘यो सानो जातका मान्छेको व्यहोरा नै कस्तो हुन्छ! फोहोरी!’

शान्तालाई चसक्क भयो। तर उनले शालीन हुँदै भनिन्, ‘त्यस्तो नि हुन्छ र!’ तत्काल ती साथीले थपिहाले, ‘हैन हैन, फेरि तिमीलाई चाहिँ भन्न खोजेको होइन। तिमी त्यस्तो छैनौ।’

अनि शान्ता बेलाबेला अवाक् हुँदै सोच्छिन्– पढेलेखेका मान्छेबाट त यो व्यवहार हुन्छ। गाउँमा अझ कस्तो भयावह होला!

उसो त दलित समुदायको पीडा मात्र होइन, महिलाहरूलाई हेर्ने दृष्टिकोणसँग पनि सामना गर्नुपरेको छ, शान्ताले।

एउटा चर्चित ‘शो’को निर्देशन गर्दै थिइन् उनी। छलफल हुँदै थियो। त्यसक्रममा एउटा मिडिया हाउसका सिनियर व्यक्तिले सोधे– यसमा निर्देशक को?’

साथीहरूले परिचय गराइदिए, ‘उहाँ हो, शान्ता नेपाली।’​

तत्काल ती व्यक्तिले अनौठो मुद्रामा सोधे, ‘तपाईंले कहाँ पढेर आउनुभएको?’

प्रश्नले अचम्मित बनायो शान्तालाई।

‘मलाई थाहा थियो। त्यहाँ कुनै पुरुष निर्देशक भइदिएको भए त्यस्तो हुन्न थियो। उहाँले पछि पनि नपत्याएजसरी मोडल हेरम् भनिरहनुभएको थियो, खिन्न भएँ’, उनी सुनाउँछिन्। 

कतिपय ठाउँमा ‘कहाँ पढेर आएको’ भन्ने प्रश्न दोहोर्याउँदा उनी आक्रोशपूर्ण जवाफ दिन्छिन्– ‘सर्टिफिकेट दिनुपर्यो?’

सिनेमा क्षेत्रमा महिलाहरूलाई अघि बढ्न नदिइएका थुप्रै दृष्टान्त छन् शान्तासँग।

‘बढीसम्म भए असिस्टेन्ट डिरेक्टरमा देख्न सकिन्छ। निर्देशनमा विश्वास गर्नसकेकै यो संरचनाले हाे हामीलाई’, शान्ता भन्छिन्। 

त्यसैले शान्ताको सपना नै छ- महिलाहरूलाई मजबुत बनाउने। 

अहिले उनले ‘फिमेल फिल्म मेकर’ समूह बनाएकी छन्। त्यहाँ सिनेमा क्षेत्रमा लागेका महिलाहरूले आफ्ना अनुभव सुनाउन सक्नेछन्। आफ्ना समस्या राख्न सक्नेछन्। अवसर पाउन सक्नेछन्। 

शान्ताले बुझेकी छन्, हरेक क्षेत्रमा महिलाहरूमाथि हेर्ने दृष्टिकोणबारे। त्यसैले महिलाहरू संगठित र मजबुत बनाउन उनको प्रयास छ।

‘शान्ता नेपाली एक जना मात्र अगाडि हैन, ऊसँगै १०–१२ जना पनि सँगै अगाडि बढ्न सकून्’, शान्ता दृढ सुनिन्छिन्। 

 

साउन २७, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .