वरिष्ठ नेता माधवकुमार नेपालसँग टाढा र अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिँदै गएको चर्चा चलिरहेका बेला नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन।
शीतल निवास (राष्ट्रपतिको कार्यालय) स्रोतका अनुसार नेता रावलले शनिबार अपराह्न शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग झन्डै ३ घण्टा छलफल गरेका हुन्। उनीहरूबीच शनिबार अपराह्न ५ बजेर १० मिनेटदेखि साँझ ७ बजेर ४० मिनेटसम्म भेटवार्ता भएको हो।
एमालेका ओली र नेपाल पक्षबीच एकता वा ‘सम्बन्ध विच्छेद’को चर्काे बहस भइरहेका बेला भएको यो भेटवार्तालाई महत्त्वपूर्ण रूपमा लिइएको छ। तर नेता रावल र राष्ट्रपतिबीच के छलफल भयो भन्ने विषयमा स्रोतले खुलाएन।
माधव नेपाल पक्षका मानिएका नेता रावल शेरबहादुर देउवा प्रधानमन्त्री बनेयता ओलीतर्फ नजिकिँदै गएका छन्।
यही साउन ३ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विषयमा वरिष्ठ नेता नेपालसँग विवाद भएपछि नेता रावलले सांसद पदबाटै राजीनामा दिएका थिए। तर पछि राजीनामा फिर्ता लिएको घोषणा गरिसकेका छन्।
त्यसअघि एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालको आलोचना र रावलको प्रशंसा गर्दै मिल्छ भने राजीनामा फिर्ता लिन रावललाई आग्रह गरेका थिए।
Shares

प्रतिक्रिया