पाँच दलीय गठबन्धन सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेपाल भूमिहीन सुकुम्बासी संगठनले आन्दोलन घोषणा गरेको छ।
एमाले सांसद शान्ता चौधरी नेतृत्वको नेपाल भूमिहीन सुकुम्बासी संगठनले भूमि आयोग खारेजीविरुद्ध आन्दोलन थाल्ने भएको हो।
अध्यक्ष चौधरीले बिहीबार विज्ञप्ति निकालेर शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि आयोग खारेज गरिदिएर लाखौँ भूमिहीनको जग्गा पाउने मौलिक अधिकार खोसेको निष्कर्ष निकाल्दै आन्दोलन घोषणा गरेकी छन्।
'परमादेशद्वारा गठित सरकारले जमिनको मालिक बन्ने सपना बोकेर बसेका लाखौं भूमिहीन-सुकुम्बासी र दलितहरूको छातीमा लात हानेको छ', उनले विज्ञप्तिमा भनेकी छन्, 'यस्तो खालको अमानवीय, गैरकानुनी कार्यको भर्त्सना गर्दै अविलम्ब भूमि आयोगलाई पुनर्बहाली गरियोस्।'
संगठनकी अध्यक्ष चौधरी पूर्वकमलरी पनि हुन्। उनले आन्दोलनका कार्यक्रम अन्तर्गत भूमिहीन सुकुम्बासी संगठनको तर्फबाट सरकारलाई विरोधपत्र बुझाउने, सुकुम्बासी बस्तीमा आयोग खारेजीबारे जानकारी, जागरण अभियान चलाउने र यही साउन २४ गते देशभर विरोधसभा गर्ने घोषणा गरेकी छन्।
पहिलो चरणका आन्दोलन सकेपछि दोस्रो चरणका थप आन्दोलनका कार्यक्रम फेरि तय गरिने उनले बताएकी छन्। भूमि आयोग खारेजीविरुद्ध बिहीबार दिउँसो एमाले नेता महेश बस्नेतको अगुवाइमा युवा संघ नेपालले मनोहरा बस्तीका सुकुम्बासी उतारेर आन्दोलन गर्ने भएका छन्।

Shares

प्रतिक्रिया