ad ad

राजनीति


माओवादीबाट को को मन्त्री? कसको नेतृत्व?

माओवादीबाट को को मन्त्री? कसको नेतृत्व?

सागर न्यौपाने
साउन ५, २०७८ मंगलबार १९:२८,

नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र हरिबोल गजुरेलमध्ये एकजनाले नेतृत्व गर्ने भएका छन्। देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेलेको माओवादी केन्द्रले आठ मन्त्रालय दाबी गरेको छ। 

प्रधानमन्त्री नियुक्त भएकै दिन देउवाले माओवादीबाट पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ र जनार्दन शर्मालाई अर्थमन्त्री बनाइसकेका छन्। माओवादीको भागमा परेका बाँकी मन्त्रालयमा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, अञ्जना विसङ्खे, सुरेशकुमार राई र शशीले दाबी गरेका छन्। 

यस्तै सांसदहरु सुदन किराती, शिवकुमार मण्डल, हरिराम चौधरीको नाम पनि मन्त्रीको चर्चामा छ। मन्त्रीको चर्चामा रहेकामध्ये नारायणकाजी र हरिराम राष्ट्रियसभा सदस्य हुन्। स्रोतका अनुसार माओवादी केन्द्रले सकेसम्म सातै प्रदेश समेटेर मन्त्री बनाउने भएको छ। कर्णालीबाट शर्मा, बागमतीबाट भुसाल मन्त्री भइसकेका छन्। 

माओवादी केन्द्रले एक उपप्रधानमन्त्री पाउने छ। पार्टीमा वरिष्ठ नेता भएकाले श्रेष्ठको नेतृत्वमा सरकारमा जानुपर्ने कुरा माओवादीमा उठिरहेको छ। तर, यसअघि आफूलाई थाहै नदिइ भुसाल र शर्मालाई मन्त्री बनाएको भन्दै अध्यक्ष दाहालसँग नारायणकाजी खुसी छैनन्। 

स्रोतका अनुसार शनिबार प्रचण्ड र श्रेष्ठबीच भेट भएको थियो। त्यसयता उनीहरूबीच थप छलफल भएको छैन। श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने पक्षमा अध्यक्ष दाहाल पनि छन्। ‘नारायणकाजी सिनियर नेता भएकोले उहाँकै नेतृत्वमा सरकारमा जाने हो,’ प्रचण्डनिकट स्रोतले भन्यो, ‘उहाँले नमाने मात्रै अन्य नेताले नेतृत्व गर्नुहुन्छ।’ 

नेता श्रेष्ठ यसअघि दुई पटक मन्त्री भइसकेका छन्। उनी डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए। त्यसअघि उनी गृहमन्त्री पनि भइसकेका थिए। 

अहिले चर्चामा रहेकामध्ये श्रेष्ठपछिका सिनियर नेता गजुरेल हुन्। तत्कालीन एमाओवादीको २०६९ माघ २० देखि २६ सम्म भएको महाधिवेशनमा श्रेष्ठ उपाध्यक्ष र गजुरेल कोषाध्यक्ष निर्वाचित भएका थिए। यदि श्रेष्ठ मन्त्री बन्न राजी भए उनले उपप्रधानसहित कुनै मन्त्रालय पाउने छन्। 

अर्को विकल्पमा श्रेष्ठकै नेतृत्वमा गजुरेल पनि मन्त्री बन्ने सम्भावना छ। यसअघि २०७३ सालमा प्रचण्ड नेतृत्वकै सरकारमा गजुरेल कृषि मन्त्री भइसकेका छन्। 

श्रेष्ठ सरकारमा नगएको अवस्थामा गजुरेलले उपप्रधानसहित एउटा मन्त्रालय लिएर सरकारमा माओवादीको नेतृत्व गर्नेछन्। सत्ता साझेदार माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एमालेको माधवकुमार नेपाल पक्षलाई समेटेर मन्त्रिमण्डल विस्तार गरिने भएकोले माओवादीले पाउने मन्त्रालय घट्ने सम्भावना छ। 

अर्कातिर पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महराले पनि सरकारमा जाने इच्छा देखाएका छन्। महरा पनि सरकारमा जान अहिले दौडधुप गरिरहेका छन्। कांग्रेसमा जस्तै माओवादीमा पनि मन्त्रीका आकांक्षी बढ्दै जाँदा प्रचण्डले नेताहरुसँग  छलफल तीव्र पारिरहेका छन्।  

अहिलेकै अवस्थामा जसपाको उपेन्द्र यादव पक्षलाई ४ र एमालेको नेपाल पक्षलाई समेत ४ मन्त्रालय दिने तयारी छ। यद्यपि नेपाल पक्ष भने सरकारमा जाने-नजाने टुंगो गरेको छैन। प्रधानमन्त्रीबाहेका अन्य ६ मन्त्रालयमा कांग्रेसले पनि दाबी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .