अमेरिका, अफगानिस्तान, पाकिस्तान र उज्बेकिस्तानबीच क्षेत्रीय सम्पर्क बढाउनको लागि नयाँ क्वाड समूह बनाउने सैद्धान्तिक सहमति भएको अमेरिकाले जनाएको छ।
अमेरिकी विदेश विभागले शुक्रबार अफगानिस्तानमा शान्ति र स्थिरताको लागि यो क्षेत्रीय समूह बनाउनु महत्वपूर्ण रहेको बताएको छ।
विभागले जारी गरेको विज्ञप्तिमा भनिएअनुसार यो नयाँ कूटनीतिक मञ्चको लक्ष्य अफगानिस्तानमा दीर्घकालीन शान्ति र स्थायित्व ल्याउनु हो।
यसका साथै यो चार देशको समूहले व्यापार विस्तार गर्ने, अन्तर–क्षेत्रीय व्यापार मार्ग खोल्ने, ट्रान्जिट लिंक बनाउने र व्यापारिक सम्बन्धलाई झनै मजबुत बनाउन सहयोग आदान–प्रदान गर्ने लक्ष्य लिएका छन्।
विभागको तर्फबाट जारी गरिएको विज्ञप्तीका अनुसार सबै पक्षहरू आउँदो महिनाहरूमा आपसी सहमतिबाट यस सहकार्यका ढाँचाहरूको बारेमा छलफल गर्न पनि सहमत भएका छन्।
अफगानिस्तानको पूर्व र दक्षिणी सीमा पाकिस्तानसँग जोडिएको छ, पश्चिमी सीमा इरान, उत्तर तुर्कमेनिस्तान, उज्बेकिस्तान र ताजिकिस्तान साथै उत्तरको सीमा चीनसँग जोडिएको छ।
अफगानिस्तानको रणनीतिक र भौगोलिक स्थितीको लाभ लिन अमेरिकी नेतृत्वमा हालको क्वाड गठन हुन लागेको अनुमान गरिएको छ।
सिल्क रोडको केन्द्रमा रहेको अफगानिस्तान लामो समयदेखि एसियाली देश र युरोपलाई जोड्ने वाणिज्य र व्यापारको केन्द्र हो। जसबाट धार्मिक साँस्कृतिक र व्यापारिक सम्पर्क बढाउन फाइदा पुग्छ।
चीनले लामो समयदेखि आफ्नो बीआरआई अवधारणा अफगानिस्तानमा विस्तार गर्न चाहन्छ। यसबीचमा अमेरिकाको नेतृत्वमा गठन हुन लागेको यो क्वाड समूहलाई चासोका साथ हेरिएको छ।
सन् २०१३ मा सत्तामा आएका चीनका राष्ट्रपति सी चिनफिङले अरबौं डलरको बीआरआई परियोजनाको उद्घाटन गरेका थिए। यो परियोजनाको उद्देश्य दक्षिण पूर्वी एसिया, मध्य एसिया, खाडी राष्ट्र, अफ्रिका र युरोपको स्थल र समुद्री मार्गको नेटवर्क जोड्नु हो।
अफगानिस्तानको भौगोलिक स्थिती यस्तै एक रणनीतिक मार्ग हो जसले विश्वभर सन्जाल फैल्याउन चीनलाई आधार दिनसक्छ।
३१ अगष्टसम्म अमेरिकी सेना अफगानिस्तानबाट फर्काइ सक्नुपर्नेछ। जसका कारण पछिल्लो समय तालिबान र सरकारी सेनाबीच हिंसा चर्किएको छ।
यसबीचमा तालिबानले हालै चीनलाई सहयोगीको रुपमा लिने बताएको थियो। तालिबान सत्तामा आए अफगानिस्तान चीनसँग मिल्ने प्रस्ट भएको बेला अमेरिकाले चीनलाई घेर्नको लागि नयाँ क्वाड गठन गर्न लागेको अनुमान गरिएको छ।
चीनलाई घेर्नको लागि यसअघि पनि अमेरिकी नेतृत्वमा क्वाड समूह गठन भएको थियो। जापान, अस्ट्रेलिया, भारत र अमेरिका सम्मिलित सो समूहले इन्डो–प्यासिफिक क्षेत्र चीनको आक्रामकता नस्वीकार्ने दोहार्याउँदै बताउँदै आएका छन्। टाइम्स अफ इन्डिया
यो पनिः बेइजिङले चिन्ता व्यक्त गरेपछि तालिबानले भन्योः हामी चीनलाई सहयोगीको रुपमा लिन्छौं
- चीनको बीआरआईलाई काउन्टर दिन अमेरिकाले प्रस्तुत गर्यो बी३डब्ल्यू योजना
- अमेरिकी प्रतिबन्धबाट थप शक्तिशाली बन्यो चीन, एक्लैले स्पेस स्टेसन बनाउने हिम्मत गर्यो
Shares

प्रतिक्रिया