ad ad

राजनीति


यस्तो छ देउवाको बहुमत पुर्‍याउने रणनीति, चाँडै विश्वासको मत लिने

यस्तो छ देउवाको बहुमत पुर्‍याउने रणनीति, चाँडै विश्वासको मत लिने

सागर न्यौपाने
असार ३१, २०७८ बिहिबार ७:२८,

प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै विश्वासको मत लिने तयारी गरेका छन्। पुनस्र्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गतेभित्रै बोलाउन सर्वाेच्च अदालतले आदेश दिइसकेको छ।

संसद् बसेको केही दिनभित्रै विश्वासको मत लिने तयारी भइरहेको देउवानिकट एक नेताले नेपालखबरलाई जानकारी दिए। प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

‘बैठक बसेको केही दिनभित्रै उहाँले विश्वासको मत लिने तयारी गर्नुभएको छ,’ देउवानिकट ती नेताले भने, ‘त्यसका लागि एमाले र जनता समाजवादी पार्टी (जसपा) लगायतका दलसँग छलफल अगाडि बढाउनु हुनेछ।’

सोही आधारमा देउवाले बुधबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेट गरे। प्रधानमन्त्री नियुक्त भएपछि देउवाले नेता नेपालसँग पहिलो पटक उनकै निवास पुगेर भेट गर्नुको रणनीतिक महत्व छ।

देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपालसहित एमालेका २३ सांसदले निर्णायक भूमिका खेलेका थिए। आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर देउवा नेतृत्वमा सरकार बनाउन नेता नेपाल पक्ष नै निर्णायक थियो।

नेता नेपाल र जसपाबाट समर्थन लिएर देउवा विश्वासको मत लिने योजनामा छन्। जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले पनि देउवालाई प्रधानमन्त्री बनाउन साथ दिएको छ। 

तर, जसपा अहिले विभाजित छ। अध्यक्ष महन्थ ठाकुर समूह ओली सरकारमै सहभागी भएको थियो। त्यसबेला ठाकुर पक्षमा २० सांसद उभिए भने उपेन्द्र–बाबुराम पक्षमा १२ जनामात्र रहे।

तीमध्ये केही नेताहरु परिस्थिति बदलिएकोले मिलेर अघि बढ्नुप¥यो भन्दै उपेन्द्र र बाबुरामसँग छलफलमा रहेको स्रोतले जनायो।

देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई सुरुदेखि नै उभिएका थिए। संसदीय दलमा भने उनीहरु अल्पमतमा परे। दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्नुअघि जसपा र कांग्रेसबीच सरकार बनाउने विषयमा छलफल भएको थियो। 

ओलीले वैशाख २७ गते राजीनामा प्रधानमन्त्रीबाट दिएका थिए। त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसारको सरकार बनाउन आह्वान गरिन्। त्यही बेलामा कांग्रेस, जसपा र माओवादी केन्द्र मिलेर बहुमतको सरकार बनाउने योजना ठाकुरका कारण तुहिएको थियो।

ठाकुरलाई प्रधानन्त्रीको प्रस्ताव गर्दा समेत उनले नमानेको कांग्रेसका नेताहरु बताउँछन्। तर, देउवाले अहिले पनि ठाकुर पक्षमा लागेका नेताहरुलाई मिलाउने कोसिस गरिरहेका छन्। 

विश्वासको मत प्राप्त गर्न अहिले १ सय ३८ जना सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ सांसद छन्। यसआधारमा देउवालाई बहुमत पु¥याउन थप २९ सांसदको समर्थन आवश्यक छ।

जसपाका ३२ सांसद छन्। कांग्रेस, माओवादी केन्द्र जसपाका सबै सांसदले मत दिए देउवाको बहुमत पुग्छ। तर, जसपाको सबै मत देउवाले पाउने सम्भावना कम छ। उपेन्द्र–बाबुराम पक्षमा अहिले १४ सांसद मात्र छन्। ठाकुर पक्षमा १८ सांसद छन्।

त्यही भएर अहिले देउवाले महन्थ ठाकुर पक्षमा लागेका सबै नेताहरुलाई मिलाएर जसपालाई विभाजन हुन नदिने रणनीति बनाएको कांग्रेसका अर्का एक नेता बताउँछन्।

यसअघि देउवालाई प्रधानमन्त्री बनाउन पेस गरिएको हस्ताक्षरमा उपेन्द्र–बाबुराम पक्षका १२ सांसदले मात्र हस्ताक्षर गरेका थिए। तर, केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने क्रममा ठाकुर पक्षमा रहेका दुई  सांसद असन्तुष्ट भएर उपेन्द्र पक्षमा खुलेका छन्।

जसपालाई सिंगो रुपमा राख्न सके सजिलै विश्वासको मत पाइने र बाँकी डेढ वर्ष सरकार चलाउन पाइने भएकोले देउवाको पहिलो प्राथमिकता जसपा मिलाउने रहेको ती नेताले बताए।

‘उहाँको पहिलो जोड जसपाको दुवै पक्षलाई मिलाउने छ, त्यसका लागि दुवै पक्षसँग छलफल हुनेछ,’ ती नेताले भने।

नेकपा एमालेको माधव नेपाल समूहसँग भने देउवा ढुक्क जस्तै छन्। आफूलाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका नेता नेपालले खेलेको हुनाले देउवाले उनी पक्षको समर्थन पाउने विश्वास लिएका छन्।

पटकपटकको भेटमा देउवालाई नेता नेपालले आफूले सहयोग गर्ने आश्वासन पनि दिएका छन्। कांग्रेससहितको पाँच दलीय गठबन्धनमा रहेका नेता नेपालले प्रतिनिधि सभा पुनस्र्थापना भएपछि गठबन्धनबाट बाहिरिने घोषणा गरेका थिए। उनले एमाले एकतामा क्रियाशील रहने बताएका थिए। 

जसपा विभाजित हुने र नेपाल पक्षले समेत साथ नदिने  अवस्थामा देउवाले विश्वासको मत पाउँदैनन्। तर, विश्वासको मत नपाए पनि उनैले चुनाव गराउन पाउने छन्।

संसदको आयु पाँचै वर्ष टिकोस् भन्ने चाहना देउवामा रहेको निकटस्थहरु बताउँछन्। त्यही भएर पनि देउवाले अहिले दलहरु मिलाउन लागिपरेका हुन्।

जसपाभित्रको विवाद निर्वाचन आयोगमा विचाराधीन छ। जसपा नामको आधिकारिता उपेन्द्र र ठाकुरमध्ये कुन पक्षले पाउने भन्ने विषयमा आयोगले साउन ३ गते इजलासमा छलफल गर्दैछ। 

त्यसअघि देउवाले मन्त्रिमण्डल समेत विस्तार नगर्ने भएका छन्।

‘सरकारमा सहभागिताका विषयमा दलहरुभित्र छलफल भइरहेको छ,’ कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले भने, ‘अहिले नै सबै टुंगो लागिसकेको छैन।’

पहिलो चरणमा देउवाले माओवादी केन्द्रबाट २ र कांग्रेसबाट २ जनालाई लिएर सानो मन्त्रिमण्डल बनाएका देउवाले ३ गतेपछि भने जसपालाई पनि समेटेर मन्त्रिमण्डल विस्तारको योजना बनाएका छन्।

देउवाले नेकपा एमाले टुक्रिने आकलन गरेको कांग्रेस नेताहरुले बताए।

प्रधानमन्त्री पदबाट विदा हुँदै गर्दा ओलीले नेता नेपालकै कारण सत्ता छाड्नुपरेको बताएका थिए। 

बालकोटस्थित निवास पुगेपछि ओलीले नेता नेपाललाई ‘लालगद्दार, लाजपचेको मान्छे, त्यस्तालाई एमालेमा कुनै स्थान छैन,’ भन्ने अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .