ad ad

राजनीति


सत्ताच्युत हुनेबित्तिकै ओलीलाई किन चाहियो लडाकु जत्था?

सत्ताच्युत हुनेबित्तिकै ओलीलाई किन चाहियो लडाकु जत्था?

मणि दाहाल
असार ३०, २०७८ बुधबार ७:५२,

सत्ताच्युत हुनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीले लडाकु जत्था युथ फोर्स ब्युँताएका छन्। 

अध्यक्ष ओलीनिकट रहेका युवा संघका इन्चार्ज महेश बस्नेतले काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा युथ फोर्स ब्युँताएको घोषणा गरेका हुन्। 

मंगलबार बसेको युवा संघको बैठकले एमालेलाई चौतर्फी घेराबन्दी गरिएकाले त्यसलाई प्रतिकार गर्न युथ फोर्स ब्युँताउने निर्णय गरेको हो।

‘मैले पहिले पनि भनेको थिएँ, युथ फोर्स सिरानीमुनि राखेको खुकुरीजस्तो हो। अफ्ठ्यारो प¥यो भने, संकट प¥यो भने निकालिन्छ भनेर,’ बस्नेतले भने, ‘युथ फोर्स फेरि जन्मिएको छ। यसले एमालेको सिद्धान्त र विचारको रक्षा गर्ने छ।’ 

यो समूहको पहिलो अध्यक्ष बस्नेत नै थिए।

शान्ति प्रक्रियामा आएको नेकपा माओवादीले गठन गरेको लडाकु जत्था योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको गतिविधिलाई टक्कर दिन नेकपा एमालेले तत्कालीन भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको विभागको रुपमा रहेको युथ फोर्स गठन गरेको थियो।

वाईसीएलको गतिविधिलाई टक्कर दिएको कारण सुरुमा एमाले पंक्ति र राजनीतिक वृत्तमा लोकप्रिय भएको युथ फोर्स पछि विभिन्न घटनामा विवादित बन्यो। त्यसपछि यसलाई विघटन गरिएको थियो। 

हाल सांसद रहेका बस्नेत पनि युथ फोर्सको प्रमुख भएपछि चर्चामा आएका हुन्।  

विराटनगरस्थित ‘नर्थ साउथ कलेक्टिभ्स’मा आबद्ध राजनीतिशास्त्री भाष्कर गौतमले संक्रमणकालीन अवस्थामा ओलीको शक्तिको प्रमुख स्रोतमध्ये एक युथ फोर्स पनि भएको बताए। त्यसबाहेक सेनाको समर्थनसहित पराम्परागत शक्ति र भारतको आडमा ओलीले शक्ति आर्जन गरेको उनको भनाइ छ। 

‘यसले वाईसीएलको काउन्टर ग¥यो। माओवादीको संशय, सन्त्रास र डर जुन प्रकारको वातावरण थियो, त्यसले गर्दा पार्टीभित्र र बाहिरको समग्र राजनीतिक क्षेत्रमा युथ फोर्सलाई समर्थन पनि प्राप्त भयो,’ गौतमले भने, ‘अहिले युथ फोर्स ब्युँताउँछु भनेको त्यही गुण्डागर्दी, बलमिच्याइँ र पैसालाई प्रयोग गरेर आफूलाई बलियो बनाउँछु भनेको हो।’

युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सले बुधबार ओली सरकारी निवास बालुवाटारबाट भक्तपुरको बालकोटस्थित घर पुग्दा हजारौँ मानिस सडकमा उतार्ने तयारी गरेको छ। 

‘पराम्परागत शक्ति र भारतको आड बाह्य विषय भए। ओलीको नियन्त्रणमा रहेको सबैभन्दा बलियो तागत युथ फोर्स थियो। त्यसैले कमजोर भएको बेला शक्ति आर्जन गर्न त्यसलाई ब्युँताउनु परेको हो,’ गौतमले भने, ‘तर, आजको राजनीतिक परिस्थिति परिवर्तन भएको छ। हिजोकै चाल अपनाएर अघि बढ्ने सम्भावना रहँदैन।’

यद्यपि मुलुकमा कतिपय विषयमा दक्षिणपन्थी शक्ति र दलालतन्त्र हाबी रहेको कारणले चलखेलको सम्भावना हुने उनको भनाइ छ।

नेता बस्नेतले युथ फोर्सले एमालेको रक्षा गर्ने बताए। 

‘यसले एमालेको नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुको रक्षा गर्ने छ,’ बस्नेतले भने ‘न्याय म¥यो भनेर निराश भएका, सामाजिक रुपमा पछि परेकाहरुको संरक्षणमा जसरी विगतमा भूमिका खेल्यो, अब पनि त्यही काम गर्छ।

बस्नेतले युथ फोर्सको भूमिका शान्तिपूर्ण हुने दाबी गरे।

तर, नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले यस्ता समूहहरुले शान्ति सुरक्षामा चुनौती उत्पन्न गर्ने बताए।

‘बुढापाकालाई सडकमा निकालेर हुँदैन। युवा वा विद्यार्थीलाई निकालेर एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गराउने उदेश्य हो,’ मल्लले भने, ‘उनीहरु आक्रामक रुपमा बाहिर आउन थाले भने शान्ति, सुरक्षा र कानुन व्यवस्था कायम राख्न चुनौती उत्पन्न हुन्छ।’

युथ फोर्स ब्युँतियो भने अर्को पार्टीले पनि त्यस्तै समूह गठन गर्नसक्ने उनको भनाइ छ। 

मंगलबार ब्युँत्याइएको युथ फोर्सले पहिलो जिम्मेवारी छ– ओलीलाई घरसम्म स्कर्टिङ गर्ने। ओली बालुवाटारदेखि बालकोटसम्म जाँदा २ हजार मोटर र ३ हजार मोटरसाइकलले स्कर्टिङ गर्ने तयारी छ।

सुरुमा एमालेले युवा स्वयंसेवीहरुलाई संगठित गर्न पिपुल्स भोलिन्टिअर्स गठन गरेको थियो। जसको नेतृत्व प्रदीप नेपालले गर्थे। पछि युथ फोर्स गठन भएपछि नेपालले नै त्यसलाई वाईसीएलको माइलो भाइ भन्दै आलोचना गरेका थिए।

एमालेका नेता तथा सांसद बेदुराम भुसालले अहिले यस प्रकारको संगठनको आवश्यकता नभएको बताए। 

‘लोकतान्त्रिक विधि र पद्धतिअनुसार चल्ने संगठन आजको आवश्यकता हो। अराजक र लडाकु प्रकृतिका संगठनको आवश्यकता छैन,’ भुसालले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .