घरेलु टोली नेपालले भुटानसँग खेल्दै साफ महिला च्याम्पियनसिप-२०२४ को सुरुवात गर्दै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
घरेलु टोली भए पनि नेपालले खेल हुने दशरथ रगंशालामा एक दिन मात्र अभ्यास गर्न पाएको थियो।
च्याम्पियनसिपमा आयोजक नेपाल, भुटानसँगै श्रीलंका र मालदिभ्स रहेको समुह बी मा परेको छ। सहज समूहमा परेको नेपालले सेमिफाइनलमा साफको सर्वाधिक उपाधि विजेता भारत र साविक विजेता बंगलादेशमध्ये एकलाई प्रतिद्वन्दी पाउने निश्चित छ।
साफ इतिहासमा नेपालले पहिलोपटक गत संस्करण भारतलाई सेमिफाइनलमा हराएको थियो। तर फाइनलमा भने बंगलादेशसँग पराजित भयो।
साफको सातौँ संस्करण जारी रहँदा नेपालले पाँचपटक फाइनल खेलेको छ। नेपालले सन् २०१६ बाहेकका हरेक संस्करणमा फाइनलमा खेलेर उपविजेतामै चित्ता बुझाएको छ। चारपटक भारतसँग र एकपटक बंगलादेशसँग पराजित हुँदै नेपालले साफको स्थायी उपविजेताको छवि बनाएको छ।
यसपटक छोटो तयारीमा नेपालले च्याम्पियनसिप खेल्न लागेको छ। करिब २ साताको तयारीमा नेपाल भुटानविरुद्ध मैदान उत्रँदै छ।
रेलु मैदानमा उपाधि जितेरै छाड्ने नेपालको लक्ष्य, यस्तो छ तयारी (भिडिओ रिपोर्ट)
साफका लागि संयुक्त अरब इमिरेट्स् (युएई)मा व्यावसायिक लिग खेलिरहेकी रेखा पौडेल मंगलबार स्वदेश फर्केर टोलीसँग प्रशिक्षणमा जुटिसकेकी छिन्।
अर्की फरवार्ड सावित्रा भण्डारी साम्बा भने आइतबार मात्र नेपाल आइपुग्नेछिन्। साम्बा हाल फ्रान्सको व्यावसायिक लिगमा व्यस्त छिन्।
टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले डिफेन्डर सजनी थोकरलाई नयाँ अनुहारका रूपमा टोलीमा राखेका छन्। अन्य सबै पुराना खेलाडी छन्।
छोटो तयारीका कारण महिला टोली नयाँ रणनीतिमा भन्दा पनि पुरानै अनुभवलाई मैदानमा प्रयोग गर्ने देखिन्छ।



















Shares

प्रतिक्रिया