काठमाडौंका नेवार समुदायले पाहाँच:ह्रे जात्रा मनाएका छन्।
बुधबार काठमाडौंको असन चोकमा नेवार समुदायका मानिसहरु जम्मा भएर यो जात्रा मनाएका हुन्।
‘पाहाँ’ भन्नाले अतिथि बुझिन्छ। ‘चःह्रे’ भनेको चतुर्दशीलाई हो। यस दिनलाई ‘पिशाच चतुर्दशी’ पनि भनिन्छ।
आजको दिन साँझ लुकेको महादेव (लुकुमहाद्य:) को विशेष पूजाआराधना गरी मनाइन्छ।
किम्बदन्ती अनुसार आजको दिन इन्द्रायणी (लुति अजिमा) बाहेक अरू सबै अजिमाहरूलाई खटमा राखेर पूजा गर्न टोल टोलबाट लिएर जाने गरिन्छ।
इन्द्रायणी आफ्नो अरू अजिमा दिदीबहिनीभन्दा निकै गरिब थिइन्। एकदिन दिदी अजिमाले सबैलाई भोज बोलाउँदा इन्द्रायणी अर्थात् लुति अजिमा सम्पन्न नभएकाले उनलाई हेला गरेर खाना फ्याँकेर दिन्छन्।
त्यसरी फ्याँकेको खानाले लुति अजिमाको बच्चाको अनुहारमा लाग्न गई रगत निस्किन्छ।
अपमानित भएर त्यहाँबाट सरक्क निस्किएर हिँडेकी इन्द्रायणीले बाटोबाट एउटा फर्सी किनेर लान्छिन्, तर त्यो फर्सी काट्दा त्यहाँबाट एउटा शर्प निस्किन्छ।
इन्द्रायणीले अब त्यो फर्सी पनि खान नहुने भनेर फ्याँक्न जाँदा एक्कासि त्यो फर्सी सुनमा परिणत हुन्छ।
त्यसपछि, अर्को वर्ष फेरि दिदी अजिमाले भोज बोलाउँदा, इन्द्रायणी सम्पन्न भएर जान्छिन्। यसपटक उनको छुट्टै सत्कार गरिन्छ।
तर, लुति अजिमाले यो सत्कार आफ्नो धनको लागि मात्र भएको भनेर आफू त्यहाँबाट बच्चाहरूसहित निस्किन्छिन्। त्यसैले आजको दिन इन्द्रायणीको भने खट निकालेर पूजा गरिँदैन।
इन्द्रायणीको पूजा आजभन्दा लगभग ४ महिनाअघि नै बाला चतुर्दशीको दिन गर्ने गरिन्छ। आजको दिन नेवार समुदायमा मुकुण्डो लगाएर नाच देखाउने चलन पनि छ।
प्रतिक्रिया