आज ऋषि पञ्चमी। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिनमा सप्तर्षिहरुको पूजा आराधना गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ।
आज काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरसहित देशभरका ऋषेश्वर मन्दिरमा व्रतालु महिलाहरुको भीड रहेको छ।
वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वी महिलाहरुले आजको दिन अरुन्धतीसहित सप्तर्षिहरुको पूजा गरेर यो पर्व मनाउने गर्दछन्।
महिलाले बिहानै, नदी, तलाउ, पोखरीमा गइ स्नान गरी तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने प्रचलन छ।
महिलाहरु आफूले गरेका त्रुटीहरुबाट मुक्त होऔँ भन्ने हेतुले सप्तर्षीहरुको पूजा गर्ने गर्दछन्।
कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अरुन्धतीलाई पूजा गर्ने परम्परा छ । यस अवसरमा आज काठमाडौंको टेकु, मुलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा, आराधनाका लागि व्रतालु महिलाहरु जम्मा भएका छन्।
पौराणिक प्रसङ्ग अनुसार इन्द्रले त्वष्टाऋषिका पुत्र वृत्रको हत्या गरेपछि उनले व्रह्महत्याको ठूलो पापको दण्ड व्यहोर्नुप¥यो। त्यस पापबाट मुक्ति पाउन त्यसलाई चार स्थानमा बाँडिएको थियो। अग्नि (धुँवामिश्रित प्रथम ज्वालामा), नदी (वर्षा कालको गाँज र मैलोयुक्त पानी), पर्वत (जहाँ लस्सेदार वृक्ष उत्पन्न हुन्छन्) र स्त्री (रजस्वला अर्थात्मा सिक धर्ममा) विभाजन गरिएको थियो।
अतः मासिक धर्मका समय अस्पृश्यता रहने हुनाले उक्त अवसरमा छोइछिटो भई लागेको पापबाट छुटकारा पाउनका निम्ति ऋषिपञ्चमीको यो व्रत समस्त महिलाहरूले लिनुपर्ने हिन्दु धर्मशास्त्रमा उल्लेख छ।
ऋषि पञ्चमीको व्रत समापनसँगै शास्त्रिय विधानतः हरितालिका तिज पनि समापन हुने विश्वास छ।






Shares

प्रतिक्रिया