ad ad

राजनीति


काठमाडौं ५ मा एमालेबाट ईश्वर पोखरेल पक्का! चुनौती दिने को को छन्?

काठमाडौं ५ मा एमालेबाट ईश्वर पोखरेल पक्का! चुनौती दिने को को छन्?

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार १२:२०, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम सिफारिस गरेको छ।

बुधबार बसेको काठमाडौंका १० वटै क्षेत्रीय कमिटीको बैठकबाट क्षेत्र नम्बर ५ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको एकल नाम सिफारिस गरेको हो। 

पोखरेल २०७४ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा भारी आन्तरले विजयी भएका थिए। 

पोखरेल २३ हजार २९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए।

त्यस्तै विवेकशील साझा पार्टीका उम्मेदवार उज्जल थापाले ६ हजार ८ सय ५३ मत ल्याएका थिए। थापाको निधन भइसकेको छ। 

चुनौती दिने को?
पोखरेलको नाम प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस हुनुअघि नै यो क्षेत्रबाट उठ्ने स्वतन्त्र र अन्य दलका उम्मेदवारको नाम चर्चामा आइसकेको छ। 

यहाँबाट २०७४ मा पराजित कांग्रेसकै डा. महतको पनि चर्चा छ। तर सत्ता गठबन्धनमा अझैसम्म भागबण्डा मिलिनसकेकाले २०७४ मा पराजित महत फेरि पोखरेलसँग भिड्ने कुराको टुंगो भइसकेको छैन।

यहीँबाट चर्चित अर्थविद् स्वर्णिम वाग्लेको पनि नाम चर्चामा छ। उनले यसअघि काठमाडौं ५ बाट उठ्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए।

तर उनको नाम प्रतिनिधिसभाका लागि चितवन क्षेत्र नम्बर १ बाट जिल्ला कार्य समितिमा सिफारिस भइसकेको छ। 

यो क्षेत्रबाट प्रतिनिधिसभामा उठ्नका लागि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले उक्त पार्टीको भ्रातृसंगठन अनेरास्वियूका अध्यक्ष सुदेश पराजुलीको नाम सिफारिस गरेको छ।

भोजपुरका उनले आफ्नो राजनीतिक थलो काठमाडौंलाई नै बनाउन खोजिरहेका छन्। 

पोखरेल उठ्ने काठमाडौं ५ बाटै आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँदै आएका हेमराज थापाले पनि उम्मेदवारी दिने घोषणा गरेका छन्।

यही क्षेत्रबाट विवेकशील साझा छाडेकी रञ्जु दर्शनाले पनि स्वतन्त्र रुपमा उठ्ने घोषणा गरेकी छन्। 

विवेकशील साझामा विवाद बढेपछि पार्टी छाडेर बसेकी उनी यो क्षेत्रबाट स्वतन्त्र उठ्ने तयारीमा लागेका हुन्। 

०७४ को स्थानीय निर्वाचनमा दर्शना काठमाडौं महानगरको मेयरमा उठेकी थिइन्। तर उनी त्यसबेला एमालेका विद्यासुन्दर शाक्यसँग पराजित भइन्।

त्यस्तै यही क्षेत्रबाट युवा उद्यमी विजय कँडेलले पनि उठ्ने घोषणा गरेका छन्। युवा उद्यमी विजय कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेद्‌वारी दिने घोषणा गरेका हुन्।

कँडेलले देशमा व्याप्त विकृति अन्त्य गर्न, देश र जनताको अवस्था परिवर्तन गर्न र उपलब्ध साधन, स्रोत र प्रविधिको उच्चतम सदुपयोग गरी देश विकासका लागि समग्र युवाको प्रतिनिधित्व गर्दै उम्मेद्‌वारी घोषणा गरेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .