रुपन्देहीको देवदहमा मुर्तिकला कार्यशालाबाट १९ वटा मुर्ति तयार भएका छन्।
देवदह नगरपालिका ७ स्थित स्मृति सामुदायिक वन क्षेत्रमा चैत्र ८ गतेदेखि राष्ट्रिय मुर्तिकला कार्यशाला चलेको थियो।
देवदह नगरपालिका, स्मृति सामुदायिक वन, ड्रिम देवदह र लुम्बिनी प्रदेश सरकारको सहकार्यमा भएको १५ दिने कार्यशालामा बुद्धसँग सम्बन्धित १९ वटा मुर्ति बनेका हुन्। देशका विभिन्न स्थानबाट आएका मुर्तिकारहरुले ढुंगामा मुर्ति कुँदेका हुन्।
भगवान गौतम बुद्धको मावलीस्थल देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा थप विकास गर्नको लागि मुर्तिकला कार्यशाला आयोजना गरिएको ड्रिम देवदहका संयोजक सिद्धिचरण भटराईले बताए। मुर्तिहरु तयार भएको स्थानमा पार्क बनाएर व्यवस्थित गरिने छ।
१९ मुर्तिमध्ये एउटा युद्ध ट्यांकमाथि बुद्ध सुतिरहेको तस्बिर छ। अहिले रुस र युक्रेनबीच युद्ध भइरहेको छ। युद्धलाई बुद्धको विचारले जित्नुपर्छ भन्ने सन्देश दिन यो मुर्ति बनाइएको कलाकारले बताएका छन्।
गौतम बुद्धकी आमा मायादेवीले सपनामा देखेको हात्तीको विम्ब, कान्छी आमा प्रजापतिको विम्ब, बुद्धको ध्यान गर्दै गरेको तरंग लगायतलाई मुर्तिकलामा समेटिएको छ।
मुर्तिकला कार्यशालाको समापन गर्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले मुर्तिकला कार्यशालाले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पुग्ने बताए। उनले देवदह र लुम्बिनी प्रदेशलाई कलाको माध्यमबाट पहिचान गराउन सकिनेमा जोड दिए।












Shares

प्रतिक्रिया