ad ad

विचार


कम्युनिस्टलाई लोकतान्त्रिक बनाउन मदन भण्डारीले उठाएको त्यो जोखिम

कम्युनिस्टलाई लोकतान्त्रिक बनाउन मदन भण्डारीले उठाएको त्यो जोखिम

विष्णु रिजाल
जेठ ३, २०७८ सोमबार ४:३१,

साढे दुई बर्ष अवधि सार्वजनिक जीवन बिताएको, दुई बर्ष संसद् सदस्य रहेको र पुगनपगुग चार बर्ष पार्टी नेतृत्वमा बसेको सायदै कुनै नेता मदन भण्डारी जति लोकप्रिय र दीर्घकालीन पाइन्छ। २०४६ भदौमा भूमिगत महाधिवेशनबाट नेकपा (माले) को महासचिव, ०४७ कात्तिकमा पार्टी प्रवक्ताका रुपमा सार्वजनिक र ०४८ वैशाखमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी प्रतिनिधिसभाा निर्वाचित मदन भण्डारीले ०४९ माघमा सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलीय जनवाद पारितसँगै महासचिव निर्वाचित भएर हासिल गरेको लोकप्रियता आज पर्यन्त चुनौतविहीन छ। ०५० जेठ ३ गते घनिष्ट सहयोद्धा जीवराज आश्रितसँग चितवनको दासढुंगा त्रिशुलीमा खसालेर मारिएयता त्रिशुलीमा धेरै पानी बगे पनि नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीले देखाएको बाटो झन् फराकिलो, लोकप्रिय र त्यतिबेलाका आलोचकहरुका लागि पनि अपरिहार्य बन्दै गएको छ।

कम्युनिस्ट पार्टीलाई चुनावमा भाग लिन लगाउनुमा मदन भण्डारी र उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद सीमित रहँदैन। कम्युनिस्ट पार्टीले चुनावमा भाग लिनु नयाँ कुरा होइन। युरोपका कतिपय देशमा युरो कम्युनिज्मका नाममा भएको अभ्यासलाई टाढाको मान्ने हो भने पनि हाम्रै छिमेकी भारतको केरलामा सन् १९५७ मै कम्युनिस्ट पार्टी निर्वाचन लडेर सत्तामा गएको थियो भने पश्चिम बंगालमा १९७७ मा चुनाव जितेर लगातार सत्तामा थियो। यीभन्दा मदन भण्डारीको विशेष योगदान भनेको कम्युनिस्ट पार्टीले क्रान्तिकारितालाई कायम राख्दै निर्वाचनलाई दाउपेज वा तत्कालीन कार्यनीतिका रुपमा मात्र नभएर जनतामा परीक्षण हुने अवसरका रुपमा ब्याख्या गरेर त्यसलाई कम्युनिस्ट आन्दोलनको एक अभिन्न अंगका रुपमा स्थापित गराउनुभएको छ।

मदन भण्डारीको विचार कुनै एउटा शब्दमा सीमित थिएन, त्यो कम्युनिस्ट आन्दोलनभित्र विश्वव्यापी रुपमा चलिरहेको बहसका बीचमा एउटा साहसिक हस्तक्षेप थियो। जनताका बीचमा राजनीति गर्ने र निर्वाचनमार्फत उनीहरुले निर्धारण गरिदिएको स्थानमा बस्ने जनताको बहुदलीय जनवादको घोषणा कतिका लागि घोर ‘दक्षिणपन्थ’, ‘संशोधनवाद’ र ‘अवसरवाद’ पनि थियो। तर, त्यसलाई पर्वाह नगरी मदन भण्डारीले जुन हिम्मतका साथ नेपालको कम्युनिस्ट आन्दोलनलाई दिशा दिनुभयो, त्यसैले नै झनपछि झन् उहाँको सान्दर्भिकता बढाइरहेको छ।

जनताको बहुदलीय जनवादले अंगीकार गरेका सारभूत कुराहरु– शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्थालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यताबाट कुनै कम्युनिस्ट पार्टी पनि टाढा जान सक्दैन। तीन बर्षअघि आजकै दिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुँदा पनि यिनै आधारहरुमा टेकिएको थियो। यसबाट मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलनको सर्वसम्मत नेता हो भन्ने कुरा सिद्ध गर्दछ।

छोटो अवधिमा पार्टी कार्यकर्तादेखि आम मानिस र अन्तर्राष्ट्रिय समुदायमा समेत मदन भण्डारीले जुन छाप निर्माण गर्नुभयो, त्यही कारणले आज पनि संकटका बेला सहज रुपमा मानिसहरु उहाँको नाम उच्चारण गर्दछन्। सार्वजनिक ओहदाको कुरा गर्दा उहाँ जम्माजम्मी एक पटक ०४८ सालमा संसद् सदस्य निर्वाचित हुनुभयो। पार्टी पंक्तिबाहिर सार्वजनिक छवि निर्माण गर्नका लागि त्यही घटना नै उहाँको जीवनको सर्वाधिक महत्वपूर्ण कोशेढुंगा सावित भयो। किनभने, आफ्नै पार्टीसमेत संलग्न अन्तरिम सरकारका प्रधानमन्त्री र ठूलो दलका सभापति कृष्णप्रसाद भट्टराईसँग चुनाव लड्ने उहाँको जोखिमपूर्ण फैसलाले जति तरंग ल्याएको थियो, काठमाडौंका दुबै क्षेत्रको सानदार विजयले उहाँलाई बेग्लै उचाईमा पुर्याइदियो। फलस्वरुप, मदन भण्डारी बरालिन लागेको कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय निर्वाचनको मार्गमा ल्याउने प्रमुख अभियन्ता मात्र सावित हुनुभएन, त्यसलाई नेपालमा बैकल्पिक लोकतान्त्रिक शक्तिका रुपमा स्थापित गर्ने भाष्यकार समेत प्रमाणित हुनुभयो।

जननेता मदन भण्डारी नेपालको कम्युनिस्ट आन्दोलनमा पानी ढलो मानकका रुपमा स्थापित हुनुभएको छ। आज नेपालको कन्युननिस्ट आन्दोलनमा जति पनि बहस र छलफल हुन्छन्, ती मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको पक्षमा वा विपक्षमा केन्द्रित हुन्छन्। पुष्पलालले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेर जुन ऐतिहासिक काम गर्नुभएको थियो, परिवर्तित परिस्थितिमा त्यसमा प्राण भरेर जनताका बीचमा लोकप्रिय बनाउने काम निःसन्देह मदन भण्डारीले गर्नुभएको छ। पूर्वी युरोपमा एकपछि अर्को गरी समाजवादले धक्का खाइरहेको र विश्वव्यापी रुपमा समाजवाद प्रतिरक्षात्मक अवस्थामा पुगेको बेला नेपालमा त्यसलाई बचाइराख्ने भन्ने ठूलो जोखिम थियो। कम्युनिस्ट पार्टीलाई खोपीको देउता बनाउने र खुल्ला प्रतिस्पर्धा जस्तो उच्च राजनीतिक प्रणालीलाई बुर्जुवाहरुको पोल्टामा एकलौटी छोडिदिने कुराले कम्युनिस्ट पार्टीलाई जनताबाट त अलग गर्दथ्यो नै, परिवर्तित परिस्थिति अनुरुपमा असान्दर्भिक समेत सावित गर्दथ्यो। यही मूल मान्यताबाट प्रेरित भएर मदन भण्डारीले जोखिमपूर्ण कदम उठाउनुभएको थियो, जसले नेपालमा कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय आन्दोलनका रुपमा स्थापित गर्नमा असाधारण भूमिका निर्वाह गरेको छ।

विश्वव्यापी रुपमै सशस्त्र संघर्ष र अवैधानिक बाटोको कार्यनीतिमा हिंडिरहेको कम्युनिस्ट आन्दोलनलाई त्यसबाट बाहिर निकालेर जनताका बीचमा आफ्नो लोकप्रियता नाप्न लगाउने नेता मदन भण्डारी वास्तविक रुपमा दूरद्रष्टा सावित हुनुभएको छ। उहाँले त्यसलाई जनताको बहुदलीय जनवाद नाम दिएर तत्कालिक कार्यक्रमका रुपमा सूत्रीकृत नगरेको भए अरु कैयौं मुलुकमा झैँ नेपालमा पनि कम्युनिस्ट आन्दोलन उठ्न सक्ने अवस्था हुन्थेन। जनताका बीचमा जाने, उनीहरुले विश्वास गरेर जितेमा नेतृत्व गर्ने र हारेमा प्रतिपक्षमा बस्ने जुन कार्यनीति उहाँले अघि सार्नुभयो, त्यसले ०४८ सालमा एमालेलाई प्रमुख प्रतिपक्ष अर्थात् बैकल्पिक शक्तिका रुपमा सतहमा ल्यायो भने उहाँले देख्न नपाए पनि ०५१ सालमा सरकारको नेतृत्व गर्ने अवस्थामा पुर्यायो। यसबाट कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणमा मदन भण्डारीको दूरदर्शिता सबैले महसुस गर्न सक्ने गरी स्थापित भएकै कारण उहाँ झन् पछि झन् सान्दर्भिक बन्दै जानुभएको छ।

कम्युनिस्ट आन्दोलनमा बहसका नाममा रहेको जडता सबैलाई थाहै छ। अहिले पनि स्टालिनका कति प्रतिशत गल्ती थिए भन्नेबारेमा कतिपय कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीमा बहस हुने गर्दछन्। यस्तो बेलामा सशस्त्र संघर्ष भन्दै व्यक्ति हत्याको पृष्ठभूमिबाट अघि आएको कम्युनिस्ट पार्टीलाई एकैपटक प्रतिस्पर्धाको मैदानमा लैजानु चानचुने कुरा थिएन। त्यही गरेवापत नेपालको एकथरी कम्युनिस्ट धाराले मदन भण्डारीमाथि संशोधनवादीदेखि प्रतिक्रियावादीसम्मका आरोप लगाउन बाँकी राखेन। तर, त्यस्ता आरोप लगाउनेहरु पनि कालान्तरमा उहाँले देखाएकै बाटोमा आउनुले उहाँको विचार कति दूरदर्शी र आवश्यक रहेछ भन्ने कुरा थप प्रमाणित हुँदै गएको छ।

नेकपा (माओवादी) ले जनयुद्ध सुरु गर्दा मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई कुनै नीति, सिद्धान्त र विचार होइन, कम्युनिस्ट आन्दोलनको पतन हो भन्ने निष्कर्ष निकालेको थियो। १० वर्ष सशस्त्र युद्ध लडेपछि माओवादी संसदीय अभ्यासमा सहभागी हुन आउँदा मदन भण्डारीबाहेक अर्को आदर्श उसका सामु पनि रहेन। यदि राज्यसत्ता प्रतिक्रियावादी भयो, राजनीतिक दलहरुमाथि प्रतिबन्ध लाग्यो, जनतालाई कुनै अधिकार दिइएन र कम्युनिस्ट पार्टीले बैधानिक बाटोबाट काम गर्न पाएन भने त्यस्तो अवस्थामा हतियार उठाउने कुरालाई मदन भण्डारीले अस्वीकार गर्नुभएको छैन। तर, माओवादी जनयुद्ध त्यस्तो बेलामा सुरु भएको थियो, जतिबेला नेपालमा कम्युनिस्ट आन्दोलन ठूलो आकर्षणको विषय थियो र संसदमा सबभन्दा ठूलो दलका रुपमा कम्युनिस्ट पार्टी उपस्थित थियो। लोकप्रिय र जनमुखी काम गर्दागर्दै नेकपा (एमाले) सँग डराएर सरकारबाट हठात् हटाइएको थियो। तत्काल निर्वाचन भएमा एमालेले सहजताका साथ बहुमत ल्याउने पक्कापक्की भएपछि तोकिएको निर्वाचन संविधानको अपब्याख्याका माध्यमबाट रोकिएको थियो। मुलुकमा सबैले आफ्ना विचार निर्वाध रुपमा राख्न पाउने र संगठन गर्न पाउने संवैधानिक व्यवस्थासहित बहुदलीय व्यवस्था स्थापना भएको पाँच वर्ष मात्रै भएको थियो। त्यस्तो बेलामा जनयुद्ध सुरु गरेर माओवादीले देशख्यापी संगठन त बनायो तर आज जहाँ आइपुगेको छ, आफ्नै विगत भारी हुने गरी ऊ बैचारिक उल्झनमा फसेको छ।

छोटो सार्वजनिक जीवन व्यतीत गरे पनि मदन भण्डारी आम मानिसका मनमनमा जीवित रहनुका पछाडि उहाँको प्रभावकारी वक्तृत्वकला एउटा कारण होला तर मुख्य कुरा उहाँले नेपालको कम्युनिस्ट आन्दोलनलाई दिशाहीनता र जडताको खतराबाट बाहिर निकाल्नु हो। चीनपन्थी कि रुसपन्थी भन्दै आफैँभित्र अनावश्यक विवादमा रुमल्लिन अभ्यस्त अनि दस्तावेजमा सीमित रहेको कम्युनिस्ट आन्दोलनलाई जनताको भरपर्दो शक्ति बनाउने कुरा यत्तिकै सम्भव थिएन। त्यसका लागि २४–२५ वर्ष उमेर समूहका युवाहरुले खोलेको नेकपा (माले) मात्रै पर्याप्त थिएन। मदन भण्डारी कति दूरदर्शी हुनुहुन्थ्यो भन्ने कुरा त नेकपा (माक्र्सवादी) सँगको एकीकरणले पनि बताउँछ। मालेसँग संगठन थियो तर सार्वजनिक छवि भएका नेता थिएनन्, अनि माक्र्सवादीसँग मनमोहन अधिकारी, साहना प्रधान, भरतमोहन अधकिारी जस्ता सार्वजनिक छवि भएका नेता थिए, तर संगठन थिएन। कत्ति पनि अप्ठेरो नमानेर मदन भण्डारीले मनमोहन अधिकारीलाई आफ्नो नेता मात्र बनाउनुभएन, कहिल्यै पनि हामी फरक पार्टीबाट आएका मानिसहरु हौँ भन्ने अनुभूति हुन दिनुभएन। फलस्वरुप त्यो पार्टी एकताको ऊर्जाले नेकपा (एमाले) लाई बेग्लै आकर्षणको केन्द्र बनाउन सफल भयो। आवश्यकता के हो र त्यसलाई कसरी उपयोग गर्नुपर्छ भन्ने सफल उदाहरणमा यस प्रकरणमा पनि देख्न सकिन्छ।

मदन भण्डारीको तिख्खर आवाजमा गुञ्जिएको राष्ट्रियताको गुञ्जन सायदै कुनै नेपालीले भुल्न सक्ला। टनकपुर सम्झौताका नाममा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सन्धिका विरुद्ध सम्झौताहीन रुपमा उभिएर मदन भण्डारीले नेपाली जनतामा अभूतपूर्व राष्ट्रिय भावना जागृत गराउनुभएको थियो। जे गर्ने हो, बिना हिच्किचाहट र प्रस्टसँग भन्ने स्वभाव नै वास्तवमा उहाँप्रति अरु नेता–कार्यकर्ताको विश्वास र आकर्षणको कारण बनेको पाइन्छ। कम्युनिस्ट आन्दोलनभित्र ‘संसदवाद’ वा ‘संसदमुखी’ भन्ने शब्दलाई नकारात्मक रुपमा बुझिन्छ। एकपटक कुनै पत्रकारले उहाँलाई ‘तपाईं संसदमुखी हुनुभयो नि’ भनेर सोध्दा उहाँको स्पष्ट जवाफ थियो, ‘हो हाम्रो मुख संसद्तिर फर्किएको छ। संसदबाट जनताका समस्या समाधान हुन्छन् भन्ने ठानेर हामी संसदमा गइरहेको छौँ। अनि संसद्तिर हिँड्दा मुख पछाडि फर्काउने कुरा भएन।’

मदन भण्डारीको अनुपस्थितिमा पनि नेकपा (एमाले) लोकतान्त्रिक, क्रान्तिकारी र लोकप्रिय शक्तिका रुपमा स्थापित छ। मदन भण्डारीले निर्माण गरेर छाडेको सैद्धान्तिक बाटोमा पार्टीलाई हिँडाएर यसको लोकतान्त्रिक छवि स्थापित गर्ने महत्वपूर्ण काम छैटौँ र सातौँ महाधिवेशनबाट भएको थियो र जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको सिद्धान्तका रुपमा अंगीकार गर्दै नयाँ उचाई दिएर थप सम्पुष्ट गर्ने काम भएको थियो। आजसम्म आइपुग्दा मानिसहरुले नेकपा (एमाले) का बारेमा अनेक प्रश्न उठाउन सक्लान् तर यसको लोकतान्त्रिक छवि र विश्वसनीयतामाथि कसैले प्रश्न उठाउन सक्दैन। समग्रमा मदन भण्डारीले खनेको नेकपा (एमाले) को गोरेटो आज समग्र कम्युनिस्टहरुका लागि साझा राजमार्ग बनेको छ।

जननेता मदन भण्डारीलाई हार्दिक श्रद्धाञ्जली !

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .