विचार


सेयरबजारबाट राम्रो नाफा कसरी लिने? लगानीकर्तालाई ६ सुझाव

सेयरबजारबाट राम्रो नाफा कसरी लिने? लगानीकर्तालाई ६ सुझाव

केशव प्रसाद श्रेष्ठ
पुस १, २०७७ बुधबार ११:१८,

नेपालमा कोरोना भाइरस संक्रमण फैलिएसँगै भएको लकडाउनपछि खुलेको सेयर बजार यति बेला ‘बुलिस ट्रेन्ड’ मा छ। अर्थतन्त्रमा खासै सुधार भएको सूचकांक नदेखिँदा पनि सेयर बजार किन बढिरहेको छ भन्ने आम मानिसको प्रश्न छ। यसमा विभिन्न कारण छन्।

लकडाउनपछि बजार खुल्दा अर्थतन्त्र निराशाजनक हुन्छ भन्ने सोच आम मानिसको थियो। अहिले पनि लगानीका अन्य व्यावसायिक क्षेत्रहरु रियल स्टेटलगायत अझै फस्टाउन सकेका छैनन्। सेयर बजारमा भने अलि अगाडिदेखि नै सिस्टमहरु अटोमेटिक भइसकेका थिए। अनलाइन ट्रेडिङ पनि तयार भएको थियो।

अर्कोतिर बैंकमा तरलता (लिक्विडिटी) बढ्यो। बैंकहरुले सुलभ ब्याजदरमा सेयर कर्जा दिनथाले। यसले लगानीको ‘फ्लो’ बढ्यो, लगानी गर्न सजिलो भयो। अन्य क्षेत्रमा व्यावसायिक वातावरण नबनिसकेको कारण सेयर बजारमा छिटो पस्न सक्ने वातावरण पनि बन्यो।  यही मौका देखेर संस्थागत लगानीगर्ताहरु बैंक, बीमाहरुले सेयर बजारमा लगानी बढाए। बैंकहरुले निश्चित प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउँछन्। उनीहरुले बजार विश्लेषण गरेर नाफा हुन्छ भन्ने लाग्यो भने लगानी गर्ने हुन् नत्र सुषूप्त बस्छन्।

अहिले अन्य क्षेत्रमा लगानी गर्न नसकेको अवस्थामा संस्थागत लगानी गर्नेहरु सेयर बजारतिर आएका हुन्। उनीहरुले ‘लङटर्म’ हिसाबले लगानी गर्छन्। ट्रेडिङका हिसाबले लगानी गर्दैनन्। यो राम्रो पनि हो। साधारण लगानीकर्ताको लगानीले मात्र आठ नौ अर्बको सेयर बजार पुग्न सम्भव छैन। यो सबै कारणले सेयरबजार बुलिस हुँदै अहिलेसम्मको ठूलो कारोबारसम्म पुगेकाे हाे।

यो देखेपछि सुुषूप्त अवस्थामा रहेका साना लगानीकर्ताहरु पनि जागृत भए। अनलाइन ट्रेडिङ नलिएकाहरु पनि लिएर काम गर्नथाले र उनीहरुको संख्या पनि ह्वात्तै बढ्यो। नयाँ लगानीकर्ता पनि थपिए।
बजार बढिरहेको बेलामा नेपालमा नयाँ लगानीकर्ता चासोका साथ आउँछन्। बजार बढिरहेको देख्दा उनीहरु आकर्षित हुन्छन्। तरलता बढेकाले ब्याजदर सबैतिर घटेको छ। सेयर कर्जामा पनि ब्याजदर घटेको छ। ब्याजदर र सेयर बजारको ठीक उल्टो सम्बन्ध हुन्छ। जब ब्याजदर घट्छ, सेयर बजार बढ्छ। यी सबै कुराको समग्र कारणले गर्दा नेप्से र कारोबार लगातार बढिरहेको छ।

अवसर र जोखिम
सेयरबजार भनेको यस्तो ठाउँ हो जतिसुकै माथि गए पनि वा जतिसुकै तल झरे पनि ‘नलेजबेस्ड’ लगानी गर्ने मान्छेले त्यसबाट कमाउन सक्छ। यो जोखिमको क्षेत्र भएकाले त्यसलाई व्यवस्थित गर्नेतिर पनि ध्यान जानुपर्छ। बढ्दैमा जोखिम बढ्ने र घट्दैमा जोखिम घट्ने भन्ने पनि होइन। घट्दै गएको बजारमा अझै घट्ने सम्भावना पनि हुन्छ।

हुन त बजार धेरै नै बढ्यो भनेर नियामक निकायले सतर्क भएर लगानी गर्न भन्दै विज्ञप्ति निकाल्यो। त्यसले गर्दा अत्यास (प्यानिक) भएर अहिलेसम्मकै सबैभन्दा धेरै विन्दुले तल झर्याे। एकैदिनमा १२३ अंकले नेप्से घटेको थियो। संस्थागत लगानीकर्ताको आफ्नो विश्लेषण गर्ने टिम हुन्छ। लङटर्म, मिडियम र सर्टटर्म विश्लेषण गरेर लगानी गरेका हुन्छन्। उनीहरुले जोखिमलाई व्यवस्थापन गर्ने र जोखिम विश्लेषण गरेर नै आएका हुन्छन्।

कहिलेकाहीँ ट्रयापमा पर्ने र जोखिम विश्लेषण नगरीकन आउने भनेको साधारण लगानीकर्ता हुन्। अहिलेको अवस्थामा नेप्सेको इन्डेक्स (सूचक) हेरेर मात्र पुग्दैन। हामीले लगानी इन्डेक्समा गरेका हुँदैनौँ। हामीले कम्पनीमा लगानी गरेका हुन्छौँ। त्यसकारण कम्पनीको विश्लेषण गरेर सही कम्पनी चिनेर किन्ने गर्न जरुरी छ। त्यसो गर्यो भने जोखिम स्वतः व्यवस्थापन हुनजान्छ। अहिले पनि ‘हिडेन गेम’ कम्पनीहरु अर्थात् तुलनात्मक रुपले सस्तो भएर पनि अन्य कम्पनीको तुलनामा राम्रा छन्। ती छान्न सक्नुपर्यो।

नेप्सेमा सूचीकृत भएका दुई सयभन्दा धेरै कम्पनीहरुमध्ये त्यस्ता कम्पनी अहिले पनि २०–२५ वटा छन्। त्यस्ता कम्पनीमा लगानी गर्दा बढ्दा राम्रै बढ्ने र घट्दा आत्तिने गरी नघट्ने हुन्छ। यस्ता कम्पनीमा लगानी गर्ने र अलिकति लङटर्म दृष्टिकोण राखेर कम्तीमा एक वर्ष होल्ड गर्छु भन्ने सोच्नुपर्छ। केही गरी भएन भने कम्पनीले दिएको लाभांश कस्तो छ, लाभांशले पनि आफ्नो औसत रिटर्न उठाउँछु भन्ने आशा हुन्छ। त्यसपछि ‘क्यापिटल गेन’ भयो भने बोनस पाउने सम्भावना छँदै छ भन्ने रणनीतिका साथ अगाडि बढ्यो भने जोखिम राम्रो व्यवस्थापन गर्न सकिन्छ।

समस्या भनेको विश्लेषण नगरी लहैलहैमा आउने लगानीकर्तामा हुन्छ। उनीहरुलाई यी कुरा थाहा हुँदैन। यी कुराहरु थाहा नहुँदा आँखा अगाडि जे देखिन्छ, जसले जे भन्छ, त्यही कम्पनी किन्ने प्रवृत्ति छ। यसरी किन्दा कहिलेकाहीँ ट्रयापमा परिने, कहिलेकाहीँ बढ्दा राम्रै बढेको र घट्दा पनि आत्तिने किसिमले घटेको हुन्छ। जसमा प्रगति हुने ठाउँ कम भइसकेको हुन्छ। यस्ता कम्पनी छान्दा जोखिमको मात्रा धेरै बढाउँछ।

त्यसकारण ‘केडीसी’ सिद्धान्त अपनाएर सेयर बजार छिर्नुपर्छ। यसको अर्थ के भने लगानीकर्ताले नलेज (बजारसम्बन्धी ज्ञान), डिसिपिलिन (धैर्यता) र क्यापिटल (पुँजी) व्यवस्थापनबारे जान्नुपर्छ। यी तीन कुरालाई सन्तुलन गरेर गर्न सकियो भने नेपालको सेयरबजारमा जोखिम व्यवस्थापन गर्न त्यत्ति गाह्रो काम पनि होइन।

नेपाली सेयर बजारमा लगानी गर्ने धेरैमा तीनै वटा तत्व बारेमा जानकारी नभएको देखिन्छ। ज्ञान पनि छैन। तालिम नलिई वा अध्ययन नगरी हामफाल्ने प्रवृत्ति छ। साथै ‘डिसिपिलिन’ पनि छैन। पाँच रुपैयाँ बढ्यो कि बेचिहाल्ने प्रवृत्ति छ। जब कि यसले ब्रोकरलाई मात्र फाइदा हुन्छ। कतिखेर प्रवेश गर्ने, कतिखेर बाहिरिने, नाफाको विन्दु कति हो? यस्ता कुरामा ज्ञान लिनखोजेको देखिँदैन। ज्ञान भए पनि ‘डिसिपिलिन’मा बसेको देखिँदैन।

अर्को कुरा क्यापिटल म्यानेजमेन्ट (पुँजी व्यवस्थापन) जस्तो कि जति महंगोमा पनि उठाइदिने, उसले कमायो भनेर साथीसँग ऋण लिएर पनि लगानी गर्ने प्रवृत्ति देखिन्छ। यस्तो खालका व्यवहारले जोखिम झनै बढाउँछ। अर्कोतिर, अहिले राम्रो कम्पनी चिनेर लगानी गर्नसक्ने हो भने अवसर छ। अवसरलाई हेर्ने र जोखिमलाई घटाउने रणनीति लिनुपर्छ।

साना लगानीकर्ताले ध्यान दिनुपर्ने ६ कुरा
१. कम्तीमा साधारण ज्ञान : सेयर बजारमा प्रवेश गर्ने साधारण लगानीकर्ताले कम्तीमा यससम्बन्धी साधारण ज्ञान लिनुपर्छ। यो पहिलो शर्त हो। अझ सकिन्छ भने एनालिटिकल (विश्लेषणात्मक) ज्ञान पनि लिएर पस्दा राम्रो। यसको लागि तालिम लिएर वा यससम्बन्धी किताबहरु पढेर ज्ञान लिनुपर्छ।

२. इन्डेक्सलाई हेरेर लगानी नगरौँ : सेयर बजारमा इन्डेक्स हेर्नुपर्छ तर इन्डेक्स हेरेर लगानी गर्ने होइन। नेप्से २१ सय पुग्यो भन्नुको अर्थ आफ्नो ठाउँमा होला तर त्यसलाई आधार बनाएर लगानी गर्ने होइन। नेप्से बढ्दा कम्पनीको सेयर घटिरहेको र नेप्से घट्दा कम्पनीको सेयर बढिरहेको पनि हुनसक्छ।

नेप्से २१ सय पुग्दा पनि आफूले किनेको कम्पनीको सेयर घट्यो भने त घाटा नै हुने हो। सेयर बजारको साधारण ज्ञान नभएकाले नेप्से बढ्यो भनेर लगानी गरेको देखिन्छ। इन्डेक्सलाई रिफ्रेन्सका रुपमा लिने र कम्पनीको फन्डामेन्टल डेटा (मुख्य मुख्य तथ्यांकहरु) अवस्था हेरेर लगानी गर्नुपर्छ।

३. आफ्नै बचत, थोरै लगानी : साना लगानीकर्ताले सकेसम्म आफ्नै बचतको पैसाबाट थोरै लगानीबाट सुरु गर्नुपर्छ। एक लाखबाट नै लगानी गर्न सकिन्छ। महंगोमा पैसा लिएर सेयर बजारमा लगानी गर्नुहुँदैन।

४. देखासिकी होइन, आफ्नै रणनीति बनाऔँ : कोही लगानी (इन्भेष्टर)को हिसाबले आइरहेका हुन्छन् भने कोही व्यापार (ट्रेडर)को हिसाबले। इन्भेष्टर र ट्रेडरमा हरेक व्यक्तिपिच्छे रणनीति फरक–फरक हुन्छ। उनीहरुबीच फरक–फरक सामाजिक, आर्थिक, ज्ञान हुन्छ। ऊ सफल भयो म पनि लगानी गर्छु, म पनि सफल हुन्छु भन्ने रणनीतिले काम गर्दैन। आफूलाई सुहाउने रणनीति के हो, कुन कम्पनी किन्न सकिन्छ भनेर रणनीति बनाउनसक्ने हुनुपर्छ। अरुको रणनीतिमा चल्दा असफल हुन सकिन्छ।

५. धेरै आक्रामक नहोऔँ : सेयर बजार किनबेचमा धेरै आक्रामक पनि हुनुहुँदैन। जो नयाँ हुनुहुन्छ, दुई/तीन वर्षको अनुभव छैन भने एकैपटक एक/दुई महिनामा दोब्बर बनाउँछु भनेर हुँदैन। थोरै पैसा लगानी गर्ने, लङटर्म लगानी गर्ने, कम्तीमा लाभांश धेरै दिएको कम्पनीमा लगानी गर्ने बानी गरियो भने विस्तारै कमाउँदै गइन्छ र आत्मविश्वास पनि बढ्दै जान्छ। साना लगानीकर्ताले यसरी सुरु गर्नुपर्छ।

६. सबै कम्पनीको तुलनात्मक विश्लेषण गरौँ : कतिलाई फन्डामेन्टल विश्लेषण गर्नसक्छु भन्ने भ्रम हुन्छ। त्यो भ्रम हो भनेर मैले किन भन्छु भने एक वा दुई कम्पनीको विश्लेषण गरेर पुग्दैन। २५० वटै कम्पनीको तुलना गर्न सक्नुपर्छ। जबसम्म अरुसँग तुलना गर्न सकिँदैन, एउटा राम्रो देखियो भन्दैमा हुँदैन। समग्र विश्लेषण गर्नुपर्छ।

२५० कम्पनीको ‘पिक्चर’ आँखा अगाडि हुनुपर्छ र योभन्दा यो राम्रो भन्ने एक किसिमको विश्लेषण गर्न सक्ने नहुँदासम्म सेयर बजारबाट राम्रो कमाउन सकिँदैन। विश्लेषण गर्ने तरिका मात्र सिकेर हुँदैन, सबै कम्पनीको विश्लेषण एकै पटक गरेर स्पष्ट पिक्चर ल्याउन सक्नुपर्छ। यी कुरा एकै रातमा हुँदैन, साना लगानीकर्ताले यी कुरा मनमा राखेर लगानी गर्ने हो भने पक्कै पनि सेयर बजारबाट कमाउन सकिन्छ।

कतिसम्म पुग्ला बजार?
सेयर बजारमा संसारको जो कोहीले अनुमान गर्दा मिल्ने भनेको धेरै मिल्यो भने ७० प्रतिशतसम्म हो। ३०–४० प्रतिशत बजारले जहिले पनि झुक्याउँछ। बजार यहाँ पुग्ला भन्दा पनि बजारको अवस्था हेर्ने हो। चार/पाँच वर्ष बियरिङ भोगेर आएको हो। अहिले बुलिस ट्रेन्ड सुरु भएको छ।

सेयर बजारमा अनुकूल वातावरण भइरहेको छ। पूर्वाधार बनिरहेका छन्। अब केही समय बजार माथि नै जाने अनुमान गर्न सकिन्छ। कोभिडपछि विस्तारै लगानी गर्ने अन्य क्षेत्र खुल्दै गएकोले सहयोग पनि भएको छ। बजारको ब्याजदर कहिलेसम्म स्थिर रहन्छ, त्यो भन्न सकिँदैन। तर, ब्याजदर सहज हुने बेलासम्म बजार बढिरहन्छ।

बीचमा कुनै फोर्सले काम गरेन भने अझै ३ सय विन्दुसम्म माथि जान सक्छ। बजार स्वस्थ रुपमा करेक्सन हुँदै, माथि जाँदै गर्यो भने तीन/चार महिनामा बजार माथि जान्छ। त्यो बेलासम्म अर्थतन्त्र राम्रो भयो, रियल सेक्टरतिर लय समात्न सक्यो भने विस्तारै सस्टेन (दिगो) हुनसक्छ।

तर, दीर्घकालीन रुपमा बजार माथि जानलाई आधार बलियो बनेको हुनुपर्छ। यसको अर्थ समग्र देशको अर्थतन्त्र, जीडीपी, बढेको हुनुपर्छ। मान्छेको क्रयशक्ति बढेको हुनुपर्छ। अहिले फन्डामेन्टल कुराहरु खासै परिवर्तन भएको देखिँदैन। प्राविधिक विषयले मात्र माथि गएको बजार दीर्घकालीन हुँदैन। कुनै एक विन्दुमा गएर दुर्घटना हुन्छ। 

(नेपालखबरकर्मी सन्तोष न्यौपानेले सेयरबजार प्रशिक्षक श्रेष्ठसँग गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad