खोटाङको जंगलमा हतियारसहित विप्लवका कार्यकर्ता फेला परेका छन्।
प्रहरीले जंगल सर्च गर्ने क्रममा एक जना पक्राउ परे पनि अन्य भने भागेको डीएसपी नारायण प्रसाद चिमोरियाले बताए।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा मंगलबार बिहानदेखि साकेला गाउँपालिका १ सेखुवाको खलेबारी जंगलमा सर्च अप्रेसन चलाएको थियो।त्यसक्रममा सोलुखुम्बुको सोताङ गाउँपालिका ४ का २२ वर्षीय केबी तामाङ हतियारसहित पक्राउ परेका छन्।
जंगलबाट १ थान एकनाले भरुवा बन्दुक, पेस्तोलमा लाग्ने ७ राउन्ड गोली, लामो हतियारमा लाग्ने ६६ राउन्ड गोली, भरुवा बन्दुकमा लाग्ने केही छर्रा तथा बारुद बरामद भएको प्रहरीले जनाएको छ।
जंगलमा सर्च गर्ने क्रममा ३ जना ब्यक्तिहरु जंगलतर्फ भाग्दै गरेको अवस्थामा तामाङ पक्राउ परे पनि अरु भने भागेको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले जंगल पुनः सर्च गर्ने क्रममा बेड समेतका २ वटा टेन्ट, बिभिन्न कम्पनीका १७ थान मोबाइल, ८ थान चार्जर, १७ थान सिमकार्ड, ११ थान सहयोग रसिद लगायतका सामग्री बरामद गरेको छ।
अहिले पनि जिल्लामा सर्च अप्रेसन चलिरहेको प्रहरीले जनाएको छ। मोरङमा विप्लव समूहले शिक्षकको हत्या गरेपछि विप्लवका कार्यकर्तामाथि सुरक्षा निगरानी बढाउनका साथै सर्च अप्रेसन जारी राखिएको छ।

प्रतिक्रिया