विचार


ट्रम्पलाई अँगाल्ने पपुलिस्ट नेताहरु पछुताउने छन्

ट्रम्पलाई अँगाल्ने पपुलिस्ट नेताहरु पछुताउने छन्

मिहिर शर्मा
कात्तिक २६, २०७७ बुधबार १२:२९,

हामी सबैलाई थाहा छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निरंकुश शासकहरुलाई मन पराउँछन्। उनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनप्रति नरम रहेको विदितै छ। अरु मुलुकका मानिसलाई घृणा गर्ने हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बानलाई ट्रम्पले वासिङ्टनमा स्वागत गरे। अर्बानले आप्रवासीहरुमाथि प्रतिबन्ध लगाएर ‘सही काम गरेको’ ट्रम्पको निष्कर्ष थियो।

विश्वका नेताहरु ‘जति कठोर र निर्दयी छन्’, त्यति नै आफूसँग राम्रो मित्रता हुने ट्रम्पले बताएका पनि थिए। यसो भनिरहँदा उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान सबैभन्दा कठोर र निर्दयी भएको संकेत गरेका थिए।

र, बदलामा विश्वका निरंकुश शासकहरुले पनि ट्रम्पलाई मन पराए। अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै गर्दा अर्बानले एउटा लेख नै लेखे। जसमा ट्रम्पले डेमोक्रेटहरुलाई हराउने आशा उनले व्यक्त गरेका थिए। अर्बानले डेमोक्रेटहरुलाई ‘नैतिक साम्राज्यवादी’ भनेका थिए। ब्राजिलका जायर बोल्सोनारोले पनि ट्रम्पले निर्वाचन जितून् भनेर आफूले ‘मनैदेखि चाहेको’ बताएका थिए। स्लोभेनियाका प्रधानमन्त्री यानेस यान्साले त ट्रम्पले चुनावै नजिती उनलाई बधाई दिए र आफ्नो सो कदमको बचाउमा अनेक षड्यन्त्रका सिद्धान्त अघि सारे।

पपुलिस्ट, दक्षिणपन्थी निरंकुश शासकहरुको एकअर्कासँग राम्रो मेलजोल हुनु सायद अनौठो होइन। तर, आफूलाई राष्ट्रवादीका रुपमा प्रस्तुत गर्ने यस्ता नेताहरुबीचको मित्रताले के प्रमाणित गर्छ भने उनीहरु व्यक्तिगत फाइदालाई राष्ट्रको हितभन्दा माथि राख्छन्।

आगामी साताहरुमा त्यस्ता थुप्रै नेताहरु बहुत भद्दा तरिकाले ट्रम्पको अँगालोबाट फुत्किने प्रयास गर्नेछन्। इजरायलका बेन्यामिन नेतन्याहु त चुनावअघि नै ट्रम्पबाट भाग्न थालेका थिए। ट्रम्प चाहन्थे, नेतन्याहुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनको आलोचना गरिदिऊन्। तर, नेतन्याहु ट्रम्पसँग फोन संवाद गर्नबाट पन्छिरहे। बाइडेनले विजय घोषणा गरेपछि उनले एकै पटक दुई वटा ट्विट गरेर यो समस्याको समाधान गरे। पहिलो ट्विटमा नेतन्याहुले बाइडेनलाई बधाई दिए भने दोस्रोमा इजरायललाई समर्थन गरेकोमा ट्रम्पलाई धन्यवाद।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना लागि झन् ठूलो समस्या खडा गरेका छन्। गत वर्ष मोदी र ट्रम्पले ह्युस्टनमा संयुक्त र्‍याली आयोजना गरेका थिए। सो र्‍यालीलाई सम्बोधन गर्दै मोदीले आफ्नै चुनावी नारालाई थोरै परिमार्जन गरेर प्रस्तुत गरेका थिए– ‘अब की बार ट्रम्प सरकार।’ धेरैले यसलाई चुनावमा मोदीले ट्रम्पलाई अनुमोदन गरेको अर्थमा बुझे।

त्यसबेला अमेरिकाका लागि भारतीय राजदूत हर्षवर्धन शृंगलाले वासिङ्टनमा ट्रम्पका पूर्वसल्लाहकार स्टिभ ब्याननसँग भेट गरे। भेटपछि शृंगलाले एक ट्विट गर्दै ब्याननलाई गीताको अनुशरण गर्ने ‘धर्मयोद्धा’ भनेर प्रशंसा गरे। तर, आठ घण्टापछि शृंगलाले सो ट्विट डिलिट गरे। तिनै शृंगला अहिले नयाँ दिल्लीमा भारतको विदेश सचिव छन्।

डेमोक्रेटिक पार्टीकी सांसद प्रमिला जयपालले आलोचना गरेपछि भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकी प्रतिनिधिसभाका सदस्यहरुलाई भेट्ने कार्यक्रम नै रद्द गरे। अर्कोतिर, दिल्लीको मुस्लिम विरोधी दंगालाई अनुमोदन गरेको भन्दै सिनेटर बर्नी स्यान्डर्सले ट्रम्पको आलोचना गरे। त्यसपछि मोदीको भारतीय जनता पार्टीका महासचिव बीएल सन्तोषले आफ्नो पार्टी ‘अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा भूमिका खेल्न बाध्य भएको’ बताएका थिए।

भारतीय नेताहरुको यी कदम र निर्णय त्यसबेला पनि अर्थहीन थिए। अहिले त झनै ती अत्यन्दै अदुरदर्शी देखिन्छन्। यतिबेला भारतीयसहित यी मुलुकका नेताहरु आफूहरुले त्यसबेला गरेको गल्ती बाइडेनले नदोहोर्‍यादिऊन् भनेर आशा गरिरहेका छन्। अर्को शब्दमा भन्ने हो भने बाइडेनले यी मुलुकमा अहिले सत्तामा को छ, त्यसलाई मात्र नहेरी दीर्घकालीन सम्बन्धमा ध्यान दिऊन् भन्ने उनीहरुको अपेक्षा हो।

यतिबेला नयाँ दिल्लीका अधिकारीहरु आफूलाई र आफ्ना कुरा सुन्ने अरुलाई पनि विह्वल भएर सम्झाइरहेका छन्– बाइडेन अमेरिकी सिनेटमा रहेकामध्ये भारतका सबैभन्दा बलिया समर्थक थिए। सन् १९९८ मा भारतले आणविक हतियार परीक्षण गरेपछि दुनियाँले भर्त्सना गरिरहँदा पनि बाइडेनले भारतप्रति मिठै बोलेका थिए। त्यस्तै, सन् २००० पछि अमेरिका र भारतबीचको रणनीतिक सम्बन्धलाई सामान्य बनाउन भूमिका खेल्ने नेतामध्ये बाइडेन पनि एक थिए।

अहिले सनकी लोकप्रियतावादी नेताको नेतृत्वमा रहेका अरु मुलुक पनि उसबेलाको अमेरिकाको दुईदलीय कूटनीतिक युगको प्रशंसा गर्न बाध्य भएका छन्। ब्राजिलका विदेशमन्त्री अर्नेस्टो आराउहोले भनेका छन्, ‘ब्राजिल र अमेरिकाबीचको सम्बन्ध निकट बनेको हो, दुई राष्ट्रपतिबीचको होइन।’ बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि दुई मुलुकबीचको ‘साझा प्राथमिकता’ को कुरा गरेका छन्।

तर, ती सनकी नेताहरुको विवेकहीन कार्यले आगामी चार वर्षमा अमेरिकासँगको सम्बन्धमा बाधा उत्पन्न गर्दैन भनेर विश्वास गर्ने एक जना पनि मानिस यी मुलुकका राजधानीमा भेट्टाउन कठिन छ।

र, अब भने तिनले बाइडेनसँग काम गर्नुपर्ने हुन्छ। बाइडेनले व्यवहारिक र दुरदर्शी तरिका अपाउने सम्भावना छ। केही वर्षअघि बेलायती प्रधानमन्त्री जोनसनले ओबामाबारे करिबकरिब नश्लभेदी टिप्पणी गरेर बाइडेन र कमला ह्यारिस दुवैलाई आक्रोशित तुल्याएका थिए। तिनै जोनसनसँग पनि बाइडेनले सहकार्य गर्ने सम्भावना छ। तर, बाइडेनको ठाउँमा स्यान्डर्स भएको भए? डेमोक्रेटिक पार्टीको प्रगतिशील समूहको कुनै नेता राष्ट्रपति भएको भए? अमेरिकाको मित्रराष्ट्रले अमेरिकाकै सम्भावित राष्ट्रपतिलाई आक्रोशित तुल्याउनु बुद्धिमानी हो त?

राष्ट्रवादीहरुको नयाँ नश्लको समस्या नै त्यही हो। वास्तवमा उनीहरु कसैलाई पनि राष्ट्रिय हितको चासो छैन। यसको अपवाद समेत फेला पार्न सकिन्न। तत्कालका लागि राजनीतिक फाइदा दिने वा क्षणिक अहम् तुष्टि गर्ने जुनसुकै कदम उनीहरु चाल्ने गर्छन्।

‘व्यक्तिगत कूटनीति’ को फाइदाबारे गफ गर्नु एउटा कुरा हो। तर, धेरैजसो मामिलामा एउटा निरंकुश शासकले अर्को निरंकुश शासकको मान्यता प्राप्त गर्न चाहिरहेका हुन्छन्। गहिरो, रणनीतिक साझेदारी निर्माण गर्ने तरिका यो होइन।

(ब्लुमवर्गबाट। मिहिर शर्मा भारतीय अर्थशास्त्री हुन्। उनको ‘रिस्टार्टः द लास्ट चान्स फर दि इन्डियन इकोनोमी’ नामक पुस्तक प्रकाशित छ।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad