विचार


बाइडेनको विदेशनीति प्राथमिकता : चीन, चीन, चीन र रुस

बाइडेनको विदेशनीति प्राथमिकता : चीन, चीन, चीन र रुस

फाइनान्सियल टाइम्स
कात्तिक २३, २०७७ आइतबार १३:२९,

जो बाइडेनले सत्ता सम्हालेपछि डोनाल्ड ट्रम्पले अपनाएको विघटनकारी विश्व नीति अन्त्य गर्ने बाचा गरेका छन्। तर, विश्वमा अमेरिकी नेतृत्व पुनर्स्थापना गर्न बाइडेनलाई समय र राजनीतिक पुँजी दुवै आवश्यक पर्नेछ।

अबको केही समय कूटनीतिज्ञहरुले ‘अमेरिका फर्स्ट’ पदावली सुन्ने छैनन्। तथापि, बाइडेनसामु अनेकौँ चुनौती छन्। खासगरी चीनलाई रोक्नु, इरानसँगको आणविक सम्झौतामा पुनः प्रवेश गर्नु, युरोप र बेलायतसँगको सम्बन्धलाई पुनर्जीवन दिनु उनका लागि प्रमुख चुनौती हुन्।

चीन
बाइडेन के चाहन्छन्ः बाइडेनका एक सल्लाहकार उनको विदेशनीतिको प्राथमिकतालाई यसरी वर्णन गर्छन्– ‘चीन। चीन। चीन। रुस।’

अमेरिकी विदेश नीति संस्थापन अहिले चीनलाई ओबामाको कार्यकालमा भन्दा बढी चासोका साथ लिन्छ। तर, उदाउँदो चीनसँग बाइडेनले लिने नीतिमा सहकार्य, प्रतिस्पर्धा र द्वन्द्वको कस्तो संयोजन हुन्छ, स्पष्ट छैन।

सम्भवतः बाइडेनले नयाँ शीतयुद्धलाई अस्वीकार गर्नेछन्। किनभने त्यसले विश्वमा अमेरिकाको नेतृत्वदायी भूमिकामाथि खतरा पैदा गर्नेछ। तर, उनले चीनको बढ्दो प्रविधि र लगानी क्षमतालाई नियन्त्रणमा राख्ने प्रयास गर्नेछन्। त्यस्तै उनले चीनको ढोकैमा अमेरिकी सैन्य उपस्थितिलाई पनि बलियो बनाउने छन्।

‘चीनको विषयमा आफ्ना मित्रशक्तिसँग समान धारणा राख्न’ बाइडेनले युरोपेली मुलुकसँगको साझेदारी बलियो बनाउने उनका सल्लाहकार बताउँछन्। खासगरी गुप्तचर सूचना, लगानी र नयाँ प्रविधिका क्षेत्रमा सहकार्य हुनेछ। दक्षिण कोरियाजस्ता क्षेत्रीय साझेदारसँग पनि उनले सहकार्य बढाउने छन्।

उनीहरु के चाहन्छन्: बाइडेन सत्तामा आएसँगै चीनले सन्तोषको सास फेर्ने केही विज्ञहरु बताउँछन्। युरोपेली मुलुकहरु पनि सार्वजनिक अभिव्यक्ति ट्रम्पको कार्यकालमा भन्दा नरम होस् भन्ने चाहन्छन्। तर, अमेरिकाले गोप्य रुपमा दिने दबाब भने कम हुने छैन। युरोपमा पनि चीनप्रति सन्देह बढ्दो छ।

नतिजाः चीनको सैन्य, आर्थिक र कूटनीतिक महत्वाकांक्षाका कारण उत्पन्न खतरालाई बाइडेनले कम ठानेको उनकै पार्टीका केही मानिसहरुको भनाइ छ। आफूलाई उछिन्न नदिन बाइडेन बेइजिङविरुद्ध उग्र रुपमा प्रस्तुत हुनुपर्ने उनीहरुको मत छ। युरोपेली अधिकारीहरु आफूहरुले अमेरिका र चीनलाई समदुरीमा नराख्ने बताउँछन्। तर, चीनसँगको आर्थिक सम्बन्धलाई भने कायम राख्ने उनीहरुको चाहना छ।

युरोप
बाइडेन के चाहन्छन्ः बाइडेन ट्रम्पले त्यागेको युरोपेली गठबन्धन पुनर्निमाण गर्न चाहन्छन्। त्यसैले उनले युरोपेली संघविरुद्धको दुश्मनी समाप्त गर्नेछन्। उनले नेटो गठबन्धनलाई पनि समर्थन गर्नेछन्। बाइडेन ब्रेक्जिटको विपक्षमा थिए। तर, यसलाई उनले हुनामीका रुपमा स्वीकार गरे। बिनासम्झौता होइन, कुनै सम्झौता गरेर ब्रेक्जिट सम्पन्न भए बेलायतसँग सहकार्य गर्न उनलाई सजिलो पर्नेछ।

युरोप के चाहन्छ: नेटोका सदस्य मुलुकले रक्षा खर्च बढाउनुपर्नेलगायतका संरचनागत परिवर्तनका लागि ट्रम्पले दिएको सन्देशलाई युरोपेली अधिकारहिरुले स्वीकारेका थिए। तथापि उनीहरु अझै युरोपको सुरक्षाका लागि अमेरिकी सैन्य शक्तिमा विश्वास गर्छन्।

नतिजाः करिब १८ महिनासम्म अमेरिका–युरोप सम्बन्ध सुमधुर रहने देखिन्छ। तर, चीन, ब्रेक्जिट र व्यापारका विषयमा संकट उत्पन्न हुन सक्छ।

मध्यपूर्व
बाइडेन के चाहन्छन्ः ट्रम्पझैँ बाइडेन पनि अमेरिकाको अनन्त युद्ध समाप्त गर्न चाहन्छन्। ट्रम्पले परित्याग गरेको इरान आणविक सम्झौतामा प्रवेश गर्ने बाचा उनले गरेका छन्। साउदी अरबलाई पनि उनले ‘नीच’ संज्ञा दिएका छन्।

ट्रम्पले २०१८ मा तेल अभिभमा रहेको अमेरिकी दूतावासलाई जेरुसलेम सारेका थिए। बाइडेनले त्यसलाई उल्ट्याउने छैनन्। उनले इजरायल र प्यालेस्टाइन दुई अलग राज्य बनाएर यो समस्या समाधान गर्न जोड दिने छैनन्। उनको प्राथमिकता अन्यत्रै रहेको बाइडेनका सल्लाहकारहरुले बताइसकेका छन्।

मध्यपूर्व के चाहन्छः इरान ट्रम्पका कारण पुगेको क्षतिको पूर्ति गर्न चाहन्छ। हाल लगाइएका सबै प्रतिबन्ध फुकुवा होस् भन्ने उसको चाहना छ। इरानले अहिले पनि क्षेप्यास्त्र निर्माण कार्यक्रम चलाइरहेको छ।

साउदी अरब बाइडेनले हतियार बिक्री रोक्लान् र सम्बन्ध बिग्रेला कि भनेर चिन्तित छ।

यूएई अमेरिकाले टर्कीविरुद्ध कडा कदम चालोस् भन्ने चाहन्छ। इरानसम्बन्धी छलफलमा आफू पनि सहभागी हुन चाहन्छ।

नतिजाः जुन महिनामा इरानमा राष्ट्रपतीय चुनाव हुँदैछ। सत्ता कट्टरपन्थीको हातमा जानसक्छ। जोसँग छलफल गर्न कठिन हुनसक्छ। त्यसैले बाइडेन प्रशासनले इरानसँगको सम्झौता ब्युँत्याउन छिटो काम गर्नुपर्ने हुन्छ।

व्यापार
बाइडेन के चाहन्छन्ः ट्रम्पकै कतिपय संरक्षणवादी प्रवृत्ति बाइडेनमा पनि छ। संघीय सरकारका एजेन्सीले अमेरिकी सेवा र वस्तु मात्रै खरिद गर्नुपर्ने उनको प्रस्ताव छ। विदेशमा रोजगारी सार्ने अमेरिकी कम्पनीलाई सजायस्वरुप कर बढाउने विचार पनि उनले व्यक्त गरेका छन्। ट्रम्पले झैँ बाइडेनले पनि विश्व व्यापार संगठनको सुधार गर्नुपर्ने तर्क अघि सारेका छन्।

व्यापारका विषयमा बाइडेन चीनसँग कठिन रुपमा प्रस्तुत हुने संकेत उनले गरेका छन्। तथापि ट्रम्पझैँ झगडालु रुपमा उनी प्रस्तुत हुनेछैनन्। उनले मनलागी कर पनि लगाउने छैनन्। तर, ट्रम्पले लगाएको कर हटाउँछन्, घटाउँछन् वा अझै बढाउँछन्, स्पष्ट छैन।

व्यापारका विषयमा युरोपसँगको तनाव उनले घटाउने छन्।

नतिजाः अमेरिकाले युरोपसँग छलफलका लागि ज्यादा प्रयास गर्नेछ। तथापि मुख्य मुद्दा कायम रहनेछ। बेइजिङसँगको व्यापारिक तनाव पनि कायम रहने सम्भावना छ। सम्भवतः व्यापार युद्ध पनि निरन्तर चल्न सक्छ। तर, त्यस्तो युद्ध ट्विटरमा होइन, गुप्त कक्षमा हुने अपेक्षा गर्न सकिन्छ।

जलवायु नीति
बाइडेन ट्रम्पले परित्याग गरेको जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतामा पुनः प्रवेश गर्नेछन्। जलवायुसम्बन्धी लक्ष्यलाई अमेरिकी विदेश नीति, राष्ट्रिय सुरक्षा र व्यापारलागत हरेक क्षेत्रमा एकीकृत गर्ने उनको योजना छ। अमेरिकालाई सन् २०५० सम्ममा शून्य उत्सर्जन मुलुक बनाउन उनी चाहन्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad