समाज


प्रेमीको म्यासेज श्रीमानले हेरेपछि हत्याको योजना

प्रेमीको म्यासेज श्रीमानले हेरेपछि हत्याको योजना

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार १३:१७,

उदयपुरको कटारीका हरि खड्काको हत्याका मुख्य आरोपी पक्राउ परेका छन्। खड्काको हत्या उनकै श्रीमतीसँग मिलेर मकवानपुरका २८ वर्षीय कुमार भन्ने मानकुमार थिङले गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

मानकुमार र खड्काकी श्रीमतीबीच अवैध सम्बन्ध रहेको र त्यो कुरा उनले थाहा पाएपछि झगडा सुरु भएको थियो। खड्काले मानकुमारलाई समेत मार्ने योजना बनाएको र त्यसपछि उनकी श्रीमतीको सल्लाह अनुसार नै हत्या गरेको पक्राउ परेका मानकुमारले बताएका छन्।

अपराध महाशाखाले मानकुमारलाई मकवानपुरमा पक्राउ गरेर काठमाडौं ल्याएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए।

ललितपुरको बालकुमारीमा डेरा गरी बस्ने ३३ वर्षीय खड्काको गत वर्ष साउन २८ गते हत्या भएको थियो। ललितपुर गुहे पोखरीमा बेहोस अवस्थामा फेला परेका खड्कालाई पाटन अस्पताल लगिएकोमा उनको त्यहाँ ज्यान गएको थियो।

तर हत्याको लामो समयसम्म पनि शवको सनाखत हुन सकेको थिएन। पछि सनाखत भएपछि उनकी श्रीमतीसहित ५ जनालाई गत वर्ष नै प्रहरीले पक्राउ गरेको थियो। हत्यामा उनीहरुको समेत संलग्नता रहेको र अहिले उनीहरु पुर्पक्षका लागि कारागारमा छन्।

मृतक खड्काकी श्रीमती विष्णु खड्का, भन्ने आरुष थिङ, दिपक बम्जन, राम बम्जन र सागर वाइवालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो। मानकुमार फरार थिए।

मानकुमार र विष्णु खड्काबीचको सम्बन्ध थाहा पाएपछि खड्काले आफूलाई मार्न भन्दै चक्कु साथमै बोकेर हिँडेको र त्यसपछि आफूहरुले हत्या गरेको मानकुमारको बयान रहेको एसएसपी थापाले बताए।

उनीहरुको सम्बन्ध बारे खड्काले मोवाइलमा म्यासेज देखेका थिए। त्यसपछि उनीहरुबीच झगडा सुरु भएको थियो।

खड्का र थिङ करिब ९ वर्ष अगाडिदेखिसँगै मूर्ति बनाउने काम गर्थे।

मानकुमारलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad