विचार


के चिनियाँ कुटनीतिको स्वर्णयुग समाप्त भएकै हो?

के चिनियाँ कुटनीतिको स्वर्णयुग समाप्त भएकै हो?

आन्द्रेइ लुंगु
जेठ ४, २०७७ आइतबार १५:५,

गएको ४० वर्षमा करोडौँ नागरिकले गरेको काम, बलिदान र सिर्जनशीलताका कारण चीन आर्थिक महाशक्तिका रुपमा उदायो। तथापि चीनको विश्व शक्ति बढ्नुमा ती नायकहरुको मुख्य भूमिका छ, जसलाई कुटनीतिज्ञ भनेर चिनिन्छ।

उनीहरुको नाममा हालसम्म कुनै चलचित्र वा स्मारक बनेको छैन। सेना–प्रहरीजस्तो उनीहरुलाई भर्ती गर्दाको राष्ट्रभावले ओतप्रोत भिडियो पनि सार्वजनिक गरिन्न। तर, संयुक्त राष्ट्रसंघ, विश्व व्यापार संगठनमा प्रवेशदेखि लिएर अमेरिका र जापानसँगको सम्बन्ध सामान्यीकरण गराउनेजस्ता चीनका महानतम अन्तर्राष्ट्रिय उपलब्धि कुटनीतिज्ञहरुको मेहनतको फल हो। चतुर कुटनीतिज्ञहरुले पर्दापछाडि गरेको मोलमोलाइले नै यो सम्भव भएको हो।

यी अत्यन्त कुशल, क्षमतावान र नरम बोली भएका दूतहरुले सम्भव भएसम्म चीनको पहुँच बढाए, मित्र कमाए र यो प्रक्रियामा बजारमा पहुँच विस्तार गरे। उनीहरुले होसियारीपूर्वक व्यक्तिगत सम्बन्ध कायम गरे र विश्वास जिते। अरुको कुरा सुने, असमझदारी हटाए। अर्को पक्षको चासोलाई सम्बोधन गर्ने र सम्झौता गरेर मिलेर काम गर्ने वातावरण तयार गरे। त्यो चिनियाँ कुटनीतिको स्वर्णयुग थियो। जहाँ व्यवसायिकता र अनुशासन सबैभन्दा उच्च विन्दुमा थियो।

आज, यी चीज परिवर्तन हुँदैछन्। सबैका आँखाअगाडि चिनियाँ कुटनीति मर्दैछ। अब चिनियाँ कुटनीति बाह्य दर्शकमा केन्द्रित हुन छाडिसक्यो। यसले मित्रता बढाउने र ढोका खोल्ने काम गर्न छाडिसक्यो। बरु, यो चिनियाँ प्रचार संयन्त्रको एउटा औजार बनिरहेको छ। र, चीनको कुटनीतिको ध्यान अब घरेलु दर्शकमाथि छ।

कुटनीतिज्ञले द्वन्द्व समाधान गर्ने हो, अझ बढाउने होइन। उनीहरुले आफ्नो मुलुकको हितको प्रतिरक्षा र प्रवद्र्धन गर्छन्। तर, तिनले आफूलाई स्वागत गर्ने मुलुकको सरकारसँग सार्वजनिक रुपमा भिड्नु हुँदैन। त्यो काम आवश्यक परे सरकार वा अन्य राजनीतिक वा गैरसरकारी संयन्त्रहरुले गर्ने हो। कुटनीतिज्ञहरुले त पर्दापछाडि बसेर सन्देश दिइरहने हो, आफूलाई खुला र विश्वसनीय साझेदारको रुपमा प्रस्तुत गरिरहने हो। तिनले सम्झौताका विकल्प प्रस्ताव गरिरहनुपर्छ। आफ्ना जनतालाई सन्तुष्ट तुल्याउन सरकार र अरु राजनीतिकर्मीले ‘दुश्मनी’ मोल्नुपरे पनि कुटनीतिज्ञहरु सधैँ ‘मित्र’ रहिरहनुपर्छ।

तर, अहिले चिनियाँ कुटनीतिज्ञहरु विदेशी सरकार, राजनीतिकर्मीदेखि लिएर कम्पनी र मिडियासँग पनि सार्वजनिक रुपमै भिडिरहेका छन्। आफ्नो देशका जनतासामु राष्ट्रवादी देखिन मात्र उनीहरु यसो गरिरहेका छन्।

फ्रान्सदेखि अस्ट्रेलियासम्म र स्वीडेनदेखि ब्राजिलसम्म चिनियाँ कुटनीतिज्ञहरु सरकार, संसद र मन्त्रीहरुलाई धम्क्याइरहेका छन्। सरकारी कदमको विरोधमा विभिन्न कम्पनीसँग बदला लिने चेतावनी दिइरहेका छन्।

यो सब त्यहीबेला भइरहेको छ, जतिबेला कोभिड–१९ महामारीपछिको विश्वमा चीनले आफ्नो छवि र अरुसँगको सम्बन्ध सुधार्न, मनमुटाव उत्पन्न हुन नदिन र चीनविरोधी भावना फैलिन नदिन मित्र र साझेदारहरुहरुसँग कुटनीतिको प्रयोग गर्नुपर्ने थियो।

यसरी सार्वजनिक रुपमै आर्थिक रुपले बदला लिने धम्की पाएपछि चिनियाँ बजारसँग आफ्नो भाग्य गाँस्नु रणनीतिक गल्ती थियो भनेर कति कम्पनीले निर्णय गर्लान्? कति कम्पनीले चिनियाँ बजारमा प्रवेशका लागि फेरि करोडौँ डलर लगानी गर्लान्? जतिसुकै चीनमैत्री भए पनि कति कन्सल्ट्यान्ट कम्पनीले चीनसँग आर्थिक साझेदारी गर्न आफ्ना ग्राहकलाई सुझाव देलान्? खासगरी अनुमान नै गर्न नसकिनेगरी राजनीतिक र भूराजनीतिक जोखिम उच्च विन्दुमा पुगेका बेला?

केही मुलुकहरुले त उत्पादन र आपूर्ति व्यवस्था चीनबाट अलग गर्ने आह्वान पनि गरिसकेका छन्। त्यसैले चीनमा आफ्नो भविष्यबारे जोखाना हेरिरहेका कम्पनीहरुलाई धम्क्याउनु बेइजिङका लागि रणनीतिक रुपले गलत देखिन्छ। तर, अहिलेलाई यो गैरकुटनीतिक रणनीति व्यक्तिगत र संस्थागत तहमै आकर्षक देखिन्छ। केही चिनियाँ कुटनीतिज्ञहरु स्वभावैले राष्ट्रवादी भावनाद्वारा बहकिन्छन्। अरुले पनि परिणाम जस्तोसुकै आएपनि आफू जति बढी राष्ट्रवादी र आक्रामक रुपमा प्रस्तुत भयो, त्यति करिअर माथि उठाउन पाइने रहेछ भन्ने महसुस गर्न थालेका छन्।

र, बेइजिङको राजनीतिक नेतृत्व पनि यही प्रवृत्तिलाई प्रवद्र्धन गर्न इच्छुक देखिन्छ। यसले राष्ट्रवाद अझ उराल्ने र कम्युनिस्ट पार्टीको समर्थन बढ्ने उनीहरुको विश्वास छ। छोटो अवधिका लागि यो सही ठहरिन सक्छ। तर, यसको मूल्य अन्तत्वगत्वा तिर्नैपर्ने हुन्छ। त्यसबेला यो आर्थिक र राजनीतिक मूल्य चीनको वर्तमान राजनीतिक व्यवस्थाका लागि नै महंगो साबित हुन सक्छ।

यतिबेला यो असम्भव देखिन्छ किनभने चीन उदाउँदो आर्थिक महाशक्ति हो। तर, विदेशी कम्पनीमाथि प्रतिबन्ध, कोभिड–१९ सम्बन्धी अनुसन्धान, ताइवानसँगको सम्बन्ध, हुवावेमाथि लगाइएको प्रतिबन्धको बदला र अन्य थुप्रै गतिविधिपछि पश्चिमा मुलुकसँग चीनको जोडा टुट्न सक्छ।

त्यसबेला विदेशी बजार उसका लागि बन्द हुन सुरु हुनेछ। कम्पनीहरुले चीनलाई त्याग्नेछन् र लगानी सुक्नेछ। यो कुरा सकेसम्म स्पष्ट रुपमा भन्न जरुरी छ। किनभने २० वर्षपछि बेइजिङले भन्न नसकोस्– यस्तो होला भन्ने हामीले सोचेकै थिएन।

राष्ट्रवादले आफ्नो शासन बलियो बनाउँछ भन्ने सोच चिनियाँ नेतृत्वमा देखिन्छ। तर, यो उसको अदूरदृष्टि हो। वास्तवमा चिनियाँ शासन व्यवस्थाको वैधताको खास शक्ति भनेकै आर्थिक विकास हो। आर्थिक विकासलाई जोखिममा पारेर चिनियाँ नेतृत्वले राष्ट्रकै भविष्य खतरामा पारेको छ।

चिनियाँ कुटनीतिज्ञहरुले विदेशी भाषा सिक्न, विदेशी संस्कृतिमा भिज्न निकै कठिन परिश्रम गरेका छन्। उनीहरु वर्षौँ घरबाट टाढा बस्छन्। कहिलेकाहीँ परिवारबाट पनि अलग रहन्छन्। उनीहरु वफादारीपूर्वक चीनको सेवा गर्छन्। तर, त्यसको बदलामा उनीहरुले विरलै प्रशंसा र समर्थन पाउँछन्।

चीनको सफलतामा यस्ता कुटनीतिज्ञहरुले पुस्तौँसम्म परिश्रम गरेका छन्। अझै कतिपय चिनियाँ कुटनीतिज्ञ कुटनीतिको परम्परागत शैली अपनाउँछन्। तर, यो सबै अहिले जोखिममा परेको छ। किनभने कुटनीति प्रचार र आक्रमकतामा बदलिएको छ।

यो परिवर्तनले विस्तारै विश्वभर चीनको छविलाई बिगार्नेछ। यसले उसका मित्र तथा साझेदारलाई टाढा पु¥याउनेछ भने दुश्मनलाई बलियो बनाउनेछ। फलस्वरुप चीनको अर्थतन्त्रले कठिनाइ बेहोर्नेछ। चिनियाँ नागरिक बढ्दो चीनघृणाबाट पीडित हुनेछन्। र, अन्ततः नेतृत्वले राजनीतिक बबन्डरको भयानक शक्ति महसुस गर्नेछ।

यदि यस्तो हुनबाट रोक्ने हो भने कुटनीति केका लागि भन्ने चीनले बुझ्नुपर्छ र उसका कुटनीतिज्ञ आफ्नो काम जे हो, त्यसैमा फर्किनुपर्छ।

(साउथ चाइना मर्निङ पोस्टबाट। आन्द्रेइ लुंगु द रोमानियन इन्स्टिच्युट फर द स्टडी अफ द एसिया–प्यासिफिकका अध्यक्ष हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad