गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि जारी लकडाउनमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यर्मीलाई डेराबाट निकाल्ने घरधनीलाई कारबाही गर्ने चेतावनी दिएको छ।
आइतबार विज्ञप्ति प्रकासित गरी गृहले कठिन परिस्थितिमा सुरक्षा सतर्कताको नाममा स्वास्थ्यकर्मीलाई विभिन्न दबाब दिने गरिएको उल्लेख गरेको छ।
स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानुन विपरितका कार्यहरु गरी निजहरुको मनोबल गिराउने, स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सतर्कताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिहरुलाई विना कारण निकाल्ने लगायतका अमानवीय कार्यहरु भइरहेकोप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
त्यस खालका अवाञ्छित क्रियाकलाप कुनै पनि निकाय वा व्यक्तिबाट नगर्न/नगराउन आग्रह गर्दै यस्तो गरेको पाइएमा नेपाल सरकारको संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम कारबाही गर्ने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ।

प्रतिक्रिया