भदौको त्रासदी आफैँले भोगेका मान्छेलाई थाहा छ– यति चाँडै आजको दिन आउला भन्ने कल्पना गर्न त्यतिबेला सम्भव थिएन।
भदौको २३ गते छातीमा गोली ठोकेर बालबालिकाको ज्यान मात्र लिइएको थिएन, त्यो दिन सामान्य मानवीय मूल्य र शासकीय जवाफदेहिताको पनि हत्या भएको थियो। २४ गते फगत सिंहदरबार जलाइएको थिएन, राज्य र उसका संस्थाप्रति नागरिकको भरोसा पनि खरानी पारिएको थियो।
सडकमा रगत बगिरहँदा, संरचनाहरूमा आगो दन्किरहँदा र व्यावसायिक संस्थानहरू तथा निजी सम्पत्तिमा लुटपाट मच्चिरहँदा मुलुकको स्टेयरिङ समात्न नेपथ्यबाट अचानक एक पात्र अघि सरिन्– सुशीला कार्की। तर, कुनै पनि शक्ति उनीप्रति विश्वस्त थिएनन्। विश्वास गर्नु पनि कसरी! आफूलाई महाबली ठान्ने ठूला राजनीतिक दलका पुरुष नेताहरू पालैपालो असफल भइरहेका थिए। न्यायपालिकादेखि सुरक्षा निकायबाट समेत नागरिकको विश्वास टुटेको थियो। मुलुक शासकीय हिसाबले अभूतपूर्व संकटमा थियो। जनसंख्याको ठूलो हिस्सा षड्यन्त्रको सिद्धान्तको सिकार बनेर अकल्पनीय त्रासदीहरूको परिकल्पना गरिरहेको थियो। यस्तोमा कुनै राजनीतिक टेकोबिनाकी, राजनीतिक अनुभवबिनाकी कार्की यो सबै सम्हाल्छु भनेर उभिएकी थिइन्।
त्यसैले छ महिने कार्यकालभरि उनले अविश्वास र आशंकाको सामना गर्नु परिरह्यो। सत्ताच्यूत शक्तिहरू उनीविरुद्ध छँदै थिए, डिस्कर्डमा भोटिङ गरेर उनलाई अघि सार्ने आन्दोलनकारीलाई पनि कार्कीप्रति भरोसा थिएन। कसैले उनलाई भूराजनीतिक गोटी ठाने, कसैले संविधानबाहिरको प्रधानमन्त्री भने।
यस्तो दबाबबीच धेरैलाई लाग्न सक्छ– छ महिने कार्यकालमा कार्कीले के नै गरिन् र! तर, उनले धेरैथोक गरिन्। आम हिंसाको सँघारमा भएको मुलुकको उद्धार गरिन्, नागरिकको जिउधन रक्षाको जिम्मेवारी लिइन्। संवैधानिक विघटनबाट मुलुकलाई जोगाइन्, संघीय लोकतान्त्रिक गणतन्त्रसहित संविधानको आत्मा बचाइन्। अधमरो बनेका संस्थाहरूलाई बचाउने काम गरिन्। न्यायिक पृष्ठभूमिबाट आएकी उनी दबाबसामु अविचलित रहिन् र मूलतः निष्पक्षता कायम राख्न सफल भइन्।

प्रधानमन्त्री कार्कीले बिहीबार देशभरका एक करोड बढी मतदाताजस्तै काठमाडौँ–५ बाट मतदान गरिन्। अनि भनिन्, ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, म अत्यन्त खुसी छु।’
सबैभन्दा महत्त्वपूर्ण, जे गर्छु भनेर कार्की आएकी थिइन्, त्यो काम भव्यतापूर्वक सम्पन्न गरिन्। ठूला राजनीतिक दलका नेताहरू, खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली केही साताअघिसम्म चुनाव हुँदैन भनेर दाबी गरिरहेका थिए। आफूले भनेजस्तो नभए चुनाव हुनै दिँदैनौँ भनेर सुदन गुरुङलगायत जेनजी अगुवाहरू धम्क्याउँथे। आज यी दुवै पात्र प्रत्यक्ष उम्मेदवार बनेर चुनाव लडिरहेका छन्। छिटपुट घटनाबाहेक शान्तिपूर्वक मतदान सम्पन्न भइसकेको छ। र, उनी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने सँघारमा छिन्।
यस हिसाबले प्रधानमन्त्री सुशीला कार्कीको सफलतालाई सानो मान्न सकिन्न। हो, उनको संक्षिप्त शासनकाल कमजोरीरहित पक्कै थिएन। खासगरी महान्यायाधिवक्ता सविता भण्डारी र प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ विवादमा पर्दा त्यसमा कार्की तानिइन्। चुनावअघि नै जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बोझिलो जिम्मेवारी लिनुभन्दा त्यसलाई टार्ने सजिलो बाटो रोजिन्।
यी सबका बाबजुद कार्कीले आफ्नो जिम्मेवारी पूरा गरेकी छन्। अब पालो चुनाव जित्ने शक्तिको हो। छोटो अवधिमा प्रथम महिला प्रधानमन्त्रीले जति सफलता हासिल गरिन्, त्यसले आउँदो सरकारका लागि उच्च मानक कायम गरेकी छन्।
तसर्थ, उनलाई धन्यवाद भन्न कञ्जुस्याइँ गर्नु पर्दैन।
पटकपटक ऐतिहासिक मौका खेर फालेका नेपाली नेताहरूप्रति इतिहास पक्कै उदार हुने छैन। सुशीला कार्की त्यसको अपवाद बन्न सक्छिन्।
Shares

प्रतिक्रिया