विचार


इरान युद्ध कता जान्छ, अब ट्रम्पको हातमा छैन

इरानको ड्रोन पहिले सकिन्छ कि अमेरिकाको रोक्ने क्षमता?
इरान युद्ध कता जान्छ, अब ट्रम्पको हातमा छैन

मार्च २ मा इरानको मिनाबस्थित छात्राहरूको स्कुलमा आक्रमणपछि मारिएकाहरूको अन्तिम संस्कारको तयारी गरिँदै। रोयटर्स


एडवर्ड लुस
फागुन २०, २०८२ बुधबार २०:५८,

बाहुबाली नेताको समस्या के हो भने उनीहरू तुरुन्तै आफ्नो मनसाय बदल्न सक्छन्। 

गत वर्ष आफ्नो शपथ समारोहको भाषणमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नचाहिँदो युद्ध अन्त्य गरी ‘शान्ति ल्याउने’ वाचा गरेका थिए। तर, अहिले आएर उनी इरानविरुद्धको युद्धमा फस्न पुगेका छन्। त्यो पनि सत्ता ढाल्ने लक्ष्यका साथ।

सायद यथार्थले उनलाई त्यो लक्ष्य त्याग्न बाध्य तुल्याउनेछ। इरान युद्धबाट निस्किने ट्रम्पको योजना के छ, अमेरिकी संसद् र अमेरिकाका सहयोगी मुलुकहरूको कुरै छाडौँ, ट्रम्पकै क्याबिनेटलाई पनि थाहा छैन। जस्तो कि, गत जनवरीमा ट्रम्पले द न्युयोर्क टाइम्ससँग भनेका थिए, ‘मलाई रोक्न सक्ने एक मात्र कुरा भनेको मेरो आफ्नै नैतिकता हो।’ अमेरिकाको संवैधानिक व्यवस्थाले उनको भनाइमा शंका गर्ने ठाउँ दिएको छैन– उनलाई रोक्न सक्ने केही देखिँदैन। फैलिँदो युद्धमा के हुन्छ, त्यो अर्कै कुरा हो।

इजरायलले सुरुवातमा गरेको हमलालाई छाड्ने हो भने ट्रम्पका हकमा उनको पकडमा रहेको सबैभन्दा शक्तिशाली क्षण भनेकै इरानविरुद्ध युद्धमा जाने उनको फैसला हो। त्यसपछि त युद्ध कसरी अगाडि बढ्छ भन्ने कुरामा ट्रम्पले आफ्नो एकाधिकार गुमाइहाले। अब त इरानीहरूले मात्र होइन, अरु धेरै पक्षले युद्धका दिशा तय गर्नेछन्।

आफ्नो उदेश्य के हो भन्ने बारे नै ट्रम्पको मनमा अनेकौँ सोच देखिन्छ। युद्धमा होमिनुको कारणबारे सुरुवाती ७२ घण्टामा उनले अनेकथरी जवाफ दिए। कहिले इरानको आणविक हतियार कार्यक्रम नष्ट गर्न चाहन्छु भने, कहिले इरानको आतंकवाद निर्यात गर्ने क्षमता सिध्याउँछु भने। अनि कहिले इरानको सत्ता ढाल्छु भने त कहिले सौदा गर्न सकिने नयाँ नेता खोज्न चाहन्छु भने। यीमध्ये अधिकांश भनाइ उनले पत्रकारहरूसँग टेलिफोन कुराकानीमा भनेका हुन्। एक जना पत्रकारसँग उनले यो युद्ध चार वा पाँच हप्तामा टुंगिन्छ भने। अनि अर्कासँग इरानसँग वार्ता गर्न तयार छु भने। तर, वार्ता गर्न इरानमा कोही बाँचेका छन् र भनेर प्रश्न पनि गरे।

यसरी उनको युद्धका अनेकौँ उदेश्य छन्। ट्रम्पले दाबी गरेभन्दा विपरीत अमेरिका र उसका सहयोगीहरूलाई इरानबाट कुनै हमलाको खतरा थिएन। त्यसैले इरानी हमला रोक्न आक्रमण गरिएको तर्क पूरै झुटो हो। न त उनले दाबी गरेजस्तो इरान अमेरिका पुग्ने क्षेप्यास्त्र नै विकास गर्दै थियो। 

ट्रम्पका दूत स्टिभ विट्कोफले केही दिनअघि हावादारी दाबी गरेका थिए, ‘आणविक बम बनाउनबाट इरान केही साता मात्र टाढा छ।’ इरानी वार्ताकारहरू कुनै पनि सम्झौताका लागि तयार हुँदै भएनन् भन्ने ट्रम्पको दाबीलाई पनि ओमानका अधिकारीहरूले झुटो भनेका छन्। उनीहरूका अनुसार गत साता इरान प्रशोधन गरिएको युरेनियम बुझाउन तयार भएको थियो। त्यो बाराक ओबामाले २०१५ को आणविक सम्झौताको सर्तभन्दा पनि राम्रो थियो। जुन सम्झौतालाई ट्रम्पले तोडेका थिए।

इरानको सडकमा हुने रक्तपात रोक्ने क्षमता ट्रम्पसँग छैन। तथापि, उनी इरानीहरूलाई सत्ताविरुद्ध उत्रिन अपिल गरिरहेका छन्। त्यो कदम आत्मघाती हुने छैन भनेर इरानीहरूले थाहा पाउने कुनै तरिका छैन। हवाइ हमलाको भरमा सत्ता ढल्दैन। जमिनबाट हमला गरेर मात्रै ट्रम्पले तिनलाई सघाउन सक्छन्। पहिलो पटक ट्रम्प यो विषयमा सोचिरहेका छन्। ‘जमिनमा सेना उतार्ने कुरालाई लिएर मलाई कुनै ठूलो चिन्ता छैन,’ ट्रम्पले न्युयोर्क पोस्टसँग भनेका छन्।

यहीबेला, ट्रम्पले इरानको अर्धसैनिक बललाई हतियार बुझाउन आह्वान गरेका छन्। उनको भनाइ छ, ‘सोच्ने हो भने उनीहरूले सिधै जनतासामु आत्मसमर्पण गर्नेछन्।’ त्यो कुनै अर्को दुनियाँमा सम्भव हुँदो हो। यो दुनियाँमा त त्यो ट्रम्पको दिमागमा युद्धको धुवाँले पैदा गरेको भ्रान्ति मात्र हो।

यो युद्ध कता जान्छ, मलाई थाहा छ भनेर दाबी गर्नेहरू झुटा हुन्। यो कुरा ट्रम्पलाई समेत थाहा छैन। इरान युद्धका सम्भावित नतिजामध्ये शान्तिपूर्ण सत्ता हस्तान्तरणको सम्भावना चाहिँ सबैभन्दा कम छ। इरानको सत्ताले निरन्तर हजारौँको हत्या गर्दै आएको छ। देशका जो शीर्ष नेता बाँकी छन्, उनीहरूसँग धेरै विकल्प बाँकी छैनन्। ट्रम्पले तिनलाई यो युद्ध अस्तित्वको लडाइँ हो भन्ने बताइदिएका छन्। तैपनि इरानले अमेरिकी सैन्य अखडा रहेका खाडी मुलुकमा ड्रोन र क्षेप्यास्त्र हानेकोमा ट्रम्पले आश्चर्य व्यक्त गरेका छन्। जबकि, खतरामा परेको इरानको धार्मिक शासनका लागि लडाइँ चर्काउने स्पष्ट उपाय नै त्यही थियो।

त्यसै हुनाले खाडीका कुनै पनि राजघराना यो युद्ध चाहँदैनथे। विश्व अर्थतन्त्रमा उनीहरूको केन्द्रीय स्थान यो युद्धले खतरामा पारिदिएको छ। तर, ट्रम्पले खाडी मुलुकका मित्रहरूको कुरा सुनेनन्। न त अमेरिकी सेनाका ज्वइन्ट चिफ्स अफ स्टाफ जर्नेल ड्यान केनले पेस गरेको खतराका परिदृश्यहरूमै उनले ध्यान दिए। इरानजत्रो मुलुकलाई रिमोट कन्ट्रोलको भरमा बदल्न सकिन्न।

ट्रम्पले सोचेका थिए– इरानले तुरुन्तै आत्मसमर्पण गर्नेछ। तर, अहिलेसम्म त्यसको कुनै संकेत देखिँदैन। त्यसैले अब हामी को बढी टिक्छ भन्ने परीक्षातर्फ अघि बढिरहेका छौँ। इरानले साहिद ड्रोनको हमला जाति धेरै समय गरिरहन सक्छ, उसले त्यति नै बढी अमेरिकी जिउधनमा क्षति पुर्‍याउन सक्छ। ड्रोन उत्पादन गर्ने इरानको क्षमताविरुद्ध तिनलाई रोक्ने अमेरिकाको क्षमता– कसको क्षमता लामो समय टिक्छ भन्ने प्रतिस्पर्धातर्फ यो युद्ध सोझिएको छ।

लामो युद्धले अमेरिकालाई ठूलो आर्थिक क्षति हुनेछ। ट्रम्पका समर्थकहरूलाई विश्वास थियो– उनले अनन्त युद्ध र काम आम्दानीको युग अन्त्य गर्नेछन्। त्यो उनीहरूको गल्ती थियो। ट्रम्पले जर्ज डब्ल्यू बुसको रेकर्डलाई पनि पछि पारेका छन्। इरानको सत्ताका बारेमा भन्नका लागि राम्रो कुरा छैन। तर, ट्रम्पको उदेश्यलाई उनका मतदाताले भन्दा इरानले राम्ररी बुझेको छ।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad