विचार


कांग्रेसले राणा समाप्त गर्‍यो, राणाले कांग्रेस समाप्त गर्दैछिन्

मुलुकले महिला प्रधानमन्त्री पहिले पाउला कि एमालेले महिला अध्यक्ष?
कांग्रेसले राणा समाप्त गर्‍यो, राणाले कांग्रेस समाप्त गर्दैछिन्

राजेश मिश्र
जेठ ११, २०८२ आइतबार १७:३७, सान डिएगो, क्यालिफोर्निया

‘दुष्टात्माहरूको गठबन्धन बलियो हुन्छ।’
–अलेक्जान्डर सोल्जेनित्सिन

१९१८ मा जन्मिएर २००८ मा मरेका उनी को हुन्? के थिए? उनले आफ्नो जीवनमा लेखेको एउटा चिट्ठीका कारण कसरी उनलाई तत्कालीन सोभियत संघका नेता जोसेफ स्टालिनले साइबेरिया पठाए? कसरी त्यहाँ उनले गुलाग आर्किपेलागो लेखे? कसरी उनलाई नोबेल पुरस्कार प्राप्त भयो? कसरी तत्कालीन सोभियत संघले उनको नागरिकता नै खारेज गर्‍यो? जान्न चाहनेका लागि अहिले हातहातमा सूचनाको पेटारो बोकेको इन्टरनेट जडित मोबाइल फोन उपलब्ध छ। त्यसैले उनका बारेमा धेरै कुरा नगरौँ। 

बरु, सिधै नेपाली राजनीतिको विकृत स्वरूपको चर्चा गरौँ। 

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ‘संविधान संशोधन गर्ने’ सात बुँदे सहमति सहित आजको यो अदृश्य सरकार गठन भएकै थिएन। अचानक नेपाली कांग्रेसका वयोवृद्ध तर लुब्ध नेता शेरबहादुर देउवाले नेकपा एमालेका ‘जोसेफ स्टालिन’ केपी ओलीलाई फोन गरेर भने, ‘त्यो बालकृष्ण खाँणलाई छुटाउनुपर्‍यो यार!’ 

बन्द कोठामा देउवा ओलीलाई तिमी भनेर सम्बोधन गर्छन्। अदालतमा कांग्रेसीको भन्दा एमालेका टीके न्यायाधीशहरूको बहुमत छ। न्यायाधीशहरू आफ्नो नियुक्तिपछि दाम राखेर एमाले कार्यालय ढोग्न पुगेको अभूतपूर्व इतिहास नै छ। 

बालकृष्ण खाँणको नेपाली कांग्रेसमा धेरथोर पकड पनि छ। गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा नियतवश चलखेल गरेर त्यो कर्म साबित भएपछि यी ‘नेता’ जेल परेका थिए।

खाँण जेल परेको कुराले शेरबहादुर देउवालाई औडाहा हुने नै भयो। नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवापत्नी वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको संलग्नताको परिस्थितिजन्य मात्र नभएर ठोस प्रमाण प्रहरीको हातमा परिसकेको थियो। बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण यो नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुकी मतियार रहेको कुरा पनि प्रहरीले पत्ता लगाइसकेको थियो।

यो भन्दा गम्भीर कुरा अर्कै थियो। नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा शेरबहादुर देउवालाई टक्कर दिन कोइराला खानदानका शेखर कोइराला सक्रिय थिए। चुनावपछि संसदीय दलको नेतामा कोइराला आफू उम्मेदवार भएनन्। उनले महामन्त्री गगन थापालाई ठड्याएर देउवालाई संकेत दिए। जेल परेका खाँणलाई भेट्न कोइराला पटकपटक सुन्धारानजिकको भद्रगोल जेल जान थाले। खाँण जेल परे पनि कांग्रेसी महासमिति सदस्यहरूमा उनको पकड कायम छ। जस्तो दिवंगत खुमबहादुर खड्काको थियो। कोइरालाको यो गतिविधि शेरबहादुरलाई झस्काउन पर्याप्त थियो।  

अन्ततः देउवा ओलीको शरणमा परे। ओलीले देउवालाई कृपाको भारले थिच्ने मौका छोड्ने कुरा थिएन। खाँण ‘प्रमाण नपुगेको आधारमा’ तीस लाख धरौटी तिरेर रिहा भए। प्रमाणको एउटा चिर्कटो उनले प्रहरीकै अघिल्तिर च्यातचुत पारेर निलेको कुरा नेपाली प्रेसले त्यो बेला खुब उछालेको थियो। खाँणको रिहाइपछि प्रेस पनि चुपचाप छ।  

खाँणकै प्रतिलिपि मुद्दामा अर्का पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि जेल परे। अझै जेलमा छन्। आफ्नो मातृदल माओवादी र नेता प्रचण्डलाई धोका दिएर एमाले प्रवेश गरेका रायमाझीको उपादेयता ओलीलाई थिएन। त्यसैले उनी अझै जेलमै छन्। रायमाझी नेपाली राजनीतिको आकाशबाट विलुप्त भएको अवस्थामा उनलाई सम्झिने एकजना पनि नहुँदा यो कुनै आश्चर्यको विषय हुनेछैन। 

भर्खर अर्को समाचार प्राप्त भएको छ। प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमिति संयोजकमा नेपाली कांग्रेस सांसद मञ्जु खाँण चयन भएकी छन्।  

विमानस्थल निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार छानबिन गर्न नेकपा (एमाले)का सांसद योगेश भट्टराईको नेतृत्वमा उपसमिति बनाइएको थियो। पूर्वमन्त्री भट्टराई संयोजक रहँदा स्वार्थको द्वन्द्व हुने प्रश्न उठेको थियो। त्यसपछि भट्टराईले आफू संयोजक हुन अस्वीकार गरे। 

मञ्जु खाँण उनै बालकृष्ण खाँणकी पत्नी र नेपाली कांग्रेसको समानुपातिक कोटामा मनोनीत सांसद हुन्। भुटानी शरणार्थी मुद्दा उत्कर्षमा पुग्दा उनी महिनौँ गुप्तवास बसिन्। सार्वजनिक लेखा समितिले अब उनलाई गौदान गरेर चोख्याइदिएको छ। 

नेपाली सुशासनको इतिहासमा यो निर्णय एक थप कीर्तिमानका रूपमा चिरस्मरणीय रहनेछ।

किस्तीको खोजी
प्रधानमन्त्री केपी ओली एउटा सुनौलो किस्तीको खोजीमा छन्। 

प्रतीक्षारत पटके प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको सम्झौता अनुसार ओलीको म्याद गुज्रिएपछि उनले राज्यको कार्यकारी अभिभारा देउवालाई हस्तान्तरण गर्नुपर्नेछ। शेरबहादुरका लागि सिंहदरबारको कुर्सी तताउने यो जीवनको अन्तिम मौका हो। नेपाली कांग्रेसको विधान अनुसार अब उनले दोहोर्‍याएर दलको सभापति बन्न मिल्दैन। 

नेपाली कांग्रेसको नियमित पात्रोलाई इमानदारीपूर्वक अनुसरण गर्ने हो भने यो दलको अधिवेशन ०८४ सालको चुनावभन्दा पहिल्यै गर्नुपर्ने बाध्यता छ। शेरबहादुर त्यो अधिवेशन आफू प्रधानमन्त्री भइसकेपछि मात्र गर्न इच्छुक छन्। 

त्यसबाहेक देउवाले राज्यलाई दिएको ‘उपहार’को तपसिल लामो छ। सांसदलाई विलासी सवारी साधन किन्न दिएको भन्सार छुटको सुविधा, सांसदका लागि सुरासुन्दरीको व्यवस्था, गठबन्धन सरकार बनाउन र भत्काउनमा सुन तस्करहरूको भूमिका जस्ता विकृति बिर्सिन गाह्रो छ। 

भारतसँग महाकाली सन्धि हुँदाका देउवाका मतियार वर्तमान प्रधानमन्त्री केपी ओलीसँग उनको साझेदारी पुरानो छ। तर राजनीतिको बजारमा देउवाले रुचाएको किस्ती खोज्न ओली तयार छन् भन्ने कुरामा शंका उत्पन्न हुँदैछ। ओलीले हरेक मौकामा आफ्नो पालापछि देउवालाई प्रधानमन्त्रीको पद किस्तीमा राखेर बुझाउने प्रण दोहोर्‍याउँदा यो शंका झन् प्रबल हुँदैछ। 

बहुदलीय प्रजातन्त्रलाई संसदीय अंकगणितको आधारमा विकृत तुल्याउने काम नेकपा एमालेका नेताहरूले राजभक्त पञ्चायती प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई सो पद किस्तीमा सजाएर अर्पण गरेपछि सुरु भएको हो। नेपाली कांग्रेसका केही चल्तापुर्जा नेताहरू, जो भारतीय संस्थापनसँग समीप थिए, उनीहरू अर्कै चलखेलमा लागे। च्याँखे दाउ जितेको शैलीमा अर्का राजावादी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा प्रधानमन्त्री भए। नेपालमा क्रान्तिकारी आन्दोलनकारीहरूले आफ्नो अभीष्ट बिर्सेर नाङ्गो सत्तालिप्सा प्रकट गरेको बेला थियो यो। यसको इतिहास लेखिन बाँकी छ। शेरबहादुर देउवाको उदय र नेपाली संसदीय व्यवस्थामा लागेको धमिरे संक्रमण केवल संयोग थिएन।

कलंकित कांग्रेस
शेरबहादुर देउवाले आरजु राणासँग बिहे गरेको दिन नेपाली कांग्रेसका तत्कालीन विनोदप्रिय सभापति कृष्णप्रसाद भट्टराईले ठट्टा गर्दै भनेका थिए, ‘लौ म्याडम, शेरबहादुजी हिजोसम्म हाम्रो हुनहुन्थ्यो, आजबाट तपाईंको हुनुभयो।’ उनको यो परिहासभित्र लुकेको सन्देश चार दशकपछि स्पष्ट भएको छ। नेपाली कांग्रेसले राणा शासन समाप्त पार्‍यो, आरजु राणा नेपाली कांग्रेस समाप्त पार्दैछिन्। 

अहिले ‘स्थिरता ल्याउन’ गठित नेपाली कांग्रेस र एमालेको सरकार प्रकट रूपमा जेसुकै दाबी गरिए पनि अन्तर्यमा दुष्टात्माकै सरकार हो। सरकार हुँदा हस्ताक्षरित सात बुँदे सम्झौता समयको भेलले बगाएर विस्मृतिमा पुगेको छ। ओली र देउवाको व्यक्तिगत सहमतिमा गठित यो सरकारको पहिलो प्रातहमिकता थियो, संविधान संशोधन गर्ने। ओलीले भनिसके, चुनावअघि संविधान संशोधन हुँदैन। देउवाको दलले विधान अनुसार मंसिरमा अधिवेशन गर्नुपर्नेछ। यो अधिवेशनमा देउवा सभापतिको प्रत्याशी हुन मिल्दैन। कांग्रेसको विधानले यसै भन्छ। तर देउवा चुनावअघि दलको महाधिवेशन बोलाउन इच्छुक छैनन्। ओली र देउवा तदर्थवादलाई लम्ब्याएर आफ्नो रणनीति साकार पार्न प्रयत्नरत त छन्। तर केन्द्रमा देउवापत्नी परराष्ट्रमन्त्री आरजु राणा आसीन छिन्।

आरजु देउवा राणाको शेरबहादुर देउवापत्नी हुनुबाहेक नेपाली कांग्रेसमा योगदान के हो? यो गैरकांग्रेसीहरूको चासोको विषय होइन। उपसभापति पूर्णबहादुर खड्का वा प्रकाशशरण महतहरूसँग यो प्रश्न गर्नुको कुनै औचित्य छैन। महामन्त्रीद्वयमध्ये एक विश्वप्रकाश शर्मा सगरमाथाको शिखर आरोहण गर्न व्यस्त छन्। अर्का महामन्त्री गगन थापा धर्मनिरपेक्षताविरुद्ध बोलेर आफ्नो सनातनी मतदाता रिझाउने चेष्टामा छन्। केन्द्रीय समितिमा देउवाको पक्ष प्रबल छ। आगामी अधिवेशन बेलामा भयो भने सभापति पदका दाबेदार शेखर कोइरालाका लागि अहिले ‘गर या मर’को अवस्था छ। कोइराला खलक आफैमा एकताबद्ध छैन। 

बीपी कोइरालाको उत्तराधिकारका कथित हकदार शशांक कोइरालाको उपस्थितिलाई उनको दलले अनुभव गर्नै सकेन। संसदमा उनको प्रभावकारिता माओवादी कोटाबाट समानुपातिक सदस्य भएका औँठाछापभन्दा बढी छैन। बाउको नाम भजाउनुबाहेक उनको संगठनमा व्यक्तिगत पकड़ शून्य छ। तर अचानक कान्छा छोरा भन्दैछन्, ‘म सभापतिमा उठ्छु। तपाईंहरूले मलाई मन वचन र कर्मले सहयोग गर्नुपर्‍यो।’

बत्तीमुनि अँध्यारो पार्ने दीपक खड्का नामका एक मान्छेलाई मन्त्री बनाउन उनले गरेको मोलतोल बिचौलिया बजारमा चिरस्मरणीय रहनेछ। यो हो अहिलेको नेपाली कांग्रेस। तर बीपी कोइरालाको तस्बिर नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शोभायमान छ। बीपीको तस्बिर घरघरमा राख्ने पुस्ता पातलो हुँदैछ। ‘मुख होइन, रुख हेरौँ’ भन्ने युग गयो! बीपी कोइरालाका कार्यकर्ताहरू अब फलदार रुखप्रति आशक्त छन्।

अथः ओली उवाच 
नेपाली कांग्रेसभित्र आरजु राणाको उदय कांग्रेसगणका आँखामा सहज भए पनि, प्रधानमन्त्री केपी ओलीका लागि एक अवसर हुन पुगेको छ। नयाँ दिलीका मुख्तियार मोदीले आफूलाई दलित व्यवहार गरेको अवस्थामा परराष्ट्रमन्त्री आरजु राणाले पहिलोपटक त्यहाँ पाएको सम्मानलाई ओलीले कुटिलतापूर्वक सम्बोधन गरेका थिए, ‘नेपालमा अब महिला प्रधानमन्त्री हुनेबेला आएको छ।’ त्यो बेलादेखि आजको मितिसम्म उनले सार्वजनिक कार्यक्रमहरूमा स्वीकृत समयमा मुलुकको कार्यकारी अभिभारा देउवालाई बुझाउन किस्ती खोज्दै हिँडेको कुरा भन्न छुटाएका छैनन्। 

सरकारी सन्तुलन एकातिर, ओली आफ्नै दलभित्र दबाबमा छन्। मुलुकले पहिलो महिला प्रधानमन्त्री पाउने हो कि ओलीकै पार्टीले पहिलो महिला अध्यक्ष? 

कुनै बेला गोकुल बास्कोटा ओलीका प्रिय सञ्चारमन्त्री थिए। बास्कोटाको चुनाव क्षेत्रमा भाषण गर्दा उनले भनेका थिए, ‘सबै मन्त्री एकातिर, गोकुललाई तुलोको अर्कोतिर राख्दा तपाईंले जिताएका गोकुल नै भारी छन्।’ आज गोकुल ओलीसँग छैनन्। गोकुलको जिल्लामा पार्टी हैकम अर्कैलाई दिएपछि उनी अहिले पूर्वराष्ट्रपति विद्या भण्डारीको खेमाका सिपाही भएका छन्। 

शंकर पोखरेल, विष्णु पौडेल दुवै ओलीका हुन्। तर पोखरेल र पौडेल दुवै कम्मरपछाडि छुरी लिएर बसेका सहयात्री हुन्। ईश्वर पोखरेल खिया परेको हतियार हुन्। प्रदीप ज्ञवाली एमालेका विश्वप्रकाश शर्मा जस्तै हुन्। विष्णु रिमाल ओलीको साइबर जर्नेल असगर अलीको सहयोगमा जतिपटक युद्धमा जान्छन्, उतिपटक रक्तमुच्छेल भएर फर्किन्छन्। सत्ताबाट हटेपछि ओलीसँग आफ्ना मान्छे नै नहुने अवस्था छ। 

ओलीका लागि यो पनि अर्को झट्का हो– विद्या भण्डारीलाई छिमेकी वैचारिक सहगोत्री चीनले औपचारिक रुपमा निम्त्याएको छ। त्यो पनि, पूर्वराष्ट्रपति होईन, पार्टी नेताका रूपमा। बालकोट डाँडाको बेडरुमबाहिर कराएको कर्कश कागको क्रन्दन बालुवाटारमा नसुनिएला। तर बेइजिङको सन्देश बालुवाटार सहजै पुग्छ। ओलीले अहिले एकैसाथ चारवटा मोर्चामा एक्लै भिड्नुपर्ने अवस्था छ। सरकार टिकाउने, पार्टीमा साख जोगाउने, भारत रिझाउने र चीनलाई थुम्थुम्याउने। अमेरिका, भारत र सत्ता सहयात्री नेपाली कांग्रेसको उग्र विरोधका प्रत्युत चीनसँग बीआरआई समझदारी गर्नुको अर्थ ओलीको मुख देखाउने उपाय निकालिदिने चिनियाँ सौजन्य मात्रै हो। 

ओलीसँग चीन पनि सन्तुष्ट छैन। दक्षिण एसियाली भूराजनीति तरल छ। नेपालको अवस्था यो तरलतामा हावाको वेगसँगै बत्तिने कागजको डुंगासँग तुलना गर्दा अन्याय हुँदैन। किनभने प्रधानमन्त्री केपी ओलीको नेतृत्व क्षमता प्रकट भएको छैन। उनले पुँजीवादी दलालहरूको जालोबाट ब्युँझिन बाँकी छ।

दुष्टात्माहरूको गठबन्धन 
केपी ओलीले बुझेका छन्, शेरबहादुर देउवाको आफ्नो संसदीय दलमा बहुमत हुन्जेल उनलाई चुनौती दिने नेपाली कांग्रेसमा कोही छैन। तर यथार्थमा देउवा आरजुको खोपीमा राखेको देउता भइसके। ओलीले आरजुलाई राधिका शाक्यभन्दा बढी खुसी राखे। किस्तीको प्रसंग नचल्ने कुरै भएन। राजनीतिको बजारमा घ्यु र तरबार बेच्न हिँडेका ठगहरूको मिलाप राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बेलासम्म राम्रै चलेको हो। शेरबहादुर देउवालाई आफ्नै दलका सहयात्रीले ओलीका बारेमा बोलेको नकारात्मक कुरालाई हावामा उडाउने बानी परिसकेको थियो। प्रतीक्षारत प्रधानमन्त्री प्रतीक्षामा थिए। 

तर राष्ट्र बैंकको गभर्नरको कुरा चानचुने होइन। यो मुलुकको वित्तीय व्यवस्था सन्तुलन र तदनुसार मौद्रिक नीति तर्जुमा गर्ने जिम्मेवार पद हो। यसले मुलुकका मुद्रा कारोबारीको सुपरिवेक्षण, अनुगमन र मूल्यांकन गर्छ। ०६० को दशकपछि यो पदको गरिमा घटेको छ। व्यावसायिक निष्ठाको उदाहरण प्रस्तुत गर्ने यो पद यतिबेला सस्तो राजनीतिक मोलमोलाइको आधारमा खरिद बिक्री हुनथालेको छ। वास्तविक समस्या यो हो। 

तर नेपालको बौद्धिक जगतले यसबारेमा चिन्ता गरेको देखिएन। बुद्धिजीवीहरूले गभर्नर प्रकरणलाई पनि किस्तीसँगै जोडेर हेर्न रुचाए। दुई महिनासम्म तदर्थवादमा टिकेको राष्ट्र बैंकको नेतृत्व कुन प्रक्रियाबाट स्थापित भयो भन्ने चिन्ता देखिएको छैन। त्यसको साटो अर्कै बहसको प्रारम्भ भएको छ– ‘गभर्नर नियुक्तिबाटै बुझियो, ओलीले देउवालाई पनि प्रचण्डझैँ खेलाउने पक्का छ।’

बहस हुनुपर्ने थियो, व्यावसायिक पृष्ठभूमिकालाई पन्छाएर राजनीतिक नियुक्ति लिएर आएको मान्छे हाम्रो देशको खजाना सुरक्षित गर्न सक्षम छ? उसको राजनीतिक रुझान के हो? उसको स्वार्थ कोसँग गाँसिएको छ? उसको यसअघिका नियुक्तिपछाडि कसको अनुग्रह थियो? तर भएन। अब चौरासीको चुनाव बेलैमा भए पनि नभए पनि हेर्नुछ, नयाँ गभर्नर आएपछि कुनकुन क्षेत्रमा कति प्रत्यक्ष वैदेशिक लगानी आयो? कुन व्यक्तिको खातामा कहाँबाट कति रकम आयो? 

भेडीगोठमा स्याल नेता हुन्छ। एउटा निलो स्याल खोरमा छ। तर थुप्रै बुढा तर टन्न खाएर अघाएका हृष्टपुष्ट स्यालहरू सिकारमा छन्। जंगलको कानुन उल्टो हुन्छ। त्यहाँ सिकारी आफै सिकार हुन धेरै बेर लाग्दैन। 

चैतमा मोर्चा छोडेर भागेका राजावादीहरू जेठमा त्यसै जुर्मुराउने तरखरमा छैनन्। मुलुक सरकारको नियन्त्रणमा थिएन, छैन। तर, जेठको अन्त्यसम्म कुनै परिणाम नदेखिए ओली सरकारको आयु एक वर्ष लम्बिने सम्भावना छ। देउवाका बारेमा भने ज्योतिषीलाई सोध्नु उचित हुन्छ। 

(राजेश मिश्र हाल अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा बसोबास गर्छन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad