के अमेरिका चीन र रुसलाई फेरि फुटाउने कोसिस गर्दै छ?
३१ अक्टोबर २०२४ मा दक्षिणपन्थी टिप्पणीकार टकर कार्लसनसँगको अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले भनेका थिए– जो बाइडेन नेतृत्वको अमेरिकाले चीन र रुसलाई एक ठाउँ धकेल्ने गल्ती गर्यो। यी दुई शक्तिलाई अलग गर्नु आफ्नो प्राथमिकता हुने उनले बताएका थिए।
‘म उनीहरूलाई अलग गर्ने छु। र, मलाई लाग्छ, म त्यति गर्न सक्छु,’ ट्रम्पले भनेका थिए।
ह्वाइट हाउसमा फर्केपछि ट्रम्प रुससँग वार्ताका लागि इच्छुक देखिन्छन्। चाँडै युक्रेन युद्ध अन्त्य हुने उनको आशा देखिन्छ। कार्लसनसँग ट्रम्पले जे भनेका थिए, सोही अनुरूपको युक्रेन नीति अहिले अमेरिकाले लिएको देखिन्छ। अमेरिकालाई युरोपेली द्वन्द्वबाट बाहिर निकाल्ने र रुससँग सम्बन्ध सुधार्ने। भलै यसका लागि युक्रेनलाई धोका नै किन दिन नपरोस्। यो बदलावलाई अमेरिकाको ध्यान चीनको शक्ति नियन्त्रणमा केन्द्रित भएको सन्दर्भमा लिन सकिन्छ।
हालै भ्लादिमिर पुटिनसँग फोन संवादपछि ट्रम्पले फक्स न्युजसँग भने, ‘इतिहासको विद्यार्थीको रूपमा तपाईंले सिक्ने पहिलो कुरा भनेको रुस र चीनबीच एकता नहोस् भन्ने नै हो।’
ट्रम्पले यहाँनेर उल्लेख गरेको इतिहास निक्सन युगको अमेरिकी रणनीति हो। जतिबेला अमेरिकाले सोभियत संघको प्रतिकार गर्न चीनसँग सम्बन्ध सुधारेको थियो। जसले दुई कम्युनिस्ट मुलुकबीचको फुटलाई प्रोत्साहित गरेको थियो।
तथापि, ट्रम्पको अन्तिम लक्ष्य मस्को र बेइजिङबीच फाटो ल्याउनु हो भने उनको यो दृष्टिकोण साह्रै अदूरदर्शी र बोधो छ। रुसले चीनसँगको सम्बन्ध त्याग्ने सम्भावना छैन। त्यति मात्र होइन, रुस–युक्रेन युद्धलाई सम्हाल्ने ट्रम्पको तरिका र अझ विस्तृतमा भन्नुपर्दा उनको विदेशनीतिलाई बेइजिङमा धेरैले शक्तिको होइन, कमजोरीको संकेतका रूपमा हेरेका छन्।
अतीतमा रुस र चीन आफ्नो फाइदाका लागि अनेकपटक एकअर्काका शत्रु बनेका छन्। तथापि, आजको भूराजनीतिक परिदृश्य शीतयुद्धको समयभन्दा धेरै अलग छ। सोभियत संघको पतनपछि यी दुई मुलुक निरन्तर घनिष्ठ हुँदै गएका छन्। उनीहरूको प्रमुख रणनीतिक लक्ष्य पनि साझा छन्। त्यसमध्ये सबैभन्दा प्रमुख हो– अमेरिकी नेतृत्वको पश्चिमा उदार व्यवस्थालाई चुनौती दिनु।
चीन र रुस दुवैले पछिल्ला वर्षहरूमा सैन्य शक्ति प्रदर्शन गर्न झनझन् आक्रामक रवैया अपनाउँदै आएका छन्। यो काम चीनले दक्षिण चीन सागर र ताइवानवरिपरि गरिरहेको छ भने रुसले युक्रेनसहित पूर्वसोभियत राज्यहरूमा।
प्रतिक्रियामा पश्चिमा मुलुकहरूले रुस र चीनको चुनौतीको मुकाबिला गर्न एकीकृत अडान लिए। तर, यसले झन् ती दुई देशलाई नजिक ल्याउने काम गर्यो।
असली मित्र को हो, पुटिनलाई थाहा छ
फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमणको तयारी गर्दैगर्दा भ्लादिमिर पुटिन र सी चिनफिङले पश्चिमविरुद्ध एकजुट अडान देखाउन ‘सीमाहीन मित्रता’को घोषणा गरे।
त्यसयता चीन रुसको अपरिहार्य साझेदार बनेको छ। रुसको आयात र निर्यात दुवैमा चीन सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। २०२४ मा चीन र रुसबीचको द्विपक्षीय व्यापार कीर्तिमानी २३७ अर्ब डलर पुग्यो। रुसी तेल र ग्यासको प्रमुख क्रेता हुनाले चीनमाथि रुस अत्यधिक निर्भर छ। यो बढ्दो आर्थिक अन्तर्निर्भरताले रुसमाथि चीनको पकड बढाएको छ। जसले मस्कोलाई बेइजिङबाट टाढा तान्ने अमेरिकाको प्रयासलाई आर्थिक हिसाबले अकल्पनीय बनाउँछ।
यसको अर्थ रुस र चीनबीचको सम्बन्ध अपरिवर्तनीय छ भन्ने होइन। उनीहरूबीच असहमति र नीतिमा मतभेद कायमै छन्।
वास्तवमा यी दुई देशबीच दरार उत्पन्न गर्न सफल भए भने ट्रम्पले त्यसको फाइदा उठाउन सक्छन्। उदाहरणका लागि चीन र रुसबीचको सीमामा अझै पनि केही विवाद छन्। त्यसकारणले चीनलाई नियन्त्रण गर्ने अमेरिकी प्रयासलाई समर्थन र बेइजिङमा देखिने कुनै पनि विस्तारवादी प्रवृत्तिलाई निरुत्साहित गर्नुमा रुसको हित हुन सक्छ। त्यसका लागि भारतसँगको आफ्नो रणनीतिक सम्बन्धलाई मस्कोले उपयोग गर्न सक्छ।
पुटिन बुद्धु छैनन्। उनलाई थाहा छ, ट्रम्प सत्तामा आएपछि रुसविरुद्धको पश्चिमा आम सहमति र आर्थिक प्रतिबन्धहरू तत्काल हट्ने छैनन्। ट्रम्पको पहिलो कार्यकालमा पनि सुरुमा उनी पुटिनसँग निकट देखिए। तर, पछि कतिपयको तर्कअनुसार उनले रुसविरुद्ध बाराक ओबामा वा जो बाइडेनले भन्दा कडा आर्थिक नाकाबन्दी गरे।
त्यसैले, पुटिनले युक्रेनको स्वार्थ बलि चढाएर ट्रम्पको मध्यस्थतामा अघि सारिएको शान्ति सम्झौतालाई खुसीखुसी स्वीकार्ने छन्। तर, चीनविरुद्ध एकजुट हुने कुनै आह्वानलाई समर्थन गर्न उनी दौडिने छैनन्।
रुस आर्थिक रूपले चीनमाथि कुन हदसम्म निर्भर छ र सैन्य हिसाबले कति कमजोर छ भन्ने पुटिनलाई थाहै होला। एक रुसी विश्लेषकको शब्दमा भन्नुपर्दा अहिले मस्को बेइजिङको ‘ताबेदार’ वा बढीमा कनिष्ठ साझेदार मात्र हो।
लेनदेनको कमजोरी
रुस र युक्रेनबीच ट्रम्पले गराएको शान्ति वार्तालाई चीनले भने कमजोरीको संकेतका रूपमा लिन्छ। जसले सम्भवतः चीनप्रतिको अमेरिकी आक्रमकतालाई कमजोर पार्ने छ।
निस्सन्देहः ट्रम्प प्रशासनका केही सदस्य चीनप्रति अत्यन्त आक्रामक छन्। विदेशमन्त्री मार्को रुबियो चीनलाई अमेरिकी समृद्धिका लागि ‘सबैभन्दा शक्तिशाली र खतरनाक’ खतरा मान्छन्। तर, ट्रम्प आफैँ भने अस्पष्ट सुनिन्छन्। उनले एकातिर चीनविरुद्ध व्यापार युद्ध सुरु गर्दै भन्सार महसुल लगाएका छन्। अर्कोतिर राष्ट्रपति सीसँग भेट्ने विषयमा विचार गरेका छन्।
ट्रम्पको लेनदेनकारी मानसिकतालाई बेइजिङले बुझेको छ। ट्रम्प लामो समय लगानी गर्नुपर्ने दीर्घकालीन रणनीतिक स्वार्थलाई भन्दा अल्पकालीन र ठोस लाभलाई प्राथमिकता दिन्छन्।
यसले ताइवानको रक्षाका लागि खडा भएर उच्च लागत बोक्न अमेरिका तयार हुन्छ कि हुँदैन भन्ने हिसाबकिताबलाई बदलिदिन्छ। आफ्ना पूर्ववर्तीहरूभन्दा विपरीत ट्रम्पले ताइवानको रक्षाका लागि प्रतिबद्धता जनाउन सकेका छैनन्।
बरु चीन सरकारले ताइवान पुनर्एकीकरणका लागि सैन्य अभियान सुरु गरे आफूले भन्सार तथा नाकाबन्दीजस्ता आर्थिक उपाय अवलम्बन गर्ने संकेत ट्रम्पले दिएका छन्। शान्तिका लागि युक्रेनको भूमि साट्ने उनको खुलापनले वासिङ्टनको प्रतिबद्धतालाई लिएर ताइवानका थुप्रैलाई निकै चिन्तित बनाइदिएको छ।
अर्थतन्त्रको संरक्षण
युक्रेनमा रुसको अनुभवबाट चीनले अर्को एउटा महत्त्वपूर्ण पाठ सिकेको छ। त्यो हो– अमेरिकी अगुवाइमा लगाइने आर्थिक प्रतिबन्धहरूका पनि गम्भीर सीमा छन्।
पश्चिमा मुलुकहरूले भएभरका प्रतिबन्ध लगाउँदा पनि रुसको अर्थतन्त्र सबल नै छ। जुन चीन तथा उत्तर कोरियाजस्ता सहयोगीहरूको साथका कारण टिकेको छ। त्यसमाथि रुसको तुलनामा चीन आर्थिक हिसाबले निकै बढी पश्चिमसँग जोडिएको छ। र, उसको विश्व अर्थतन्त्रमा प्रभुत्वशाली हैसियतका कारण अमेरिकाको नेतृत्वमा आर्थिक हिसाबले आफूलाई एक्ल्याउने प्रयासको सामना गर्न बेइजिङलाई थप सहज हुने छ।
वास्तवमा भूराजनीतिक तनावले पश्चिमलाई चीनबाट विस्तारै अलग हुन प्रेरित गरेको छ। बदलामा बेइजिङले आन्तरिक उपभोगलाई प्राथमिकता दिनुका साथै अर्थतन्त्रका प्रमुख क्षेत्रलाई थप आत्मनिर्भर बनाएर आर्थिक मन्दीका लागि तयारी गर्न थालेको छ।
यसले पनि आंशिक रूपमा चीनको आर्थिक र सांस्कृतिक शक्तिलाई दर्शाउँछ। यसका साथै चीनले ग्लोबल साउथका मुलुकहरूलाई आफ्नो वरिपरि खडा गर्ने प्रयास पनि गरिरहेको छ। करिब ७० मुलुकले आधिकारिक रूपमा ताइवानलाई चीनको हिस्सा मानिसकेका छन्।
फुटको फाइदा चीनले उठाउने पालो?
त्यसकारण रुसलाई चीनविरोधी गठबन्धनमा सामेल गर्ने आशाका साथ रुस–युक्रेन युद्ध अन्त्य गर्ने ट्रम्पको योजना प्रत्युत्पादक बन्ने छ।
चीनको बढ्दो शक्तिका कारण रुस आफैँ चिन्तित हुन सक्छ। तर, पश्चिम नेतृत्वको अन्तर्राष्ट्रिय व्यवस्थालाई चुनौती दिने दुई मुलुकको साझा रणनीतिक लक्ष्य अनि चीनमा रुसको गहिरो आर्थिक निर्भरताले मस्कोलाई बेइजिङबाट छुट्याउने अमेरिकी प्रयास सफल हुन दिँदैन।
त्यसमाथि ट्रम्पको शैलीले ती कमजोरीहरूलाई उजागर गर्छ, जसको फाइदा चीनले उठाउन सक्छ। उनको लेनदेनमा आधारित र अलगाववादी विदेशनीति र युरोपमा दक्षिणपन्थी पार्टीहरूलाई दिएको प्रोत्साहनका कारण युरोपेली मुलुकहरूसँग उनको सम्बन्ध बिगार्छ। साथै अमेरिकाको सुरक्षा छाताप्रति ती मुलुकहरूमा रहेको विश्वास पनि कमजोर पार्छ।
यसलाई बेइजिङले अमेरिकी प्रभाव पतनको संकेत मान्न सक्छ। जसले चीनलाई चलखेल गर्ने अझ बढी ठाउँ दिन्छ। खासगरी ताइवानको मामिलामा।
त्यसैले, यस्तो बदलावले चीन र रुसबीच फुटको सम्भावना बढाउनुको सट्टा यसै पनि नाजुक बनिसकेको पश्चिमा गठबन्धनलाई थप विभाजित तुल्याउने छ।
(द कन्भर्सेसनबाट)
Shares

प्रतिक्रिया