गण्डकी


मनाङ पुग्यो बस

मनाङ पुग्यो बस

नेपालखबर
चैत १३, २०८१ बुधबार २३:१०, बेँसीसहर (लमजुङ)

मनाङको सदरमुकाम चामेमा पहिलोपटक बस पुर्‍याइएको छ।

लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीसहर–पोखरा सञ्चालन हुने ना ६ ख ९५७९ नं को बस पहिलोपटक चामे पुगेको हो।

सफल रूपमा बस चामे पुगेपछि मनाङबासीमा खुसी छाएको छ। आगामी नयाँ वर्षदेखि मनाङ सदरमुकामसम्म नियमित रूपमा बस सञ्चालन गर्ने तयारी भएसँगै निजी क्षेत्रको एकल प्रयासमा चामेसम्म बस पुर्‍याइएको बस सञ्चालक सुरेश घिमिरेले बताए। उनका अनुसार अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर उक्त बस यही चैत ७ गते चामे पुगेर हो।

“सुरुमा यात्रु लिएर मनाङ जाने प्रस्ताव आउँदा जाने कि नजाने अन्योल थियो। मनाङमा निर्माणाधीन मनाङ–मर्स्याङ्दी जलविद्युतका सामान लिएर १० चक्के ट्रकसमेत सहज रूपमा पुग्ने गरेका पाएपछि यात्रुसहित बस लैजान सकिन्छ भन्ने लागेर पठाका थियौँ। जाँदाआउँदा कुनै समस्या भएन,” उनले भने।

घिमिरेका अनुसार, चालक विनोद रिमालले सहज रूपमा बसलाई चामेसम्म पुर्‍याएर फर्किनुभएको छ। मनाङको सडक साँघुरो र अधिकांश भाग कच्ची भए पनि अनुभवी चालक भए बस सञ्चालनमा समस्या नहुने भन्दै नयाँ र कम अनुभव भएका चालक उक्त खण्डमा नखटाइने उनले बताए।

सञ्चालक घिमिरेले स्थानीय प्रशासन तथा मनाङबासीको साथ पाए आफूले नियमित रूपमा बेँसीसहर–चामे खण्डमा यात्रुवाहक बस सञ्चालन गर्न सकिने धारणा राखे।

“हामीले सडकको अवस्था हेरेका छौँ। अहिले परीक्षणका क्रममा अनुभव पनि भयो। अब नियमित बस सञ्चालन गर्न समस्या छैन, अनुमति पाए बस सञ्चालन गर्न सकिन्छ,” उनले भने।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा यात्रुवाहक बस सञ्चालनको तयारी थालेको छ। गत फागुन २५ गते जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वयात्मक बैठकले बेँसीसहरबाट चामेसम्म आगामी वैशाख १ गते नयाँ वर्षदेखि सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए।

यसका लागि स्थानीय प्रशासनले डुम्रे–बेँसीसहर–चामे सडक आयोजना र अन्य सरोकार भएका निकायसँग छलफल गरी लाई आवश्यक निर्देशन जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ। डुम्रे–बेँसीसहर–चामे आयोजनाका प्रमुख इञ्जिनियर सतीश सुवेदीले सडकमा ट्राफिक सङ्केत राख्न प्रशासनबाट अनुरोध आएपछि आवश्यक सङ्केत निर्माणका लागि ठेकेदारलाई काममा लगाइएको बताउँदै केही समयमा ती सङ्केत तयार भई सडक छेउमा गाडिने जानकारी दिए।

डेढ दशकअघि मोटर सञ्चालन हुन थालेको मनाङमा हालसम्म बोलेरो, टाटासुमो जस्ता साना सवारीसाधनले मात्र यातायात सेवा दिइरहेका छन्। बेँसीसहरबाट चामेसम्मको करिब ६४ किलोमिटर सडकमा यात्रा गर्न अहिले बोलेरोले प्रतियात्रु रु एक हजार २५० भाडा लिने गर्छन्।

पाँच जना यात्रु अट्ने जिपले १०–१५ जनासम्म यात्रु र मालसामन बोक्दा यात्रा जोखिमपूर्ण बन्ने गरेको स्थानीय बताउँछन्।

बस सञ्चालनमा ल्याउन सकिएमा स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ। साथै महँगो भाडाको मारमा परेका स्थानीय र पर्यटकलाई आर्थिक भार कम हुनेछ। बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र भएको छ। खुदीभन्दा माथि चामेसम्म ठाउँठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ। बाँकी ४७ किलोमिटर कच्ची सडक रहेकामा साँघुरा घुम्तीमा मर्मत गरी बस सञ्चालनको तयारी गरिएको मनाङ प्रशासनले जनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad