ऐतिहासिक भौतिकवादलाई परिभषित गर्दै कार्ल मार्क्सले गतिशीलतालाई विशेष महत्त्व दिएका छन्। परिवर्तन समाजको शाश्वत सत्य हो। चार्ल्स डार्विनको विकासको सिद्धान्तले पनि परिवर्तन, परिमार्जन र समायोजनको महत्त्वलाई दर्शाउँछ। राजनीतिमा त झन् गतिशीलता हुन सकेन भने आन्दोलन, विचार र नेतृत्व अप्रासंगिक हुन जान्छन्। जसरी विभिन्न आन्दोलन र विचारहरू समयसापेक्ष रूपमा परिवर्तन हुँदै गएका छन्, त्यस्तै विद्यार्थी आन्दोलन पनि विश्वव्यापी रूपमा परिवर्तन भइरहेको छ।
विश्वव्यापी रूपमा विद्यार्थी आन्दोलन परम्परागत राजनीतिक संघर्षको बाटोबाट वर्तमानका जटिल मुद्दाहरूमा केन्द्रित हुँदै गइरहेको छ। यो किन पनि हो भने हिजो राजनीतिक अधिकार र लोकतन्त्र प्राप्ति महत्त्वपूर्ण मुद्दा थियो। हालको समयमा लोकतन्त्र अनिवार्य सर्त जस्तै भइसकेको छ। लोकतन्त्र प्राप्तिका बेला नयाँ विचारलाई चाँडै बुझ्ने र अपनाउन सक्ने सम्भावनाका साथै युवा जोस र जाँगर हुने भएकाले उसबेला विद्यार्थी आन्दोलन राजनीतिक संघर्षका लागि बढी चिनिन्थ्यो।
नेपालकै सन्दर्भमा पनि भएकै यही हो। जहानियाँ राणा शासन, निर्दलीय पञ्चायत र निरङ्कुश प्रत्यक्ष राजतन्त्र विरुद्ध लोकतन्त्रका लागि विद्यार्थी आन्दोलन पूर्ण रूपले समर्पित भएकै हो। त्यसैको नतिजा हो आजको लोकतान्त्रिक गणतन्त्र नेपाल। व्यवस्था परिवर्तनसँगै आन्दोलनका स्वरूप परिमार्जन हुनुपर्छ र मुद्दाहरू पनि सोही अनुरूप समायोजन हुँदै जानुपर्छ। विद्यार्थी आन्दोलनले पनि परिवर्तित राजनीतिक व्यवस्थासँगै आन्दोलनका आयाम र मुद्दालाई समयानुकूल बनाउन आवश्यक छ। परिवर्तनको आवश्यकता महसुस हुँदाहुँदै पनि नेपाली विद्यार्थी आन्दोलनले समयसापेक्ष गति लिन अलमल भइरहेको देखिन्छ।
जुन मुद्दाका लागि आन्दोलन गरिएको हो सो मुद्दामा सफलता प्राप्त गरिसकेपछि फेरि त्यही मुद्दाको वकालत गर्ने क्रियाकलाप गर्दै जाने हो भने असान्दर्भिक मात्र होइन अलोकप्रिय पनि हुँदै गइन्छ। नेपाली विद्यार्थी आन्दोलनले पूर्ण लोकतन्त्रको चाहनालाई विभिन्न चरणहरूको संघर्षपश्चात् प्राप्त गरिसकेको छ। लोकतन्त्र प्राप्तिपश्चात् बदलिँदो विश्व परिवेशन र परिवर्तित नेपाली समाजलाई आधार बनाउँदै नेपाली विद्यार्थी आन्दोलनले केही महत्त्वपूर्ण एजेन्डाहरूमा केन्द्रित हुनु जरूरी छ।
शैक्षिक सुधार, रोजगारी र सीप विकास
२०११ देखि २०१३ सम्म चिलीका विद्यार्थीहरूले शिक्षा प्रणालीमा सुधारको माग गर्दै विशाल विरोध प्रदर्शनहरू आयोजना गरे। उनीहरूले नाफामुखी उच्च शिक्षाको अन्त्यको माग गरे। यो आन्दोलनले शैक्षिक समस्यासँगै आर्थिक र सामाजिक असमानताको मुद्दालाई पनि उजागर गर्यो। जर्मन विद्यार्थी आन्दोलनका सन्दर्भमा विद्यार्थीहरूले निःशुल्क उच्च शिक्षाको पक्षमा सफलतापूर्वक वकालत गरे। यसले विद्यार्थी सक्रियताले शैक्षिक नीतिलाई कसरी प्रभाव पार्न सक्छ भन्ने कुरा देखायो।
नेपाली विद्यार्थी आन्दोलनले पनि अब राजनीतिक भन्दा पनि शैक्षिक सुधार, उद्यमशील शिक्षा र सीप विकासमा केन्द्रित हुनु आवश्यक देखिन्छ। आजको विद्यार्थी संगठनहरूले समय सान्दर्भिक पाठ्यक्रम विकासका लागि पहल गर्नुपर्छ। शैक्षिक पर्यटनजस्ता विषयमा अध्ययन र अनुसन्धान गरेर कार्यान्वयनका लागि सरकारलाई दबाब दिनुपर्छ। पाठ्यक्रम कस्तो हुने, अध्ययन अनुसन्धान, राष्ट्रिय अन्तराष्ट्रिय सम्मेलनहरूद्वारा सहकार्य गर्ने, जर्नलहरूमा लेख छाप्ने जस्ता विषय विद्यार्थी आन्दोलनले बोक्न धेरै ढिलो भइसक्यो।
आजका विद्यार्थीको अर्को प्रमुख आवश्यकता भनेको सीप विकास हो। आवश्यक सीपको अभावमा बेरोजगारीको समस्या सिर्जना भइरहेको तथ्यबाट विद्यार्थी आन्दोलन टाढा बस्न मिल्दैन। एउटा मास्टर्स गरेको विद्यार्थीले शुद्ध लेख्न, रिपोर्ट र प्रतिवेदन बनाउन, अनुसन्धान गर्न जान्दैन भने उनीहरूले रोजगारी कसरी प्राप्त गर्न सक्छन्? यस्तो अवस्थाबाट देशले दक्ष जनशक्ति कसरी उत्पादन गर्छ? आजको विश्वव्यापीकरणको युगमा उचित सीप विकासले देशभित्र र बाहिर सुनौलो अवसर सिर्जना गर्न सक्दछ।
वातावरण र जलवायु परिवर्तन
ग्रेटा टुनबर्गको नेतृत्वमा सन् २०१८ मा सुरू भएको भविष्यको लागि शुक्रबार नामक आन्दोलनले विश्वव्यापी रूपमा लाखौँ विद्यार्थीहरूलाई जलवायु परिवर्तनका सन्दर्भमा सरकारहरूलाई संवेदनशील हुन आह्वान गर्नुका साथै बाध्य पार्यो।
जलवायु परिवर्तनको कारक नभएको तर यसका कारण गम्भीर समस्यामा परेका मुलुकहरूमध्ये नेपाल एक हो। आजको नेपाली विद्यार्थी आन्दोलनले जलवायु परिवर्तनजस्ता विषयलाई आफ्नो प्रमुख मुद्दा बनाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सशक्त आवाज उठाउने हो भने विद्यार्थी आन्दोलनले नयाँ फड्को मार्न सक्ने छ। यसका लागि अध्ययन र अनुसन्धानमा आधारित सिर्जनात्मक आन्दोलनको बिउ छर्न आवश्यक छ।
मानसिक स्वास्थ्य
बदलिँदो सामाजिक र पारिवारिक चरित्रले नेपाली समाजलाई पनि प्रभाव पारिरहेको छ। हाल युवा विद्यार्थीहरूले सामना गरिरहेको चुनौतीका कारण मानसिक स्वास्थ्य पनि महत्त्वपूर्ण विषय बन्न पुगेको छ। मानसिक स्वास्थ्य समस्याका कारण विद्यार्थीहरूको पढाइ र सीप विकास दुवैमा समस्या उत्पन्न गरिरहेको छ।
शैक्षिक दबाब, आर्थिक चुनौतीहरू र सामाजिक परिवर्तनहरूले गर्दा विद्यार्थीहरू मानसिक तनाव, चिन्ता र डिप्रेसनको सामना गरिरहेका छन् । यी समस्याहरू बढ्दै जाँदा विद्यार्थी आन्दोलनहरूले मानसिक स्वास्थ्यलाई आफ्नो एजेन्डा बनाउने बेला आइसकेको छ।
विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रत्यक्ष रूपमा उनीहरूको शैक्षिक प्रदर्शन, नेतृत्व क्षमता, सामाजिक संलग्नता र आन्दोलनको स्थायित्वसँग जोडिएको हुन्छ। मानसिक तनाव, चिन्ता वा डिप्रेसनबाट ग्रस्त विद्यार्थीहरूले शैक्षिक अपेक्षा पूरा गर्न मात्र नभई सामाजिक वा राजनीतिक गतिविधिमा पनि सहभागी हुन कठिनाइ महसुस गर्छन्। त्यसैले, मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने आन्दोलन नै दिगो नेतृत्व र सशक्त विद्यार्थी समुदायको आधार बन्न सक्छ।
आर्टिफिसियल इन्टेलिजेन्स र नयाँ प्रविधि
डिजिटल प्रविधि र इन्टरनेट मात्र होइन, हाल आर्टिफिसियल इन्टेलिजेन्सको विकास र प्रयोग बढ्दो मात्रामा छ। नयाँ प्रविधिको प्रयोगले रोजगारीका क्षेत्रमा नयाँ चुनौतीका साथै अवसरहरू पनि सिर्जना गर्दछ। चुनौतीलाई सामना गर्दै अवसरहरूलाई आफ्नो पक्षमा पार्ने एजेन्डाहरू पनि अब विद्यार्थी आन्दोलनले बोक्न पर्ने छ।
विद्यार्थी आन्दोलन र नयाँ प्रविधिलाई एकीकृत गरेर लैजान सक्ने हो भने सैद्धान्तिक ज्ञान र व्यावहारिक प्रयोगबीचको खाडललाई कम गर्न मद्दत पुग्दछ। यसले विद्यार्थीहरूलाई आधुनिक श्रम बजारमा आवश्यक सीपहरू सिक्न र प्रविधिको नैतिक, गोपनीयता र सामाजिक प्रभावका विषयमा आलोचनात्मक छलफल गर्न प्रेरित गर्छ।
विद्यार्थी आन्दोलनले एआई र नयाँ प्रविधि प्रवर्द्धनका लागि निम्न पहलहरू अघि बढाउन सक्छन्।
शैक्षिक कार्यक्रमहरू
आई,मेसिन लर्निङ, रोबोटिक्स र अन्य उदीयमान प्रविधिहरूमा कार्यशाला, ह्याकाथन र सेमिनारहरू आयोजना गर्ने।
सहकार्यमा आधारित परियोजनाहरू
विद्यार्थीहरूलाई विविध विषयहरूलाई एकीकृत गरी वास्तविक समस्या समाधान गर्न एआई र नयाँ प्रविधिहरू प्रयोग गर्ने परियोजनाहरूमा सहभागी गराउने।
नीतिगत वकालत
शैक्षिक पाठ्यक्रमलाई अद्यावधिक गरी एआई र प्रविधिसम्बन्धी कोर्सहरू समावेश गर्ने तथा शैक्षिक संस्थाहरूमा प्रविधि पूर्वाधारमा लगानी गर्ने नीतिका लागि वकालत गर्न विद्यार्थी आन्दोलनहरूले भूमिका खेल्न सक्छन्।
नैतिक छलफल
एआईको नैतिक प्रभाव, डेटा गोपनीयता र प्रविधिको सामाजिक प्रभावका विषयमा छलफल र बहसहरू सञ्चालन गर्न आवश्यक छ। यसले विद्यार्थीहरूलाई जिम्मेवार र सूचित ढंगले प्रविधिको उपयोग गर्न सिकाउँछ।
सामाजिक न्याय
सामाजिक न्याय २१औँ शताब्दीको विद्यार्थी आन्दोलनका लागि प्रभावकारी एजेन्डा बन्न सक्छ। सामाजिक न्यायले समानता, समता, न्याय, र सबैको मानव अधिकारको रक्षालाई सम्बोधन गर्दछ। विद्यार्थी संगठनहरूले जातीय विभेद, लैंगिक असमानता, एलजीबीटीक्यू अधिकार, डिजिटल पहुँचको कमी र आर्थिक असमानताजस्ता विषयहरू उठाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्।
सामाजिक न्यायलाई एजेन्डा बनाएर विद्यार्थी आन्दोलनले समकालीन चुनौतीहरूलाई सम्बोधन गर्न सक्नेछ। यसले आन्दोलनलाई समावेशी समाज निर्माण गर्ने दिशामा केन्द्रित गराउँछ। यसले लोकतन्त्रको सुदृढीकरण र दीर्घकालीन विकासमा विद्यार्थीहरूको सकारात्मक योगदान सुनिश्चित गर्नेछ।
ग्रेटा टुनबर्गले सुरु गरेको ग्लोबल क्लाइमेट स्ट्राइक, पार्कल्यान्ड स्कुल गोलीकाण्डका पीडितहरूको अगुवाइमा अमेरिकामा सुरु भएको मार्च फर आवर लाइभ्स, निश्चित परिवार या पार्टीका सदस्यहरूलाई मात्र आरक्षण प्रदान गर्ने उद्देश्यका साथ ल्याइएको विधेयक विरुद्ध बंगलादेशमा सुरु भएको विद्यार्थी आन्दोलन सबैले विद्यार्थी आन्दोलनहरू परम्परागत राजनीतिक आन्दोलनभन्दा पनि विषय-आधारित वकालततर्फ सरेका छन्। भारतको जवाहरलाल नेहरू विश्वविद्यालय लामो समयदेखि विद्यार्थी आन्दोलनको केन्द्रविन्दु रहँदै आएको छ। तर पछिल्लो समय, भारतीय विद्यार्थी आन्दोलनहरू जातीय विभेद, शैक्षिक स्वतन्त्रता र बेरोजगारी जस्ता विषयमा केन्द्रित हुन थालेका छन्।
हाल नेपालको विद्यार्थी आन्दोलनको पहिचान राजनीतिक दलहरूसँगको निकटतामा आधारित छ। वैचारिक रूपमा कुनै दलसँग निकट हुनु सामान्य विषय हो। नीतिगत र सैद्धान्तिक रूपमा कुनै विचार र दलसँग नजिक भएर सोही आधारमा एजेन्डा र कार्यक्रमहरू तय हुन सक्छ तर पूरा आन्दोलन नै दलका एजेन्डालाई मात्र वकालत गर्नमा सीमित रह्यो भने आन्दोलनको सान्दर्भिकता पुष्टि गर्न सकिँदैन । विद्यार्थीहरूले नीतिगत विषयमा राजनीतिक दलहरूसँग संवाद गर्नुपर्छ तर आफ्नो स्वतन्त्रता जोगाएर विद्यार्थी-केन्द्रित सुधारहरूका लागि अभियान सञ्चालन गर्नुपर्छ।
विश्वव्यापी र क्षेत्रीय अनुभवहरूबाट सिक्दै, नेपाली विद्यार्थी संगठनहरूले विषय-आधारित वकालत गर्नुपर्छ र डिजिटल उपकरणहरूको व्यापक प्रयोग गर्नुपर्छ। यसरी विद्यार्थी आन्दोलनले युवाहरूको वास्तविक चासोलाई सम्बोधन गर्दै नेपालको लोकतान्त्रिक र विकास यात्रामा अर्थपूर्ण योगदान दिन सक्छ।
Shares

प्रतिक्रिया