दुई पल्टको च्याम्पियन थ्रीस्टार क्लबले ९ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
विराटनगरको सहिद रङ्गशालामा बुधवार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ०–२ गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो।
थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दीपेश घलेले समान १–१ गोल गरे। थ्रीस्टारले खेल सुरु भएको पाँचौँ मिनेटमा अग्रता लियो। नवीन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढङ्गले पोस्टको दिशा दिएका थिए।
थ्रीस्टारले दोस्रो गोल ६३ औ मिनेटमा गर्यो। दीपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो। फर्किएको बललाई पुनः दीपेशले प्रहार गर्दै जाली चुमाए।
उनले गरेको गोल नै टिमलाई उपाधि दिलाउन सफल भयो। उपाधिसँगै थ्रीस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझायो।
थ्रीस्टारले पाँचौँ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो। त्यस बेला आर्मीलाई ३–० गोलले फाइनलमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो।
चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्य राखेर मैदान प्रवेश गरेको थियो। तर, उपाधिको निर्णायक भिडन्तमा चर्च ब्वाइज कमजोर देखियो।
प्रतियोगिताको म्यान अफ द म्याच थ्रीस्टारका कप्तान एकराज बुढाथोकी घोषित भए। उनले नगद ११ हजार प्राप्त गरे। विधागत पुरस्कारमा पनि थ्रीस्टारको वर्चस्व कायम भयो।
उत्कृष्ट प्रशिक्षकमा थ्रीस्टारका गणेश खड्का घोषित भए। त्यसै गरी वेस्ट गोलकिपर थ्रीस्टारकै विवेक मगर, हाई स्कोर थ्रीस्टारका दीपेश घले घोषित भए।
प्रतियोगिता भरीमा उनले दुई गोल गरेका थिए। उनीहरूले जनही नगद १५ हजार पाएका छन्। वेस्ट प्लेयर अफ टुर्नामेन्ट थ्रीस्टारका खेम राज श्रेष्ठ घोषित भए। उनले नगद ५१ हजार प्राप्त गरे।
थ्रीस्टारले मच्छिन्द्र र त्रिभुवन आर्मीलाई निराश बनाउँदै विराट गोल्डकपको उपाधि नजिक पुगेको थियो। थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनलमा पुगेको हो।
यस्तै विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो।
चर्च ब्वाईजले क्वाटर फाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो।
फागुन १९ गतेबाट सुरु भएको गोल्ड कपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको थियो। विजेता हुने टिमलाई कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला,विराट गोल्डकपको संयोजक नवीन रिजाल लगायतले पुरस्कार वितरण गरेका थिए।
Shares

प्रतिक्रिया