विचार


कूटनीतिमा कच्चा जेलेन्स्कीले गरेको महाभूल

चालबाजीको ठाउँमा स्टन्टबाजी गर्दा भएन सौदा
कूटनीतिमा कच्चा जेलेन्स्कीले गरेको महाभूल

अहमद सराई
फागुन १८, २०८१ आइतबार २१:८,

जतिबेला युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की ओभल अफिसमा डोनाल्ड ट्रम्पसँग भिडिरहेका थिए, त्यतिबेला युक्रेनकी राजदूतले हातले मुख छोपिन्। यो निन्दाजनक प्रतिक्रिया थियो। एउटा अत्यन्त महत्त्वपूर्ण कूटनीतिक क्षण रणनीतिक विपत्तिमा बदलिएको सारा संसारले प्रत्यक्ष हेर्‍यो।

जेलेन्स्की ठूलो आशा बोकेर वासिङ्टन आएका थिए। उनको उदेश्य थियो– अमेरिकासँग ऐतिहासिक खनिज सम्झौता गर्नु। यो सम्झौता युक्रेनको अर्थतन्त्र र जारी युद्धलाई टिकाउन महत्त्वपूर्ण थियो। तर, सम्झौताको सट्टा उनी अपमानित भएर फर्किए। तल्लो तहको कर्मचारीले उनलाई ह्वाइट हाउसबाट निकाले।

सम्झौता र दिवाभोज दुवै रद्द
यहाँसम्म कि, वासिङ्टनमा युक्रेनका सबैभन्दा मुखर सहयोगीमध्ये एक सिनेटर लिन्ड्सी ग्राहमले समेत जेलेन्स्कीलाई या त राजीनामा दिन या बदलिन सुझाव दिए।

जेलेन्स्की एउटा बैठकमा मात्र असफल भएका होइनन्। उनी यस्ता नेता ठहरिए, जसले आफ्नो वरिपरिको वातावरण बुझेनन्, आफ्नो समकक्षीलाई चिनेनन् र ठूलो भूराजनीतिक महत्त्वको क्षणलाई सम्हाल्न सकेनन्।

युक्रेन अस्तित्वको लडाइँ लडिरहेको छ। युद्धले दसौँ हजारको ज्यान लिएको छ, अर्थतन्त्र डामाडोल बनेको छ र रुस रोकिने कुनै संकेत देखिँदैन। युक्रेनको सैन्य सफलता पश्चिमको सहायतामा निर्भर छ, खासगरी अमेरिकाको सहयोगमा। किनकि रुसको आक्रमणको प्रतिकार गर्न सक्ने एक मात्र शक्ति अमेरिका नै हो।

तैपनि व्यावहारिक रूपले कुराकानी गर्नुको साटो जेलेन्स्कीले टकरावको बाटो रोजे। उनले यति ठूलो दाउ भएको कूटनीतिक वार्तालाई नाजुक चालबाजीको सट्टा स्टन्टबाजी ठाने। उनको हिसाब त्यहीँनेर बिग्रियो।

उनी सुरक्षा ग्यारेन्टीका लागि वासिङ्टन आएका थिए। तर, बल देखाउनका लागि ओभल अफिस गलत ठाउँ थियो भने ट्रम्प गलत व्यक्ति। 

भावनात्मक अपिल या नैतिक तर्कले ट्रम्प गलेनन्। उनी प्रभाव, वफादारी र लेनदेनको राजनीतिलाई महत्त्व दिन्छन्। कूटनीतिको इतिहास पढेको भए जेलेन्स्कीलाई थाहा हुने थियो, हरेक चिजमा सौदा गर्न सकिन्छ। तर, सौदा गर्न पनि ढंग हुनुपर्छ।

यसको सट्टा जेलेन्स्की पहिले नै कमजोर भएर कोठामा छिरे। चुनावी प्रचारका क्रममा कमला ह्यारिसको कार्यक्रममा सम्बोधन गर्नु, तीव्र प्रतिस्पर्धा हुने राज्यहरूमा गएर ह्यारिसको पक्षमा फोटो खिचाउनु र २०२० को चुनावअघि ट्रम्पले बाइडेनका विषयमा सूचना माग्दा नदिनुजस्ता उनका गतिविधिले उनीहरूबीचको सद्भावना समाप्त पारिसकेको थियो। 

त्यसमाथि उनले बिनाकारण लापरवाहीपूर्वक प्रत्यक्ष टेलिभिजनमा उपराष्ट्रपति जेडी भान्सलाई चुनौती दिए। जसले तनाव चर्कायो र उनको असफलता सुनिश्चित गर्‍यो।

युक्रेन युद्ध वा रुससँगको सौदामा युरोपले अमेरिकाको ठाउँ लिन सक्छ भन्ने जेलेन्स्कीलाई लाग्छ भने उनले इतिहास बुझेका छैनन्।

कुनै समय प्रभावशाली रहेका युरोपेली मुलुकहरू अहिले आफ्नै विगतको छायाजस्ता मात्र हुन्। तिनको अर्थतन्त्र अमेरिकाको ५० मध्ये कुनै एक राज्यको अर्थतन्त्रजस्तो छ। तिनको सैन्य शक्ति इलिनोइको नेसनल गार्डजत्रै छ। र, तिनको भूराजनीतिक प्रभाव अस्ताएको पनि धेरै भइसक्यो।

ट्रम्पले थाहा पाएको कुरा
विगतका अमेरिकी राष्ट्रपतिहरूले युरोप स्वायत्त छ भन्ने कथालाई चुपचाप सुनिदिएका थिए। तर, ट्रम्प चुप बस्न मानेनन्। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले ट्रम्पसँगको आफ्नो तालमेलमा भरोसा गर्दै वासिङ्टनको भ्रमण गरे र ट्रम्पको दृष्टिकोण फेर्ने कोसिस गरे।

तर, ट्रम्प प्रभावित भएनन्। उनले युरोपको कमजोरी मात्र देखे। केही सातापछि उनले युरोपेली सामानमा नयाँ चरणको भन्सार महसुल लगाए।

बेलायती प्रधानमन्त्रीको हाल पनि यही भयो।

ट्रम्प सत्तामा फर्किनेमा सुरुमा सन्देह व्यक्त गरेका प्रधानमन्त्री किअर स्टार्मर सम्बन्ध सुधार्न राजा चार्ल्सको व्यक्तिगत निमन्त्रणा बोकेर हतारहतार ह्वाइट हाउसतर्फ दौडिए। बेलायत अमेरिकामा निर्भर रहेको कुरा ट्रम्पले उनलाई सम्झाइरहन जरुरी थिएन। त्यसैले स्टार्मर टोपी हातमा बोकेर सम्बन्ध पुनर्स्थापित गर्न आइपुगे।

युरोपले मन नभए पनि ट्रम्पको विदेशनीति अनुकूल प्रतिक्रिया जनाएको छ। केही नेताहरूले सन्देह व्यक्त गरे पनि हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बानजस्ता नेताले वासिङ्टनको पूर्ण समर्थन गरेका छन्।

यथार्थ के हो भने युरोप साह्रै कमजोर र सुरक्षाका लागि अमेरिकामा निर्भर छ। युक्रेन युद्धले यो कुरा स्पष्ट पारिसकेको छ। युरोपेली मुलुकहरूले किभलाई ठूलो सैन्य र वित्तीय सहयोग प्रदान गरेका छन्। तर, अमेरिकाको समर्थनबिना यो युद्ध धेरै पहिले युक्रेनले हारिसक्थ्यो। अब युक्रेनलाई समर्थन जुटाउनु मात्र युरोपेली नेताहरूको चुनौती रहेन। त्यस्तो समर्थन पनि उनीहरूले ट्रम्पलाई क्रुद्ध नतुल्याइ जुटाउनुपर्ने हुन्छ।

यो यथार्थलाई थुप्रै युरोपेली सरकारहरूले बुझेका छन्। उनीहरूले आफू वासिङ्टनको कृपापात्र रहिरहने सुनिश्चित गर्न आवश्यक कदम पनि चालेका छन्। खासगरी अमेरिकी सैन्य उपकरण किनेर र नेटोप्रतिको प्रतिबद्धता मजबुत गरेर। रुसको खतराबाट सबैभन्दा प्रभावित देशहरू पोल्यान्ड र बाल्टिक राज्यहरूले अमेरिकासँग बलियो सम्बन्धलाई प्राथमिकता दिएका छन्। किनकि उनीहरूलाई थाहा छ, तिनको सुरक्षा अमेरिकामा निर्भर छ।

तर, जेलेन्स्कीले यी सबै पाठ बेवास्ता गरेको देखिन्छ। ओभल अफिसमा जेलेन्स्कीले एउटा बैठक मात्र बिगारेका होइनन्, उनी अन्तर्राष्ट्रिय राजनीतिको नयाँ यथार्थलाई बुझ्न पनि असफल भए।

रुससँगको युद्ध मै हुँ भनेर फूर्ति देखाउने मञ्च होइन। यो त त्यस्तो क्रूर स्पर्धा हो, जहाँ अस्तित्व रणनीतिमा निर्भर हुन्छ, नकि नौटंकीमा।

संसार बदलिइसक्यो र शक्ति सन्तुलन पनि बदलिइसकेको छ। यदि युक्रेनलाई टिक्नु छ भने त्यो देशका नेताले खेलको नियम सिक्नै पर्छ।

(नेसनल इन्ट्रेस्टबाट। अहमद सराई एट्लान्टिक काउन्सिल, दि इन्टरनेसनल क्राइसिस ग्रुपसहित कयौँ संस्थाहरूको निर्देशक मण्डलमा काम गर्छन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad