विचार


अमेरिकीहरूले जानीजानी ट्रम्पलाई रोजे, कुनै बहाना नगरे हुन्छ

किन हारिन् कमला ह्यारिस?
अमेरिकीहरूले जानीजानी ट्रम्पलाई रोजे, कुनै बहाना नगरे हुन्छ

एडवार्ड लुस
कात्तिक २१, २०८१ बुधबार १७:१४,

कमला ह्यारिसको आभा, उल्लास, आशा र हलिउडिया मुस्कानको चहलपहल यहीँसम्म मात्र थियो। अमेरिकाले तिनलाई अस्वीकार गरिदिएको छ।

चार वर्षअघि चुनाव जितेपछि जो बाइडेनले डोनाल्ड ट्रम्पको कार्यकाललाई ‘असामान्य क्षण’ मात्र घोषणा गर्दै खारेज गरिदिएका थिए। तर, यसपटक इलेक्टोरल कलेज र लोकप्रिय मत दुवै ट्रम्पले जित्दा इतिहासले बाइडेनको कार्यकाललाई चााहिँ असाधारण क्षण साबित गर्ने देखिएको छ। 

अखिरमा ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा चर्चित र अनुसन्धानमा परेका उम्मेदवारमध्ये एक हुन्। एकपटकका लागि उनलाई चुन्नु दुर्घटना हुनसक्छ। दोस्रोपटक सबैले जानेरै उनलाई मत दिएका हुन्। ट्रम्प वैधानिक रूपमै अबको अमेरिकी राष्ट्रपति हुन्।

किन त? यो सवाल महत्त्वपूर्ण छ।

मुख्य कारण के हो भने ट्रम्पले जे बेचिरहेका छन्, पर्याप्त संख्यामा अमेरिकी त्यही किन्न खोजिरहेका छन्। अवैध आप्रवासीहरूको सामूहिक निकाला, विश्वव्यापीकरणको अन्त्य र पहिचानप्रति उदार सम्भ्रान्तहरूको दृष्टिकोण, जसलाई जागरुकता (वोकनेस) भन्ने गरिन्छ, प्रति माझी औँला। 

यी सबै कुराको भार मतदातामा ट्रम्पको चरित्रप्रति रहेको सन्देहभन्दा अत्यधिक थियो। अमेरिकाले दोषी ठहर भएका अपराधीलाई चुन्ने निश्चित देखिएको छ, जसलाई अघिल्लोपालि चुनावी नतिजा उल्ट्याउने कोसिस गरेको आरोप समेत लागेको थियो। उनी तानाशाहहरूको खुला प्रशंसक पनि हुन्। 

उनको निर्वाचनलाई दुई तरिकाले अर्थ्याउन सकिन्छ। या त ट्रम्पले पैदा गर्ने खतरालाई मतदाताहरू गम्भीरतापूर्वक लिँदैनन्। या उनीहरूलाई अब के हुन्छ भन्ने प्रष्ट थाहा छ, तैपनि यसलाई सामान्य मान्छन्।

जे भए पनि ट्रम्पले पुनः चुनाव जित्नु डेमोक्र्याटहरूका लागि अस्तित्वमाथिकै संकट हो। त्यस्तै, अमेरिकाका सहयोगी मुलुकका लागि पनि यो एकदमै ठूलो परिवर्तनकारी घटना हो। अब छिटै नै डेमोक्र्याटिक पार्टीभित्र आरोप–प्रत्यारोप चल्नेछ। जसका क्रममा बिरामी बाइडेनले मनोनयन त्याग्न निकै ढिलाइ गरेको तथ्य पनि उठाइने छ। यदि बाइडेन ६ महिनाअघि नै पछि हटेका भए डेमोक्र्याटिक पार्टीसँग ह्यारिसभन्दा गतिलो उम्मेदवार खोज्ने समय हुने थियो। 

सायद असली प्राइमरी चुनाव भएको भए पनि फरक पर्ने थियो। ह्यारिसका प्रति निष्पक्ष हुने हाृ भने भन्नै पर्छ, उनले निकै राम्ररी चुनावी अभियान सञ्चालन गरिन्। एक मात्र बहसमा ट्रम्पलाई हराइन् र सबै डेमोक्र्याटलाई आफ्नो पछाडि एकताबद्ध बनाइन्। 

तर, जब कुरा अर्थतन्त्रको आयो, तब उनी बढीमा औसत मात्र साबित भइन्। यो विषयलाई उनले सकेसम्म छल्ने कोसिस गरिरहिन्। अमेरिकाको जुनसुकै चुनावमा आकर्षक आर्थिक मार्गचित्र नहुनु ठूलो कमजोरी हो। प्रतिस्पर्धात्मक प्राइमरी भएको भए त्यहाँ यो कमजोरी पत्ता लाग्ने थियो।

तर, बाइडेनको हातबाट सजिलै उम्मेदवारको ताज पहिरिन पाएकाले ह्यारिससँग आफ्नो कमजोरी सुधार्ने पर्याप्त मौका थिएन। अथवा सुधार गर्नुपर्ने कारण पनि उनले देखिनन्। तैपनि उनले १९९२ मा बिल क्लिन्टनले जसरी आफू कट्टर नभएको साबित गर्ने मौका पाउने थिइन्। 

ह्यारिसले १६ हप्ताको संक्षिप्त चुनावी अभियानका क्रममा ज्यादा प्रगतिशील मुद्दाहरूबाट आफूलाई टाढै राखिन्। तर, विगतमा आफूले समर्थन गरेको खुला सीमा र प्रहरीको बजेट कटौतीजस्ता मुद्दाहरूलाई दृढतापूर्वक अस्वीकार गरिनन्।

२०२० को जितको अनर्थ निकालेको दोष बाइडनलाई पनि दिन सकिन्छ। उनले अमेरिकी लोकतन्त्रप्रति मतदाताको चिन्ताका कारण होइन, ट्रम्पले कोरोना महामारी सम्हाल्न नसक्नुको परिणामस्वरूप चुनाव जितेका थिए। बाइडेनले महामारी अन्त्य गर्ने र अमेरिकी राजनीतिलाई सामान्य अवस्थामा फर्काउने वाचा गरेर जितेका थिए। 

तथापि, आफ्नो मनोनयनदेखि शपथको बीचमा कहीँ न कहीँ बाइडेनले व्यापक परिवर्तनको लाइसेन्स पाएको ठान्न थाले। उनले ल्याएको १.९ ट्रिलियन डलरको आर्थिक प्रोत्साहनले मुद्रास्फिति झनै बढायो। 

निश्चित रूपमा ट्रम्पले अमेरिकाको संवैधानिक व्यवस्थामाथि गम्भीर खतरा पैदा गरेका थिए। जसलाई उनी निरन्तरता दिँदैछन्। तथापि, बाइडेनले त्यस्ता महान्यायाधिवक्ता चुने, जसले ट्रम्पलाई जिम्मेवार ठहर्‍याउन कुनै हतार गरेनन्। इतिहासकारहरू यस विषयमा अलमलिने छन्।

२०१६ मा हिलारी क्लिन्टनको हारमा जस्तै ह्यारिसको पराजयमा पनि धेरै पक्षको हात छ। तर, यसपटक विदेशी मुलुकलाई दोष लगाउन निकै कठिन हुने छ। निस्सन्देहः रुसका भ्लादिमिर पुटिनले ट्रम्पको जितमा ठूलो फाइदा देख्ने छन्। खासगरी युक्रेनको मामिलामा। तथापि, ट्रम्पलाई ह्वाइट हाउसमा पुर्‍याएको अमेरिकीहरूले नै हो। 

जे भए पनि, डेमोक्र्याटहरूबीचको आरोपप्रत्यारोप गौण विषय हो। मुख्य कुरा त अब के हुन्छ भन्ने हो। ट्रम्पले बदला लिने कसम खाएका छन्। 

राष्ट्रपति, सिनेट र प्रतिनिधि सभा, तीनवटै रिपब्लिनकले जित्न सम्भव छ। रिपब्लिकनहरूले क्यापिटल हिलमा पूर्ण रूपमा कब्जा जमाए भने ट्रम्पको कार्यकारी अधिकारीमा कुनै अंकुश बाँकी रहने छैन। सर्वोच्च अदालतले त ट्रम्पलाई जुलाईमै उन्मुक्ति दिएर न्यायिक ‘ब्ल्यांक चेक’ नै हस्तान्तरण गरिसकेको छ। 

अमेरिकाले निर्णायक मोड लिएको छ। आफ्ना शत्रुहरूविरुद्ध बदला लिने ट्रम्पको वाचालाई अन्याथा सोच्नु मूर्खता हुनेछ। त्यस्तै, मुलुकको जनमत आधाआधा विभाजित हुँदा उनले विवश महसुस गर्नेछन् भन्ने सोच्नु पनि उत्तिकै भ्रान्तिपूर्ण हुनेछ। अकल्पनीय रूपमा विध्वंसकारी तरिकाले अमेरिकालाई बदल्ने जनादेश ट्रम्पसँग छ। २०२४ को निर्वाचनको भयंकर नतिजाबाट पछि हट्ने कुनै बाटो छैन। 

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad