विचार


‘प्रधानमन्त्री देखिँदा सुरो, यथार्थमा विचरो’

‘प्रधानमन्त्री देखिँदा सुरो, यथार्थमा विचरो’

गगन थापा
फागुन १३, २०७६ मंगलबार ९:४२,

सञ्चारमन्त्री गोकुल बाँस्कोटा र विजय मिश्रबीचको लेनदेनको वार्तालाप हामीले फागुन ९ गते बिहान सुन्यौँ। यो वार्तालाप प्रधानमन्त्रीले केही महिना अगाडि नै सुन्नु भएको थियो भन्ने अनुमान होइन दावीहरु सञ्चारमाध्यममा छापिएका छन् बजिरहेका छन्। यसको बारेमा संसदमा आएर उभिएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रा प्रश्नको उत्तर दिने हिम्मत प्रधानमन्त्रीसँग छ कि छैन?

प्रधानमन्त्रीसँग हिम्मत छ कि छैन मलाई थाहा छैन। तर, संसदसँग यो हिम्मत हुनै पर्छ। ध्यानाकर्षण गाराउने मात्र मात्रै होइन, संसदले यो सामथ्र्य राख्नैपर्छ। प्रधानमन्त्री डाँडाकाँडा डुलेर र तालतलैया हेरेर बस्ने होइन। सदनमा आउनुपर्छ। यहाँ उभिनुपर्छ। हाम्रो प्रश्नको सामना गर्नुपर्छ। हामी यहाँ बसेर उहाँलाई हामी निम्छर होइन, सही प्रश्नहरु सोध्ने छौँ।

म सभामुख महोदयलाई प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न आग्रह गर्दछु। प्रधानमन्त्रीले के भन्नुहुन्छ मलाइ थाहा छैन। तर, उहाँका आसेपासेहरुले केही दिनदेखि एउटै कुरा भनिराख्नुभएको छ– प्रधानमन्त्रीलाई थाहा थिएन। प्रधानमन्त्रीको चुलो चलाउने प्रधानमन्त्रीको तुलोमा राख्दैगर्दा कसैले नभ्याउने, अनि प्रधानमन्त्रीको भनाइका आधारमा काभ्रेले आजसम्म जन्माएको सार्वाधिक प्रतिभाशाली प्रधानमनत्रीको प्रवक्ताले गरेका यी कुराहरु उहाँलाई थाहा थिएन भनेर हामीले पत्याइदिनै पर्ने?

हामीले पत्याउने नै हो भने हाम्रो उहाँलाई प्रश्न रहन्छ यो सबै कुरा तपाईलाई थाहा छैन भने प्रधानमन्त्रीजी तपाईलाई के थाहा छ? प्रधानमन्त्रीजी तपाईलाई थाहा छ नागरिकहरु के भन्दै छन्? यो सेक्युरिटी प्रेसको ठेक्कामात्रै होइन स्याटलाइटको ठेक्का, फोजी विस्तारको ठेक्का, अप्टिकल फाइबरको बिस्तारको ठेक्का, मोवाइल, डिभाइस, म्यानेजमेन्टको, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्न, स्वास्थ्य संस्था, वडा, इकाइमा फ्रि इन्टरनेट पुर्‍याउने यी सबै ठेक्काका बारेमा प्रधानमन्त्रीलाई सबै कुरा थाहा थियो। परिस्थिति नियन्त्रणबाहिर गएपछि अहिले गोकुल बाँस्कोटालाई बलिको बोका बनाइको छ भनेर नागरिकहरु भन्दैछन्, तपाईंलाई थाहा छ?

प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ भनेर पटक पटक दोहोर्‍याउनु भएको छ। तर, नागरिकहरु तपाईंलाई प्रश्न गर्दैछन्–बालुवाटारमा ऐना छ कि छैन भनेर। प्रधानमन्त्रीजी तपाईलाई थाहा छ? तपाईकै पार्टीका कार्यकर्ताहरु ठूलो स्वरले बोल्न सक्दैनन्। तर, यही संसदको लबीमा भेट्दै गर्दा कहीलेकाँही हामीलाई झिनो स्वरमा कानेखुसी गरेर भन्छन्– हाम्रा प्रधानमन्त्री पहिले पहिले माक्र्र्सवादीजस्तो देखिनुहुन्थ्यो, बीचमा समाजवादीजस्तो देखिन थाल्नुभयो, आजभोलि जताबाट हेरे पनि यतीवादीजस्तो मात्रै देखिनुहुन्छ। प्रधानमन्त्री जी तपाईलाई थाहा छ?–एमसीसीको प्रकरणका सन्दर्भमा तपाईंका पार्टीभित्रका खाँटी राष्ट्रवादीहरुले तपाईलाई जसरी तह लगाइदिएका छन् अनि दुई दिन अगाडिमात्रै (अहिले जति जालझेल गरेर होइन होइन भने पनि) तपाईंको पार्टीको बैठकमा एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरालाई लिएर संविधान संशोधन गर्ने प्रस्ताव तयार गर्ने कार्यदल बनाउने भन्ने कुरामा तपार्इं जसरी कमजोर भन्ने कुरामा यो देखेपछि तपाईलाई बाहिर के भन्दैछन थाहा छ– देखिँदाखेरी सुरो यथार्थमा विचरो।

प्रधानमन्त्रीको जन्मदिनका बारेमा म चर्चा गर्न चाहन्नँ, त्यो वैयक्तिक कुरा हो। मेरो पनि तपाईंलाई शुभकामना छ। तर, नागरिकहरु के भन्दैछन भन्ने थाहा छ?– सम्माननीय प्रधानमन्त्रीको राजसी ठाँटका साथ मनाइँएको जन्मोत्सवले हामीलाई ६०-६१ सालको पूर्वराजा जानेन्द्रको न्यास्रो मेटाइदिएको छ। पूर्वराजा यसैगरी हिँडिबक्सनथ्यो। आफैँ अभिनन्दन गर्न लगाइबक्सन्थ्यो। विद्याथीहरुलाई बोलाइबक्सन्थ्यो। सबैले जय–जयकार गर्थे। अनि आफ्नो छेउको भारदारलाई सोधिबक्सन्थ्यो–एक–दुई जना मानिसहरु यताउता विरोध गरिरहेका छन् नि? अनि भारदारले भन्थे– माहाराज, सब ठीक छ। ती एक दुई जना मानिसहरुमात्र माहारजको विरोध गरिरहेका छन्। जन्मोत्सव मनाउँदै गर्दा प्रधानमन्त्रीको वरिपरि जेजस्तो भिड देखियो, तछाडमछाड देखियो त्यसले पूर्वराजा ज्ञानेन्द्रका भारदारको न्यास्रो पनि हामीलाई भेटाइदिएका छन्।

प्रधानमन्त्रीलाई के थाहा छे, के थाहा छैन मलाई थाहा छैन। मलाई थाहा पाउनु पनि छैन। तर, मलाई यति कुरा मात्रै थाहा छ– तपार्इंले यी सबै कुरा थाहा पाउनु भएको छ र थाहा नपाएको जस्तो गर्नुभएको छ भने यो पाप हो। तपाईंले केही पनि थाहा पाउनु भएको छैन भने त्यो अक्षमता हो। संख्या तपाईसँग होला, तर यी दुवै अवस्थामा शासन गर्न वैधानिक योग्यता क्षमता तपाईंले गुमाइसक्नु भएको छ। त्यसकारण नेकपाको स्वास्थ्यका लागि र सिंगो देश नेपालको स्वास्थ्यका लागि तपाईं स्वास्थ्यलाभ गर्न गइदिनुहोस्।

(प्रतिनिधिसभाको बैठकमा सांसद थापाद्वारा व्यक्त विचारको सम्पादित अंश)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad