समाज


सेनालाई काठमाडाैं महानगरकाे १ करोड ५० लाख

सेनालाई काठमाडाैं महानगरकाे १ करोड ५० लाख

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ९:४२,

काठमाडौं महानगरपालिकाले महानगरबासीको हेमोडायलासिस सुविधाका लागि नेपाली सेनासँग सहकार्य गरेको छ। छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा छुट्टै युनिट खडा गरेर स्थानीयलाई उक्त सुविधा दिन महानगरले डेढ करोड रकम सेनालाई दिएको हो।

नेपाली सेनासँग हेमोडायलासिसको सहकार्यको लागि वीरेन्द्र अस्पतालमा छुट्टै युनिट खोलिने र त्यसका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्न उक्त रकम दिइएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। उक्त युनिटमा १२ वटा बेड हुनेछन्। सेनाले हेमोडायलासिसका लागि मेसिन तथा जनशक्ति तयार गर्न उक्त रकम प्रयोग गर्ने उनको भनाइ छ।

महानगरबासीलाई सरकारले दिएको न्यूनतम शुल्कमा उक्त सुविधा उपलब्ध गराउन महानगरले सेनासँग ३ करोड दिने सम्झौता गरेको थियो। सोहीअनुसार आधा रकम हस्तान्तरण गरिएको हो। मेयर विद्यासुन्दर शाक्यले ५० प्रतिशत रकमबराबरको चेक सेनालाई हस्तान्तरण गरेका हुन्।

उक्त युनिटमा मिर्गौलामा समस्या आएर जाने जो कोहीले हेमोडायलासिस गर्न पाउने डंगोलले बताए।

‘तर त्यहाँ फर्दर (अन्य) उपचारचाहिँ हुँदैन’, उनले नेपालखबरसँग भने, ‘यसबाट महानगरबासी लाभान्वित हुनेछन्।’

कसरी लिने यो सुविधा?
यो सुविधा लिने व्यक्तिले सर्वप्रथम महानगरको सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ। त्यसपछि वडाले स्वास्थ्य विभागमा पठाउने र अनिमात्र महानगरले अस्पताललाई सिफारिस गर्ने डंगोलले जानकारी दिए।

डंगोलका अनुसार अहिले चार जनालाई सिफारिस गरेर हेमोडायलासिस भइसकेको छ। हालसम्म युनिटमा २७ पटक यस्तो सेवा उपलब्ध भएको उनको भनाइ छ।

सेनाकै ठाउँमा प्रयोग गर्दा लागत पनि कम हुने भएकाले वीरेन्द्र अस्पतालसँग सहकार्य गरेको डंगोलले बताए। उनले भने, ‘कम रकममा क्वालिटीको काम हुन्छ, त्यही भएर सेनासँग हातेमालो गरेका हौँ।’

हाल अस्पतालमा सेनाको अवकाश प्राप्त र जागिरवालाले छुट्टै युनिटबाट सुविधा लिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad