ad ad

विचार


हर्क साम्पाङ र हाम्रा उखान

हर्क साम्पाङ र हाम्रा उखान

हर्क साम्पाङ (हर्कराज राई)


रूपबहादुर विश्वकर्मा
पुस ५, २०७९ मंगलबार ७:१२, काठमाडौँ

फेसबुक स्टाटस लेख्ने क्रममा चमार जातिको अपमान हुने उखान प्रयोग गरेका धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङ (हर्कराज राई) चौतर्फी दबाबका कारण अन्ततः दलित समुदायसँग माफी माग्न बाध्य भएका छन्। आइतबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘...मेरो फेसबुक पेजमा मैले पोस्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दु:ख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दु:खी बनाएको रहेछ। त्यसका लागि क्षमाप्रार्थी छु।’

विज्ञप्तिमा ‘सधैँ समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति, विसंगति, बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनका विरुद्ध लामो समय अभियान चलाएको मेरो इतिहास रहेको सबैमा जानकारी गराउँदछु’ लेखेर उनले आफूलाई दलित समुदायप्रति सकारात्मक देखाउने प्रयास त गरेका छन् तर, यसअघि उनले गरेको विष वमनले उनी दलित समुदाय र दलित आन्दोलनप्रति कति नकारात्मक छन् भन्ने कुरा प्रस्ट पारिसकेको छ। जसलाई सञ्चारमाध्यमबाट सार्वजनिक गर्नु आवश्यक छ।

स्टाटस लेखेको ६ दिनपछि (पुस ३ गते) गल्ती स्वीकार गरेका साम्पाङ माफी माग्ने तहसम्म सजिलै आइपुगेका होइनन्। 

गत मंसिर २७ गते एउटा स्टाटस लेख्ने क्रममा उनले ‘बल होइन, बुद्धि लगा चमारे बुद्धि’ उखान प्रयोग गरे। त्यसले चमार जातिलाई होच्याउने काम गरेको भन्दै तत्काल सामाजिक सञ्जालमा विरोध सुरु भयो। तर उनी आफ्नो अभिव्यक्तिमा अडिग रहे। बरु त्यो उखानले कुनै जातिको अपमान नगर्ने जिकिर गर्दै प्रतिरक्षामा अर्काे स्टाटस लेखे, ‘गुइँठे, काइँला, जन्तरेउ आदि भनेजस्तै हो चमारे भन्ने शब्द। त्यसमा आपत्ति मान्नुपर्ने केही छैन। आखिर चमारे भन्ने शब्दले कुनै जात समुदायलाई इंगित गरेको होइन। फूल बनेर हेरौँ, काँडा बनेर होइन।’

भोलिपल्ट मंसिर २८ गते राष्ट्रिय दलित आयोगले समेत विज्ञप्ति जारी गर्दै भन्यो, ‘जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो गरिमामय पदमा आसीन व्यक्तिले संविधान, प्रचलित मूल्यरमान्यता र अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्मविपरीत चमार समुदायप्रति अपमान गर्नुले समाजमा नकारात्मक असर पर्ने भएकाले आत्मालोचना गर्न अनुरोध गर्छाैं।’ 

तर उनी आत्मालोचित होइन, दलितप्रति अझ आक्रामक बन्दै गए। र, कटाक्ष गर्दै फेरि लेखे, ‘चमारे भन्ने कुनै थर छ र? चमार भन्ने पो छ त होइन र? नहुने कुरा नगरौँ है साथी हो!’

‘चमार’ नभई ‘चमारे’ कसरी बन्छ? जसले पनि सजिलै बुझ्ने कुरा हो। उसो त मेयर साम्पाङले पनि पक्कै यो कुरा नबुझेका होइनन्। तर जातीय अहंकारवादले उनलाई दलितसामु ‘झुक्न’ दिएन। आफ्नो अभिव्यक्तिले कसैको अपमान नगरेको जिकिर गरिरहे। त्यसो त उनले कुनै जातको अपमान गर्नकै लागि त्यो शब्द प्रयोग गरेका होइनन् भनेर विश्वास गर्न सकिन्छ। उखान प्रयोग गर्ने क्रममा मुखबाट फुत्त फुत्केको हुनुपर्छ। अथवा यस्तो उखानले जात विशेषको अपमान गर्छ भन्ने हेक्का उनलाई भएन। मानिसबाट जानेर/नजानेर गल्ती हुनसक्छ, तर त्यसलाई स्वीकार गरेर क्षमा माग्दा सानो भइँदैन। बरु महानता झल्किन्छ। 

मेयर साम्पाङले त्यो स्टाटस लेखेकै दिन ‘मैले प्रयोग गरेको उखानबाट चमार जातिको चित्त दुखेको हो भने म त्यो शब्द फिर्ता लिन्छु’ भनेको भए कुरा सकिन्थ्यो। तर उनले त्यसो गरेनन्। बरु जातीय विभेदविरुद्ध आवाज उठाउने दलित, दलित अधिकारकर्मी, राजनीतिक पार्टी र राष्ट्रिय दलित आयोगलाई विभिन्न लाञ्छना लगाउँदै दर्जनभन्दा बढी स्टाटस लेखे। यी पंक्ति लेख्दासम्म ती स्टाटस डिलिट गरिएका छैनन्, हेर्न सकिन्छ। 

दलित सवालप्रति उनको बुझाइ स्तर यस्तो छ, ‘जबसम्म दलित भन्ने शब्द र यसैलाई टेकेर बनाइएका आयोग, नियोग, संघ, संस्था र पार्टीहरू रहिरहन्छन्, दलित कोटा र त्यसमा खेलिने राजनीति रहिरहन्छ तबसम्म विभेद रहिरहनेछ।’ 

उनी यत्तिमै रोकिएनन्। राष्ट्रिय दलित आयोगलाई ‘झ्यासझुस आयोग’को उपमा दिँदै ‘सामाजिक सद्‌भाव भाँड्ने तत्त्व’सम्म भन्न भ्याए। 

‘कुनै झ्यासझुस आयोग सायोगले मलाई जिताएको होइन। सार्वभौम धराने जनताको म्यान्डेट पाएर आएको नगरप्रमुख हुँ। उसको कारबाहीको माग त उस्स्स’, उनले फेसबुकमा लेखेका छन्, ‘१० चोटि कुनै जाति विशेषलाई लक्षित गरेर लेखेको होइन भन्दा मनन नगर्ने राष्ट्रिय दलित आयोगको फोहोरी राजनीति गरेर समाज भाँड्ने नियत देखिन्छ। यो आयोगको विरुद्ध सम्पूर्ण समानता चाहने न्यायप्रेमी नेपालीहरूलाई एक जुट बनी उत्रनपर्ने बेला आएको छ। जबसम्म यस्ता तत्त्व समाजमा रहन्छ तबसम्म विभेद र द्वन्द्व रहन्छ।’

मेयर सापको यो धारणा धेरैजसोको बुझाइ हो। त्यसकारण प्रश्न गर्नैपर्ने हुन्छ : दलितले छुवाछूत, दमन र शोषण सहँदा मात्रै सामाजिक सद्‌भाव कायम रहने, यसविरुद्ध आवाज उठाउनासाथ भड्किने हो त? तपाईंभित्रको ‘सामाजिक सद्‌भाव’ पनि ‘चमारे’ उखानप्रति प्रश्न उठाएपछि भड्कियो, होइन त?

हाम्रा उखान
हामीले बुझ्नुपर्ने कुरा के हो भने हाम्रो समाजमा प्रचलित उखान–टुक्कामध्ये कतिपय यस्ता छन्, जसले जातविशेष, लिंगविशेष...विरुद्ध घोचपेच र अपमान गर्छन्। ती उखान त्यसैका लागि बनाइएका हुन्, जसलाई अहिले पनि जस्ताको तस्तै प्रयोग गर्‍यौँ भने हामी असभ्य मात्र होइन, अपराधी ठहरिन्छौँ। तर आफूलाई समानतावादी, क्रान्तिकारी, परिवर्तनवादी ठान्नेहरूले समेत आँखा चिम्लेर त्यस्ता उखान प्रयोग गर्ने गरेको पाइन्छ। 

यस क्रममा मलाई स्कुले जीवनको तीतो पल याद आयो। एकजना ‘सामाजिक’ विषय पढाउने बाहुन जातका शिक्षक थिए, जो विद्यार्थीलाई दुवै कुरा उही हो भनेर बुझाउनपर्‍यो भने कक्षामा बारम्बार यो उखान प्रयोग गर्थे - ‘काले कामी र कामी काले भन्नु एउटै कुरा हो।’ 

साथीहरू मलाई हेरेर मुसुमुसु हाँस्थे, म भने लाजले शिर निहुर्‍याउँथेँ। किनभने कक्षामा कामी जातको मै थिएँ। उसबेला पंक्तिकारमा अहिलेजस्तो ‘दलित–चेत’ विकास भइनसकेको भए पनि अवहेलनाको अनुभूतिले असह्य पीडा हुन्थ्यो र सोच्थेँ– ‘सरले किन कामीलाई नै घोचेर–होच्याएर बोलेका होलान्? ‘काले कामी’को ठाउँमा ‘काले बाहुन वा क्षत्री’ किन भएन?’

धेरै समयपछि थाहा पाएँ– सरले प्रयोग गर्ने गरेको उखानको अर्थ र उद्देश्य - कामी भनेकै कालो हुन्छ, कालो भनेकै कामी हुन्छ भन्नु रहेछ। यो उक्तिमा रंगभेद पनि छ, अर्थात् कामीलाई नराम्रो देखाउने अर्थमा ‘कालो’ प्रयोग गरिएको छ। अर्थात् कामी भनेका गोरा (‘राम्रा’) हुँदैनन् भन्ने भाष्य बनाउन रचिएको उखान हो यो। 

यस अवसरमा म तपाईंलाई दलितविरोधी अरू पनि केही उखान सुनाउन चाहन्छु। ताकि फेरि नझुक्किनुहोस्। जस्तो : ‘पाए अन्त, कहीँ नपाए कामीको जन्त’, ‘मरेपछि डुमै राजा’, ‘गाइनेको घोडा’, ‘धोबीको कुकुर जसरी पछिलाग्ने’...। 

यसैले अब उखान प्रयोग गर्दा पनि विचार पुर्‍याउनुपर्छ मेयर सा’प। नत्र जनप्रतिनिधिजस्तो ओहोदा त परको कुरा, एउटा असल नागरिकको हैसियत पनि हामीमा रहँदैन। 

तपाईंका स्टाटसले तपाईं एउटा स्थानीय सरकारको प्रमुख भएर पनि दलित मुद्दाबारे कति अनजान हुनुहुँदोरहेछ भन्ने पनि देखाउँछन्। 

दलित शब्द प्रयोग हुनुभन्दा अघिचाहिँ जातीय भेदभाव र छुवाछूत थिएन त?

आउनुस्, यस अवसरमा म तपाईंलाई जातीय छुवाछूतको सुरुवात र दलित शब्दको प्रयोजनबारे केही बताउँछु। 

छुवाछूतको सुरुवात  
भारतीय उपमहाद्वीपको आजको भारतमा झन्डै ३५ सय वर्षअघि वर्ण–व्यवस्थाको जग हालिएको इतिहास पाइन्छ। हिन्दू धर्मको मूल ग्रन्थमध्ये सबैभन्दा पुरानो वेद ऋग्वेदको दसौं मण्डलको पुरुषसुक्त ९० मा ब्राह्मण, क्षत्री, वैश्य र शूद्र उल्लेख छ। कसैले त्यस विराट पुरुषको मुख ब्राह्मण, पाखुरा क्षत्री, तिघ्रा वैश्य र पैताला शूद्र हो भनेका छन् भने कसैले त्यस विराट पुरुषको मुखबाट ब्राह्मण, पाखुराबाट क्षत्री, तिघ्राबाट वैश्य र पैतालाबाट शूद्र पैदा भए भनेर व्याख्या गरेका छन्। यस विषयमा हिन्दूहरूबीच एकरूपता पाइँदैन। 

तर हामी सबैलाई थाहा छ– मान्छे कहाँबाट जन्मिन्छ?

त्यसरी सिर्जना गरिएको वर्ण–व्यवस्थाका आधारमा भारतीय हिन्दू समाजमा जात–व्यवस्था विकास भएको थियो। त्यही जात–व्यवस्थाबाट मानिसले मानिसलाई नै छुन नहुने कुसंस्कार विकास भएको हो। नेपालमा चाहिँ लिच्छविकालतिर भारतबाट प्रवेश गरेका आर्य मूलका हिन्दू धर्मावलम्बीसँगै वर्ण–व्यवस्था र त्यसभित्रको छुवाछूत भित्रिएको इतिहास पाइन्छ। 

राणाकालमा भने जात–व्यवस्था तथा छुवाछूत प्रथालाई कानुनी मान्यता नै दिइयो। वि.सं. १९१० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले हिन्दु ग्रन्थ मनृस्मृतिका आधारमा मुलुकी ऐन नै बनाए। जसमा जात प्रथा नमान्नेलाई कडा सजायको व्यवस्था थियो। 

२०२० सालमा नयाँ मुलुकी ऐन जारी भएपछि मात्र नेपालमा कानुनी रूपमा जातीय भेदभाव/छुवाछूत अन्त्य भएको हो। तर भेदभाव गरे के सजाय गर्ने, लेखिएन। जसले गर्दा जातीय विभेदले निरन्तरता पाइरह्यो। 

२०४७ सालमा जारी गरिएको नयाँ संविधानमा भने जातीय छुवाछूतलाई दण्डनीय अपराध नै बनाइयो। र, २०२० को मुलुकी ऐनमा छुवाछूत गरेमा थोरै मात्रामा भए पनि दण्ड–सजाय हुने महल थपियो।

तर त्यो कार्यान्वयन गर्ने ठाउँमा उनै थिए, जो दलितलाई मान्छे मान्दैनन्। त्यसैले छुवाछूत प्रथा अघि बढिरह्यो।

यसपछि संविधान सभाबाट बनेको गणतन्त्र नेपालको संविधान–२०७२  प्रस्तावनामै छुवाछूतलाई दण्डनीय अपराध भनेर लेखिएको छ। जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ पनि बनाइएको छ। तर पनि विभेद हट्न सकेको छैन। 

कारण हो– नेपाली समाज मनुस्मृतीय मुलुकी ऐन १९१० बाटै सञ्चालन भइरहेको छ। 

प्रसंगवश म यहाँ मेरो अघिल्लो लेखकै केही पंक्ति दोहोर्‍याउन चाहन्छु। 

दलित शब्द हटाउँदैमा विभेद हट्छ?
माथि उल्लेख इतिहासबाट के प्रस्ट हुन्छ भने दलित समुदायका मानिस हेपिन थालेको दलित शब्द प्रयोग सुरु भएदेखि होइन। जातका आधारमा विभेद र छुवाछूत त ३५ सय वर्षअघि नै सुरु भएको  हो।

बरु दलित शब्दको सहारामा सबै ‘अछूत’ एकै ठाउँ समेटिए र साझा उत्पीडिनविरुद्ध आवाज उठाउन थाले। जसले गर्दा यो विषय देशको एउटा मुद्दा बन्यो, यसविरुद्ध नियम/कानुन बन्न थाले। 

‘दलित’ शब्दकै कारण देशका हरेक क्षेत्रमा समानुपातिक समावेशीका कुरा उठे (भलै, त्यो कार्यान्वयन हुन नसकेको किन नहोस्), कम्तीमा राज्य - इतिहासमा यो समुदायलाई नियोजित रूपमा कति विभेद, शोषण गरेर पछाडि पारिएको रहेछ भन्ने वास्तविकता स्वीकार्न बाध्य भएको छ। अनि संसारमा चलेको सामाजिक न्यायको सिद्धान्तअनुसार ‘सकारात्मक विभेद’अन्तर्गत महिला, मधेसी, जनजातिसँगै दलितलाई पनि नगन्य मात्रामा किन नहोस्, आरक्षण (विशेष अधिकार) दिने परिपाटीको सुरुवात गरेको छ।

यसरी दलित शब्दले दलित समुदायलाई दबाउने होइन, बरु केही मात्रामा भए पनि उठाउने काम गरेको छ। वास्तवमा यही देख्न नसक्नेहरूलाई हो - दलित शब्द घाँडो भएको, मन नपरेको। 

यसैकारण उनीहरू यो शब्द मेटाउन जोडबल गरिरहेका छन्, रंगीबिरंगी भाष्य सिर्जना गरेर। शब्दै मेटाइदिएपछि त मुद्दा पनि मेटियो। मुद्दै मेटिएपछि समाजमा पहिलेजस्तै ‘सामाजिक सद्‌भाव’, ‘शान्ति’ र ‘अमनचयन’ कायम हुने भो!

निश्चय पनि ‘दलित’ शब्द राम्रो होइन। यो नराम्रै अवस्था झल्काउने शब्द हो। र, राज्यलाई नराम्रै अवस्था छ भनेर जानकारी गराउन प्रयोग गरिएको हो। तर यो जात वा थर जनाउने शब्द होइन। 

मेरो नाम - रूपबहादुर विश्वकर्मा। मैले परिचय दिँदा यसै भन्छु। कहिले पनि ‘म रूपबहादुर दलित’ भन्दिनँ। मेरो नागरिकता वा अन्य परिचयपत्रमा पनि नामपछाडि ‘दलित’ लेखिएको छैन, विश्वकर्मा नै लेखिएको छ। तर ‘विश्वकर्मा’ लेख्नेहरूलाई भेदभाव किन त? विश्वकर्मा शब्द नराम्रो हो त? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .