NepalKhabar NepalKhabar

विचार


नागरिकतासँगै धर्मशास्त्र पनि सच्याउने कि?

नागरिकतासँगै धर्मशास्त्र पनि सच्याउने कि?

रूपबहादुर विश्वकर्मा
साउन ३० , काठमाडौँ

दैलेख, भगवतीमाई गाउँपालिका–३, मेहेलतोलीका ६२ वर्षीय कविराम कामी ३३ वर्षपछि ‘कुकुर’बाट ‘मान्छे’ बन्दै छन्– नागरिकतामा। २०४६ सालमा लिएको नागरिकतामा उनको नाम लेखिएको छ– ‘कुकुर कामी’! यसैले उनले आफूलाई हेपेर राखिएको त्यो अपमानजक नाम हटाएर आफ्नो वास्तविक नाम कविराम राखेर नागरिकताको प्रतिलिपि दिन माग गर्दै २४ साउन (२०७९) मा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्।

३३ वर्षसम्म आफूलाई ‘कुकुर’ भनिएको नागरिकता बोकेर बसेका कविरामले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा भनिएको छ, ‘मलाई गाउँमा चिनाउने र चिन्ने नाम कविराम कामी भएको तर २०४६ मा गाउँमा खटिएको नागरिकता टोलीबाट नागरिकता लिँदा गाउँका मानिसले जिस्क्याएर भन्ने गरेको नाम ‘कुकुर कामी’ राखेर प्रधानपञ्चले सिफारिस लेखेको आधारमा कुकुर कामी नै लेखी नागरिकता दिएकोमा मलाई यो नामले हीनताबोध र अपमान भइरहेको छ।’

उनको निवेदनबमोजिम नागरिकतामा नाम सच्याउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय (दैलेख) ले जनाएको छ। 

यसरी दलितलाई ‘मानव’को स्थानबाट गिराउन गाउँ/समाजदेखि सरकार/राज्यसम्म कसरी संगठित रूपमा लागेको छ भन्ने कुरा यो प्रकरणबाट पनि प्रस्ट हुन्छ। नागरिकता टोलीलाई प्रधानपञ्चले के सोचेर त्यस्तो (कुकुर) नाम टिपाए? अनि मान्छेको नाम ‘कुकुर’ भनिरहँदा पनि आश्चर्य नमानीकन पत्याइदिने र नागरिकतामा हस्ताक्षर गर्ने ती हाकिम कस्ता! ‘उच्च शिक्षित’ तिनको विवेक कस्तो! 

वास्तवमा दलितलाई पशु बराबर वा पशुभन्दा पनि अझ तल्लो ठान्नु र व्यवहार गर्नु मनुस्मृतीय दर्शनबाट दीक्षित उनीहरूका लागि कुनै अचम्म होइन, बरु त्यसो गर्नु शास्त्रसम्मत अनिवार्य कर्म र धर्म हो। कविरामलाई ‘कुकुर’ बनाइएको त्यो नागरिकतामा दलितप्रति त्यही तुच्छ र नीच दृष्टिकोण छताछुल्ल भएको छ। 

कविरामसहित उनीजस्ता निरक्षर र निमुखा थुप्रै दलितका नागरिकतामा अपमानजनक नाम लेखिएको पाइयो। नागरिकतामा दलितलाई दिइएका नाम यस्तासम्म छन्– कुकुर कामी, कुकुर्नी कमिनी, कुत्ता बादी, फ्याउरो बादी, सिँगाने कामी...।

यसको आलोचना गर्दै सञ्चारमाध्यमले समाचार लेखेपछि २३ साउन (२०७९) मा गृह मन्त्रालयले मातहतका निकायलाई परिपत्र लेख्दै भन्यो–

१. अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने

२. त्यसरी अपमाजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने 

सरकारको यही आदेशपछि ‘कुकुर’बाट ‘मान्छे’को दर्जामा उक्लने अभूतपूर्व अवसर पाएका हुन्– कविराम कामीहरूले, त्यो पनि कागज (नागरिकता) मा मात्र। व्यवहारमै ‘मानिस’ बन्न त तिनले कहिले पाउने हुन्? यही जुनीमा पाउलान्, नपाउलान्? 

संसारका प्राणीमध्ये मान्छेलाई सर्वश्रेष्ठ मानिन्छ। तर त्यही मान्छे (दलित) लाई यहाँ ‘कुकुर’ (पशु) भन्दा पनि तल्लो ठानिन्छ। किनकि बरु कुकुर हाम्रा भान्सा र ओछ्यानसम्मै पुग्न पाउँछ/मिल्छ तर आफूजस्तै मान्छे (दलित) ढोकाबाटै छिर्न मिल्दैन, यो कुचलन अझै अन्त्य भएको छैन। 

यसको पुष्टि गर्न कुनै दूरदराज र पिछडिएका गाउँबस्तीसम्म पुग्नै पर्दैन। देशको केन्द्रीय राजधानी रहेको सहर काठमाडौंमै कथित उच्च जातिले दलितलाई कोठा भाडामा दिन हिचकिचाएको वा जात थाहा पाएपछि कोठा नदिइएका घटना हामीले हालसालै सुन्यौं।

अझ जातकै कारण दलितको ज्यानै लिनेसम्मका हर्कत पनि जारी छन्। अजित मिजार, नवराज विकहरूको हत्या त्यसकै पछिल्ला उदाहरण हुन्। उनीहरूले गरेको एउटै गल्ती थियो– सानो जाति भएर पनि ठूला जातिका स्त्रीसँग प्रेम गरे। 

तर ती हत्या पनि हामीलाई हत्याजस्तो लाग्दैन, जसरी कविरामको नाम ‘कुकुर’ राख्दा पनि अपाच्य लाग्दैन। 

जात ढाँटेको आरोप
मेरी आमाको नागरिकतामा नाम ‘मैयाँ कमिनी’ लेखिएको छ। आमा भन्नुहुन्छ– नागरिकतामा कमिनी लेखेका कारण कतै नागरिकता देखाउँदा ‘ए तपाईं त त्यस्तो पो! हेर्दा त बाहुनी/क्षत्रिनी जस्तो देखिन्छ’ भन्छन् रे मानिसहरूले। त्यसैले कतै नागरिकता देखाउनुपर्दा अप्ठेरो लाग्ने आमा सुनाउनुहुन्छ।

मेरो बुवाको नागरिकतामा ‘नीरबहादुर कामी’ लेखिएको छ। कामीको स्त्रीलिंग  कमिनी। कामी वा कमिनी जात हो। तर मेरा बुवाआमासँगै नागरिकता बनाएका माधवप्रसाद अधिकारीको नागरिकतामा किन माधवप्रसाद बाहुन र सावित्रा सापकोटाको नागरिकतामा सावित्रा बाहुनी लेखिएन?

गैरदलित समुदायका मानिसको जस्तै दलित समुदायका व्यक्तिका पनि थर हुन्छन् कि हुँदैनन्? गैरदलित समुदायका धेरैलाई थाहा नहुन सक्छ। तर दलितका पनि विभिन्न थर हुन्छन्, अझ बाहुन/क्षत्रीका थरसँग मिल्ने। जतिबेला मेरा आमाबुवाले नागरिकता बनाउनुभएको थियो, त्यतिबेला अर्थात् २०४६ सालभन्दा पहिले आम रूपमा दलितलाई थर लेख्नै दिइँदैनथ्यो, जातै लेख्न बाध्य पारिन्थ्यो– कामी, कमिनी, सार्की, सर्किनी, दमाईं, दमिनी....।

लेखक एवं राजनीतिज्ञ आहुतिका अनुसार २०४६ को परिवर्तनसँगै आएको स्वतन्त्रता र पार्टी राजनीतिले दलितहरूमा ह्वात्तै चेतना बढ्यो र उनीहरूलाई अधिकारका लागि लड्न सक्ने बनायो। त्यसपछि दलितहरूले आफ्नो वास्तविक थर लेख्न थाले। आफूले मात्र लेखेको वा गैरदलितको मात्र भनी बुझेको थर दलितले लेखेको देखेपछि गैरदलित कतिपय विद्वान् पनि चिच्याए, ‘दलितले किन जात ढाँटेको ?’ यथार्थमा त्यो त उसले आफ्नो थर पो लेखेको थियो।

बुवाआमाको पालापछि हाम्रो नागरिकता बनाउने बेलामा कामी, कमिनीको सट्टा ‘विश्वकर्मा’ लेख्न पायौं। विश्वकर्मा पनि जातै हो। मेरो छोराको नागरिकतामा भने विश्वकर्माको स्थानमा ‘रिजाल’ छ। योचाहिँ हाम्रो थर हो। तर यो थर बाहुनको पनि हुन्छ। मैले एकपटक फेसबुकमा विश्वकर्माको स्थानमा रिजाल राख्दा एक जना गैरदलित विद्वानले आश्चर्य प्रकट गरेका थिए। किनभने जातिवादी राज्यले दलितलाई लामो समय थर लेख्न प्रतिबन्ध लगाएकाले धेरै गैरदलित मित्रहरूलाई दलितका पनि हाम्राजस्तै थर हुन्छन् भन्ने थाहै छैन।

आहुतिका शब्दमा दलितहरूका थर र गैरदलितका थर मिल्नुका तीन कारण छन् । एक, उद्गमस्थल एउटै भएकाले। जस्तै : पौडी क्षेत्रबाट हिँडेका हुनाले ब्राह्मण पनि पौडेल र दलित पनि पौडेल। दुई, पदवीसँग मिल्न गएकाले। जस्तै : मण्डल, मिझारजस्ता पद दलित, जनजाति र मधेसका वैश्यअन्तर्गतका कतिपय जातको मुखियालाई दिइन्थ्यो। त्यही पदवी दलित, गैरदलितले थर बनाउँदा मिल्न गयो र तीन, गैरदलित पुरुषलाई जात झारेर सजाय दिँदा थरचाहिँ कथित माथिल्लो जातकै बाँकी रहन पुग्यो।

धर्मशास्त्र पनि सच्याउने कि? 
गृह मन्त्रालयको परिपत्रपछि दलितहरूले सम्बन्धित निकायमा गएर आफ्ना नागरिकतामा राखिएका अपमानबोधक नाम त सच्याउलान् तर तिनलाई हेपेर/होच्याएर धर्मशास्त्रमा लेखिएका शब्द कसले, कसरी सच्याउने? माथि मैले मनुस्मृतिको प्रसंग पनि उल्लेख गरेको छु। जसले शूद्र (अहिलेका दलित) विरुद्ध सबैभन्दा व्यवस्थित र नीच ढंगले व्याख्या गरेको छ।

दलित (शूद्र) विरुद्ध लेखिएका केही श्लोक हेरौं। 
मङ्ग्ल्यं ब्राह्मणस्य स्यात्क्षत्रीयस्य बलान्वितम।
वैस्यस्री धनसंयुक्तं शूद्रस्री तु जुगुप्सितम।। ३१।।
(अध्याय दुई)
अर्थ : ब्राह्मणको नाम मङ्गलवाचक, क्षत्रीयको नाम बलवाचक, वैश्यको नाम धनसूचक र शूद्रको नाम सेवासूचक राख्नुपर्छ। 

ब्राह्मणं कुशलं पृच्छेत्क्षत्रबन्धुमनामयम।
वश्यं क्षेमं समागम्री शूद्रमारोग्यमेव च।। १२७।।
(अध्याय दुई)
अर्थ : ब्राह्मणलाई कुशल, क्षत्रीयलाई निको, वैश्यलाई सञ्चो–सुबिस्ता र शूद्रलाई निरोगी छौ भनेर सोध्नुपर्छ।

न शूद्राय मतिं दधान्नोच्छिष्टं न हविष्कृतम।
न चास्योपदिशेद्धर्म न चास्य व्रत्तमादिशेत।।८०।।
(अध्याय चार)
अर्थ : शूद्रलाई ज्ञान सिकाउन, जूठो हव्य खान, प्रत्यक्ष रूपमा धर्म र व्रतका कुराहरू सिकाउन हुँदैन।

शूद्रैव भार्या शूद्रस्य सा च स्वा च विशः स्मृते।
ते च स्वा चैव राजश्च ताश्च स्वा चाग्रजन्मनः।।१३।। 
(अध्याय तीन)
अर्थ : शूद्रले शूद्र कन्यासँगै बिहा गर्नुपर्छ, वैश्यले वैश्य र शूद्रकन्यासँग, क्षत्रीयले क्षत्रीय, वैश्य र शूद्रकन्यासँग र ब्राह्मणले चारै वर्णका कन्यासँग विवाह गर्नुहुन्छ।

अब्राह्मणः संग्रहणे प्राणान्तं दण्डमर्हति।
चतुर्णामपि वर्णानां दारा रक्ष्यतमाः सदा।।३५९।।
(अध्याय आठ)
अर्थ : शूद्रले अन्य जातकी स्त्रीसँग संग्रहण गर्छ भने उसलाई मृत्युदण्ड दिनुपर्छ। चारै वर्णले सबैभन्दा बढी आफ्ना स्त्रीहरूको रक्षा गर्नुपर्छ।

शूद्रस्य तु सवर्णैव नान्या भार्या विधीयते।
तस्यां जाताः समांशाः स्युर्यदि पुत्रशतं भवेत।।१५७।।
(अध्याय नौ)
अर्थ : शूद्रले आफ्नै वर्णका स्त्रीलाई मात्रै पत्नी बनाउनुपर्छ। अर्का वर्णका स्त्री ल्याउने अधिकार उसलाई छैन। त्यसैले उसकी स्त्रीका सयवटा नै छोरा भए पनि बाबुको सम्पत्ति सबैलाई बराबर मिल्छ।

शूद्रो गुप्तमगुप्तं वा द्वैजातं वर्णमावसन।
अगुप्तमङ्गसर्वस्वैर्गुप्तं सर्वेण हीयते।।३७४।।
(अध्याय आठ)
अर्थ : पतिआदि आफन्तका संरक्षणमा नरहेकी द्विजातिकी कन्यासँग व्यभिचारी सम्पर्क गर्ने शूद्रको लिङ्ग काट्न लगाएर सर्वस्व हरण गर्नुपर्छ र संरक्षणमा रहेकीसँग व्यभिचारी गरेमा सर्वस्व हरणका साथ मृत्युदण्ड दिनुपर्छ।

यस्य शूद्रस्तु कुरुते राग्यो धर्मविवेचनम।
तस्य सीदति तद्राष्ट्रंपङ्के गौरिव पश्यतः।।२१।। 
(अध्याय आठ)
अर्थ : जुन राजाका राज्यमा शूद्रलाई न्यायको अधिकारी बनाइएको हुन्छ त्यस राज्यले भासमा गाडिएको गाईझैँ दुःख पाउँछ।

एकजातिर्द्विवजातींस्तु वाचा दारुणया क्षिपन।
जिव्हायाः प्राप्नुयाच्छेदं जघन्यप्रभवो हि सः।।२७०।। 
(अध्याय आठ)
अर्थ : शुद्रले ब्राह्मण, क्षत्रीय र वैश्यलाई पापी, अपराधी आदि वचन बोल्यो भने त उसको जिब्रो छेंड पार्ने दण्ड दिनुपर्छ। किनकि, उसको उत्पत्ति नै जघन्य स्थानबाट भएको हो।

नामजातिग्रहं त्वेषामभिद्रोहेण कुर्वतः।
निक्षेप्योयोमयः शङ्कुर्ज्वलन्नास्ये दशाङ्गुलः।।२७१।।
(अध्याय आठ)
अर्थ : यदि शूद्रले रिस वा घमण्ड गरेर ब्राह्मणादी द्विजातिको नाम लिन्छ भने दस अङ्गुल लामो पोलेर तातो पारेको फलामको सुइरो पूरै त्यसका मुखमा हालिदिनुपर्छ।

धर्मोपदेशं दर्पेण विप्राणामस्य कुर्वतः।
तप्तमासेचयेत्तैलं वक्रे श्रोत्रे च पार्थिवः।।२७२।।
(अध्याय आठ)
अर्थ : यदि शूद्रले अहंकारवश कुनै ब्राह्मणलाई धर्मको उपदेश दिन्छ भने राजाले उसको मुख र कानमा उम्लँदै गरेको तेल हाल्न लगाउनुपर्छ।​

अवनिष्ठीवतो दर्पादद्वावोष्ठौ छेदयेनृपः।
अवमूत्रयतो मेढ्मवशर्धयतो गुदम।।२८२।।
(अध्याय आठ)
अर्थ : राजा र ब्राह्मणलाई घमण्ड गरेर थुक्ने शूद्रका दुवै ओठ, लिङ्ग र मलद्वार काट्न लगाउनुपर्छ।​

शूद्रं तु कारयेद्दास्यं क्रीतमक्रीतमेव वा।
दास्यायैव हि सृष्टोसौ ब्राह्मणस्य स्वयंभुवा।।४१३।।
(अध्याय आठ)
अर्थ : किनेको होस् वा नहोस्, शूद्रलाई नोकरको काम गराउनुपर्छ, किनभने ब्रह्माले ब्राह्मणको सेवाका लागि नै उसलाई बनाएका हुन्।

मार्जारनकुलौ हत्वा चाषं मण्डूकमेव छ।
श्वागोधोलुककाकांश्च शुद्रहत्याव्रतं चरेत।।१३१।।
(अध्याय एघार)
अर्थ : बिरालो, न्याउरी, चास अर्थात् नीलकण्ठ नामको चरो, भ्यागुता, कुकुर, गोहोरो, लाटोकोसेरो र कागमध्ये कुनैलाई मार्दा शूद्रको हत्यामा गरिएको प्रायश्चित गर्नुपर्छ।​

उच्छिष्टमन्नं दातव्यं जीर्णानि वसनानि च।
पुलाकश्चैव धान्यानां जीर्णाश्चैव परिच्छदः।।१२५।।
(अध्याय दस)
अर्थ : शूद्रलाई जूठो अन्न, च्यातिएका पुराना लुगा, गुदीबिनाको अन्न र थोत्रामोत्रा ओढ्नेओछ्याउने दिनुपर्छ।

शक्तेनापि हि शूद्रेण न कार्यो धनसंचयः।
शूद्रो हि धनमासाद्य ब्राह्मणानेव बाधते।।१२९।।
(अध्याय दस)
अर्थ : धन कमाउन सक्ने भए पनि शूद्रले धन जम्मा गर्नु हुँदैन, किनभने धन कमाइसकेपछि शूद्रले ब्राह्मणलाई नै बाधा पार्छ।

राजा मनुद्वारा रचित ‘मनुस्मृति’लाई हिन्दुले महत्त्वपूर्ण ग्रन्थ मान्छन्। संविधान, कानुन बनाइनुअघि यो नै तत्कालीन समाज सञ्चालनका लागि संविधान थियो। 

त्यसैका आधारमा वि।सं। १९१० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले मुलुकी ऐन बनाएका थिए र जातीय विभेदलाई राज्यकै तर्फबाट संस्थागत गराएका थिए। दलितलहरूले बिस्तारै विद्रोह गर्न थालेपछि शासनमा अप्ठेरो पर्ने देखेर राजा महेन्द्रले २०२० भदौ १ गते नयाँ मुलुकी ऐन ल्याए, जसमा सबै जातका नागरिक बराबर हुने त उल्लेख गरियो तर कसैले जातीय भेदभाव गरेमा के गर्ने, केही लेखिएन। त्यसैले सामाजिक व्यवहारमा जातीय भेदभावरछुवाछूतले निरन्तरता पाइरह्यो। 

२०४६ सालको परिवर्तनपछि बनाइएको २०४७ सालको संविधानमा भने जातीय विभेदलाई दण्डनीय अपराध भनेर लेखियो। र, मुलुकी ऐन २०२० मा नयाँ महल थप्दै जातीय भेदभावरछुवाछूत गर्नेलाई थोरै भए पनि दण्ड–सजायको व्यवस्था गरियो।

२०६२/६३ को जनआन्दोलनपछि संविधान सभाले बनाएको नेपालको संविधान–२०७२ ले प्रस्तावनामै जातीय विभेद गर्न नपाइने उल्लेख गरेको छ भने ‘छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन–२०६८’ ले जातीय विभेद गर्ने व्यक्तिलाई ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने भनेको छ। ‘जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभावविरुद्धको अधिकार’अन्तर्गत हरेक व्यक्तिको विवाह गर्ने तथा वररवधु छान्ने अधिकारसमेत सुरक्षित गरिएको छ।

तर यो कानुन कार्यान्वयन गर्ने निकायमा उनीहरू नै छन्, जो ‘मनुस्मृति’लाई भगवान् ब्रह्माको वाणी मान्छन्। अतः संविधान/कानुनमा जेसुकै लेखिए पनि समाज भने निर्वाध रूपमा मनुस्मृतिअनुसार सञ्चालन भइरहेको छ भन्दा अत्युक्ति नहोला।

हाम्रो समाजका मानिसलाई संविधान र कानुनमा लेखिएका कुरा भन्दा हिन्दूधर्मशास्त्रका श्लोक बढी कण्ठ छन् र यसप्रति प्रतिबद्ध छन्। त्यसैले उनीहरू दलितका नागरिकतामा निर्धक्क ‘कुकुर’, ‘कुकुर्नी’... लेख्छन्। यसर्थ दलितका नागरिकतासँगै यस्ता धर्मशास्त्र पनि सच्याउने कि? 

साउन ३०, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.