ad ad

विचार


सेयर किन्ने बेला अझै भइसकेको छैन, अवसर आउँदै छ

सेयर किन्ने बेला अझै भइसकेको छैन, अवसर आउँदै छ

रुकमागत काफ्ले
असार ६, २०७९ सोमबार ७:१६, काठमाडौँ

नेपालको सेयरबजार अहिले २००० विन्दु मुनि छ। झण्डै ३२ सय विन्दुसम्म पुगेको बजार १९ सयको वरिपरि आउँदा लगानीकर्तामा एक किसिमको डर देखिएको छ। 

तर नेपालको सेयरबजार १५ सय अंकभन्दा माथि हुनुलाई बुलिस ट्रेन्ड नै भन्न मिल्छ। त्योभन्दा पनि तल गयो भने बल्ल बियरिस भन्न सकिन्छ।

गत वर्ष नेप्से अस्वाभाविक बढेको थियो। त्यसलाई स्वाभाविक अर्थात् नेचुरल भन्ने आधारहरु केही पनि देखिँदैन। कसैको नीतिगत कुरा बढाइचढाइ गरेर कुनै निहित समूहले नेप्से बढाएको देखिन्छ। तथापि बढिहाल्यो। ३२ सय अंकमा जो खेलाडी अथवा जो कारोबारीले सेयर किनेर बेचेका छैनन्, उनीहरुलाई निकै घाटा पनि भएको छ। अझ त्यो समयमा सेयर किनेका साना कारोबारीहरुलाई धेरै ठूलो घाटा भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा एउटा ब्रिजिङ हुन्छ। त्यो नेपालमा छैन। हुन त नेपालमा भर्खर मार्केट अघि बढिरहेको छ। तर मार्केट डिलरको कुरा आइरहेको छ। तर पनि यसको फंक्सनले राम्रो काम गरिरहेको छैन। कुनै कसैले बेच्न खोज्दा पनि बेच्न नसकेको सेयर किनेर होल्ड गर्नसक्ने मार्केट मेकर छैन। 

यहाँ साना ठूला, बजार बुझेका, नबुझेकाहरु रहेका छन्। त्यसकारण केहीले बजार माथि लगेर साना लगानीकर्ताहरुलाई फसाएको पनि देखिन्छ।

जसलाई घाटा भएको छ। उनीहरुले अहिले मुख्य उठाएको कुरा भनेको सेयर धितोमा राष्ट्र बैंकले लगाएको क्याप हो। तर बुझ्नुपर्ने कुरा जसले फसाए उनीहरुले पनि सोही कुरा बोलिरहेका छन्। 

एक बैंकबाट सेयर धितोमा ४ करोड र सबै बैंकमा गरेर १२ करोड मात्रै ऋण लिन पाउने व्यवस्था गरिएको छ। त्यसमा उनीहरुको विरोध छ । यो क्यापलाई हटाउने कुरामा मेरो भनाइ अलि फरक छ। ठूला लगानीकर्ताहरु अहिले ४÷१२ को नीतिको कारणले गर्दा नै सेयरबजार कमजोर भइरह्यो भनिरहेका छन्। यसकै विरोधमा भाषण गरिरहेका छन्। 

तर ती ठूला लगानीकर्तासँग अहिले सेयर नै छैन। तिनीहरुको डिम्याट हेर्ने हो भने अहिले सेयर नै छैन। त्यो कुरा सेयरबजार घट्यो भनेर अनशन बस्नेहरुले बुझेका छैनन्। अनशन बस्नेहरु साना लगानीकर्ता हुन्। उनीहरु फसेका छन्। उनीहरुलाई सेयरबजार कसरी बढ्यो र कसरी घट्यो भन्ने कुराको ज्ञान नै छैन। 

जो साना लगानीकर्ता १५ सयभन्दा माथिको इन्डेक्सबाट बजारमा गए। उनीहरुले नेपालको सेयरबजार आकलन नै गर्न नसकेको म देख्छु। नेपालको बजारबारे मैले २२ वर्षदेखि विश्लेषण गरिरहेको छु। यहाँ धेरै चलखेल नै गरिन्छ।  अघिल्लो वर्षको बढाइलाई हेर्दा कोभिडको समयमा लगानीको दायरा धेरै थिएन। अर्कोतर्फ नेपालको सेयरबजार भर्खर टेक्नोलोजीमा व्यवस्थित भएको अवस्था थियो। अनलाइनको व्यवस्था भएको थियो। 

यो बेला धेरै लगानीकर्ताहरु एकसाथ बजार छिरेको देखिन्छ। धेरै लगानी एकैपटक हुँदा बजार बढ्न मद्दत गरेको पनि देखिन्छ। तर अहिलेको नेपालको अर्थतन्त्र र बजार हेर्दा तरलताको अभाव भएको १ वर्ष बितिसकेको छ। कोभिडपछि प्रभाव अर्थात् पोष्ट कोभिड इफेक्ट आउँछ भन्ने थाहा पाउँदापाउँदै पनि मान्छेहरुले लगानी बढाएको देखिन्छ। घट्दै घट्दैन कि जस्तो गरेर लगनी भएको देखिन्छ। 

कोभिडको बेलाको दुई अढाई वर्षको जुन स्थिति थियो। त्यो स्थितिको रिजल्ट अहिले देखिएको थियो। कोरोनाको प्रभाव नै नेपालको अर्थतन्त्रमा देखिएन भन्ने बुझियो र त्यही बेलाको वस्तुस्थितिलाई हेरेर विश्लेषण गरेर लगानी थपेको देखिन्छ। त्यो आफैँमा गलत थियो। 
बजारको संरचना यस्तो पनि हुन्छ भन्ने खालको अध्ययन कसैले पनि गरेको देखिँदैन। नियामक निकाय र व्यवस्थापकीय भूमिका निभाउने संस्थाहरु पनि यसमा गम्भीर देखिँदैनन्। अन्तर्राष्ट्रिय रुपमा हेर्ने हो भने घट्नुलाई भन्दा बढ्नुलाई गहन रुपमा लिइन्छ। किन धेरै बढ्यो? त्यो स्वाभाविक थियो कि अस्वाभाविक। त्यो चिन्ताको विषय बन्छ। तर नेपालमा त्यस्तो देखिँदैन। 

अर्को विषय तरलताको समस्यालाई लिएर पनि सेयरबजारको घटेको विषय जोडिन्छ। यो असार महिना सकिँदै गर्दा सरकारको पैसा बजारमा धेरै फ्लो हुनथालेको पनि देखिन्छ। यसरी पैसा जाँदा पनि नेपालको तरलताको  अभावको समस्या पूरै हटेको छैन। तर केही सहज हुनथालेको देखिन्छ। 

तर पनि बजार माथि जाने स्थितिमा चाहिँ छैन। जुन दृष्टिकोणले हेरे पनि बजार माथि जानसक्ने स्थिति देखिँदैन। जुन दिनदेखि बजार तल जान थालेको देखिन्छ। त्योभन्दा पनि नाजुक स्थिति नेपालको अर्थतन्त्रमा अहिले देखिन्छ। सेयरबजारमा चाहिँ के हुन्छ भने यति अंकले घटिसक्यो अब माथि जान्छ कि भन्ने हुँदैन। अर्थतन्त्रको अवस्था कस्तो छ, त्यसले महत्व राख्छ। त्यसकारण अहिलेको अवस्था बजार बढ्दैन। 

३२ सयको बजार १९ सयमा झरिसक्यो अबचाहिँ बढ्छ वा बढ्नुपर्छ भन्ने तर्क युक्तिसंगत हुँदैन। यो बजार १५ सयसम्म पनि आउन सक्छ वा निरन्तर बढ्न पनि सक्छ। त्यसलाई अर्थतन्त्रको अवस्थाले डोर्याउँछ। अहिलेको अवस्था हेर्ने हो भने सेयरबजारबाट बाहिर बस्दा नै राम्रो हुन्छ। अझै लगानी गर्ने बेला भएको छैन। यही बेला किन्ने हो यो बेलामा किनेर राम्रो अवसर गुम्छ भन्ने धेरैलाई लाग्न सक्छ। तर योभन्दा राम्रो अवसर आउने मैले देखिरहेको छु। त्यसकारण सेयर किन्न अहिले नै हतार नगरौँ!

(नेपालखबरका दीपक भट्टले सेयरबजार विज्ञ काफ्लेसँग गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .