ad ad

छापा खबर


फेरि तात्न थाल्यो सडक, शीर्ष नेता सुरक्षाकर्मीको आड लिएर मात्र सडकमा निस्कन थाले

फेरि तात्न थाल्यो सडक, शीर्ष नेता सुरक्षाकर्मीको आड लिएर मात्र सडकमा निस्कन थाले

नेपालखबर
पुस १४, २०७७ मंगलबार १:१५,

पछिल्लो राजनीतिक घटनाक्रमपछि उपत्यकाको सडक तात्न थालेको छ ।

संसद् विघटन भएसँगै विभिन्न राजनीतिक मुद्दा बोकेर प्रतिपक्ष मात्र नभएर सत्तापक्षसमेत सडकमा उत्रन थालेपछि सडकमा सरगर्मी बढेको खबर आजको नागरिक दैनिकमा शिवहरी घिमिरेले लेखेका छन्।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा, राप्रपालगायत मूलधारका पार्टीले संसद् विघटन रोक्न प्रदर्शन थालेसँगै उपत्यकाको सडकमा भीडभाड बढ्न थालेको छ। अहिले नेकपाकै शीर्ष नेताहरूका विभिन्न गुट सडक प्रदर्शनमा उत्रने गरेका छन्।

कोरोना संक्रमणले देशलाई गाँजिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि त्यसको विरोध गर्दै सडकमा आउने सर्वसाधारण तथा राजनीतिककर्मीको संख्या बढ्दो छ । उनीहरूले सहरका चोकचोकमा विरोध प्रदर्शन तथा र्‍यालीहरू आयोजना गर्दै आएका छन्।

यसैबीच विकसित राजनीतिक घटनाक्रमसँगै सडकमा विरोध तथा प्रदर्शनजन्य गतिविधि बढ्न थालेपछि उपत्यकाको सुरक्षा अवस्था थप कडा बनाइएको छ । भिआइपीको सुरक्षामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

राजनीतिक विवादपछि ओलीको ओहोरदोहोरमा सडक खाली गर्न थालिएको छ । त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको निजी सुरक्षामा पनि थप कडा पारिएको छ । राजनीतिक विवादपछि हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर शीर्ष नेताहरू कार्यकर्ता र सुरक्षाकर्मीको आड लिएर मात्र सडकमा निस्कने गरेका छन्।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी वसन्त कुँवरले उपत्यकाको सुरक्षा मजबुत बनाइएको जानकारी दिए । ‘सुरक्षा अवस्था कडा पार्नु अहिलेको आवश्यकता हो । सडकमा सुरक्षा दिनुका साथै आपराधिक गतिविधि हुन नदिनु प्रहरीको दायित्व हो,’ उनले भने, ‘उपत्यकाका सबैजसो प्रहरी कार्यालयका जनशक्तिलाई सडक केन्द्रित गरिएको छ।’

उनका अनुसार बालुवाटार, शीतलनिवास र खुमलटार क्षेत्रमा पहिलेभन्दा सुरक्षाकर्मी बढाइएको छ । नयाँ बानेश्वर, माइतीघर, सुन्धारा, सिंहदरबार, कोटेश्वर, दरबारमार्गलगायत क्षेत्रमा पनि सुरक्षाकर्मी बढाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .