पाटन दरबार स्क्वायर। कालो पहिरनमाथि रातो सल ओढेर अभिनेत्री मनीषा कोइराला मन्त्र उच्चारण गरिरहेकी छन्। छेउमै बाँसुरीको तालमा मग्न देखिन्छन् बाँसुरीवादक प्रेम औतारी।
तबलाको तालसँग सोचमग्न छन् गायक तथा तबलावादक सुरेन्द्र श्रेष्ठ। वरपर अन्य सर्जक मन्त्रको धुनमा मग्न देखिन्छन्। यो दृश्य महामृत्युञ्जय मन्त्रको भिडियो छायांकनको हो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
सुरसुधा म्युजिकल ब्यान्डले बेग्लै शैलीमा कम्पोज गरेको यो मन्त्रमा मनीषा, सुरेन्द्र श्रेष्ठलगायतको स्वर छ। अभिनय क्षमताले बलिउडमा बेग्लै उचाइ प्राप्त गर्न सफल अभिनेत्री हुन् मनीषा। उनको अभिनय चिनेका दर्शकले अब उनको स्वरमा मन्त्र पनि सुन्न पाउनेछन्। यो मन्त्रको वाचनसँगै उनको गायन यात्रा पनि सुरु भएको छ।
सुरसुधासँग मनीषाको सहकार्य भने नयाँ होइन । उनी विगत २०–२२ वर्षदेखि सुरसुधाका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी थिइन्। कहिले आफ्नै सहकार्यमा ब्यान्डलाई मुम्बईमा लगेर चिनाउँथिन् त कहिले नेपालमै कार्यक्रम आयोजना गर्थिन्।
सुरसुधाका कोअर्डिनेटर तथा तबलावादक सुरेन्द्र श्रेष्ठका अनुसार मनीषा आध्यात्मिक छिन्। विभिन्न मन्त्र, भजन गुनगुनाइरहन्थिन्। मनीषाको पूरै परिवार अध्यात्ममा विश्वास गर्छ। खुब शान्त स्वभाव छ उनको। उनलाई मन्त्र गाउन खासै जटिल नभएको श्रेष्ठले जानकारी दिए। करिब दुई महिनाको रियाजपछि उनले महामृत्युञ्जय मन्त्र रेकर्ड गराएकी हुन्। मन्त्रको भिडियो पाशुपत क्षेत्र र पाटनका केही धार्मिक स्थानमा छायांकन गरिएको हो।
सुरेन्द्रका अनुसार मन्त्र वाचन गर्दा आफैंमा आनन्द अनुभूति हुन्छ। मन्त्र कसैलाई देखाउन वाचन गरिने पनि होइन। यसको छुट्टै वजन हुन्छ। यो विशेष हुन्छ। हिन्दू धर्मअनुसार महामृत्युञ्जय मन्त्रले मानिसलाई अकाल मृत्युबाट जोगाउँछ। भगवान् शिवजीसँग प्रार्थना गर्दै मन्त्र उच्चारण गर्ने चलन छ।
Shares

प्रतिक्रिया