जेठ ६ गते प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘वुहानबाट संक्रमण भएर आएको अलि नरम देखिएको थियो । इटालीबाट आएको पनि अलि नरमै देखिएको थियो । दुबईबाट आएको पनि अलि नरमै देखिएको थियो । तर भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ।’
प्रधानमन्त्री ओलीको उक्त भनाइ वैज्ञानिक तथ्यमा आधारित थिएन। भारतबाट ठूलो संख्यामा आप्रवासी कामदार नेपाल फर्केलगत्तै कोरोना भाइरस संक्रमण बढेको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्ति आएको थियो।
प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिको नेपालमा भन्दा पनि भारतीय सञ्चारमाध्यममा व्यापक टीकाटिप्पणी भएको थियो।
सात महिनाअघि प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्तिलाई भाइरसको हालै गरिएको एक वैज्ञानिक अध्ययनले प्रकृतिका आधारमा लगभग सही देखाएको खबर आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मुलुकमा पहिलोपटक गरेको कोभिड–१९ भाइरसको आनुवांशिक अध्ययनले यहाँ पाइएका अधिकांश कोरोना भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखाएको छ।
अध्ययनका क्रममा भाइरसका १५ वटा नमुनाको विस्तृत अनुसन्धान गरिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुर, काठमाडौं विश्वविद्यालय धुलिखेलबाट असार १२ देखि साउन २६ गतेसम्म १० वटा भिन्नभिन्न जिल्ला समेटिने गरी भाइरसका १५ वटा नमुना संकलन गरी अध्ययन गरिएको थियो।
अध्ययन नतिजालाई एनसिबिआई र जिआइएसएडजस्ता अनलाइन प्लेटफर्ममा उपलब्ध भाइरसको विश्वव्यापी आनुवांशिक बनावटसँग तुलना गरी आनुवांशिक एकरूपता तथा आनुवांशिक उत्परिवर्तनसम्बन्धी अनुसन्धान गरिएको थियो।
‘अध्ययनको नतिजाले दुई तिहाइ भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखायो,’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा.प्रदीप ज्ञवालीले भने।
अध्ययनले भारतबाट भित्रिएको भाइरस प्रधानमन्त्री ओलीले भनेझैं कडा भए÷नभएको निष्कर्ष भने निकालेको छैन। त्यसका लागि थप अनुसन्धान आवश्यक रहेको अध्ययनमा संलग्न अनुसन्धानकर्ताले बताएका छन्। ‘अध्ययनले समेटेका १५ सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेका छन् भने अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दा छन्,’ सदस्य सचिव डा.ज्ञवालीले भने।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा बोलेको झन्डै तीन महिनापछि र नेपालमा भाइरस संक्रमण देखिएको सात महिनापछि साउनमा परिषद्ले यो कोरोना भाइरसको वंशाणुगत संरचनाबारे अध्ययन गरेको हो।
अध्ययनको संक्षिप्त नतिजामा लेखिएको छ, ‘नेपालमा फैलिएको सार्स–कोभ–२ भाइरसको आनुवांशिक बनावट मुख्यतः भारत, बंगलादेश, साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरससँग मिल्दोजुल्दो पाइयो। तर त्यसो हुँदाहुँदै पनि भाइरसका संरचनात्मक तथा गैरसंरचनात्मक प्रोटिनहरूको बनावटमा केही आनुवांशिक भिन्नताहरू पाइएकाले यसको थप विस्तृत अध्ययन गरी त्यसको औचित्य पुष्ट्याइँ गर्नु जरुरी छ।’
नेपालमा कोभिड–१९ को संक्रमण दर तथा लक्षणसहितका बिरामी बढ्नुको मुख्य कारणमध्ये भाइरसको आनुवंशिक परिवर्तन एक कारक मानिएको छ। अध्ययनले धेरै देशमा पाइएको भाइरसको ‘डी–६१४–जी’ नाम गरेको उत्परिवर्तित स्ट्रेन नेपालमा पनि रहेको देखाएको छ।
Shares

प्रतिक्रिया