सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आआफ्ना गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन्।
यसै क्रममा इटहरीमा आयोजित दाहाल-नेपाल पक्षीय भेलाले अबको लडाइँ वारपार गर्ने खालको हुनुपर्ने निचोड निकालेको छ।
इटहरीको एक होटलमा मोरङ जिल्लाभरिका प्रदेश कमिटी सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भेलाले अध्यक्ष एवं प्रधानमन्त्री ओली असहिष्णु बन्दै गएको र फरक मत राख्नेप्रति अनुदार भएकाले अब मिलेर जान नसक्ने निचोड निकालेको छ।
भेलाले ओली पक्षलाई कित्ताकाट गरेरै अघि बढ्नुपर्ने र कुनै हालतमा उनीसँग मिलेर जान नसकिने निष्कर्ष निकालेको जानकारी सहभागी एक नेताले दिए। यो खबर आजको नागरिक दैनिकमा अमर खड्काले लेखेका हुन्।
भेलामा ओली पक्षविरुद्ध पूर्वएमालेका नेता आक्रामक ढंगले प्रस्तुत भएका थिए। पूर्वमाओवादीका नेताहरूले भने मिल्न सकिन्छ भने त्यहीअनुसार अघि बढ्नुपर्ने धारणा राखेका थिए।
‘पूर्वएमालेका नेताहरू आक्रामक भएर प्रस्तुत भए र अब ओली पक्षसँग मिलेर जानै नसक्ने निष्कर्ष निकाले,’ भेलामा सहभागी पूर्वमाओवादी पक्षका एक नेताले भने, ‘पहिलो चरणमा प्रदेश किमिटी सदस्य बसेर भेला भए पनि अब दोस्रो चरणमा तल्लो तहसम्म भेला र प्रशिक्षण गर्ने टुंगो लागेको छ।’
Shares

प्रतिक्रिया