ad ad

छापा खबर


१३ वर्षीया बालिकालाई बलात्कारीको श्रीमती बनाएर समाजले पठायो, अर्को दिन लास रुखमा भेटियो

१३ वर्षीया बालिकालाई बलात्कारीको श्रीमती बनाएर समाजले पठायो, अर्को दिन लास रुखमा भेटियो

नेपालखबर
जेठ १४, २०७७ बुधबार ०:७,

१३ वर्षीया दलित बालिका, २५ वर्षीय युवाद्वारा बलात्कार।

सजाय -बिहे।

जसले बलात्कार गर्यो, उसैको श्रीमती हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध बालिकाले । पाषण युगको यस्तो न्याय २१औँ शताब्दीमा । हाम्रै देशमा, हाम्रै समाजमा। यो खबर आजको नयाँ पत्रिका दैनिकमा बुटवलबाट विष्णु घिमिरेले लेखेका छन्।

दलित परिवारको पक्षमा बोलिदिने कोही भएन, त्यसैले समाजको न्याय मानेर बलात्कारी पुरुषको पछिपछि गएकी बालिका त्यही साँझ गाउँको रूखमा भेटिइन्, झुन्डिएको अवस्थामा । यो घटनाले बालिकाको बिहे गराइदिने स्थानीय जनप्रतिनिधिको न्याय मात्र होइन, हाम्रो समाजको चेतना नै रूखमा झुन्डिएको सन्देश दिएको छ।

घटना हो रुपन्देही देवदहको । शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासी घरबाट हराइन् । बुबाको निधन भइसकेको छ । आमाले हारगुहार गरिन् । गाउँले जम्मा भएर खोज्न हिँडे । राति ११ बजे उनी नजिकैको खरबारीमा भेटिइन्, उनको साथमा थिए स्थानीय २५ वर्षीय वीरेन्द्र भर।

भरले बालिकालाई फकाएर शारीरिक सम्बन्ध राखेको स्थानीय बासिन्दाहरूको भनाइ छ । तर, १३ वर्षीया अबोध बालिकालाई जबर्जस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु कानुनी र मानवीय रूपमा बलात्कार हो, जघन्य अपराध हो।

यो विषयमा छलफल गर्न अर्को शनिबार बिहान वडाध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाहरूको भेला बस्यो । समाजले भन्यो, ‘बालिकामाथि अन्याय भएको छ, त्यसैले वीरेन्द्रले सजाय पाउनुपर्छ । सजायस्वरूप अब उनले बालिकालाई श्रीमती स्विकार्नुपर्छ।’

बालिकालाई आफूमाथि भएको अपराध र उनले पाउनुपर्ने न्यायका बारेमा थाहा थिएन । उनकी आमालाई कानुनको दफाबारे जानकारी थिएन । त्यसमाथि उनको मत के छ भनेर समाजले सोध्दै सोधेन । बरु अब ‘बिटुलिएकी’ छोरी घरमा राखेर के गर्छौ भनेर समाजका मान्छेले आमालाई पनि छोरीको बिहे गरिदिन भने।

आमा शान्ति देवीले भनिन्, ‘गाउँ समाजका मानिस जुटेर छलफल भएको थियो । छलफलमा वीरेन्द्र भरले मेरो छोरीलाई श्रीमती बनाउँछु भन्यो । वडाध्यक्षले समेत अब छोरीलाई जिम्मा दिनु ठीक हो भन्नुभयो । सबैको फैसलापछि छोरी वीरेन्द्रको पछि लागेर गएकी हो।’

बलात्कार गर्ने पुरुष, तर बिटुलिनेचाहिँ बालिका । समाजको यस्तो मानसिकतालाई कसरी चुनौती दिने? अबोध बालिकालाई थाहा थिएन । त्यसैले उनी फैसला स्वीकार गरेर बलात्कारी पुरुषको घर गइन्।

घर पुग्नासाथ युवाको परिवार उफ्रन थाल्यो । परिवारका सदस्यहरू दलितकी छोरी बुहारी बन्न आई भन्दै बालिकामाथि जाइलागे । त्यही दिन दिउँसो स्थानीय रूखमा झुन्डिएको अवस्थामा बालिकाको लास भेटियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .