ad ad

छापा खबर


उपत्यकाका प्रवेश गर्ने नाकामा स्थानीय तहको विशेष सुरक्षा सतर्कता

उपत्यकाका प्रवेश गर्ने नाकामा स्थानीय तहको विशेष सुरक्षा सतर्कता

नेपालखबर
जेठ ४, २०७७ आइतबार २:५३,

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन्।

उपत्यका बाहिरबाट लुकिछिपी उपत्यका छिर्न थालेपछि ती नगरपालिकाले नाकामा विशेष सुरक्षा सतर्कता अपनाउन थालेका खबर आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन्।

पत्यका प्रवेश गर्ने नाका जोडिएका काठमाडौँको चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर, सूर्यविनायक, नागार्जुन र दक्षिणकाली नगरपालिकाले नाकामा विशेष सुरक्षा अपनाएका हुन्।

तारकेश्वर नगरपालिकाले अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित व्यक्ति तथा सवारी साधनलाई नगरपालिका क्षेत्रमा कडाइका साथ रोक लगाउने निर्णय गरेको छ।

बन्दाबन्दीको अवधिमा उपत्यका बाहिरबाट कुनै व्यक्ति आफ्नो टोलमा प्रवेश गरेको जानकारी भएमा तत्काल नजिकको प्रहरी, स्वास्थ्य वा वडा कार्यालयमा खबर गर्न सबै नगरवासीलाई नगरपालिकाले आग्रह गरेको छ । त्यस्ता व्यक्तिलाई घरधनी वा आफन्तले स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको नगरप्रमुख रामेश्वर बोहराले जानकारी दिए।

नागार्जुन नगरपालिकाले कोरोना भाइरसको नियन्त्रण रोकथामका लागि अत्यावश्यक कामबिना बन्दाबन्दी अवधिभर बाहिर ननिस्कन नगरवासीलाई आग्रह गरेको छ।

नगरपालिकाभित्र कोही नयाँ व्यक्ति बसोबास गर्ने गरी वा बहालमा बस्न आएमा तत्काल सम्बन्धित निकायमा सूचना दिन आग्रहसमेत गरिएको नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए।

 चन्द्रागिरि नगरपालिकाले नगरपालिकाभित्र विदेश वा तराईलगायत सङ्क्रमित स्थानबाट आएका व्यक्तिलाई प्रवेश बिन्दुमै रोक्ने निर्णय गरेको छ । ती व्यक्तिलाई कोरोना भाइरसको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टपछि मात्र प्रवेश गर्न दिने नीति नगरपालिकाले अख्तियार गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .