छापा खबर


शहीद धर्मभक्तकी छोरीको प्रश्न : गाडीले कुल्चेर मर्ने कसरी भए सहिद?

शहीद धर्मभक्तकी छोरीको प्रश्न : गाडीले कुल्चेर मर्ने कसरी भए सहिद?

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ३:१४,

‘यस अभागीकी आमा मरी, बाबु अर्थात् मेरो जीवनको कुनै ठेगान छैन, जुनसुकै बेला जेसुकै पनि हुन सक्छ । यो तिम्री पनि छोरी हो । सकेदेखि यसको लालनपालन एवं शिक्षादीक्षाको व्यवस्था गरिदिनू, नसके कुनै अनाथालयमा राखिदिनू...।’

 भारतको कोलकातामा संघर्षपूर्ण जीवन बिताइरहेका बेला संवत् १९९६ मा युवा धर्मभक्त माथेमाकी श्रीमती उत्तरादेवीको निधन भयो । त्यसबेला धर्मभक्तसँग ३ वर्षीया छोरी रेणुदेवी मात्रै साथमा थिइन्।

राणाकालीन शासनको विरोध र स्वतन्त्रताको बिगुल फुक्नमा अग्रणी रहेमध्येका धर्मभक्त नेपाल प्रजा परिषद् पार्टीमा सक्रिय थिए । उनी कोलकाताबाट विशेष काममा काठमाडौं फर्कंदै थिए ।

त्यहीबेला उनले आफ्ना भाइ ध्रुवभक्तलाई नाबालिका छोरी रेणुको हेरदेख गर्न बिन्ती गर्दै भनेको माथिको पंक्ति यतिखेर इतिहासको ‘अभिलेख’ झैं बनेको छ ।

धर्मभक्तलाई फाँसीको सजाय दिइँदै गर्दा उनकी एकमात्र छोरी रेणुदेवी चार वर्षकी थिइन् । ‘मैले आफ्ना बाबुबारे नेपालका प्रथम सहिदमध्ये एक भनेर किताबमा पढ्न पाएँ, ठूलाबडाले भनेको किंवदन्तीजस्तै लाग्ने कुराबाट बाबुबारे थाहा पाएँ,’ काका ध्रुवभक्त र काकी वृन्दादेवीले छोरीसरह हुर्काएबढाएकी उनै छोरी रेणुदेवी शनिबार सानेपा, ललितपुरको एउटा जमघटमा सुनाउँदै थिइन्, ‘बुबा धर्मभक्तसहित त्यो बेला राणाशाहीविरुद्ध लडेकाहरूबारे आज मेरा नातिनातिनाले पुस्तकहरूमा उसैगरी पढिरहेका छन् तर ती अमर सहिदले केका लागि, किन लडेका थिए भनेर अझै बुझ्न–बुझाउन सकिएको छैन ।’

तत्कालीन राणाशाहीले धर्मभक्तलाई ३२ वर्षकै उमेरमा १९९७ माघ १३ गते फाँसी सजाय दिएको थियो ।

८३ वर्षीया रेणुदेवी केही वर्षयता छोराका साथमा अमेरिकाको पेन्सिलभेनियामा बस्दै आएकी छन् । दसैं–तिहारका अवसर पारेर काठमाडौं आएकी उनी शनिबार अर्को एक अवसर पनि कुरेर बसेकी थिइन् ।

भारतको इलाहावादबाट गृहविज्ञानमा स्नातक गरेपछि काठमाडौं फिरेकी रेणुदेवीले महेन्द्र आदर्श विद्याश्रममा झन्डै ३० वर्ष लगातार पढाइन् । त्यसपछि बुबा धर्मभक्तका नाममा नख्खु, ललितपुरमा विद्यालय खोलेर अनाथ–विपन्नका लागि समेत सहयोग पुग्ने गरी कक्षा चलाइन् ।

‘मेरो बुबाको पुस्ताले राणाशाहीविरुद्ध जीउज्यान दियो,’ रेणुदेवी भन्छिन्, ‘पछि पञ्चायत भनियो, प्रजातन्त्र, गणतन्त्र हुँदै अहिले लोकतन्त्र भनिएको छ । लोकतन्त्रका नाममा दलहरू हरहमेसा झगडामा व्यस्त देखिन्छन् । सधैं पद, कुर्सी र शक्तिकै लडाइँ देखिन्छ । एकातर्फ सहिदहरूले सुधारिएको शासन–पद्धतिको चाहना राख्दै आफ्नो जीउज्यान त्याग्ने र अर्कातर्फ सहिदको सपना भन्दै मञ्चबाट अनेक मीठा कुरा सुनाइरहने विरोधाभास ज्युँका त्युँ छ।’

सहिदपुत्री रेणुदेवीले पछिल्ला वर्षमा भने सहिदको ‘सही अर्थ’ बुझ्न सकेकी छैनन् । यो खबर आजको कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन्।

‘लोकतन्त्र आएको कुरामा केही हदसम्म सहिदको सपना पूरा भयो होला । तर, साधारण जनताले गरेको गाँस–बास–कपासको अपेक्षा पूरा हुन सकेका छैनन्,’ उनले भनिन्, ‘म ५० वर्ष नपुग्दै काठमाडौंमा मेलम्चीको पानी ल्याउने भनेर सरकारका योजना र कार्यक्रम आएका हुन् । आज म ८३ पुगें, तर काठमाडौंमा मेलम्ची सपनामै सीमित छ।’

सहिद चिन्ने–चिनाउने कुरा गर्दा ‘कसलाई सहिद भन्ने? किन भन्ने ?’ भन्ने तहमा आफू पुगेको उनी सुनाउँछिन्।

‘गाडीले कुल्चेर मरे पनि सहिद, झ्यालमा घाम तापेर बसिरहेका बेला गोली लागेर मरे पनि सहिद...। सहिद ज्ञात–अज्ञात कति हो कति,’ रेणुदेवीलाई लाग्ने गर्छ, ‘तानाशाही शासनशैलीविरुद्ध देश र जनताका नाममा हाँसीहाँसी फाँसीमा चढ्न तयार धर्मभक्तहरूको इतिहासको आज के अर्थ रह्यो त ? धर्मभक्त, शुक्रराजहरू सहिद कि को सहिद ?’

चार सहिदको इतिहाससमेत भुलेर सहिदगेट भत्काउनेसम्मको राजनीतिक प्रयास भएको सुनेर उनी अचम्ममा परेकी रहिछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad