म्यागेजिन


मौसम मापनमा क्रान्ति ल्याउन कस्सिएकी यी वैज्ञानिक

मौसम मापनमा क्रान्ति ल्याउन कस्सिएकी यी वैज्ञानिक

मणि दाहाल
काठमाडौं, असार ४

यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ। औसत समयभन्दा तीन दिनअघि नै नेपाल भित्रिएको मनसुनले सुरुमै मनाङ र सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति गरिसकेको छ।

तर, सिन्धुपाल्चोक वा मनाङको अघिल्ला वर्षहरुको मौसमी तथ्यांक खोज्ने हो भने पर्याप्त विवरण हामी फेला पार्न सक्दैनौँ। किनभने हामीसँग पर्याप्त मापन केन्द्र नै छैनन्। पछिल्ला वर्षहरुमा मौसममा कस्तो परिवर्तन आउँदैछ, त्यसले बाढीपहिरोलगायत विपत्तिको जोखिमलाई कसरी बढाइरहेको छ भन्ने अध्ययन गर्न यस्तो तथ्यांक आवश्यक पर्छ।

यही कमी पुरा गर्ने प्रयास गरिरहेकी छन्– काठमान्डु इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस (कियास) की वैज्ञानिक डा. हेमु काफ्ले। आफैँले मौसम मापन केन्द्र बनाएकी काफ्ले मौसम मापनको आवश्यकता अहिले झन् बढ्दै गएको बताउँछिन्।

‘आजभोलि पूर्वानुमानहरु बढी असफल हुँदैछन्। पहिले यो मितिमा नेपालमा मनसुन भित्रिन्छ भन्दा ठ्याक्कै त्यस्तै हुन्थ्यो। यो यो स्थानमा यति यति पानी पर्छ र तापक्रम यति हुन्छ भन्नेर मौसमविद्हरुले जुन रुपमा ढुक्कले भन्नुहुन्थ्यो अहिले त्यो गाह्रो छ,’ काफ्लेले भनिन् ‘अहिलेको अवस्था कस्तो छ भने कि निर्धारण गरेको मितिभन्दा चाँडो सुरु हुने वा ढिलो हुने वा एक्स्ट्रिम हुन थालेको छ।’

नेपालमा भौगोलिक अविस्थितिको कारणले पनि मौसम अनुमान ठ्याक्क नमिल्ने र त्यसका लागि धेरै वटा मापन केन्द्र आवश्यक पर्ने उनको भनाइ छ।

HemuKafle 22

‘उत्तर–दक्षिणमा २५० किलोमिटरको अन्तरमा मौसममा आकास–जमिनको फरक छ। यही दुरीभित्र धेरै गर्मी हुने र हिँउ पर्ने स्थान छन्,’ उनले भनिन्, ‘काठमाडाैँ उपत्यकाको एक स्थानमा राखेको मौसम नाप्ने यन्त्रले पुरै काठमाडौंको मौसमी अवस्थाबारे जानकारी दिन सक्दैन। केही किलोमिटरकै अन्तरमा ठूलो मौसमी भिन्नता देखिन्छ।’

२७ देखि ३० डिग्री उत्तरी अक्षांसभित्र पर्ने नेपालको मौसम सामान्यतः उष्ण हुनुपर्ने हो। तर, उचाइ र भौगोलिक बनोटका कारण यहाँको मौसममा विविधता छ।

HemuKafle 2

देशभरमा जल तथा मौसम विज्ञान विभागका २ सय ८२ वटा मौसम मापन केन्द्र छन्। २० वटालाई प्रमुख आधार बनाएर विभागले देशभरको मौसमी अवस्थाको बारेमा जानकारी गराउने गरेको छ। तर, अहिलेसम्म सबैलाई रियल टाइम स्टेसन पनि बनाउन सकेको छैन।

‘विश्वव्यापी र क्षेत्रीय प्रभावलाई हामीले परिवर्तन गर्न सक्दैनौँ। उदाहरणका लागि एल निनो भनिने मौसमी अवस्थाका कारण नेपालको पश्चिमी क्षेत्रमा खडेरी देखिएको छ। तर, स्थानीय अवस्थालाई भने हामीले केही परिवर्तन गर्न सक्छौँ,’ उनले भनिन् ‘हामीले मौसमको स्थिति नहेरी जथाभावी रुपमा घर बनाएका छौ। दुई वर्षजति अघि भक्तपुर क्षेत्रमा बाढी आयो। किन आयो? पानी बग्ने स्थानमा भौतिक संरचना निर्माण गरेका छौँ त्यसैले।’

HemuKafle 5

नेपालमा हुने वर्षामध्ये ८० प्रतिशत मनसुनको चार महिनामा पर्छ। बाँकी समयमा नगन्य मात्रामा पानी पर्छ।

‘४–५ महिना परेको पानीले हामीले वर्षभर चलाउनु पर्ने हुन्छ। अर्कोतिर दुई दिनमै अत्यधिक वर्षा भयो भने पनि त्यो काम लाग्दैन। न त्यो माटोले लिन सक्छ न बालीनालीका लागि उपयुक्त हुन्छ,’ काफ्ले भन्छिन्, ‘अहिले गर्मी भयो भने एकदमै गर्मी भइरहेको छ। जसले खडेरी बढिरहेको छ। मौसम र खाद्यान्न उत्पादन एक अर्कोसँग सम्बन्धित छ। खाद्यान्न मानिससँग जोडिएको विषय भयो।’

काफ्लेले बनाएको सस्तो मौसम मापन केन्द्र दर्ताको अन्तिम चरणमा छ। उनी मौसमलाई मानव जीवनसँग अभिन्न रुपमा जोडिएको विषय मान्छिन्।

‘मानिसको सुरक्षा, समाजिक सुरक्षा र खाद्यान्न सुरक्षादेखि दैनिकी चलाउनका लागि मौसमको सही जानकारी आवश्यक पर्छ,’ काफ्लेले भनिन्, ‘यो वर्षको यो महिनामा यहाँ खडेरी हुन्छ भन्न सक्यौँ भने किसानले त्यसैअनुसारको तयारी गर्न समय पाउँथे। सरकारलाई पनि सिँचाइ कसरी उपलब्ध गराउने भन्ने थाहा हुन्थ्यो।’

नेपालमा हरेक वर्ष पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी, डुबानको समस्या हुने गर्छ।

‘हामीसँग कुनै पनि स्थानको पर्याप्त मात्रामा जानकारी हुन्थ्यो भने त्यसैअनुसार योजना बनाउन सक्थ्यौँ,’ काफ्लेले भनिन्, ‘मौसमविद् नै पानीमा रुझ्दै हिँडेको छ भनेर मजाक पनि गर्छन् मान्छेहरु। तर, यसरी अनुमान नमिल्नुको कारण हामीसँग पर्याप्त तथ्यांक छैन, जसलाई संकलन गर्ने उपकरण पर्याप्त छैन।’

HemuKafle 8

आफैँले यसरी बनाइन् मौसम मापन केन्द्र
जापानको नागोया विश्वविद्यालयबाट रिमोट सेन्सिङमा पीएचडी गरेकी काफ्लेको अध्ययनको विषय खडेरी हो।

त्यस विषयमा इजरायलमा पनि अध्ययन गरेकी उनलाई इजरायलीहरुको काम गराइ पनि निकै मन पर्छ।

‘इजरायलमा मैले रिसर्च गर्दा जुन स्थानमा थिएँ, त्यहाँ एक वर्षमा मुस्किलले ५० मिलिमिटर पानी पर्छ। तर इजरायलले स्थानअनुसारको मौसमलाई अध्ययन गरेर त्यसलाई अनुकूल हुने प्रविधि विकास गरेर खेती गरेको छ,’ उनले भनिन्, ‘त्यति मिहिनेत गरेर उनीहरुले फलफूल निर्यात गर्छन्। हामीले भने यति राम्रो मौसम हुँदाहुँदै बाहिरबाट खाद्यान्न आयात गर्नु पर्छ।’

उनले नेपालमा खडेरीको अवस्थाको बारेमा अध्ययन सुरु गरेकी थिइन्। तर पर्याप्त तथ्यांक नभेटेपछि मौसम मापन केन्द्र बनाउने सोच बनाइन्।

‘खडेरीको अनुसन्धान गर्न ठाउँठाउँमा मौसम मापन केन्द्र आवश्यक थियो। तर त्यहि चाहिँ हामीसँग थिएन,’ उनले भनिन्, ‘स्याटलाइटले जहाँ खडेरी देखाएको थियो, त्यहाँको डेटा खोज्न थालेँ। धेरै डेटा भेटिएन। भेटिएको स्थानमा पनि विश्वास गर्ने खालको थिएन।’

त्यसपछि उनले मौसम मापन केन्द्र किन्न खोजिन्। तर, त्यो महंगो थियो।

‘१० हजार अमेरिकी डलरको कोटेसन पठायो,’ उनले भनिन्, ‘इजरायलमा अध्ययन गर्दा सानो चिटिक्क परेको मौसम मापन केन्द्र थियो। ट्रकमा हालेर एक ठाउँबाट अर्को स्थानमा लैजान सकिन्थ्यो। त्यहाँ त्यस्तो बनाउन सकिन्छ भने यहाँ किन नबनाउने भन्ने लाग्यो।’

त्यसका लागि काफ्लेले युनेस्कोले प्रदान गर्ने प्रतिष्ठित ‘अर्ली करिअर फेलोसिप’मा आवेदन दिइन्।

काफ्लेको प्रस्तावका लागि युनेस्को अन्तर्गत इटलीमा मुख्यालय रहेको अर्गनाइजेसन अफ विमिन साइन्स इन डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी) ले विकान्सोमुख देशका महिला वैज्ञानिकलाई अनुसन्धानका लागि दिने ५० हजार अमेरिकी डलर (५९ लाख रुपैयाँ) प्रदान गर्‍यो।

फेलोसिपको रकमले उनले आफ्नो प्राविधिको विकास गरेर मौसम मापन केन्द्र निर्माण गरेकी छिन्। जसलाई ललितपुरको धोबीघाटस्थित कियासकै कार्यालयमा राखिएको छ।

HemuKafle 7

सुरुमा जल तथा मौसम विज्ञान विभागसँग आफूले बनाएको मापन केन्द्रले संकलन गरेको डेटासँग जाँच गर्न खोजिन्। कीर्तिपुरमा रहेको मापन केन्द्रमा एक महिनाको अनुमति प्राप्त गरिन्।

‘धेरै पटकको अभ्यासपछि सफल भयो। यो लकडाउनमै घरमै लगेर पनि भाइहरुले काम गरे। मापन केन्द्र निर्माण गरेपछि हामीले त्रिविमा रहेको डीएचएमको मापन केन्द्रमा लगेर परीक्षण गर्‍यौँ,’ उनले भनिन्, ‘दैनिक गएर हेर्न अफ्ठ्यारो हुने भएपछि त्यसमा सुधार गर्‍यौँ। फेरि सरकारले एक महिनाको मात्रै चिठ्ठी बनाइदिएको थियो। एक महिनामा डेटाको तुलना गरेर मात्रै नहुने भएकाले हामीले स्टेसन नै किन्यौँ।’

त्यो तथ्यांक जाँच गर्न उनले भारतबाट छुट्टै मौसम मापन केन्द्र खरिद गरेकी छिन्।

‘प्रस्ताव बनाउँदा मैले स्टेसन किन्ने भनेको थिइनँ। तर आफैसँग नभई नहुने भयो। रकम खर्च गरेर स्टेसन नै किन्यौं। आवरणदेखि सबै विषयमा तुलना गर्न सक्ने भयौँ,’ उनले भनिन्।

उनले तयार पारेको मापन केन्द्र सार्न सहज छ।

HemuKafle 3

‘नेपालमा तापक्रम, आर्द्रता, हावाको गति वा अन्य सामान्य विषय मात्रै नाप्न उच्च प्रविधियुक्त मापन केन्द्र चाहिने हो कि होइन, त्यो पनि हेरौँ भन्ने हो,’ उनले भनिन्, ‘अहिलेसम्म मौसम मापनको प्रविधि आयात गरिन्थ्यो। तर, हामीले त्यो प्रविधि आफैँले विकास गरेका हौँ।’

अन्यले बनाइसकेको मौसम मापन केन्द्र बनाउन ठूलो सफलता नभएको उनको भनाइ छ।

‘नभएको काम हामीले गरेको होइन। संसारले कति उच्चस्तरीय बनाएको छ। तर, नेपालमै बनाइएको थिएन। जल तथा मौसम विज्ञान विभागले प्रत्येक वर्ष कति रुपैयाँ खर्च गरेर मौसम मापन केन्द्र किन्ने गरेको छ। विभागले जर्मनीबाट महंगो मौसम केन्द्र ल्याउँछ, फेरि पार्टपुर्जा बिग्रियो भने ल्याउन समस्या छ,’ उनले भनिन्, ‘नेपालमै बनाएपछि यहाँको क्षमता पनि विकास हुने भयो। बिग्रियो भने कम्पनी यहीँ छ, पार्टपुर्जा पनि पाइने भयो। त्यसैले खर्च निकै कम लाग्ने भयो।’

करिब २ वर्षदेखि निर्माण र परीक्षण गर्दै आएकी उनले नेपाली जनशक्ति र स्रोतको प्रयोग गरेर मौसम मापन केन्द्र बनाउन सकेकोमा भने गर्व लागेको बताइन्।

‘मैले बनाएको प्रविधिमा के कुरामा गर्व छ भने नेपालमै बसेर, यहीँको जनशक्तिको प्रयोग गरेर, नेपालकै स्रोतहरुलाई प्रयोग गरेर वैज्ञानिक उपकरण बनाउन सकियो। जुन बाहिरबाट ल्याएको उपकरणको बराबर छ। खुसी त्यसमा छौँ।’

पार्टपुर्जा निर्माणमा उनले नेपाली इलेक्ट्रोनिक्स इन्जिनियरहरुलाई प्रयोग गरिन्।

HemuKafle 16

 

‘सुरुमा यो सामान पनि, त्यो सामान पनि बाहिरबाट मगाउनुपर्छ भन्नु हुन्थ्यो। के सबै सामान भारत वा चीनबाट निर्भर हुने? हामीले जे सक्छौ सबै बनाऊँ र जे सक्दैनौ, त्यो मात्रै बाहिरबाट ल्याऔँ भन्ने भयो,’ उनले भनिन्, ‘कति पुस्तासम्म हामीले बाहिरबाट सामान मगाउने? यसमा केही इगोको विषय पनि आयो। जति सकिन्छ यतै बनाउँ न भन्ने भयो। पटकपटक कोसिस गरेपछि सफल भयौँ।’

भर्खर अध्ययन सम्पन्न गरेकाहरुसँग काम गराइको अनुभव लिएकी उनी भन्छिन्, ‘व्यवहारिक अभ्यास निकै कम छ। त्यसैले समस्या छ।’

६० हजारमा मौसम मापन केन्द्र
मानिसको जीवनसँग प्रत्यक्ष रुपमा जोडिने भएपनि नेपालमा मौसमको विषयमा कमै अनुसन्धान तथा जानकारी रहेको काफ्लेको बुझाइ छ।

उनी नेपालको मौसमलाई विविधतायुक्त र उत्कृष्ट मानिन्छ।

‘हाइ अल्टिच्युटको छाड्ने हो भने हाम्रोमा मौसम अवस्था राम्रो छ। बाँकी क्षेत्र पहाड र तराईमा कुनै प्रविधिको प्रयोगविना नै हामीले बाँच्न सक्ने मौसमी अवस्था छ,’ काफ्लेले भनिन्, ‘काठमाडौमै पनि वर्षमा कति दिन माइनसमा तापक्रम जान्छ र? ३० डिग्री सेल्सियस भन्दा बढी गर्मी हुने दिन पनि निकै कम छ।’

देशभर मौसम मापन केन्द्र पुर्‍याउने र मौसमको बृहत तथ्यांक राख्ने उनको चाहना छ।

‘कम्तीमा ३० वर्षको डेटा विश्लेषण गरेनौँ भने मौसमको सही अनुमान  गर्न सक्दैनौँ। त्यति समयको हुने हो भने यो स्थानमा यस्तै मौसम हुन्छ है भन्न सक्छौ। एक वा दुई वर्षको मात्रै तथ्यांक लिएर सही अनुमान हुन सक्दैन,’ उनी भन्छिन्, ‘भौगोलिक अवस्थिति र उचाइको कारण मौसममा धेरै फरकपन पनि छ। त्यसलाई हामीले तथ्यांक राखेर विश्लेषण गर्न सक्यौँ भने स्थानीयस्तरको नीति प्रभावकारी बनाउन सक्छौँ।’

HemuKafle 23

काफ्लेले स्थानीय तहसँगको सहकार्यमा मापन केन्द्र राख्ने योजना पनि बनाएकी छन्।

‘अहिले स्थानीय तह निकै ठूला भएका छन्। कम्तीमा वडा तहमा राख्ने हो भने उचित हुन्छ। स्थानीय तहसँग सहकार्य गरेर जाने योजना छ,’ उनले भनिन्, ‘मैले प्राप्त गरेको फेलोसिप उद्यम खोल्नका लागि पनि हो। त्यसका लागि छुट्टै रकम पनि उपलब्ध गराउँछ।’

उनले स्थानीय तहले सहकार्य गरे ६० हजार रुपैयाँमै मौसम मापन स्टेसन निर्माण गरेर दिन सकिने बताइन्।

‘यसलाई देशका विभिन्न स्थानमा लगेर राख्ने योजना छ तर लकडाउनको कारण कति स्थानमा पुग्न पाएकै छैन,’ काफ्लेले भनिन्।

यी पनि :

विज्ञान र मौलिक ज्ञानलाई बजारसँग जोड्न तम्सिएकी वैज्ञानिक 

पाँच नेपाली महिला वैज्ञानिक, हरेकले पाए ५० हजार डलरको प्रतिष्ठित फेलोसिप

असार ४, २०७८, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .