म्यागेजिन


विज्ञान र मौलिक ज्ञानलाई बजारसँग जोड्न तम्सिएकी वैज्ञानिक

विज्ञान र मौलिक ज्ञानलाई बजारसँग जोड्न तम्सिएकी वैज्ञानिक

मणि दाहाल
काठमाडौं, चैत ५

केटाकेटीमा हातगोडा फुट्दा उनकी हजुरआमाले चिउरीको घिउ लगाइदिन्थिन्। दुईतीन दिन लगाउँदा फुटेको बिसेक हुन्थ्यो। तर, उनलाई चिउरीको घिउ मन पर्दैनथ्याे। किनभने त्यो ठुस्स गनाउँथ्यो र च्यापच्याप लाग्थ्यो।

त्यसको करिब तीन दशकपछि डा. प्रतिभा पाण्डेले चिउरीकै घिउबाट क्रिम उत्पादन थालेकी छन्।

‘आफ्नै ल्याबमा फर्मुलेट गरेको हो,’ पाण्डेले भनिन्, ‘नेपालमा एकदुई वटा कम्पनीले मात्रै यस्तो गर्छन्। आफ्नै ल्याबमा विकास गरेर आफैँ उत्पादन गर्ने हामी मात्रै हाैं।’

ललितपुरको नख्खुस्थित ल्याबमा अनुसन्धान र उत्पादन गर्ने पाण्डेले उत्पादित सामग्रीहरुको बिक्रीका लागि झम्सिखेलमा आउटलेट सञ्चालन गर्दै आएकी छन्।

PratibhaPandey 15 speak

आफ्नो यो ब्रान्डलाई पाण्डेले ‘हर्बेदा बोटानिक्स’ नाम दिएकी छिन्। हर्बेदाले क्रिम, सिरप, साबुनलगायत स्किन केयरसम्बन्धी सामग्री उत्पादन गरिरहेको छ।

‘तुलनात्मक रुपमा सजिलो हुने भएकाले स्किन केयरको उत्पादन थालेका हौँ,’ पाण्डेले भनिन्, ‘अन्य वस्तु पनि चाँडै नै बनाउने छौँ।’

अमेरिकाबाट रसायनशास्त्रमा विद्यावारिधि गरेकी पाण्डेले युनेस्को अन्तर्गत अर्गनाइजेसन फर विमिन इन साइन्स फर द डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी)बाट अनुसन्धान वृत्ति समेत प्राप्त गरेकी छन्।

सन् २०१९ मा प्राप्त सो अनुसन्धान वृत्तिअन्तर्गत पाण्डेको फरकफरक उचाइमा कागती र सुन्तलाको गुणमा हुने परिर्वतन विषयक अनुसन्धान अहिले जारी छ।

PratibhaPandey 4 items

कम्पनीको सुरुवात
पाण्डेले सुरुमा स्किन केयरको सामग्री उत्पादन गर्छु भन्दा धेरैले आश्चर्य प्रकट गरे।

‘अमेरिकाबाट यत्रो पढेर आएपछि पनि ब्युटिसियनको काम किन गर्नु परेको होला?’ मानिसहरु हैरानी व्यक्त गर्थे।

‘वैज्ञानिकले खालि रकेट उडाउने काम मात्रै गर्छ भन्ने सोच्दा रहेछन्,’ उनले भनिन्, ‘तर, जब हाम्रा उत्पादन बजारमा आयो र प्रभावकारी देखियो, त्यसपछि भने यस्ता प्रश्न कम भएका छन्।’

सन् २०१५ मा अध्ययन सकेर उनी नेपाल फर्केकी थिइन्। त्यसपछिको केही समय उनले यहीँ बसेर अमेरिकाको एउटा सेमिकन्डटर कम्पनीको सिंगापुर विङ्सको नेतृत्व गरिन्। उनलाई कम्पनीको चीन, जापान र सिंगापुरमा भइरहेको अनुसन्धानको नेतृत्व गर्ने प्रस्ताव थियो। आउजाउ गर्न सजह हुने भएकाले उनले सिंगापुरको टिमलाई नेतृत्व गरिन्।

‘आधा समय उनीहरुलाई दिन्थेँ। आधा समयमा नेपाल सरकारका विभिन्न अनुसन्धान कार्यमा संलग्न भएर काम गरेँ। यो क्रम दुई वर्ष चल्यो,’ उनले भनिन्, ‘यहाँका परिस्थिति केही बुझेपछि मलाई जडिबुटीको भ्यालु चेनमा काम गरौँजस्तो लाग्यो। त्यसपछि मात्रै सबैभन्दा लोअर भ्यालु चेनमा स्किन केयरमा काम गर्छु भन्ने भयो।’

सन् २०१७ मा उनले आफ्नै अनुसन्धान संस्था र व्यावसायिक कम्पनी स्थापना गरेर काम सुरु गरिन्। त्यस क्रममा उनले पश्चिम र मध्य पश्चिमको धेरै वटा पहाडी जिल्लाको भ्रमण गरिन्।

PratibhaPandey 14 speak

स्किन केयरको फर्मुला निर्माण उनले गर्दै आएको अनुसन्धानको सुरुवाती पाटो हो। फरकफरक उचाइमा फल्ने फलफूलको गुणमा कसरी र कति परिवर्तन हुन्छ? सुन्तलाको बोक्रामा कस्तो प्रकारको औषधिजन्य तत्व छन्? तिनलाई खाना, शृंगारका सामग्रीको रुपमा कसरी प्रयोग गर्न सकिन्छ? लामो समयसम्म प्रयोग गर्न सकिने कसरी बनाउन सकिन्छ? जस्ता विषयमा उनी अध्ययन गरिरहेकी छन्।

त्यसैगरी जीवाणु तथा ढुसीहरुमा रहेको औषधिजन्य तत्वलाई विस्तार गर्ने सम्भावनामाथि पनि अध्ययन भइरहेको छ।

‘औषधिनै उत्पादन गर्ने लक्ष्य छ,’ पाण्डेले भनिन्।

औषधिजन्य वस्तुहरुको अनुसन्धान कम्पनी क्याटलिस्ट पनि उनी चलाउँछिन्।

शिक्षामन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय विज्ञान परिषदको सदस्य समेत रहेकी पाण्डेले अनुसन्धान र नवप्रवर्तन कार्यक्रमको संयोजन गर्छिन्। केही समय अघिसम्म स्थापनाको चरणमा रहेको गण्डकी विश्वविद्यालयको ट्रस्टीको रुपमा पनि उनी कार्यरत थिइन्। 

PratibhaPandey 9 items

औषधिमा काम गर्न चाहना
काठमाडौँको मिनभवनस्थित ईपीएस स्कुलबाट एसएलसी गरेपछि उनले सेन्ट जेभियर्सबाट आईएस्सी गरेकी थिइन्।

‘नेपालमा बसेको भए आईएस्सी सकिएपछि डाक्टर वा इन्जिनियर के बन्ने छान्नुपर्ने हुन्थ्यो। अहिले नै छानेँ भने त एउटा विषयको घेरामा पर्छुजस्तो लाग्यो,’ पाण्डेले भनिन्, ‘विदेश जाँदा दुई वर्षपछि विषय छान्न पाउने रहेछ। अन्तिम समयमा आवेदन दिएपछि फुल स्कलरसिपमा पढ्ने अवसर पाएँ।’

अमेरिकाको नर्थ क्यारोलाइनास्थित सेलम कलेजबाट रसायनशास्त्र र गणितमा स्नातक गरेकी उनले नर्थ वेस्टर्न युनिभर्सिटीबाट पीएचडी गरेकी हुन्।

‘कलेजको कम्प्युटर ल्याबमा सातामा २० घण्टा काम गर्दै चार वर्षको कोर्स तीन वर्षमै सकेँ। आफ्नो क्षमताअनुसार कोर्सलाई चाँडो सक्न पाइने थियो,’ पाण्डेले भनिन्, ‘कति सेमेस्टरमा गर्न सकिँदैन कि क्या हो भनेर रोइयो पनि, तर रसायनशास्त्रमा मैले प्रेसिडेन्ट प्राइज पाएँ।’

सन् २०१५ मा नेपाल फर्किंदा पाण्डेलाई औषधि उत्पादक कम्पनीमा काम गर्ने मन थियो।

‘यहाँ धेरैजस्तो औषधि उद्योगहरुमा बाहिरबाट सबैथोक सामान ल्याउने र प्याकेजिङ गरेर बेच्ने गरिँदो रहेछ,’ उनले भनिन्, ‘इनोभेसनको काम नभएकाले त्यसमा काम गर्न मन लागेन। च्याउसरी औषधि उद्योग खुलेको छ। तर, इनोभेसनको मामिलामा कतिपय कम्पनीको ल्याबमा मैले सञ्चालन गरेको ल्याबमा जति पनि काम हुँदैन।’

नख्खुस्थित प्रयोगशालामा उनको मातहतमा सात जना अनुसन्धानकर्ता छन्। तर, यसमा विभिन्न जिल्लाका सयौँ महिला जोडिएका छन्।

‘प्रयोगशालामा गरेको अनुसन्धानलाई कसरी औद्योगिक क्षेत्रमा ल्याउने र आर्थिक विकासमा लगाउने भन्ने विषयमा त्यहाँ मैले अध्ययन गरेकी हुँ,’ पाण्डेले भनिन्, ‘त्यसपछि मलाई औद्योगिक उत्पादन तथा आर्थिक विकास जस्तो विषयमा चासो बढेको हो। जुन अहिले नेपालमा अभ्यास गर्दैछु।’

PratibhaPandey 10 stand

नेपालमा अनुसन्धानका समस्या
पाण्डेसँग नेपाल, सिंगापुर र अमेरिकामा काम गरेको अनुभव छ। यी तीन स्थानमा अनुसन्धान गर्दा उनले देखेको सबैभन्दा ठूलो फरक हो– अनुसन्धानको संस्कृति र आचार।

अनुसन्धानका लागि विश्वविद्यालय, सरकारी संस्था, बजार र अनुसन्धान केन्द्रबीच जुन प्रकारको चक्र निर्माण हुनुपर्ने हो, त्यो नेपालमा नभएको उनको भनाइ छ।

‘विदेशी विश्वविद्यालयमा प्रोफेसरहरुले ल्याबमा गरेको अनुसन्धानलाई कम्पनीको रुपमा अघि बढाउँछन्। त्यसलाई विश्वविद्यालयले सहयोग गर्छ,’ पाण्डेले भनिन्, ‘तर, त्यो हाम्रोमा छैन। विश्वविद्यालयमा कसैले व्यक्तिगत पहलमा कुनै अनुसन्धानका लागि फन्ड ल्यायो भने पनि त्यसलाई खर्च गर्न धेरै प्रशासनिक अफ्ठ्याराहरु छन्।’

सरकारी अनुसन्धान केन्द्रसँग आबद्ध भएर अनुसन्धान गर्न खोज्दाको उनको अनुभव पनि राम्रो छैन।

‘ओडब्लूएसडीको ग्रान्टका लागि सरकारी अनुसन्धान संस्थासँग आबद्ध भएर निवेदन दिन खोजेकी थिएँ। तर प्रक्रिया निकै लामो र रकम आएपछि पनि त्यसको बाँडफाँटको समस्या हुने देखियो,’ उनले भनिन्, ‘त्यसैगरी केही किन्नु पर्‍यो भने त्यसमा पनि प्रक्रियागत समस्या। त्यसपछि साथीहरुले सञ्चालन गर्नु भएको अन्य ल्याबसँग सहमति गरेरर काम गरेँ।’

उनले कुनै व्यक्तिको नभई प्रणालीमै समस्या देखेको बताइन्।

‘केही नयाँ कुरा गर्न खोज्दा सहजीकरण गर्दा म पनि फस्छु, मलाई सिस्टमले फसाउँछ वा मेरा विरोधीले फसाउँछन् भन्ने सोच संस्थाको नेतृत्वमा बसेकाहरुमा छ,’ उनले भनिन्।

नेपालमा अनुसन्धानका लागि ठूलो रकम ल्याउन समस्या रहेको उनले बताइन्।

‘रकम ल्याउने तर भनेको जस्तो उपकरण नकिन्ने, भनेको जस्तो अनुसन्धान नगर्ने, राम्रो जर्नलमा पनि प्रकाशित नगराउने, पेपर लेख्दा पनि डेटालाई तोडमोड गर्नेजस्ता एकदुई घटना भएपछि नेपालबाट रिसर्च प्रकाशित गर्न पनि धेरै गाह्रो छ,’ उनले भनिन् ‘मैले त्यही डेटा अन्य स्थानबाट पठाएँ भने पत्याउँछन् तर नेपालबाट पठाउँदा त्यसलाई स्वीकार गर्न गाह्रो हुने गरेको छ। त्यसैले धेरै ठूलो अनुसन्धान रकम ल्याउन गाह्रो छ।’

त्यसका लागि सहकार्यमा परियोजनाहरु ल्याउनु पर्ने उनको धारणा छ।

‘निजीभन्दा सरकारी संस्था वा विश्वविद्यालयले पहल गरे अनुसन्धानका लागि बढी रकम ल्याउन सक्छन्। विश्वविद्यालय राम्रो हुन्थ्यो भने बढी विश्वास गरेर पठाउथे होलान्,’ उनले भनिन्।

नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी कानुन सशक्त नहुनु पनि अनुसन्धानको अर्को समस्या भएको उनी ठान्छिन्। त्यसैगरी अनुसन्धानभन्दा पढाउनमा समय बढी खर्च गर्ने, उद्यमशीलता अघि चाहने कम भएको उनको भनाइ छ।

‘पढाउँदा हामीले त्यस प्रकारको ज्ञान नै दिएका हुँदैनौ। विज्ञान, विज्ञान, विज्ञान भन्छौँ तर यसलाई प्रयोग गरेर जीवनलाई अघि बढाउन सिकाउनु पनि पर्‍यो नि,’ पाण्डेले भनिन्, ‘नेपालमा रिसर्च एथिक्स एकदमै कमजोर छ। हामीले पठाउने भनेको घोकन्ते तरिका हो। आलोचनात्मक चेतबारे निकै कम सिकाइन्छ। अनुसन्धानका लागि आलोचनात्मक चेत हुन जरुरी हुन्छ। ब्याचलर्स गरेको वा मास्टर्स गरको विद्यार्थीलाई त्यो सिकाउनै एकदुई वर्ष लाग्छ।’

PratibhaPandey 8 items

रसायनशास्त्र, नानो टेक्नोलोजी र जडिबुटी
हर्बेदा बोटानिक्स सुरु गरेपछि अनेकौँ प्रश्न आए पनि उनले आफ्नो कामलाई निरन्तरता दिइन्। केहीले प्रोत्साहित पनि गरे।

‘हामीले मौलिक ज्ञानलाई अघि बढाउन सकेका छैनौँ। तिमीले धेरै राम्रो काम गर्‍यौ भन्नुहुन्छ,’ उनले भनिन्, ‘वैज्ञानिक समुदायबाट राम्रो प्रतिक्रिया छ। धेरैले यस्तो काम गर्न खोज्नु भएको पनि छ।’

पाण्डेको रसायनशास्त्र र गणितमा विशेष रुचि छ।

‘मैले जीवविज्ञानको कक्षा पनि लिएकी थिएँ। अर्थशास्त्र, भूगोल र संगीत पनि पढेको हो। त्यसले आफ्नो ज्ञानको दायरालाई बढाउने रहेछ। विज्ञानलाई कसरी कलाको अवधारणाबाट हेर्ने, इतिहासको अवधारणाबाट हेर्ने भन्ने हुन्छ। एउटा मात्रै विषयमा अल्झिनु हुँदैन,’ उनले भनिन्।

उनलाई पढाउने गुरुहरुले पनि एउटा विषयमा नअल्झिन उनलाई पटकपटक भनेका थिए।

‘जे पढेको छु, त्यही मात्रै गर्छु भनेर बस्ने होइन रहेछजस्तो लाग्यो। नयाँ कुरा गर्न खोज्ने हो भन,े आलोचनात्मक चेत छ भने गर्न नसकिने हुँदैन,’ उनले भनिन्।

तर, आधारभूत रुपमा आफूले गर्ने सबै कामलाई उनले रसायनशास्त्रमा ढाल्ने गरेकी छन्।

‘नानो टेक्नोलोजी, जडबुटी जे भने पनि त्यो भनेको आधारभूत रुपमा संरचना (स्ट्रक्चर) हो। त्यो कम्पाउन्ड लेभलमा आँखा चिम्लेर सम्झिन सक्ने र बुझ्न सक्ने भएपछि सबै कुरा कम्पाउन्ड जस्तो लाग्छ,’ उनले भनिन्, ‘कम्पाउन्ड लेभलमा बुझेपछि भौतिकशास्त्र, जीवविज्ञान सबै एकै स्थानमा आउँछ।’

दुई वटा पदार्थ निश्चित अनुपातमा मिलेपछि त्यसबाट नयाँ पदार्थ निर्माण हुन्छ। जसलाई यौगिक (कम्पाउन्ड) भनिन्छ।

PratibhaPandey 12 speak

विज्ञान र बजार
विविध विषय अध्ययन गर्न रुचाउने उनले केलग स्कुल अफ म्यानेजमेन्टमा व्यवस्थापन पनि पढ्न पाइन्।

‘त्यसबेला विश्वविद्यालमा अध्ययनरत केही विद्यार्थीलाई छनोट गरेर अध्ययन गर्न अवसर दिइन्थ्यो। ६ बजे क्लास लिन जान्थँे। ९ बजे फर्किएर राति २ बजेसम्म ल्याबमा काम गर्थे,’ उनले सुनाइन्, ‘त्यसले विज्ञान, अर्थतन्त्र हुँदै देशको आर्थिक वृद्धि कसरी हुन्छ भनेर सिक्ने अवसर पाएँ। प्रविधि र बिजनेसबीचमा बसेर काम गर्छु भन्ने भयो।’

नेपाल फर्केपछि उनी त्यही प्रयासमा छिन्– विज्ञान र बजारलाई जोड्ने।

काठमाडौंको मध्यमवर्गीय परिवारमा हुर्केकी उनलाई स्कुले जीवनमा उपत्यकाबाहिर त्रिशुली र सिमरा पुगेको मात्रै याद छ।

‘साथीहरु दशैँको समयमा बाहिर जान्थे। हाम्रो बाहिर जाने ठाउँ थिएन,’ उनले भनिन् ‘बाहिर नजानुको अर्को कारण मोटर सिकनेस थियो।’

अमेरिकाबाट फर्केपछि भने उनले पश्चिम र मध्यपश्चिमको पहाडी क्षेत्र पटकपटक घुम्ने अवसर पाइन्। म्याग्दी, मुस्ताङ, सुर्खेत र मुगुमा अनुसन्धान गरिन्। जडिबुटी व्यापारी, किसान, संकलक, अनुसन्धानकर्तादेखि आम्चीसम्म भेटिन्।

PratibhaPandey 7 items

‘पाउडरहरु बनाउनेलगायतका जुन मौलिक ज्ञान छ, त्यसलाई अलिअलि परिमार्जन गर्ने काम केही हदसम्म भएका छन्। तर, फर्मुलेसनको गरेर उत्पादन गर्ने काम निकै कम छ। फर्मुलेसन अरुबाट गराएर आफूले उत्पादन गर्ने केही छन्। तर, हामीले आयुर्वेदिकदेखि सबै विषयको अनुसन्धान आफैँ गर्दैछौँ,’ उनले भनिन्, ‘जसका कारण ग्राहकबाट आउने प्रतिक्रियाअनुसार हामी तत्कालै परिमार्जनमा जान सक्छौँ।’

यी सबै काममा उनी नवप्रवर्तनलाई जोड दिन चाहन्छिन्।

‘कतिपयले विदेशबाट ग्यालेनका ग्यालेन सामान ल्याउँछन् र नेपालमा प्याकेजिङ गर्छन्। तर, त्यसो गर्दा नेपाली कच्चा पदार्थ प्रयोग हुँदैन,’ उनी भन्छिन्, ‘त्यसबाट उत्पादनको मूल्य अभिवृद्धि पनि हुँदैन, न त नवप्रवर्तन नै हुन्छ।’

त्यसले उनका उत्पादनमा सकेसम्म नेपालमा उत्पादन हुने कच्चा पदार्थ राख्ने गरेको उनको भनाइ छ। सोही अनुरुप छालाबाट फोहोर निकाल्न प्रयोग हुने क्वो, मेरिगोल्ड मिस्ट र भिटामिन सी उत्पादन गरिरहेकी छन् उनी।

‘राम्रोसँग फर्मुलेट गरेको भिटामिन सी सिरप खाँदाभन्दा छालामा लगाउँदा १६ गुणा बढी प्रभावकारी हुन्छ,’ पाण्डेले भनिन्, ‘एन्टी अक्सिडेन्टको परिमाण धेरै भएकाले ६ महिनासम्म टिक्छ।’

त्यस्तै उनले डे तथा नाइट क्रिम उत्पादन गरिरहेकी छन्। सो उत्पादनमा आर्युवेदको धेरै प्रभाव छ। जटामसी, चिउरी, धतेलोको तेल, मुस्ताङमा स्थानीयले प्रयोग गर्ने तोराको तेल (ऐसेलुभन्दा सानो फल, जसबाट जुस बनाएर मुस्ताङमा बेच्ने गरिएको छ) प्रयोग गरिएको उनको भनाइ छ।

‘यूएन र डब्लूडब्लूएफले महिला सशक्तिकरणका लागि तोराको खेती गराएर जुस बनाएर बेच्ने गराएको छ,’ पाण्डेले भनिन्, ‘तर त्यसको बियाँ भने खेर गइरहेको थियो। बियाँमा धेरै एन्टिअक्सिडेन्ट हुन्छ। त्यसलाई हामीले प्रयोग गर्छौँ।’

केटाकेटी हुँदाको स्मृति त छँदै थियो, त्यसमाथि सुर्खेतका महिलाले उत्पादन गरेको चिउरीले बजार नपाएको खबरले उनलाई बिझायो।

‘सुर्खेतमा जीआईजेडले परियोजनामा सहभागी महिलाहरुले उत्पादन गरेको तीन सय टक चिउरीको घिउ बजार नपाएर त्यसै रहेछ,’ उनले भनिन्, ‘त्यसलाई किन प्रयोग नगर्ने भन्ने भयो।’

सुरुमा उनले सुर्खेतबाट चिउरी ल्याउने गरेकी थिइन्। अहिले धादिङ र सोलुखुम्बुका किसान पनि उनीसँग जोडिन आइपुगेका छन्।

‘किसानले मलाई सीधै फोन गर्नुहुन्छ। कति किलो चिउरी पेलेर ल्याइदिऊँ भन्नु भनेर सोध्नु हुन्छ। त्यसलाई सालको पातमा पोको पारेर ल्याउनु हुन्छ,’ पाण्डेले भनिन्, ‘यसलाई सहकारीमार्फत व्यवस्थित गर्न सके अन्यलाई पनि सजिलो हुन्थ्यो।’

व्यापक उत्पादनमा जाने हो भने अहिले जसरी कच्चा पदार्थ संकलन गरिन्छ, त्यसले नधान्ने उनको भनाइ छ।

‘कच्चा पदार्थ संकलनलाई संस्थागत गर्न नसक्दासम्म मास उत्पादनमा जाँदा समस्या आउन सक्छ,’ उनले भनिन्।

 

चैत ५, २०७७, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .