ad ad

समाज


पाँच नेपाली महिला वैज्ञानिक, हरेकले पाए ५० हजार डलरको प्रतिष्ठित फेलोसिप

पाँच नेपाली महिला वैज्ञानिक, हरेकले पाए ५० हजार डलरको प्रतिष्ठित फेलोसिप

मणि दाहाल
असोज १२, २०७७ सोमबार १९:१९,

गएको तीन वर्षमा पाँच नेपाली महिला वैज्ञानिकले युनेस्कोले प्रदान गर्ने प्रतिष्ठित ‘अर्ली करिअर फेलोसिप’ प्राप्त गरेका छन्।

युनेस्को अन्तर्गत इटलीमा मुख्यालय रहेको अर्गनाइजेसन अफ विमिन साइन्स इन डेभलपिङ वर्ल्ड (ओडब्लूएसडी) ले विकान्सोमुख देशका महिला वैज्ञानिकलाई अनुसन्धानका लागि ५० हजार अमेरिकी डलर (५९ लाख रुपैयाँ) दिने गर्छ। 

नेपालबाट सन् २०१८ मा डा. हेमु काफ्ले र डा. शोभा पौडेल, सन् २०१९ मा डा. टिष्टा प्रसाईं र डा. प्रतिभा पाण्डे तथा सन् २०२० मा डा. ज्योति भण्डारीले हरेकले ५० हजार डलरका ती फेलोसिप जितेका हुन्।

महिला वैज्ञानिकहरुले आफूले छानेको अनुसन्धान सञ्चालन गर्न युनेस्कोले सो रकम उपलब्ध गराएको हो। फेलोसिप पाउनेहरुले दुई वर्षभित्रमा अनुसन्धानको रिपोर्ट तयार गर्नुपर्ने हुन्छ।

फेलोसिप अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्स (किआस)की डा. काफ्लेले मौसम मापन केन्द्र निर्माण गर्दै छिन् भने साइन्स हबकी डा. पौडेलले गण्डकी जलाधार क्षेत्रमा जलवायु परिवर्तनको असरलाई कम गर्न अपनाइएका प्रविधिको उपयोगिताबारे अध्ययन गर्दैछिन।

त्यसैगरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) की वैज्ञानिक डा. प्रसाईंले पानीको शुद्धिकरण र रिसर्च इन्स्टिच्युट फर बायोसाइन्स एन्ड बायोटेक्नोलोजीकी डा. पाण्डेले सुन्तलाजन्य फलफूलको बोक्राको उपयोगितासम्बन्धी अध्ययन गरिरहेकी छिन्। पोखरास्थित वन विज्ञान कलेजकी उपप्राध्यापक डा. भण्डारीले अन्नपूर्ण क्षेत्रमा परम्परागत रुपमा औषधिको रुपमा प्रयोग हुने वनस्पतिको बारेमा अध्ययन गर्ने छिन्।

पीएचडी गरेर अनुसन्धान गरिरहेका विकान्सोमुख देशका महिला वैज्ञानिकहरु याे फेलोसिपमा सहभागी हुन पाउँछन्। सन् २०१८ मा सुरु भएकाे यो फेलोसिप तीन वर्षका लागि सञ्चालन गरिएको हो। हरेक वर्ष २० जनाका दरले विकासोन्मुख देशका ६० जना महिला वैज्ञानिकलाई सो फेलाेसिप प्रदान गरेको छ।  जसमा तीनै वर्ष नेपाली महिला वैज्ञानिकले यो फेलोसिप जित्न सफल भए। उनीहरुले नेपालमा विमिन इन साइन्स कमिटी र नेपालमा विज्ञान तथा प्रविधिको अनुसन्धानमा सहभागी भएकाहरुकाे महिला राष्ट्रिय संगठन समेत गठन गरेका छन्।

यसरी प्राप्त भएको रकम उनीहरुले अनुसन्धानका लागि आवश्यक पर्ने उपकरण र अनुसन्धान सहयोगी राख्नमा खर्च गर्न पाउने छन्।

HemuKafle scientist 1

डा. हेमु काफ्ले
जापानको नागोया विश्वविद्यालय रिमोट सेन्सिङमा पीएचडी गरेकी काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्स (किआस)की हावा तथा पानी विभागकी प्रमुख हुन् डा. हेमु काफ्ले। उनको अध्ययनको प्रमुख विषय खडेरी हो। त्यस विषयमा उनले इजरायलमा पनि अध्ययन गरेकी छिन्। उनले जापान, इजरायल मात्रै नभएर नेपालसहित भारत, बंगलादेश र पाकिस्तानमा पनि खडेरीको अवस्थाबारे अध्ययन गरिन्। सुरुमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को वैज्ञानिक रहेकी उनी पछि किआससँग जोडिन पुगेकी हुन्।

महंगो मापन केन्द्रको कारण नेपालमा पर्याप्त मात्रामा मौसमबारे जानकारी प्राप्त हुँदैन। सोही समस्यालाई कम गर्न उनले फेलिसिपमा प्राप्त गरेको रकम सस्तो मौसम मापन केन्द्र निर्माणमा लगाएकी छिन्।

‘१० लाख रुपैयाँ पर्ने मापन केन्द्र ६० हजार रुपैयाँमै निर्माण गर्न सफल भएका छौँ,’ डा. काफ्लेले नेपालखबरसँग भनिन्, ‘हामीले निर्माण गरेको प्रोटोटाइप (नमुना) मापन केन्द्रका उपकरणले काम गरेका छन्। त्यसले दिएको तथ्याकंहरुको विश्लेषण गर्ने काम भइरहेको छ।’

उनले अर्को महिना किआसले आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने तयारी गरिरहेकी छन्।

फेलोसिपले प्रोटोटाइप निर्माणसम्म गर्ने भएपनि त्यसलाई औद्योगिक उत्पादनसम्म पुर्‍याउने काफ्लेको योजना छ।

‘त्यसअघि ६ महिना, एक वर्ष र तीन वर्षको तथ्यांकहरु अहिले प्रयोगमा रहेको मौसम मापन केन्द्रसँग जाँच्ने काम हुन्छ,’ उनले भनिन्।

आफूले कुनै खास योजनाबिनै विज्ञानको अध्ययन सुरु गरेको उनी बताउँछिन्।

‘एसएसलसीमा फर्स्ट डिभिजन आएकोले साइन्स पढ्नु पर्छ भन्ने भयो। केही बन्छु वा यस्तो रमाइलो विषय हो भन्ने नबुझिकनै साइन्स पढ्न थालेकी हुँ,’ काफ्लेले भनिन्।

बुटबलबाट एसएसली गरेकी काफ्लेले पद्मकन्या क्याम्पसबाट आईएस्सी र त्रिचन्द्र कलेजबाट भौतिकशास्त्रमा बीएस्सी गरेकी थिइन्। बिहेपछि अध्ययनको क्रममा पतिसँग इजरायल पुगेकी उनले खडेरीको विषयमा उतै अध्ययन सुरु गरेकी थिइन्।

‘इजरायल हुँदा मौसम मापन केन्द्रको तथ्याकंको अध्ययन गरेकी थिएँ’ काफ्लेले भनिन् ‘जापानमा स्याटलाइटबाट प्राप्त गरेको तस्बिरहरुको अध्ययन गरेँ।’

अन्तरीक्षबाट लिइने यस्ता तस्बिरले एक पिक्सेलमै हजारौँ किलोमिटर देखाउने र त्यो हाम्रोजस्तो भौगोलिक अवस्थिति भएको देशमा काम नलाग्ने भएकाले नेपालमा काम लाग्ने प्रकारकाे अध्ययनको मोडल पनि उनले विकास गरेकी थिइन्।

‘इजरायलमा पोस्ट डक्टरल गर्ने समयमा त्यसको प्रयोग गरेकी थिएँ तर नेपालमा प्रयोग गर्न पाएको छैन,’ उनले भनिन्।

ShobaPaudel scientist2

डा. शोभा पौडेल
डा. शोभा पौडेलले सन् २०१८ मा ‘नेपालको गण्डकी जलाधार क्षेत्रको कृषि (पर्यावरणीय क्षेत्रमा जलवायु स्मार्ट कृषि लागत) नाफाको विश्लेषण’ विषयमा फेलोसिप प्राप्त गरेकी हुन्।

यसमा किसानलाई जलवायु परिवर्तनको असरबाट जोगिन जसरी खेती गर्न भनिएको छ, त्यसबाट फाइदा छ कि छैन भनेर अध्ययन गरिएको पौडेलले बताइन्। त्यसैगरी क्लाइमेट स्मार्ट खेतीले खाद्य सुरक्षामा कस्तो असर गरेको छ, कस्तो प्रविधिको प्रयोग गरिएको छ र त्यो महिलामैत्री छ कि छैन भनेर समेत अध्ययन गरेको उनले जानकारी दिइन्।

जापानको क्योटो विश्वविद्यालयबाट वातावरण व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी पौडेलले नेपालमा व्यवस्थापन विषयको अध्ययन गरेकी थिइन्।

उनलाई नेपालमै बसेर अनुसन्धान गर्ने चाहना थियो। त्यसैले सन् २०१७ मा पीएचडी सकेपछि उनले क्यानडाको इन्टरनेसनल डेभलपमेन्ट रिसर्च सेन्टर (आईडीआरसी)का लागि एउटा परियोजना प्रस्ताव तयार गरिन्।

‘तर, भर्खर पीएचडी गरेको मलाई त्यति ठूलो परियोजनाका लागि पत्याएनन्,’ पौडेलले भनिन् ‘अहिलेको यो कार्यक्रम त्यसैको सानो रुप हो। मैले त्यसलाई घटाएर सानो बनाएको हुँ।’

चितवनको गीतानगरमा विद्यालय शिक्षा पूरा गरेकी पौडेलले व्यवस्थापन विषयमा स्नातक पनि त्यहीँ गरिन्।

‘कीर्तिपुरबाट मास्टर्स गरेपछि केही समय कुमारी बैंकमा पनि जागिर खाएँ,’ उनले भनिन्।

त्यसपछि अध्ययनका लागि उनी जापान गइन्।

‘जापानको शिक्षा प्रणाली खुला छ। व्यवस्थापन पढेकाले विज्ञान पढ्न नपाउने भन्ने हुँदो रहेनछ। त्यसैले मैले पढ्न पाएँ,’ पौडेलले भनिन् ‘नेपालमा मास्टर्स गरेर गएपनि अनुसन्धान गरिँदैनथ्यो। गरेपनि पास हुनका लागि लटरपटर हुन्थ्यो। तर, जापानमा मैले अनुसन्धानबारे सिकेँ।’

त्यसपछि उनी नेपाल फर्केर ‘साइन्स हब’ नामक अनुसन्धान संस्था खोलेर काम गरिरहेकी छिन्। 

जलवायु परिवर्तनको विषयमा अध्ययन गर्न गठिन बहुराष्ट्रिय संस्था जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी निकाय (आईपीसीसी) को प्रत्येक चार वर्षमा विभिन्न देशको अवस्था बारेमा निकाल्ने प्रतिवेदनमा पौडेलले एशियाको खद्य सुरक्षाको विषय प्रतिवेदन तयार गरिरहेकी छिन् । यो प्रतिवेदन सन् २०२१ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

PrativaPande scientist 3

डा. प्रतिभा पाण्डे
सन् २०१५ मा अध्ययन सम्पन्न गरेर नेपाल फर्केपछि केही समयमा विदेशी कम्पनीकै प्रतिनिधि भएर नेपालमा काम गरेकी डा. प्रतिभा पाण्डेले पछि अनुसन्धान संस्था र व्यावसायिक कम्पनी स्थापना गरेर काम सुरु गरेकी थिइन्। सुन्तला र कागतीको खेर जाने बोक्राबाट सुगन्धित तेल उत्पादन गर्ने विषयमा उनको अनुसन्धान केन्द्रित थियो।

‘अनुसन्धानका लागि रकमको आवश्यकता थियो। त्यसैले यो फेलोसिपमा आवेदन गरेको हो,’ पाण्डेले भनिन्।

खेर जाने बोक्रालाई कसरी उपयोग गर्ने? फरकफरक उचाइमा त्यसको गुणमा कसरी र कति परिवर्तन हुन्छ? सुन्तलाको बोक्रामा कस्तो प्रकारको औषधिजन्य तत्व छन्? तिनलाई खाना, श्रृङ्गारको रुपमा कसरी प्रयोग गर्न सकिन्छ? लामो समयसम्म प्रयोग गर्न सकिने कसरी बनाउन सकिन्छ? उनले यी विषयमा अध्ययन गरिरहेकी छिन्।

त्यसैगरी जीवाणु तथा ढुसीहरुको प्रयोग गरेर त्यसमा रहेको औषधिजन्य तत्वलाई विस्तार गर्ने सम्भावनामाथि पनि अध्ययन भइरहेको छ। लकडाउनका बीच पनि उनी काममा खटिइन्।

‘यति लामो समय लकडाउन भयो। पास लिएर भएपनि अनुसन्धानको कार्यलाई निरन्तरता दिइरहेका छौं,’ उनले भनिन्, ‘दुई वटा पेपर लेख्न सक्ने गरी अहिलेसम्म अनुसन्धान गरिरहेका छौँ।’

ललितपुर नख्खुमा रहेको प्रयोगशालामा उनकाे काम जारी छ। पाण्डेको मातहतमा तीन जना अनुसन्धानकर्ता छन्।

‘लकडाउन सुरु हुनुअघि पाल्पा, गुल्मी र रुपन्देहीका कागती र सुन्तला ल्याएर जाँच गरेका थियौँ। उचाइ अनुसार त्यसको गुणमा फरक पनि देखिन्छ,’ उनले भनिन्, ‘त्यो विशेषता पत्ता लगाएपछि त्यसैका आधारमा सुन्तलाको ब्रान्डिङ पनि गर्न सकिन्छ।’

पाण्डे औषधिजन्य वस्तुहरुको अनुसन्धान कम्पनी क्याटलिस्ट पनि चलाउँछिन्। हर्बेदा बोटानिक्स कम्पनीले प्राकृतिक जडिबुटीयुक्त कस्मेटिक उत्पादन गर्छ।

‘विश्वबजारमा निर्यात गर्ने उदेश्यले यो उत्पादन गरिएको हो,’ पाण्डेले भनिन्।

शिक्षामन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय विज्ञान परिषदको सदस्य समेत रहेकी पाण्डेले अनुसन्धान र नवप्रवर्द्धनको संयोजन गर्छिन्। पोखरामा स्थापना हुन लागेको गण्डकी विश्वविद्यालयको ट्रस्टीको रुपमा पनि उनी कार्यरत छिन्।

काठमाडौको मिनभवनस्थित ईपीएस स्कूलबाट एसएलसी गरेपछि उनले सेन्ट जेभियर्सबाट आईएस्सी गरेकी थिइन्। अमेरिकाको नर्थ क्यारोलाइनाको केलम कलेजबाट रसायनशास्त्र र गणितमा स्नातक गरेकी उनले नर्थ वेस्टर्न विश्वविद्यालयबाट पीएचडी गरेकी हुन्। त्यसै विश्वविद्यालयबाट उनले म्यानेजमेन्ट फर साइन्टिस्ट एन्ड इन्जिनियरिङ विषयमा अध्ययन गरेकी थिइन्।

‘प्रयोगशालामा गरेको अनुसन्धानलाई कसरी औद्योगिक क्षेत्रमा ल्याउने र आर्थिक विकासमा लगाउने भन्ने विषयमा त्यहाँ मैले अध्ययन गरेकी हुँ,’ पाण्डेले भनिन्, ‘त्यसपछि मलाई औद्योगिक उत्पादन तथा आर्थिक विकास जस्तो विषयमा चासो बढेको हो। जुन अहिले नेपालमा अभ्यास गर्दैछु।’

Tista Prasai scientist4

डा. टिष्टा प्रसाईं
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) की वरिष्ठ वैज्ञानिक टिष्टा प्रसाईंले पानीको शुद्धताको विषयमा अध्ययन गरिरहेकी छिन्। सन् २०१९ मा उनले सो फेलोसिप प्राप्त गरेकी थिइन्। त्यसका लागि उनले ३५ लाख रुपैयाँ पर्ने जेटा पोटेन्सियल नानो पार्टिकल एनालाइजर मेसिन भित्र्याएकी छिन्।

‘यो मेरो ड्रिम मेसिन हो। फेलोसिपको रकमले यो किन्न सकेँ, धेरै खुसी लागेको छ,’ उनले भनिन्, ‘पानीमा विभिन्न पदार्थ हालेर त्यसलाई शुद्ध बनाइन्छ। यो मेसिनले त्यहाँ हालिएका तत्वहरुको परिणाम ठिक छ कि छैन भनेर जाँच्छ।’

उनले आफ्नो परियोजना तयार पार्दा सबैभन्दा बढी रकम त्यसैका लागि छुट्टाएकी थिइन्।

‘फेलोसिप भने पनि यसमा विकासोन्मुख देशका महिला वैज्ञानिकबीच निकै प्रतिस्पर्धा छ। यो फेलोपिसको विशिष्ट प्रतिष्ठा छ,’ प्रसाईंले भनिन्, ‘यसले छुट्टै प्रकारको आत्मविश्वास सिर्जना गर्ने रहेछ।’

तर त्यसका लागि निकै तयारी गर्नु पर्ने उनले बताइन्।

‘डकुमेन्टेसनका लागि २ महिनाभन्दा बढी समयमा लागेको थियो,’ उनले भनिन्।

२०४९ सालमा सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसी गरेकी उनले पद्मकन्याबाट आइएस्सी, त्रिचन्द्र कलेजबाट माइक्रो बायोलोजीमा बिएस्सी र त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी गरेकी थिइन्।

‘थेसिस गर्न नास्ट गएकी थिएँ। पानीसम्बन्धी विभिन्न अनुसन्धान हुँदै थियो। त्यहीँ काम गर्न सुरु गरेँ,’ उनले भनिन्, ‘लामो समयपछि स्थायी भएकी हुँ।’

त्रिचन्द्र कलेजबाट मानवशास्त्रमा समेत मास्टर्स गरेकी प्रसाईंले सन् २०१७ मा चाइना एकेडेमी अफ साइन्सेजबाट इन्भाइरोमेन्टल इन्जिनियरिङमा विद्यावारिधि गरेकी हुन्।

‘विकाशोन्मुख देशमा ल्याब नभएर वा पैसाको अभावले अनुसन्धान नहुने अवस्था छ। त्यसलाई हल गर्ने काम फेलोसिपले गरेको छ,’ उनले भनिन्।

सुरुमा डाक्टर बन्ने सपना देखेकी प्रसाईं महाराजगञ्ज र धरानमा एमबीबीएस अध्ययनका लागि जाँचमा सहभागी भएकी थिइन्।

‘नाम ननिस्केपछि माइक्रोबायोलोजी अध्ययन गरेँ। स्कुल र कलेज दुवैमा औसत विद्यार्थी थिएँ। औसत विद्यार्थीलाई पनि पढाउन ध्यान दिए उसले केही गर्न सक्छ,’ उनले भनिन्।

JyotiBhandari scientist 5

डा. ज्योति भण्डारी
यस वर्ष विकासोन्मुख देशका २३ महिला वैज्ञानिकलाई यो फेलोसिप प्रदान गरिएको छ। त्यसमध्येकी एक हुन् पोखरास्थित वन विज्ञान कलेजकी उपप्राध्यापक डा. ज्योति भण्डारी। उनले अन्नपुर्ण क्षेत्रमा परम्परागत रुपमा प्रयोग हुँदै आएको औषधिजन्य वनस्पतिको बारेमा अध्ययन गर्ने छिन्।

‘पराम्परागत रुपमा विभिन्न वनस्पतिलाई औषधिमा प्रयोग गरिँदै आएको छ। कुन वनस्पति कुन रोगको उपचारमा प्रयोग हुन्छ, तिनीहरुमा ती रोगलाई निको बनाउने तत्व कति हुन्छ भनेर अध्ययन हुनेछ,’ उनले भनिन्, ‘यसरी खोजी गरिएका वनस्पतिहरुको व्यावसायिक उत्पादनदेखि बजारीकरण गर्न के के विषयमा ध्यान दिनुपर्छ भनेर अनुसन्धान हुने छ।’

उनले एक महिनाअघि मात्रै सो फेलोसिप पाएकी हुन्।

पोखराकै सेन्ट मेरिज स्कुल पढेकी भण्डारीले पोखरा वन विज्ञान क्याम्पसबाट एमएस्सी गरेकी हुन्।

‘सन् २०१० मा एमएस्सी सकेपछि पिएचडी गर्न चीन गएँ। पाँच वर्ष उतै बसेर अध्ययन गरेँ। एक वर्ष भाषा पढेँ र चाइना एग्रिकल्चर युनिभर्सिटीबाट तीन वर्ष पिएचडी र एक वर्ष पोस्ट डक सकेर नेपाल फर्केपछि पढाउन थालेकी हुँ,’ उनले भनिन् , ‘मनाङ र मुस्ताङमा रहेको घाँसे मैदानको अध्ययनमा जाँदा अहिलेको रिसर्चको विषय आएको हो।’

उनले वन विषयमा अध्ययन र अनुसन्धान गर्न महिलाका लागि झनै कठिन रहेको पनि बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .