नेपालमा रेलको कथा—१
देव शमशेरको पालामा प्रकाशन सुरुवात भएको गोर्खापत्र २५ वर्षको लक्का जवान भइसकेको थियो। तर, उसले त्यति गहिरो र रोचक रिपोर्टिङ त्यसअघि गरेको थिएन, जति ५ फागुन १९८३ मा बाराको अमलेखगन्जमा आयोजित एक कार्यक्रमबारे गर्यो।
त्यो कार्यक्रम रिपोर्टिङका लागि गोर्खापत्रका सम्पादक नै काठमाडौँबाट अमलेखगन्ज ओर्लेका थिए। अंग्रेजकालीन चर्चित भारतीय पत्रिका स्टेट्सम्यानका संवाददाता एलिन्जन पनि रिपोर्टिङका लागि कलकत्ताबाट अमलेखगन्ज आइपुगेका थिए।
राजा त्रिभुवनदेखि श्री ३ चन्द्र शमशेर लगायत शासनमा रहेका शक्तिशाली भारदारहरूका अलावा नेपालका लागि बेलायती राजदूत र काठमाडौँमा रहेका अन्य विदेशी दूतसमेत अमलेखगन्ज पुगेका थिए।
नेपालका एकसेएक ‘हाइप्रोफाइल’ हरू अमलेखगन्जमा जम्मा भएका थिए। स्टेट्सम्यानका संवाददाता कलकत्तादेखि अमलेखगन्ज आइपुग्नुको एउटा कारण सायद यो पनि थियो।
स्टेट्सम्यानका संवाददाताको अमलेखगन्ज आगमन गोर्खापत्रका लागि चुनौती हुने नै भयो। स्टेट्सम्यानले भन्दा राम्रो समाचार आफूले दिनुपर्ने भयो। रिपोर्टिङका लागि पत्रकारहरू फिल्डमा पुग्ने चलन नरहेको त्यो जमानामा गोर्खापत्रका सम्पादक नै अमलेखगन्ज पुग्नुको एउटा कारण यो पनि हुनसक्छ।
प्रकाशनपछिको २५ वर्षको इतिहासमा गोर्खापत्रले १० फागुन १९८३ को अंकमा त्यो कार्यक्रमबारे विस्तृत र रोचक समाचार प्रकाशित गर्यो।
समाचार तत्कालीन श्री ३ चन्द्र शमशेरको प्रशंसाका साथ सुरु गरिएको थियो।
‘गरेको उद्योग जतिसुकै सफल हुँदै गए पनि उद्योगी पुरुषहरू अघाउँदैनन्, उद्योगै गरी जिन्दगानी बिताउँदछन्, विश्राम कैले पनि लिँदैनन् भन्ने जो लेखेको देखिन्थ्यो, त्यसको उदाहरण बराबर देखिन लागेको छ,’ समाचारमा भनिएको थियो, ‘व्यापार नभई देश धनी नहुने, बाटाको राम्रो व्यवस्था नभई व्यापार राम्रो हुन नसक्ने, त्यो (व्यापार) नभई देशको उन्नति नहुने, प्रकृति देवीको प्रिय निवासस्थान र दुर्गम कठिन पहाडी मार्ग भएकोले राजधानी काष्ठमण्डपमा मालको आवतजावत गर्नका लागि लख्खौँ (लाखौँ) रूपैयाँ नबगाई बाटो नबन्ने हुनाले यो कुराको विचार गरिबक्सी दूरदर्शी श्री ३ महाराजबाट नेपाल मातातीर्थदेखि धोर्सिङसम्म रोप बनाउने, त्यहाँबाट अमलेखगन्ज (भिच्छाखोरी) सम्म असल मोटर चल्ने बाटो बनाउने, चुरेमा टनेल बनाउने, अमलेखगन्जबाट रक्सौलसम्म रेल लैजाने तजबिज गरी बक्सी लख्खौँ रूपैयाँ त्यो कामका निमित्त पर सारीबक्सी काम सुरु गराइ बक्सेको थियो।’
खासमा अमलेखगन्ज–रक्सौल रेलमार्ग उद्घाटनका सन्दर्भमा श्री ३ चन्द्रबारे यति लामो पृष्ठभूमि बाँधिएको थियो। यो रेलमार्गका जन्मदाता पनि उनी नै थिए।
रेलमार्गको उद्घाटन भने ५ फागुन (१९८३) मा राजा त्रिभुवनले गरेका थिए। श्री ३ चन्द्रको २८ वर्षे शासनकालको एक महत्त्वपूर्ण काम रेलमार्ग निर्माण पनि थियो। त्यसैले, रेलमार्ग उद्घाटन कार्यक्रम उनले भव्य रूपमा सम्पन्न गराए। गोर्खापत्रको समाचारमा ‘रेल खुल्ने उत्सवको काम बहुतै राम्रो तरहसँग अमलेखगन्जमा सम्पन्न’ भएको उल्लेख थियो।
यो रेलमार्ग करिब ४४ वर्ष सञ्चालनमा रह्यो, विसं १९८३ देखि २०२६–२७ सम्म। ब्रिटिसकालीन ‘बंगाल नर्थवेस्टर्न रेलवे’ को अन्तिम विन्दु नेपालको सीमावर्ती भारतीय सहर रक्सौलस्थित स्टेसन थियो। त्यहीँबाट नेपाल–तत्कालीन ब्रिटिस इन्डियाबीच कनेक्टिभिटीको सेतु बनेको ‘न्यारो गेज’ को अमलेखगन्ज–रक्सौल रेलमार्ग सुरु हुन्थ्यो।
अहिलेको पुस्ताका लागि कथाजस्तो लाग्ने खासमा त्यो ९९ वर्ष पुरानो रेलमार्ग हाम्रो ‘आर्थिक स्वाभिमान’को प्रतीक थियो। श्री ३ चन्द्रले नेपालकै राज्यकोषबाट अमलेखगन्ज–रक्सौल रेलमार्ग निर्माण गराएका थिए। त्यहाँ सञ्चालन हुने रेल पनि नेपाल आफैले खरिद गरेको थियो।
अद्वितीय उत्सव
त्यो थियो, नेपालको पहिलो यात्रुबाहक रेलमार्ग। र, उद्घाटनका दिन अमलेखगन्ज कसरी सिँगारिएको थियो, सरदार राममणि आचार्य दीक्षित (आदी) ले आफ्ना संस्मरणात्मक पुस्तकहरू ‘पुराना सम्झना’ र ‘प्राचीन संस्मरण’ मा त्यसको बेलिविस्तार गरेका छन्।
दीक्षितका भनाइमा उद्घाटनका दिन ध्वजापताका, झण्डा, बन्दनबार, केराका थाम, जंगली फूलका माला, लावामा मालाहरूले अमलेखगन्ज स्टेसन र स्टेसनवरिपरिको क्षेत्र सिँगारिएको थियो। पहिले आफूले देखेको धुलोमैलो गाउँले बजार रेल उद्घाटनका दिन जसरी सिंगारिएको थियो, त्यो देखेर राममणि पनि छक्क परेका थिए।
‘कस्तो ठाउँ कस्तो भइसकेछ! मानूँ, उड्न तयार भएको पुष्पक विमानसरह त्यो भएको रहेछ,’ सरदार आदीले ‘पुराना सम्झना’मा लेखेका छन्, ‘ठाउँ–ठाउँमा दर्शकहरू बस्नलाई खिर्काे बारिएको रहेछ। मञ्चमा पनि ध्वजा–पताका बन्दरबार खुबै राम्रोसँग सजाइएको रहेछ। नेपालको झण्डा, अंग्रेजी झण्डा तथा देश–देशावरका झण्डाले त्यो ठाउँ झण्डानगरजस्तो भएको थियो।’
९९ वर्षअघि भएको रेलमार्ग उद्घाटन समारोहका सीमित तस्बिर उपलब्ध छन्। ती तस्बिरहरू हेर्दा अमलेखगन्जलाई वर्णन गर्न आदीले दिएको नाम उपमा अतिशयोक्ति लाग्दैन।
नेपाली भूभाग भएकाले त्यहाँ नेपाली झण्डा हुनु स्वाभाविक थियो। रेलमार्ग निर्माणको ठेक्का ‘मार्टिन एन्ड कम्पनी’ नामक ब्रिटिस कम्पनीले प्राप्त गरेको थियो।
निर्माण कम्पनी र इन्जिनियर ब्रिटिस–इन्डियासँग सम्बद्ध थिए। त्यसैले, कार्यक्रमस्थलमा ब्रिटिस झण्डा पनि फहराइएको थियो। त्यसबाहेक अन्य मुलुकका झण्डा पनि कार्यक्रमस्थलमा देखिन्छन्।
उद्घाटनका दिनको माहौलका आधारमा सरदार आदीले आफ्नो आत्मकथामा ‘झण्डानगर’ नामाकरण गरेको अमलेखगन्ज एक वर्षअघिसम्म भने ‘भिक्षाखोरी’ (भिखनाखोरी) नामले चिनिन्थ्यो।

रेलमार्ग उद्घाटन हुनु दस महिनाअघि मात्र श्री ३ चन्द्रले ‘भिक्षाखोरी’को नाम परिवर्तन गरी ‘अमलेखगन्ज’ नामाकरण गरेका थिए।
यसबारे १ असार १९८३ को गोरखापत्रले पहिलो पृष्ठमा लेखेको थियो, ‘अब उप्रान्त भिक्षाखोरी भन्ने नाम खारेज गरी त्यस भिक्षाखोरीलाई अमलेखगन्ज भन्ने नाम राख्नू भन्ने श्री ३ महाराजबाट हुकुम बक्सिएबमोजिम अब उप्रान्त लेखापढी गर्दा अमलेखगन्ज भन्नु भन्ने अखाडा अड्डा अफिसरलाई एक छापे पुर्जी भएको छ।’
तराईबाट काठमाडौँ आउने मूलबाटोमा पथ्र्याे, भिक्षाखोरी। चारकोसे झाडीभित्र रहेको भिक्षाखोरी एउटा सानो बस्ती सहितको गाउँ थियो। शिवरात्रीका बेला नेपालको तराई–मधेस र भारतको दूरभागदेखि सयौँ श्रद्धालु भक्तजन र जोगी–बाबाहरू त्यही बाटो हुँदै पशुपति दर्शनका लागि काठमाडौँ आउँथे।
त्यहाँ आइपुगेका जोगी–बाबाहरूले भिक्षा माग्ने भएकाले होला, श्री ३ चन्द्रको एकछापे पुर्जीमार्फत् ‘अमलेखगन्ज’ नाम पाउनुअघि त्यो ठाउँ भिक्षाखोरीको नामले चिनिन्थ्यो।
श्री ३ चन्द्रले ठाडो उर्दीका भरमा भिक्षाखोरीको नामाकरण ‘चन्द्रगन्ज’ गरिदिन सक्थे। तर, त्यसो नगरी त्यसको नाम अमलेखगन्ज राखे। उनले आफ्नो ‘नाम’ भन्दा ‘काम’ लाई महत्त्व दिए।
किनकि दुई वर्षअघि– १९८१ मंसिरमा श्री ३ चन्द्रले देशभरबाट ५१ हजार ४ सय करिया (दास) हरूलाई दासत्वबाट मुक्ति दिलाएका थिए।
जग्गा–जमिन वा सुनचाँदीजस्तै त्यो बेला करियाहरू सम्पत्ति सरह मानिन्थे। उनीहरूको किनबेचसमेत हुन्थ्यो। सम्पत्तिसरह मानिने दासहरूलाई मुक्ति दिलाउनु सजिलो काम थिएन।
श्री ३ चन्द्रले मालिकहरूलाई क्षतिपूर्ति दिएर दासहरूलाई मुक्ति दिलाए। घरबास नभएका दासहरूलाई भिक्षाखोरीमा बसोबासको प्रबन्ध गरे।
दासत्वबाट अमलेख (मुक्त) गरिएकाहरूको बसोबासस्थल भएकाले श्री ३ चन्द्रबाट भिक्षाखोरीले नयाँ नाम पाएको थियो– अमलेखगन्ज।
कामविशेषले काठमाडौँ आउने मधेसवासी र पशुपतिको दर्शन गर्न आउने भारतीयहरूका लागि भिक्षाखोरी छिचोल्नै पर्ने ठाउँ थियो। सिकारका लागि मधेस झर्दा वा भारत जाँदा राणा शासकहरू अक्सर थानकोट–भीमफेदी–हेटौँडा–भिक्षाखोरी (अमलेखगन्ज)–वीरगन्ज हुँदै रक्सौल पुग्थे।
चन्द्र शमशेरका दाजु, उनका पूर्ववर्ती शासक श्री ३ देव शमशेरले त्यही भिक्षाखोरीमा एउटा ठूलो पानीको पोखरी खनाएका थिए, ताकि भिक्षाखोरीवासी र काठमाडौँ आवत–जावत गर्नेहरूले भोग्नुपरेको पानीको समस्या समाधान होस्। यात्रीहरूको बासका लागि श्री ३ देवले एउटा सत्तल पनि बनाइदिएका थिए।
उद्घाटनस्थल अमलेखगन्ज स्टेसनदेखि श्री ३ देव शमशेरद्वारा निर्मित त्यो सत्तलसम्मको क्षेत्र त्यसदिन ध्वजापताका र झण्डाहरूले झकिझकाउ थियो।

‘श्री देव शमशेर महाराजको सत्तलदेखि पानीको पहिलो पोखरीलगायत एक पाउ परसम्म र पूर्वपट्टि नदीको बगरदेखि पश्चिम फँडानी भएको जमिनतकको चौकिल्ला अन्दाज एक डेढ कोसको घेरा पूरा तवरबाट सिँगारिएको थियो’, रेलमार्ग उद्घाटन समारोहमा सरिक सरदार राममणि लेख्छन्, ‘हेर्ने मानिसहरू पनि खिरकी (मानिसहरू बस्ने ठाउँ) भरिएर बाहिर पनि कतार (लाइन) बाँधेर खडा थिए। दुई–तीनदिन अघिदेखि आउन लागेका मानिसहरूको हुलले त्यो बेला नरमुण्डै नरमुण्ड देखिनु कुनै ठूलो कुरा थिएन।’
अमलेखगन्जबाट कलकत्ता फर्केपछि स्टेट्सम्यानका संवाददाताले अमलेखगन्ज–रक्सौल रेलमार्ग उद्घाटनको भव्यता र रेलमार्गको महत्त्वबारे लामो समाचार सामग्री तयार पारेका थिए। त्यो सामग्रीलाई अनुवाद गरेर गोर्खापत्रले १९८४ जेठका तीन अंकमा लगातार प्रकाशित गरेको थियो।
‘स्टेसन र यसको वरिपरिको जंगललाई हजारौँ ध्वजा–पताकाहरूले सजाइएको थियो, ती ध्वजाहरू फरफराउनाले आनन्ददायक रङ्गयात्रा बनेको थियो,’ स्टेट्सम्यानको रिपोर्टमा भनिएको थियो, ‘त्यहाँ स्वजातीय (नेपाली) सूर्य–चन्द्रको झण्डा फर्फराएको थियो, स्टेसन घरहरू र समेनाको बीचमा सुगन्धित बाग–बगैँचाहरू बनेका थिए।’
गोर्खापत्रका अनुसार, ‘५ फागुन (१९८३) मा ‘रेल खुल्ने उत्सव’ निश्चय भएपछि त्यसअगावै एक तले स्टेसन भवन निर्माण गरिसकिएको थियो। उद्घाटनस्थल सजाउन वरिपरिका खाडल पुर्ने र चपरी लगाउने काम गरियो। कार्यक्रमस्थललाई थप सफासुग्घर बनाउन पानी छर्किएको थियो।’
‘इष्टेसनका प्लाट–फाराम उत्तरतर्फको हाल बनाएका चौरमा बैठक पाल एक र त्यसमा भएको उत्सव देखिने गरी केही पर जङ्गी पोशाक नभएका अफिसरहरू र भलाआदमीहरूलाई अर्काे एक पाल टाँगिएको थियो,’ गोर्खापत्रको समाचारमा भनिएको छ, ‘सो पालहरूदेखि इष्टेसनको पल्लो प्लाट–फारमसम्म ध्वजापताका, झण्डा, घाँस–केराको थाम, घरैया बनैया फुलमाला लहर बोट विरुद्ध पामताड दर्शनढुंगाहरूले सजिएको थियो।’
श्री ३ चन्द्रले रेलमार्ग निर्माणअघि नै धोर्सिङ–मातातीर्थ (काठमाडौँ) रोपवे निर्माण गरिसकेका थिए। अमलेखगन्ज–भीमफेदी सडकमार्गमा गाडी पनि चल्न थालिसकेको थियो, गाडी गुड्न लायक यो सडकमार्गमा जन्मदाता पनि श्री ३ चन्द्रले नै थिए।
यातायातका दृष्टिले धोर्सिङ–मातातीर्थ रोपवे र वीरगन्ज–भीमफेदी सडकको पनि कम महत्त्व थिएन। तर, रोपवे र सडकमार्गको उद्घाटनबारेका सामग्री भने भेटिन्नन्। सायद श्री ३ चन्द्रले यी दुई महत्त्वपूर्ण पूर्वाधारको औपचारिक उद्घाटन गर्नु जरुरी सम्झेनन्।
तर, अमलेखगन्ज–रक्सौल रेलमार्गको उद्घाटन भने भव्य समारोहका बीच गरे। उद्घाटनमा भाग लिन काठमाडौँबाट प्रमुख भारदारहरू अमलेखगन्ज ओर्ले। कार्यक्रममा देशी–विदेशी पाहुनाहरू पनि बोलाइए। राजा त्रिभुवनलाई समेत अमलेखगन्ज पुर्याए र रेलमार्गको उद्घाटन गराए।

उद्घाटनमा उदारता
सरदार राममणि आदीका भनाइमा उद्घाटनस्थलको मञ्चमा ३५ जनाका लागि बस्ने व्यवस्था गरिएको थियो। तिनमा श्री ५ त्रिभुवन, श्री ३ चन्द्र शमशेर, भाइभारदारका अलावा मञ्चमा रेलवे निर्माणको ठेक्का प्राप्त गरेको मार्टिन कम्पनीका मार्टिन, हेन्ड्री र चिफ इन्जिनियर गिरिशचन्द्र दास लगायत थिए।
‘दुई बजे सबै सामेल भई आफ्नो–आफ्नो जगा ली सकेका थिए। दरबार पालका अगाडि रेलको एक लीग (लिक) पार रैफल निशान र ब्याण्ड समेतको पुरा ‘गार्ड अफ अनर’ खडा थियो,’ गोर्खापत्रले मञ्चको विवरण दिँदै लेखेको छ, ‘गारद रहेका एक पाखामा ठीक इष्टेसन अगाडि फ्लाग स्टाफमा हाम्रो ठूलो सूर्य र चन्द्रको झण्डा फरफराएको थियो।’
‘बैठक पालको पछाडि आठपहरिया गारद, बाँकी रहेका पल्टन र तमाशेमध्ये एकथरी बसेका थिए,’ समाचार अनुसार, ‘अघिल्तिर रेलवेमा काम गर्ने मानिस र तमाशेहरूको भीड र सिंगारेका हाम्रा सबै हात्तीहरूको लाइन थियो।’
उद्घाटनस्थलमा अन्य व्यक्तिहरू २ बजे नै जम्मा भइसकेका थिए। श्री ५ त्रिभुवन र श्री ३ चन्द्रका बडामहारानीहरू साढे दुई बजे त्यहाँ पुगेका थिए। श्री ३ चन्द्र अपरान्ह ठीक ३ बजे र राजा त्रिभुवन ३ः१० बजे पुगे। गाडी चढेर समारोहस्थल पुगेका राजा त्रिभुवनलाई श्री ३ चन्द्रले स्वागत गरेर पालभित्र निर्मित मञ्चमा लगे।
‘बैठकको पछिल्तिरबाट पालभित्र सवारी भई करचुपी मखमलीले बिच्छ्याएको डेयसमाथि करचुपी दोसल्लाले मोरिएका दुई कुर्सीमा श्री ५ महाराजधिराज र श्री ३ महाराज राज भयो,’ गोर्खापत्रको समाचार भन्छ, ‘त्यसपछि क्रमैसँग दाहिनेतर्फका मेचमा जनरल अफिसरहरू र बायाँतर्फका मेचमा गुरुज्यू, साहेबज्यू, राजा, काजी, अफिसरहरू बसे।’
मार्टिन कम्पनीका प्रतिनिधि लेस्ली मार्टिनका लागि केही पर ठाउँ छुट्ट्याइएको थियो। सोही कम्पनीका हेन्ड्री र चिफ इन्जिनियर गिरिशचन्द्र दासका लागि मार्टिन पछिल्तिरको सिट तय थयो।
स्टेट्सम्यान संवाददाता पनि उत्तिकै चासोको विषय बने। गोर्खापत्रको समाचारमा स्टेट्सम्यान संवाददाताबारे लेखिएको थियो, ‘स्टेट्सम्यान अखबारको रिपोर्टर पनि आएका हुनाले डेयस (मञ्च) पछाडि एउटा कुनामा मेच, टेबिल, राखी सर्टह्यान्ड (छोटकरी) मा बराबर लेखी निज रिपोर्टर र अर्काे कुनामा टेबिलमाथि कम्पनीले पठाएको आड्रेस कास्केटहरू राखेको थियो।’
उद्घाटन कार्यक्रम सञ्चालनको जिम्मेवारी लेफ्टिनेन्ट जनरल केशर शमशेरलाई थियो, जो नातामा श्री ३ चन्द्रका छोरा थिए।
राजा त्रिभुवनले आसन ग्रहण गरेपछि जनरल केशरले उपस्थित नेपाली सेनाको टुकडीलाई बिगुल बजाउन लगाए। यो कार्यक्रम सुरुवातको संकेत थियो।
लगत्तै रेलमार्ग निर्माता कम्पनीका लेस्ली मार्टिनलाई सम्बोधनका लागि बोलाइयो।
‘न्यारो गेज’ (साँघुरो लिक) को भए पनि रेलमार्ग निर्माण गरेर फराकिलो मन बनाएको’ भन्दै मार्टिनले श्री ३ चन्द्रको भारी प्रशंसा गरे। आफूलाई रेलमार्ग निर्माणको जिम्मेवारी प्रदान गरिएकोमा धन्यवाद दिए।
‘यस रेललाइनको नाप साँघुरो छ तापनि नेपाल र हिन्दुस्तानको बीचमा यो एक अत्यावश्यक फराकिलो पुल हुन आएकोले म यसलाई कालान्तर राज्य–प्रजाको हित र फलप्राप्तिको कारण हुनेछ भनी बिन्ती चढाउने उम्मेद राख्न सक्तछु,’ उनले भने, ‘त्यसैले, आजको ठूलो र विचारणीय उत्सव नेपालको इतिहासमा लामो समयसम्म सम्झन लायक हुनेछ।’
त्यसपछि सम्बोधन गर्ने पालो थियो, श्री ३ चन्द्र शमशेरको। उनले सुरुवातमै भने, ‘सज्जन हो! आज यो उत्सव मनाउन भनी यहाँ जम्मा हुन पाउँदा र यो रमाइलो उत्सवको ऐतिहासिक रूपलाई जोर दिने मिस्टर मार्टिनले बोलेको जाहेरी सुन्दा सार्है आनन्द लागिरहेछ।’
९९ वर्षअघि रेलमार्गको निर्माण यातायातको क्षेत्रमा भएको रेभोलुसन (क्रान्ति) थियो। तर, यसका सुरुवातकर्ता श्री ३ चन्द्रले उद्घाटन समारोहमा आफ्नो यो कदमलाई निरन्तर परिवर्तनको प्रक्रिया अर्थात् ‘एभोलुसन’ का रूपमा व्याख्या गर्न रुचाए।
‘रेल खोल्नु एक कदम अघि सर्नु मात्र हो, तर एकै कदम भए पनि उन्नतिको बाटोमा परेको हुनाले हालसाललाई यो काफी छ,’ उनले भने, ‘किनभने, नहडबडाई विस्तारै विस्तारै अघि सर्नाले यिनै सफलता अवश्य पाइन्छ भन्ने कुरा तिमीहरूले बुझेकै छौ।’
शिवरात्री सम्मुखमा भएकाले उनले रेलमार्ग निर्माणबाट शिवरात्रीका अवसरमा पशुपति दर्शन गर्न आउने यात्रुहरूले खराब बाटोमा यात्रा गर्नुपर्ने बाध्यताबाट मुक्ति पाएको स्मरण पनि गराए।
यतिन्जेल उद्घाटन समारोहमात्र चलिरहेको थियो। कार्यक्रमको महत्त्वपूर्ण काम अर्थात् रेलको उद्घाटन बाँकी नै थियो।
उद्घाटनको प्रतीक्षामा दुई रेल थिए, जसलाई फूलमाला, नेपाल र ब्रिटेनको झण्डाले सजाइएको थियो। रेलका ती दुई इन्जिनको नामाकरण पनि भइसकेको थियो। पहिलो रेलको नाम ‘पशुपति’ र दोस्रोको नाम ‘गुह्येश्वरी’ थियो।
यी दुई रेलको निर्माण कोइलाबाट सञ्चालित हुने रेलको इन्जिन निर्माता हन्सलेट इन्जिन कम्पनीले गरेको थियो।

आफ्नो सम्बोधन सकिनासाथ चाबी मार्टिनले श्री ३ चन्द्रलाई हस्तान्तरण गरेका थिए।
‘आज मेरो कम्पनीको तर्फबाट हजुरको स्वागत निमित्त यो रेलको साँचो रहेको बाकस हजुरमा चढाउँछु,’ चाबी हस्तान्तरण गर्दै मार्टिनले भने, ‘यसलाई झिकी लाइनमा रहेको पहिलो इन्जिनलाई चलाई बक्सी रेल खुल्यो भन्ने कुरा जाहेर गरिबक्सियोस्।’
श्री ३ चन्द्रले अंग्रेजीमा सम्बोधन गरेका थिए। त्यसको नेपाली उल्था बडाकाजी मरिचीमान सिंह (गणेशमान सिंहका हजुरबुबा) ले गरेर सुनाए। चन्द्रको सम्बोधनमा रेलको नामाकरण भगवान् पशुपतिनाथको नामबाट गरिएको उल्लेख थियो।
‘सर्कार (राजा त्रिभुवन) बाट रेल खोली इञ्जिन चलाई बक्सनु अगाडि, यस रेल्वेमाथि हाम्रो देशका रक्षक हुनुभएका श्री पशुपतिनाथको अनुग्रह सदा कायम रहोस् भन्ने प्रार्थना हामी सबैले गर्नुपर्दछ। कल्याणको हजारौँ धारा बहाउने उनै महाप्रभुको नाउँबाट पहिलो इञ्जिनको नाम रहेको छ,’ राजा त्रिभुवनलाई रेल उद्घाटन गर्न आग्रह गर्दै श्री ३ चन्द्रले भने, ‘अब यो नेपाल गभर्मेन्ट रेल्वे आज खोली बक्सने काम पुरा गराई बक्सियोस् भन्ने अर्ज गर्दछु।’
अहिले उद्घाटन गरेकै भरमा अरुले निर्माण सुरु गराएका पूर्वाधारको ‘जस’ लिने प्रचलन बढ्दो छ। ‘जस’कै लागि सम्भावनै नभएका ठाउँका लागि समेत सडक शिलान्यास भएका छन्। सानो काम गरियो भने आफै त्यसको ठूलो चर्चा गर्ने प्रवृत्ति मौलाएको छ। ९९ वर्षअघिका शासक श्री ३ चन्द्रले भने आफै जन्मदाता भइकन पनि रेलमार्गको उद्घाटन चाहिँ राजा त्रिभुवनबाट गराए।
राजाले कुदाएको रेल
श्री ३ चन्द्रको सम्बोधन सकिनासाथ नेपाली सेनाको ब्यान्ड टुकडी ‘सुनिलेऊ, गोरखाली भाइ’ बोलको धुनमा बाजा बजाउँदै अघि बढ्यो। ब्यान्ड टोलीका साथ दुई पण्डित (गुरुज्यू) हरू मन्त्रोच्चारणका साथ अघि बढे। पण्डितका अघिल्तिर दुई बैठकेले फूल र अबिर छर्किरहेका थिए।
यो दृश्य उद्घाटनका लागि तयार पारिएको रेलको पूजाको थियो।
राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शमशेर पण्डितहरूको पछिल्तिर थिए। ब्यान्ड बाजा सहितका सैनिक, पुजारी, राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्र शमशेर ‘पशुपति’ रेलको इन्जिन अगाडि पुगेर रोकिए।
लगत्तै रेलको डिब्बाबाट रातो मखमली कपडाले ढाकिएको भर्याङ निकालियो। त्यही भर्याङको सहायताले राजा त्रिभुवन र श्री ३ चन्द्र रेलमा चढे।

राजा त्रिभुवन रेलको ड्राइभर बस्ने सिटमा गएर बसे। छेउको सिटमा श्री ३ चन्द्र बसे। रेल उद्घाटन उनैले गर्नुपर्ने भएकाले उनी ड्राइभर सिटमा बसेका थिए। रेल कसरी चलाउने भन्नेबारे त्यसअगावै उनलाई रिहर्सल गराइएको थियो।
गोर्खापत्रको समाचार अनुसार, ‘त्यसपछि हेन्ड्रीले रेल कसरी चलाउने भन्ने कुरा राजा त्रिभुवनलाई सम्झाए। सोहीबमोजिम त्रिभुवनले ‘अपरेटिङ लिभर’ घुमाए, रेल विस्तारै रक्सौलतर्फ अघि बढ्यो।’
रेल अघि बढ्ने बित्तिकै गुरुज्यूहरूले पुनः मङ्गलवचन वाचन गरे। नेपाली सेनाको ‘फायरिङ स्क्वाड’ ले रेल सञ्चालनको खुसियालीमा हर्षबढाईं गर्यो, बन्दुक पड्कायो।
लगत्तै गुडेको रेल १० गज (९.१ मिटर) पर पुगेर रोकियो। त्रिभुवन र चन्द्र शमशेर रेलबाट ओर्ले।
लगत्तै केशर शमशेरले तीन–तीनपटक राजा त्रिभुवन र श्री ३ चन्द्रको ‘जय पुकारा’ गरे। त्यहाँ रहेका अन्यले उनलाई साथ दिए। ‘प्राइड अफ गोरखा’ (गोर्खाको गौरव) मा सैनिक ब्यान्डले फेरि मार्चपास गर्यो।
यससँगै त्रिभुवन र चन्द्र उद्घाटन कार्यक्रम राखिएको पालभित्र फर्के।
उद्घोषक केशर शमशेर बोले, ‘श्री ३ महाराज! यो खुसियालीमा सबैका तर्फबाट खुसियाली प्रकट गर्न पाऊँ।’
चन्द्रले अनुमति दिए।
‘हाम्रो दिलमा सबैभन्दा बढी भिज्ने कुरा यो छ कि राज्यरूपी नाउ (डुङ्गा) खियाई बक्सँदा सरकारले कहिल्यै पनि बहना बिसाएर विश्राम गरी बक्सिन्न।...बुबाज्यू! मातृभूमिको खातिर सरकारको चिरायु होओस्।’ पिता श्री ३ चन्द्रबाट अनुमति पाएपछि केशर शमशेरले भने, ‘यो कुरा मैले छोरा भएर होइन, आम दुनियाँको मुख (बोली) बोलेको हुँ।’
‘यति बिन्ती चढाएपछि मिस्टर मार्टिनले श्री ५ महाराजधिराज र श्री ३ महाराजका हजुरमा फूल चढाए। उनीहरूलाई पनि अत्तर पान बक्सियो,’ गोर्खापत्रले लेखेको छ, ‘त्यति भएपछि काम खत्तम् भई मोटरमा श्री ५ महाराजधिराज, श्री ३ महाराजको साथै सवारी फिर्यो।’
अर्थात्, नेपालको पहिलो यात्रुबाहक रेलको उद्घाटन कार्यक्रम सम्पन्न भयो।
उद्घाटनको दुई दिनपछि (७ फागुन) राजा त्रिभुवन र श्री ३ चन्द्र लगायतका भाइभारदारहरू सो रेलमा चढेर अमलेखगन्जबाट रक्सौल पुगेको, १ बजे रक्सौल पुगेका उनीहरू साँझ ७.२५ मा फिर्ता भएको कुरा गोर्खापत्रले उल्लेख गरेको छ।

तर, राममणि आदीका भनाइमा राजा त्रिभुवनसँगै रेल चढेर रक्सौल जानु अघिल्लो दिन (६ फागुन) पनि श्री ३ चन्द्र अमलेखगन्जबाटै रेल चढेर वीरगन्ज पुगेका थिए।
‘आज बिहीबार फागुन ६ गते श्री ४ महाराज, बडामहारानीहरू प्राइभेट (व्यक्तिगत रूपमा) वीरगन्ज सवारी हुने (कार्यक्रम) थियो, श्री ३ बडामहारानीलाई जरो आएकाले महाराज मात्र सवारी भयो, म पनि पाऊ रखवारीमा गएको थिएँ,’ राममणि ‘प्राचीन संस्मरण’ मा लेख्छन्, ‘महाप्रभु (श्री ३ चन्द्र) का साथ अनुगत सेवक पनि जान पाउनु सिर्फ उहाँको करुणाले मात्र हो। यो मेरो सानू भाग्य होइन। उहाँका साथ पहिला (पशुपति) रेलगाडीमा चढी म पनि वीरगन्ज पुगेँ। म साह्रै भाग्यमानी हूँ।’
राजा त्रिभुवन त अझ झण्डै एक महिनाअघि १२ माघ १९८३ (२५ जनवरी १९२७) मा पनि रेल चढी रक्सौल पुगेर फर्केका थिए।
जङ्गबहादुरले शासन हत्याएपछि राजाहरू खोपीका देउता बनाइए। देशको सीमा काटेर भारत पस्न उनीहरूलाई बन्देज लाग्यो।
यस हिसाबले ‘रेलको अनुभव’ गर्न भएको राजा त्रिभुवनको रक्सौल यात्रा कोतपर्वपछि पहिलोपटक नेपाली राजाको भारतीय भूमिमा पाइलो परेको घटना बन्न पुग्यो।
रेल चढेर रक्सौल पुग्न राजा त्रिभुवनले श्री ३ चन्द्रको अनुमति लिनु परेको थियो।
जाडोसमेत छल्ने गरी अक्सर हिउँदमा राणा शासकहरू सिकारका लागि मधेस झर्थे। त्यससाल श्री ३ चन्द्र ५ पुसमै मधेस झरेका थिए। राजा त्रिभुवन माघको पहिलो हप्ता मधेस झरे।
त्रिभुवन अमलेखगन्ज पुग्दा श्री ३ चन्द्रको सिकार–शिविर त्यतै वरपर थियो। अमलेखगन्जभन्दा अलिक परको आधाभार जंगलसम्म रेल आइसकेको थियो। राजा त्रिभुवनपनि रेल हेर्न आधाभार पुगे।
उनले रेल देखे। उनलाई रेल चढौँ–चढौँ लाग्यो। रोकिराखेको रेल चढे, नियालेर हेरे।
तर, रक्सौलसम्म पुग्न श्री ३ चन्द्रको अनुमति चाहिन्थ्यो। राजाको रेल चढ्ने रहर बुझेपछि श्री ३ चन्द्रले अनुमति दिए।
१२ माघ (१९८३) बिहान १०ः४५ बजे (१२ माघ) राजा त्रिभुवन आधाभारबाट रक्सौलका लागि रेल चढे। उनी चढेको रेल छतसमेत नभएको सामान्य खालको थियो।

‘छत नभएको डब्बामा राज हुने भए पनि तहाँबाट सबैतिर छर्लङ्ग देखिने हुँदा झन् रमाइलो हुने भएको थियो। उहाँका साथ जाने पाउ–रखवारीहरूलाई सफा गरिएका डब्बाहरू ल्याइएका थिए,’ सरदार राममणि आदिका भनाइमा, ‘यसरी इन्जिन र अरु डिब्बा जोरिएको त्यो रेल एउटा सानू स्पेसलै हो कि जस्तो भएको थियो।’
उनी थप लेख्छन्, ‘रेलको खुला डब्बामा कवज राखी त्यसमा अधिराज (श्री ५ त्रिभुवन) लाई राज गराई वरिपरिका रमाइलो दृश्य आँखामा नचाउँदै रेल जान लाग्यो। ठीक १० बजेर ४५ मिनेटमा रेल खुलेको थियो। अधभारा (आधाभार) १०ः४५, अजिङ्गरे पुल ११ः२०, सिमरा ११ः२८, जीतपुर ११ः५३– यहाँ इन्जिनले पानी लियो। यहाँबाट ११ः४८ मा खुली जीतपुर बंगला ११ः५३, परवानीपुर १२ः१८, वीरगन्ज १२ः४५ र रक्सौल १ः१५ मा पुगियो। सरासर रक्सौल गई बीएनडब्ल्यूआरवाई (बंगाल नर्थवेस्ट रेलवे) को स्टेसन रक्सौलबाट १५० गज वर हाम्रो स्टेसन थियो। हाम्रो रेल त्यहीँ गएर खडा भयो।’
राजा त्रिभुवन रोकिएको रेलबाट झरे, वरिपरि टहलिए। धेरै पर जाने अनुमति नभएकाले रेल स्टेसनमा रहेको नेपाली भवनमा बसेर रेल स्टेसन वरिपरिको दृश्य नियाले।
‘हाम्रो कठघर (काठको घर) मा राज भएर उतापट्टि रेल आएको, मुसाफिर (यात्री) चढे उत्रेको नजर भयो। दैवसंयोग! त्यहीबेलामा उतापट्टि रेल आइदियो। यति गरी घुमिफिरी त्यहाँ डेढ घण्टा राज गरी २ः४५ मा त्यहाँबाट रेल खुल्यो। हामी बासतर्फ लाग्यौँ,’ राजा त्रिभुवनका साथमा त्यसदिन रेलयात्रा गरेका राममणि थप लेख्छन्, ‘बाटामा रेल थाम्दै–बजार गर्दै, किनमेल गर्दै खाजा खाँदै हिड्यौँ। ६ः४५ मा फेरि क्याम्पमा दाखिल भयौँ।’
नेपालका लागि ९९ वर्ष अघिको यो रेल र रेलमार्ग धेरै हिसाबले ऐतिहासिक थियो। औपचारिक रूपमा उद्घाटन गरिएको र यात्रुवाहक पहिलो रेल यही थियो। नेपाली राजा चढेको र उनले रेल गुडाएको रेल पनि यही भयो।
राजा त्रिभुवनले उद्घाटन गरेको पशुपति रेलको भग्नावशेष धनुषाको खजुरीमा अहिले पनि छँदैछ, रेलमार्ग र त्यसका अन्य संरचना भने खण्डहर बनेका छन्। अमलेखगन्ज–रक्सौल रेलमार्ग इतिहासमा सीमित भएको छ।
त्यो रेलमार्गमा रेल सञ्चालन भएको अब सायदै देख्न पाइएला।
त्यो ऐतिहासिक रेलमार्ग र त्यहाँ दौडिरहेको रेल हेर्ने साँच्चिकै इच्छा छ भने तपाईं पहिलो नेपाली चलचित्र ‘आमा’ हेर्न सक्नुहुन्छ।
चलचित्रको सुरुवातमै रेलमार्ग देखिन्छ। त्यहाँ गुडिरहेको रेल चढेर ‘लाहुरे नायक’ शिवशंकर मानन्धर स्वदेश फर्कंदै छन्।
मातृभूमिमा आमा भेट्न नायक शिवशंकरले चढेको रेल त्यही रक्सौल–अमलेखगन्ज रेलमार्गको हो।
Shares

प्रतिक्रिया