ad ad

म्यागेजिन


निर्मल बराल र अनिता परियारको कहानी, जो जातको पर्खाल तोडेर पिरतीको बन्धनमा परे

‘असफल हुने हो कि’ भनेर डर मान्दामान्दै सफल भएको एउटा अन्तरजातीय विवाहको कथा
निर्मल बराल र अनिता परियारको कहानी, जो जातको पर्खाल तोडेर पिरतीको बन्धनमा परे

निर्मल बराल र अनिता परियार (तस्बिर: सरोज नेपाल)


जनार्दन पोखरेल
जेठ २६, २०८१ शनिबार २०:०, काठमाडौँ

निर्मल बराल र अनिता परियार प्रेम सम्बन्धमा थिए। तर, विवाह गर्ने कि नगर्ने? यो जोडी दोधारमै थियो। निर्मलभन्दा पनि अनिता बढी द्विविधामा थिइन्।

‘ब्राम्हण युवकसँग कसरी विवाह गर्ने? पछि यो विवाह असफल पो हुने हो कि?’ उनको मनमा डर थियो। धेरै प्रश्नहरू मनमा आउँथे।  

निर्मल भने अनितासँग बिहे गर्ने कुरामा सुरुदेखि नै प्रष्ट थिए। दलित युवतीसँग वैवाहिक जीवन सुरु गर्दा आइपर्ने अप्ठेरो झेल्ने आँट उनमा थियो।

२०६५ साल जेठ १५ गते देशमा गणतन्त्र स्थापना भयो। आफैँले लडेर ल्याएको गणतन्त्रमा मुलुक प्रवेश गर्दै गर्दा राजनीतिमा सक्रिय निर्मल र अनितालाई लाग्यो– हाम्रो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने उपयुक्त समय यही हो!

२०६५ साल असार १५ गते धरानको एउटा होटलमा एक सयभन्दा धेरै निम्तालु (मुख्यरुपमा पार्टीका नेता-कार्यकर्ता) को माझमा निर्मल र अनिताले आफूहरू वैवाहिक जीवनमा प्रवेश गरेको औपचारिक घोषणा गरे।

तर, यो प्रक्रियामा प्रवेश गनुअघि उनीहरू निकै ठूलो अन्तर संघर्षबाट गुज्रिएका थिए। 

०५४–५५ तिर निर्मल तत्कालीन नेकपा (एकताकेन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को केन्द्रीय समितिमा थिए। सर्लाहीको हरिवन घर भएका निर्मलको काँधमा संगठनको जनकपुर–सगरमाथा क्षेत्र इन्चार्जको जिम्मेवारी पनि थियो। त्यही मेसोमा एकदिन महोत्तरीको कान्तिबजार (हाल गौशाला नगरपालिका-११) पुग्दा अनितासँग उनको पहिलो भेट भयो।

जतिबेला उनी स्नातक पढ्दै थिए भने अनिता भर्खर मावि तहको पढाइमा थिइन्। तर, त्यतिबेलै अनिता अखिल क्रान्तिकारीको महोत्तरी जिल्ला समितिमा आवद्ध भइसकेकी थिइन्।

केही वर्षपछि अनिता संगठनको महोत्तरी जिल्ला अध्यक्ष भइन्। त्यसपछि संगठनमा अनिता झन्झन् सक्रिय हुँदै गइन्। त्यसको केहीवर्ष अघिदेखि नै निर्मल पार्टीको पूर्णकालीन कार्यकर्ता पनि बनिसकेका थिए।

अनिताको स्वभाव मिलनसार र जुझारु थियो। उनले अनितामा राम्रो नेतृत्व क्षमता देखे।

उनीहरूले एउटै संगठनमा रहेर काम गर्दै गए। पछि अनिता जनकपुर–सगरमाथा क्षेत्रको संयोजकको जिम्मेवारीमा आइन्। निर्मल सोही क्षेत्रको इन्चार्ज थिए। उनीहरूले संगठनको केन्द्रीय समितिमा पनि सँगै काम गरे। संगठनको कामको सिलसिलामा उनीहरूबीच भेटघाट भइरहन्थ्यो।

विद्यार्थी संगठनको केन्द्रीय समितिमा उनीहरूले झण्डै ७–८ वर्षसम्म सहकार्य गरे। लामो सहकार्यको क्रममा एकले अर्कालाई बुझ्ने, चिन्ने मौका मिल्यो। हार्दिकता बढ्दै गयो।   

‘त्यतिबेला प्रेमको कोणबाट भन्दा पनि आन्दोलनमा क्रियाशीलताको कोणबाट हामीबीच भेटघाट र सहकार्य हुन्थ्यो,’ पुराना दिन सम्झँदै निर्मलले नेपालखबरसँग भने, ‘संगठनमा अनिताजीको क्रियाशीलता, जुझारुपन, नेतृत्व क्षमता राम्रो थियो। यसले पनि हामीलाई नजिक बनायो। पछि त्यो मित्रता बढ्दै जाँदा हामी प्रेम सम्बन्धसम्म पुग्यौँ।’

उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक अवस्थामा बेमेल थियो।

निर्मल कथित उच्च जातका, राम्रो आर्थिक अवस्था भएको परिवारका छोरा थिए। उनका बुवा गाउँको स्कुलमा शिक्षक थिए। अनिता कथित दलित परिवारमा जन्मिएकी थिइन्। उनका बुवा–आमाको आर्थिक अवस्था पनि कमजोर थियो।

तर, उनीहरूको विचार मिल्यो, राजनीति मिल्यो र मन मिल्यो। त्यसका अगाडि जातको पर्खाल कमजोर बन्न पुग्यो।

‘हाम्रो चेतनाको कारणले अरु सबै विषय गौण बन्दै गए,’ १६ वर्षअघिको परिस्थितिमा फर्किंदै निर्मल बोले, ‘हामी समाज बदल्न, व्यवस्था बदल्न, समाजको चेतनास्तर बदल्न हिँडेका कम्युनिस्ट पार्टीका कार्यकर्ता थियौँ। हामी पार्टी राजनीतिको जुन जिम्मेवारीमा थियौँ, त्यो विकसित चेतनाको अगाडि जात व्यवस्थाको विषय हाम्रा लागि सामान्य बन्दै गए।’

किशोरावस्थामै सक्रिय राजनीतिमा लागेका निर्मललाई जातीय विभेदको विषय, राजनीतिक व्यवस्था परिवर्तन जस्ता मुद्दालाई नारामा मात्र सीमित राखेर हुँदैन भन्ने लाग्थ्यो। 

परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ भन्ने उनी सोच्थे। त्यही दर्शनबाट निर्देशित उनले गाउँमा पनि सामाजिक जागरणको अभियानमा युवाहरूलाई अभिप्रेरित गर्ने कोसिस गरे। राजनीतिमा सक्रिय हुँदै गर्दा उनले गाउँमा युवा क्लवको स्थापना गरे। युवाहरूलाई संगठित गरे। 

२०–२२ वर्षकै उमेरमा आफैँ अध्यक्ष भएर गाउँमा पहिलोपटक बिजुली ल्याउने अभियानको पनि उनले नेतृत्व गरे। 

‘मानवीय चिन्तन, राजनीतिक, सामाजिक अवस्था आफैँ क्रमशः परिवर्तन हुँदै जाने कुरा भयो, तर सचेततापूर्वक त्यसलाई बदल्न प्रयत्न गर्ने विषय चाहिँ महत्वपूर्ण हो। सामान्य चेतनाले त्यो सम्भव हुँदैन,’ केही साताअघि काठमाडौँ बानेश्वरको एउटा कफी सपमा गफिँदै निर्मलले अनिता र आफूबीचको प्रेम सम्बन्धको अन्तर्य खोले‍, ‘हामीले सचेततापूर्वक नै यो सहयात्रामार्फत् मान्छेलाई उच र निच करार गर्ने जात व्यवस्था बदल्न प्रयत्न गरेका हौँ।’ 

जात व्यवस्थाको चक्रव्युहलाई तोडेर दाम्पत्य जीवन सुरुवात गरिरहँदा उनीहरूलाई आफन्त, नातागोता मात्र होइन, आफूलाई कम्युनिस्ट दाबी गर्ने पार्टीभित्रकै कतिपय सहकर्मीका कुराले बेलाबेलामा चिमोट्थ्यो। 

पार्टीकै कतिपय साथीले भारी शब्दमा बहस गरेका थिए, ‘निर्मल र अनिताको सम्बन्ध दीर्घकालीन रुपमा जान सक्दैन।’ अरुहरूले सरल शब्दमा जोखाना हानेका थिए, ‘यो रमझम २–४ महिनामा सकिन्छ।’

तर, दाम्पत्य जीवनको १६ वर्ष बित्दै गर्दा निर्मल र अनिताबीचको सम्बन्ध कहिल्यै तिक्त बनेको छैन। उनीहरूबीच अहिले पनि उस्तै हार्दिक प्रेम छ। दुवैको जीवनको लय र गन्तव्य पनि मिलेको छ। 

विवाहमा नारायणकाजीको प्रोत्साहन
वैवाहिक जीवन सुरु गर्नुअघि उनीहरूले तत्कालीन नेकपा (एकता केन्द्र)का महासचिव (हालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री) नारायणकाजी श्रेष्ठ ‘प्रकाश’सँग छलफल गरेका थिए। त्यतिबेला आफूहरूको सम्बन्धप्रति नारायणकाजी सकारात्मक पाउँदा उनीहरू उत्साहित बनेका थिए। 

‘ललितपुरमा पार्टीको एउटा कार्यक्रम थियो। त्यही कार्यक्रममा नारायणकाजी दाइलाई हामीले वैवाहिक जीवनमा प्रवेश गर्न लागेको जानकारी पहिलोपटक गराएका थियौँ,’  निर्मलले भने, ‘त्यतिबेला हाम्रो निर्णय सुन्दा उहाँले प्रसन्नता व्यक्त गर्नुभयो।’ 

त्यसबेला नारायणकाजीको भनाइ उधृत गर्दै निर्मल भन्छन्,‘तपाईँहरूको निर्णयमा मेरो समर्थन छ। यसले मलाई खुसी बनायो। पार्टीभित्र र बाहिर सामाजिक रुपमा पनि यसले सकारात्मक सन्देश दिन्छ। तपाईँहरूले जुन साहसिलो निर्णय गर्नुभयो, त्यसको लागि बधाई छ।’

पार्टीका अर्का नेता (हाल वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष) विश्वभक्त दुलाल (आहुति) ले पनि उनीहरूलाई विवाहको लागि प्रोत्साहन गरे। ‘राम्रो निर्णय गर्नुभयो, यसले जातीय विभेद अन्त्य गर्न पनि सहयोग पुग्छ, भनेर उहाँले पनि हामीलाई हौसला प्रदान गर्नुभयो,’ निर्मलले थपे। 

महोत्तरीका पुराना कम्युनिस्ट नेता दीपबहादुर योञ्जन लगायत अन्य केही नेताहरूलाई पनि उनीहरूले आफूहरू वैवाहिक जीवनमा प्रवेश गर्ने सोचमा पुगेको जानकारी गराएका थिए।

त्यतिबेला दीपबहादुरले उनीहरूको प्रेम सम्बन्धलाई सकारात्मक रुपमा मात्रै लिएनन्, निर्मललाई साथमै लिएर उनी अनिताका बुवा–आमासँग कुरा गर्न जानसमेत राजी भए। निर्मल र अनिताबीच विवाहको प्रस्ताव लिएर योञ्जन कान्तिबजारस्थित अनिताको घर पुगे।

अनिताको बुवा पनि पार्टी कार्यकर्ता नै थिए। राजनीतिक रुपमा पनि सचेत। बुवा-आमाकै सहयोगको कारण अनितालाई घर छाडेर पूर्णकालीन राजनीतिमा लाग्न सजिलो भएको थियो। निर्मल आफैँ पनि अनिताको बुवा–आमासँग परिचित थिए। त्यसअघि नै उनी अनिताको घरमा धेरैपटक पुगिसकेका थिए।

आफूले विश्वास र आदर गरेको नेता (दीपबहादुर योञ्जन)ले नै निर्मल र अनिताबीच विवाहको प्रस्ताव लिएर घरमा आउँदा अनिताका बुवा आमाले पनि नाइनास्ती गर्न सकेनन्। उनीहरूबीचको विवाहलाई अनिताका अभिभावकबाट स्वीकृति मिल्यो।

तर, अनितासँग वैवाहिक सम्बन्ध कायम गर्न लागेको विषय निर्मलले भने औपचारिक रुपमा आफ्नो घर परिवारमा जानकारी दिन सकेनन्।

किन त?

निर्मलले घरमा जानकारी दिएको भए पनि अनितासँग विवाहको लागि आफ्ना अभिभावकबाट सहमति पाउने सम्भावना थिएन। त्यो बुझेरै निर्मलले यो विषय विवाहअघि घरमा छलफलमा ल्याएनन्।

उनीहरूले विवाह गरिसकेपछि निर्मलको घर परिवारमा अप्रत्यक्ष रुपमा यो खबर पुग्यो। 

‘हामीले ‘इनडाइरेक्ट’  प्रक्रियाबाट घरमा यो खबर गरेका थियौँ,’ निर्मल भन्छन्, ‘पुरानो जमानाकै भए पनि बुवा पढेलेखेको हुनुहुन्थ्यो। समाज र राजनीतिलाई बुझ्नु भएको थियो। त्यसले पनि मलाई यस्तो निर्णय गर्न केही सहज भएको थियो।’

निर्मल सानैदेखि विद्रोही स्वभावका थिए। अभिभावकहरू यसमा जानकार नै थिए। सानैमा बुवाआमाले उनको व्रतबन्ध गरिदिए पनि त्यसपछिका सनातनी धार्मिक आचरण र संस्कारमा उनी कहिल्यै सहभागी भएनन्।

‘मैले ती सनातनी र धार्मिक आचरणमा वैज्ञानिक तथ्य भेटिनँ। मैले घरमा पनि सानैदेखि त्यो खाले स्वभाव देखाएको थिएँ,’ उनले भने, ‘घर परिवार, आफन्तजन पनि मेरो स्वभावसँग परिचित नै हुनुहुन्थ्यो। बुवा–आमाको कोणबाट छोराले परम्परागत मूल्य मान्यताअनुसारका क्रियाकलाप गरे हुन्थ्यो भन्ने त हुने नै भयो, तर मेरो मूल्य मान्यतालाई पनि उहाँहरूले कहिल्यै दखल गर्नुभएन,’ गफिँदै जाँदा उनी बुवाआमाप्रति हार्दिक सुनिए।

त्यतिबेला एसएलसीसम्म आमा–बुवाले पढाउने, उच्च शिक्षा भने आत्मनिर्भर भएर पढ्नु पर्ने मान्यता थियो। तर, एसएलसीपछि निर्मल राजनीतिक आन्दोलनमा लागे। राजनीतिक आन्दोलनसँगै पढाइलाई पनि निरन्तरता दिँदै गए।

पढ्न भनेर सहरमा पठाएको छोरो राजनीतिमा लागेकोप्रति आमाबुवाले कुनै रोकतोक गरेनन्।

‘म राजनीतिक आन्दोलनमा लुकेर होइन, खुलेरै लागेको हो। राजनीतिमा लाग्दा मलाई घरबाट कहिल्यै असहयोग भएन। आमाबुवाले सधैँ सहयोग नै गर्नुभयो,’ उनले भने।

‘विवाहपछि कस्तो छ त घर परिवारसँग सम्बन्ध?’

उनले भने, ‘त्यस्तो नराम्रो केही छैन। सबै सामान्य नै छ। बुवाको कोणबाट अहिले मप्रति कुनै गुनासो छैन। मलाई अहिलेसम्म बुवा-आमाले विवाहको प्रसंगलाई लिएर कुनै प्रश्न पनि गर्नु भएको छैन। यो सामाजिक विकासको स्वाभाविक प्रक्रिया नै हो भन्ने उहाँहरूले पनि बुझ्नु भएको छ।’ 

‘घरपरिवारले हाम्रो मूल्यमान्यतामा दखल नगर्ने, उहाँहरूको मूल्यमान्यतालाई पनि हामीले सम्मान गर्ने प्रक्रियाबाट हामी गुज्रिँदै आएका छौँ,’ निर्मलले भने, ‘हामी जुन चेतना प्रक्रिया हुँदै यहाँसम्म आयौँ, अघिल्लो पुस्ताले यो प्रक्रियालाई स्वीकार गरिसकेको छैन। घर परिवारको परम्परागत सामाजिक मान्यताका सीमाहरू छन्। त्यसलाई हामीले बुझेका छौँ। हाम्रो मूल्यमान्यता र भावनालाई पनि उहाँहरूले बुझ्नु भएको छ। अघोषित रुपमा हाम्रो मान्यतालाई उहाँहरूले सम्मान गर्ने, उहाँहरूको मान्यतालाई पनि हामीले आदर गर्ने प्रक्रिया अनुसार हामी अघि बढेका छौँ।’

विवाहपछि निर्मल र अनिता तीन सन्तानसहित सुनसरीको इटहरीमा बस्दै आएका छन्। निर्मल अहिले माओवादी केन्द्रको सुनसरी जिल्ला इन्चार्ज र केन्द्रीय सदस्य छन्।

यसबीचमा उनले सप्तरी र सुनसरीमा माओवादी केन्द्रको जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेर लामो समय नेतृत्व गरे। गत वर्ष माओवादीले सञ्चालन गरेको जनतासँग सम्बन्ध सुदृढीकरण अभियानमा उनलाई पार्टीले सोलुखुम्बु जिल्लाको संयोजक बनाएर खटायो। 

विगतमा संविधान सभा सदस्यको जिम्मेवारी निर्वाह गरिसकेकी अनिता हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य छिन्। 

राजनीतिक, सामाजिक अभियानमा लागेका कतिपय जोडीले गरेका अन्तरजातीय विवाह असफल भएका देखिएको छ। जनयुद्धकै प्रक्रियाबाट आएका धेरै अन्तरजातीय जोडीका सम्बन्धमा पनि दरार आएका छन्। तर, निर्मल र अनिताको सम्बन्धमा भने आजसम्म त्यस्तो कुनै समस्या आएको छैन।

‘यो चेतनास्तरको कुरा पनि होला,’ निर्मलले भने, ‘हाम्रो परिपक्वता पनि होला। यसमा मुख्यतया विचारले काम गरेको छ। हामीले परम्परागत शिक्षा एउटा लियौँ, तर हामीले पढेको विचार भनेको ‘संसारभरिका मानव जाति एक हौँ’ भन्ने हो नि!’

त्यसैले दलित र गैरदलितबीचको विवाहलाई निर्मल ठूलो चिज मान्दैनन्।  

‘यो कुनै त्यत्रो महाभारत मान्नुपर्ने विषय नै होइन। किनभने जुन विचार, दर्शनबाट हामी निर्देशित छौँ, त्यो विचार र व्यवहारमा तालमेल मिलाउन नसक्ने, मुखले वैज्ञानिक समाजवाद भन्ने, तर व्यवहार भने सनातनी गर्नेलाई मात्रै यो विषय ठूलो जस्तो लाग्न सक्छ,’ उनी भन्छन्।

त्यसो त उनलाई अनितासँगको विवाह अन्तरजातीय पनि लाग्दैन। उनको विचारमा पृथक–पृथक मानव समुदायबीचको विवाह मात्रै अन्तरजातीय हो। 

‘एउटै भाषा, एउटै धर्म, संस्कृति, रीतिथीति, एउटै मूल्य मान्यता, एउटै चाडपर्व मान्ने, एउटै वर्णका महिला पुरुषबीचको विवाहलाई अन्तरजातीय भनिरहनु जरुरी छैन,’ उनले भने, ‘आर्य र मंगोलबीचको, हिन्दु र मुस्लिमबीचको, मधेसी र पहाडीबीचको या नेपाली र अफ्रिकी मूलका वा अन्य कुनै जातिका महिला-पुरुषबीचको विवाहलाई मात्रै खासमा अन्तर्जातीय विवाह भन्नुपर्ने हो। तर, यहाँ त्यो खाले चेतनाको अभाव छ।’

सामाजिक मूल्य मान्यताको हिसाबले, आर्थिक, सामाजिक, जातीय रुपमा लामो समयदेखि बञ्चितीकरणमा परेका समुदाय र शासक समुदायबीचको अभ्यासको कारणले मात्रै नेपालमा दलित र गैरदलितबीचको विवाहलाई अन्तरजातीय भन्ने गरिएको उनको बुझाइ छ। 

‘वैज्ञानिक तथ्यमा आधारित भएर भन्ने हो भने वास्तवमा एकै धर्म संस्कृति, एकै मूलका दलित र गैरदलित समुदायबीचको विवाहलाई चाहिँ पूर्णरुपमा अन्तरजातीय विवाह भन्न मिल्दैन।’

तर, उनी अन्तरजातीय विवाहले मात्रै समाजमा छुवाछूत अन्त्य भने नहुने बताउँछन्। ‘दलित समुदायमाथि हुँदै आएको विभेद र छुवाछूत न्यूनीकरणमा भने यसले सहयोग नै गर्छ,’ उनी भन्छन्, ‘त्यही भएर हामीले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नु जरुरी छ।’

संविधान, निमय, कानुनले छुवाछूतलाई दण्डनीय अपराध माने पनि हाम्रो समाजमा अन्तरजातीय विवाहलाई सामान्य रुपमा लिन नसक्ने जमात अझै पनि ठूलै छ। निर्मल र अनितालाई अन्तरजातीय विवाहको विरोध गर्ने चिन्तन सामन्तवादको सामाजिक, सांस्कृतिक अवशेष जस्तो लाग्छ। 

अन्तरजातीय विवाह गर्नेहरूले जीवन व्यवहारको सबै क्षेत्रमा सामन्तवादको सांस्कृतिक मूल्य, मान्यता र अवशेषहरूको विरुद्धमा उभिन सके जात व्यवस्था न्यूनीकरणमा पनि सहयोग पुग्ने उनीहरूको मत छ।  

निर्मलको व्यहारले छोयो अनिताको मन
निर्मल विद्यार्थी नेता हुँदा नै पार्टीको सप्तरी जिल्ला अध्यक्ष थिए। उनी हरेक दिन चेतनाको सन्देश लिएर मुसहर, सदाजस्ता मधेसी दलित समुदायको बस्तीमा पुग्थे। उनीहरूका दुःख, सुखमा साथ दिन्थे। विवाहअघि धेरै कार्यक्रममा निर्मलसँगै अनिता पनि महोत्तरी, धनुषा, सिरहा, सप्तरीसहित तराई मधेसका धेरै जिल्लाका दलित र गरिबका बस्तीमा पुगेकी थिइन्।

‘मैले त्यतिबेलैदेखि दलित र गरिबहरूप्रति उहाँको उच्च सम्मान पाएकी हुँ,’ अनिता भन्छिन्, ‘गरिब दलितका घर भनेजस्तो सफासुग्घर पनि हुँदैनथे। तर, उहाँ (निर्मल) तिनै गरिब दलितहरूसँगै बसेर खानुहुन्थ्यो। उनीहरूसँग सुत्ने ओछ्यान पनि सामान्य खालको हुन्थ्यो। त्यही ओछ्यानमा उहाँ सुत्नु हुन्थ्यो। उनीहरूलाई परेको अप्ठेरोमा दिल खोलेर सहयोग गर्नुहुन्थ्यो, उनीहरूको पीडा व्यथालाई आफ्नै ठान्नु हुन्थ्यो।’

समाजमा कथित उच्च जात कहलिएको ब्राम्हण जातको २०–२२ वर्षको युवक त्यसरी दलितसँग घुलमिल भएको देख्दा अनितालाई लाथ्यो–खासमा कम्युनिस्ट नेता यस्तै हुनुपर्ने हो, तर सबै नेता निर्मल जस्ता छैनन्।

अनिता भन्छिन्, ‘उहाँका यस्तै बानी बेहोराले पनि उहाँप्रति मेरो आदर र सम्मान बढ्यो। जसले हामीलाई जीवनको सहयात्रासम्म डोहोर्‍याएको हो।’

निर्मलसँग विवाह गर्दा अनिता २७ वर्षकी थिइन्, निर्मल ३५ वर्षका। जनकपुरमा आईए पढ्न थाले पनि विभिन्न परिबन्धले अनिताको पढाइ रोकिएको थियो। 

उनकै भनाइमा त्यतिबेला निर्मलसँग विवाहको विषयमा सोच्दा उनी आफूलाई निकै कमजोर पाउँथिन्। 

‘हो साँच्चै विवाहअघि म आफूलाई उहाँसँग तुलना गर्थें। तर, उहाँसँग मेरो जात मात्रै होइन, आर्थिक अवस्था, शिक्षा, वर्ण, पारिवारिक स्तर केही पनि नमिलेको जस्तो लाग्यो। कतिपयबेला विचार र भावना मात्रै मिलेर मात्रै पनि हुँदैन भन्ने सोच्थेँ। उहाँ आर्थिक रुपमा पनि सम्पन्न ब्राम्हण समुदायको, म गरिब, दलित परिवारकी। रंगमा पनि उहाँ गोरो हुनुहुन्थ्यो, म काली छु नि,’ हाँस्दै अनिताले भनिन्, ‘त्यतिखेर त हाम्रो शैक्षिकस्तर पनि मिल्दैनथ्यो। एसएलसीपछि मेरो पढाइ रोकिएको थियो। तर, उहाँले त्यतिबेला डिग्री गरिसक्नु भएको थियो।’

तर, विवाहपछि निर्मलकै साथको कारण अहिले पढाइ अघि बढाउन सकेको उनको भनाइ छ। विवाहपछि बालबच्चाको दायित्व, राजनीति र पढाइलाई सँगसँगै अघि बढाउँदै आएकी अनिताले यसबीचमा स्नातकोत्तर पूरा गरिसकेकी छन्। 

‘उहाँसँगको साथले मेरो राजनीतिक जगलाई पनि बलियो बनायो। म निरन्तर राजनीतिमा क्रियाशील हुन पाएँ। उहाँजस्तो जीवनसाथी नभएको भए मेरो राजनीतिक यात्रा यो ढंगले अघि नबढ्न पनि सक्थ्यो। यो विवाहबाट मैले कहिल्यै पीडाबोध गर्नु परेको छैन,’ निर्मलको व्यवहारबारे अनिता बोलिन्।

विवाहअघि निर्मलसँग विवाहको विषयमा सोच्दा कताकता उनलाई ‘पछि यो विवाह असफल हुने हो कि’ भन्ने डर पनि नलागेको होइन। सामाजिक मान्यता, जातीय अवस्थाको कारणले छोरीलाई अप्ठ्यारो पर्छ कि भन्ने डर त्यतिबेला उनकी आमालाई पनि लागेको थियो।

‘विवाहको निर्णयमा पुग्न उहाँ (निर्मल)लाई जति सजिलो थियो, मलाई त्यति सजिलो थिएन,’ उनले भनिन्, ‘यो मेरो भविष्य र आम सामाजिक मान्यतासँग जोडिएको विषय थियो। पितृसत्तात्मक सामाजिक संरचनाको कारणले पनि त्यतिबेला उहाँसँग विवाह गर्न मलाई अलिक अप्ठेरो लागेको थियो। यी सबै कुराले गर्दा केही समयसम्म विवाहको निर्णयमा पुग्न मलाई गाह्रो पनि भएको थियो। तर, उहाँप्रतिको विश्वासले ती सबै अप्ठ्यारा र चुनौतीलाई मैले सामना गर्न सकेँ।’

निर्मलसँगको १६ वर्षे दाम्पत्य जीवनपछि अनितालाई लागेको छ, ‘मेरो मनमा त्यतिबेला उब्जिएका सबै आशंका र सोचाइभन्दा उहाँ निकै माथि हुनुहुँदो रहेछ। मैले किशोरावस्थामा उहाँलाई जुन रुपमा पाएकी थिएँ, अहिलेसम्म त्यसमा कुनै फरक परेको छैन। बरु उहाँलाई अझ हार्दिक, विनम्र र परिपक्व पाएकी छु।’

कहिलेकाहीँ कतिपय कुरामा चित्त नबुझ्दा आफू रिसाए पनि निर्मललाई आफूले कहिल्यै त्यो रुपमा नपाएको उनले बताइन्।

‘म अलिक एग्रेसिभ स्वभावकी छु, तर उहाँको स्वभाव विनम्र प्रकारको छ, कहिल्यै रिसाउनु हुन्न,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .