ad ad

म्यागेजिन


फेसन डिजाइनर बन्न चाहन्थिन् डा‍. नेहा, अहिले निःसन्तान दम्पतीलाई दिन्छिन् सन्तानसुख

फेसन डिजाइनर बन्न चाहन्थिन् डा‍. नेहा, अहिले निःसन्तान दम्पतीलाई दिन्छिन् सन्तानसुख

प्रजनन विशेषज्ञ डा. नेहा हुमागाईं (सबै तस्बिर : सरोज बैजु)


राधिका अधिकारी
साउन ३, २०८१ बिहिबार ९:३, काठमाडौँ

हाम्रा डाक्टर–३

प्रजनन विशेषज्ञ डा नेहा हुमागाईं यो देशको टप फेसन डिजाइनर बन्न चाहन्थिन्। उनकी आमा भने छोरी डाक्टर बनोस् भन्ने चाहन्थिन्। आमा–छोरीबीच निकै वर्ष यो विषयलाई लिएर विमर्श भयो। 

प्लस टु पढ्दासम्मै फेसन डिजाइनको धोको बोकेकी नेहालाई अन्ततः आमाको सपनाले जित्यो। उनी चिकित्सक बन्न मनदेखि नै तयार भइन्। नेहाका बुवालाई भने छोरीले जुन बाटो अपनाए पनि स्वीकार थियो।

विराटनगरको देवकोटा मेमोरियल स्कुलबाट एसएलसी पास गरेकी नेहाले त्यसपछिको दुई वर्ष धरानको डीपीएस कलेजमा पढिन्। त्यसपछिको अध्ययनका लागि काठमाडौँ मेडिकल कलेज भर्ना भएकी नेहाले सुरुका दिनमा चिकित्सकीय अध्ययनमा मन लगाउन सकिनन्। एमबीबीएस पहिलो वर्षको परीक्षा बिग्रियो। यसअघि नेहासँग थोरै नम्बर ल्याएको अनुभव थिएन। यो अनुभवले उनलाई बिझायो। त्यसपछि बल्ल नेहाले अन्तै डुलिरहेको मन चिकित्सकीय अध्ययनमा केन्द्रित गरिन्। 

इन्टर्नसिप गर्दैगर्दा विवाह भयो। विवाहको एक वर्षभित्रै बच्चा भयो। बच्चा १ वर्षको नहुँदै उनी अध्ययनका लागि अमेरिका गइन्। बच्चाको यादले उनी त्यहाँ बस्न सकिनन्। 

‘सपनाको भन्दा सन्तानको माया ठूलो हुने रहेछ। म अमेरिकाबाट ३ महिनामै फर्किएँ,’ नेहाले सुनाइन्।

नेपाल फर्किएपछि उनले विराटनगरको नोबेल मेडिकल कलेजमा गाइनोकोलोजी विभागमा काम गर्न थालिन्। एमडी अध्ययन सकिन। सन् २०१७ मा अमेरिकाको क्यान्सर सेन्टरमा अध्ययनका लागि आवेदन दिइन्। नाम निस्कियो। उनी ३ महिना न्युयोर्कमा बसिन्। त्यहाँ प्रजनन नभएका महिला पनि क्यान्सर पीडित भर आउँथे। उनी बिस्तारै महिलाको प्रजनन स्वास्थ्य त्यसमा पनि निसन्तानपन (इनफर्टिलिटी) सँग जोडिन थालिन्। 

‘खास यो ३ महिनाको बसाइले केमा मेरो इच्छा छ भन्ने थाहा पाएँ,’ नेहा बताउँछिन्।

अमेरिकाबाट नेपाल फर्किपछि नेहाले चेन्नईमा एक वर्ष इनफर्टिलिटीको फेलोसिप गरिन्। त्यसपछि सुरु भएको हो यो विषयमा उनको काम।

उनले काठमाडौँको अल्का अस्पतालमा प्रजनन विशेषज्ञका रूपमा काम गर्न थालिन्। यही क्रममा इन्दिरा आईभीएफको भारत शाखामा विशेषज्ञ डाक्टरको माग भयो। उनले आवेदन दिइन्। छनोट भइन् र भारत गइन्। उनले त्यहाँ एक वर्ष काम गरिन्। आठ महिनाअघि इन्दिरा आईभीएफको नेपाल शाखा सुरु भयो। नेहा काठमाडौँको पानीपोखरीमा रहेको इन्दिरा आईभीएफको प्रमुखका रूपमा कार्यरत छिन्। 

यो एक वर्षमा भारत र नेपालका थुप्रै निसन्तान दम्पतीसँग उनको भेट भयो। विवाह गरेको लामो समयसम्म बच्चा नभएको खण्डमा महिलालाई दोषारोपण गर्ने प्रचलन अझै छ। नेपालमा मात्रै होइन, भारतमा पनि यो मान्यता नेहाले प्रशस्तै भेटिन्। तर, पछिल्लो समय बाँझोपनको समस्या रहेका पुरुषको तथ्यांक डरलाग्दो रहेको नेहा बताउँछिन्। 

श्रीमान् अनि श्रीमतीमध्ये जसमा बाँझोपनको समस्या भए पनि पत्ता लगाएर निदान गर्न सकिने नेहा बताउँछिन्। परिवार योजना बनाएको एक वर्ष बितिसक्दा पनि सन्तान नभएको खण्डमा विशेषज्ञहरूको सम्पर्कमा जान डा. नेहाको सुझाव छ।

विश्वमा सन्तान प्राप्तिका लागि विभिन्न विधिहरू अपनाइएको छ। पछिल्लो समय नेपालमा निःसन्तान दम्पतीका लागि आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) अर्थात् टेस्टट्युब बेबी अवधारणा आएको छ। जसले थुप्रै निसन्तान दम्पतीलाई सन्तान सुख प्रदान गरेको छ।

परिवार योजना बनाएर सन्तान प्राप्ति नहुँदा आईभीएफ सेन्टर पुगेको खण्डमा सिधै आईभीएफ गर्नुपर्छ भन्ने गलत धारणा धेरैमा पाइन्छ। तर, आईभीएफ सेन्टर पुग्ने सबैलाई आईभीएफको आवश्यकता नपर्ने डा. नेहाको भनाइ छ।

आईभीएफअघिका उपचार विधि
परिवार योजना बनाएर सन्तान प्राप्ति नगरेका दुवै जनाले परामर्श तथा जाँच गर्नुपर्ने हुन्छ। डा. नेहाका अनुसार यदि श्रीमानको वीर्यमा समस्या देखियो भने संकलित वीर्यमध्ये राम्रो वीर्यलाई निकाली श्रीमतीको पाठेघरमा पठाइन्छ। त्यसपछि गर्भवती भए नभएको जाँच गरिन्छ। यो विधि ३ देखि ६ साइकलसम्म गरिन्छ।

यस्तै, महिलाहरूमा पाठेघरमा ट्युमरहरू छ कि भनेर अल्ट्रासाउन्ड गरेर हेर्ने, हर्मोनको अवस्था जाँच गर्ने, ट्युब ब्लक भएनभएको पत्ता लगाउने र औषधिमार्फत त्यसको उपचार गरिन्छ।

यदि श्रीमान्–श्रीमतीको स्वास्थ्य अवस्था राम्रो छ। तर, गर्भ बसेको छैन भने सुरुमा अण्डालाई ठूलो बनाएर सो अण्डा फुट्नलायक बनाइन्छ। महिलालाई औषधि दिएर अन्डा ठूलो बनाएर अल्ट्रासाउन्डले अण्डाको निगरानी गरिन्छ। अण्डा १८/२० एमएमको भएपछि इन्जेक्सन दिएर फुटाइन्छ। 

आईभीएफ गर्ने अवस्था 
कहिलेकाहीँ दम्पतीको स्वास्थ्य अवस्था राम्रो हुँदाहुँदै पनि बच्चा नजन्मने उनी बताउँछिन्।  यदि ३ देखि ६ साइकलसम्म बच्चा बसेन भने आईभीएफ प्रविधितर्फ लाग्नुपर्ने डा. नेहाको भनाइ छ। आईभीएफ भनेको श्रीमतीको अण्डा र श्रीमानको शुक्राणु बाहिर निकालेर त्यसलाई बाहिरै फर्टिलाइजेसन गर्ने विधि हो।

‘यसमा स्वास्थ्य परीक्षण गरेर महिलालाई दुईतीन दिनअघि नै अण्डा वृद्धि हुने हर्मोन दिइन्छ। अण्डा वृद्धि भएपछि अल्ट्रासाउन्ड र सिरिन्जको विधिबाट १२/१३ दिनपछि निकालिन्छ,’ डा. नेहा भन्छिन्, ‘त्यसपछि श्रीमानको शुक्राणुबाट बाहिर नै फर्टिलाइजेसन गरी पाठेघरमा राखिन्छ। त्यसको करिब दुई सातापछि गर्भ बसे–नबसेको परीक्षण गरिन्छ।’  

निसन्तान दम्पतीको पीडा नजिकबाट नियालेकी नेहाले आईभीएफ विधिलाई पनि थुप्रैले विश्वास गर्न नसकेको देखेकी छिन्। नेपाल र भारत दुवै ठाउँमा अन्य आईभीएफ सेन्टरमा असफल भएका केसहरू पुग्ने गरेका छन्।

त्यसैले पनि धेरै दम्पती मानसिक रूपमा विक्षिप्त बनिसकेका हुन्छन्। उनीहरूलाई गर्भाधान प्रक्रिया सुरु गर्नुअघि मानसिक स्वास्थ्यका लागि काउन्सिलिङमा राख्ने गरेको नेहाको भनाइ छ। बाँझोपनको समस्या रहेका महिलाभन्दा पुरुषहरू झन् धेरै विक्षिप्त हुने नेहा सुनाउँछिन्।

त्यसो त, निःसन्तान दम्पतीको जीवनमा सन्तानको आगमनले ल्याउने खुसी उनी शब्दमा वर्णन गर्न सक्दिनन् उनी। इन्दिरा आईभीएफको नेपाल शाखाबाट पनि खुलेको छोटो समयमै सयौँ मानिस सन्तान सुख प्राप्तिको सम्मुख पुगेका छन्। भारतमै गएर बच्चा जन्माएका कयौँ दम्पती इन्दिरा आईभीएफको नेपाल शाखामै बच्चा लिएर उनलाई भेट्न आइरहन्छन्। 

डा. नेहाका आफ्नै दुई सन्तान छन्। तर, उनलाई इन्दिरा आईभीएफ आफ्नै घर र त्यहाँ जन्मिएका बच्चा पनि आफ्नै सन्तानसरह लाग्छन्। 

भन्छिन्, ‘यो ठाउँले मलाई परिचय दिएको हुनाले यो ठाउँ साँच्चै मेरो घरजस्तै प्यारो छ।’

हाम्रा डाक्टर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .